नेपालमा दोश्रो दादुरा खोप अभियान मुलुकका पहाडी र तर्राईका जिल्लाहरुमा आगामी मंसीर २१ गतेदेखि सञ्चालन हुने भएको छ । पूर्वाञ्चलका १३ पहाडी र तराइ जिल्लाहरु झापा, इलाम, पाचथर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथूम, सप्तरी, सिराहा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लामा मंसीर २१ गतेदेखि दादुरा खोप अभियान सञ्चालन हुनेछ ।
हाल मुलुकमा दादुरा खोपको कभरेज ८५ प्रतिशत भएको र दादुरा खोपको प्रभावकारी दर पनि करिव ९० प्रतिशत मात्र हुने भएकाले दादुरा खोपबाट प्रतिरोधात्मक शक्ति हासिल गर्ने समुदायको संख्याको तुलनामा खोप नलिने र प्रतिरोधात्मक शक्ति हासिल गर्न नसकेका समुदायको संख्या वर्षोनी बढेर हरेक तीन वर्षमा दादुराको प्रकोप फैलने गरेको विज्ञहरुले बताएका छन् । चार वर्षअधि मुलुकमा संचालन भएको पहिलो दादुरा खोप अभियानको फलस्वरुप विगत तीन वर्षमा विगतको तुलनामा दादुराको प्रकोप घटेको कुरा स्वास्थ्य सेवा विभाग, वालस्वास्थ्य महाशाखाका निर्देशक डा. यशुबर्धन प्रधानले विराटनगरमा संचालित दादुरा खोप सम्बन्धी एक योजना तर्जूमा गोष्ठीमा बताउनु भयो ।
पर्ूवाञ्चलका १३ जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, खोप सुपरभाइजर, कोल्डचेन असिसटेण्टहरुको सभभागितामा सम्पन्न योजना तर्जूमा कार्यक्रममा आ-आफ्नो जिल्लाको योजना बनाइयो ।
झापा जिल्लामा दादुराको प्रकोपदर घटेको दावी गर्दै जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख नवराज सुब्बाले जिल्लामा आ.व.२०६३/६३ मा ८७ जना, २०६३/६४ मा ११ जना र गत आ.व. २०६४/६५ मा ११ जना दादुराका विरामी देखा परेको बताए ।
Read More
मेरो पहाड
नवराज सुब्बा
पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाँघ्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !
त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
वीरे लाहुरे बन्न तलै झर्यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्यो
बटुवाहरू रुँदै झरे;
दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे, चाउरे र बटुवाहरू
सबैले बहानावश छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको सम्झनामा
विरक्तिएको भाउजूको मन बनेको छ पहाड
बर्सेनि आगाले खाने वन बनेको छ पहाड
तैपनि पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासो गर्दैन मेरो पहाड
मानौ पर्यटककै लागि बनेका हुन्
केवल पासपोर्ट र नागरिकतामा लेखिन उभिएका हुन्
मेरा हिमाल र पहाडहरू !
के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
एक पटक पासपोर्ट भएर म तिमीलाई सोध्दैछु
सहर भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?
हेर पहाडमा त !
आसैआसको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सधैँ !
दुःखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाइ मारेर
दसैँ पर्खिरहेछन् त्यहाँ !
साउने-झरीमा दुःखी घुम ओढ्दै
कान्छी, अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हाँस्दै फल्ला कि भनेर !
पहाडमा
खेतमा पानी जत्ति लगाऊ
जत्ति नै रोप माया तर खै
त्यहाँ पानी सधैँ उँधै बग्छ
जति रोके पनि
खेतका आली-कान्ला नाघेर
बग्दै जान्छ पानी
कुला, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षा तोड्दै-मोड्दै
अरूका प्रदेशतर्फ आकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन्-मासिन्छन्
यता पहाडका छातीभरि
अभाव-असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाइ नसकेर
गम्लङ्ग छोपेको छ फूलमायालाइ !
म पनि त पहाडबाट झर्दा
पहाडमा देउराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाइका आँसु अनि
पुगिने ठाउँको सम्झनामा
खुसीका अर्को थोपा आँसु पुछ्दै
देउरालीको शिरमा
आफ्नो मुटु एउटा ढुङ्गो थपेथेँ
नमरिबाँचे दैवले साँचे भेटौला है ! भन्दै
भाकलका पहाड त्यहीँ छाडेथेँ ।
उक्लेर म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडिआएँ भन्थेँ
त्यो त सँगै पो आएछ मसँगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरा आँखामा ।
Read More
देवकोटा पुस्तकालयमा कविगोष्ठी
विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
Read More
शुभकामना
नवराज सुब्बा
मनको मझेरीमा सुस्ताएका सपनाहरु
शीतल विहानीसंगै ब्यूँझन्छन्
शुभेच्छाका सुवास लिएर सयपत्री र मखमली
यसपालि पनि बारी र डिलमा लहलहाएका छन्
यस्तो लाग्छ,
यसबेला हामी दीपावलीमा
आफैभित्र उज्यालो खोजिरहेछौं
अर्थहीन आयु हैन जीवन रोजिरहेछौं
आऔं,
हामी आपसमा बाँडौं
अपार अनन्त चाहना
औपचारिकतामुक्त
हार्दिक न्यानो शुभकामना ।
Read More
हालखबर !
ठिकै छ यार,
बाचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भए नि
जिएकै छु मृत्युलाइ छलेर
ढुक्क बाँचेकै छु ।
Read More
प्रसारित मिति सन् २००६ सालमा
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।
मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट्र चीन वीचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो। विश्व शान्ति, मित्रता र एकताको सन्देस बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र चीन लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौ।
नवराज सुब्बाको छोटो परिचय : नवराज सुब्बा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित युवा स्वास्थ्यकर्मी हुनुहुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गको प्रमुख स्थानमा रहेर काम गरिरहनु भएका सुब्बाले सन् 1999 मा छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनको मैत्रीपूर्ण भ्रमण पनि गरिसक्नु भएको छ । चीनको परिवार नियोजन र जनसंख्या व्यवस्थापनका सम्बन्धमा गहिरो अभिरुची राख्नु हुने नवराज सुब्बासँग मितेरी आवाजले गरेको कुराकानीको संक्षिप्त विवरण अब हामी प्रस्तुत गर्दैछौं ।
मितेरी आवाज : नेपाल र चीन बिचको परम्परागत सम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
नवराज सुब्बा : नेपाल र चीन बिचको सम्बन्धलाई फर्केर हेर्दा दुई देश बिचको सम्बन्ध परम्परादेखि कायम रहेको पाइन्छ । नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि दुई पक्षीय सम्बन्ध पुरानो समयदेखि रहँदै आएको हो । अंशुवर्मा र भृकुटीको पाला देखिको हाम्रो सुसम्बन्ध आधुनिक कालमा अझ जनस्तरमा नयाँ सम्बन्धहरुको रुपमा स्थापना हुँदै आएका छन् । बिजुली, सडक, यातायात, सिंचार्इ जस्ता हरेक क्षेत्रमा चीनले नेपाललाई सक्दो सहयोग गर्दै आएको छ र यो सम्बन्ध भविष्यमा अझ प्रगाढ भएर विकसित हुँदै जानेछ भन्ने मलाई लागेको छ।
मितेरी आवाज : तपाईंले सन् 1999 मा चीनको मैत्रीपूर्ण भ्रमण गर्नु भएको थियो । तपाईंले कुन कुन स्थानको अवलोकन गर्ने मौका पाउनु भयो ?
नवराज सुब्बा : आज भन्दा 5 वर्ष अगाडि चीनको मैत्रीपूर्ण भ्रमण गर्नै अवसर पाएँ । नानजिङ्ग विश्व विद्यालयमा जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सेमिनार गरिएको थियो । त्यस अवसरमा बंगलादेश, भुटान, उत्तर कोरिया लगायत 15 देशका प्रतिनिधिहरुले भाग लिएका थिए र म नेपालको तर्फबाट जनसंख्या र परिवार नियोजनको व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्न त्यहाँ पुगेको थिएँ । त्यो अवसरलाई म जीवनमा कहिल्यै भुल्दिन । चीनको जनसंख्या व्यवस्थापनलाई मैले गहिरोसँग सो भ्रमणमा अनुभव सम्हाल्ने मौका पाएँ। चीनको जनसंख्याको नीतिबारे मलाई धेरै कुराहरु थाहा भयो । त्यहाँको परिवार नियोजन सेवालाई जनताले कसरी हेरेका छन् र सरकारले गरेको जनसंख्या व्यवस्थापनको क्षेत्रमा सफलता हासिल गरेको छ भन्ने कुरा पनि मैले थाहा पाएँ । मैले त्यतिबेला हङ्गकङ्ग, नानजिङ्ग र सांघाइको भ्रमण गर्नै मौका पाएँ । वास्तवमा मलाई चीनको भ्रमण अविस्मरणीय लागेर आउँछ।
मितेरी आवाज : नेपाल र चीनको परिवार नियोजनका सम्बन्धमा कस्तो भिन्नता पाउनु भयो ?
नवराज सुब्बा : मैले के फरक देखेको छु भने नेपालमा हामी घुम्यौं भने जहीं पनि सडक, बजारमा केटाकेटी बढि देखिन्छ तर चीनका बजार र शहरहरुमा त्यहाँ केटाकेटीको संख्या न्यून देखें । मलाई अचम्म लाग्यो । त्यहाँ स्वास्थ्यको स्तर पनि असाध्यै राम्रो छ । चिनियाँ जनताहरु स्वस्थ र ह्यष्टपुष्ट रहेछन् । मलाई महसुस भयो । चीनमा जन्मदर निरन्तर घटिरहेको पाएँ । नेपालमा केटाकेटी बढी देखिन्छन् भने त्यहाँ कम देखिन्छ ।
मितेरी आवाज : चीनले जनसंख्यालाई कसरी व्यवस्थित गरेको पाउनु भयो ?
नवराज सुब्बा : चीन सरकारले जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन कार्यक्रमलाई राम्ररी, प्रभावकारी रुपमा संचालन गरेको पाइयो । यसको मुख्य कारण भनेको चीन सरकारको कटिबद्धता हो भन्ने मैले महसुस गरें । त्यहाँको स्पष्ट नीति, कानूनलाई प्राथमिकताका साथ हेर्ने सरकारको नीति नै यसको कारक तत्व हो । कति बच्चा जन्माउने, कति समयको फरकमा जन्माउने, कति बच्चा जन्माउनेलाई कति सुविधा दिने जस्ता दण्ड र पुरस्कारको व्यवस्था गरिएको छ । नीति बनाएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सके मात्र उपलब्धी हासित हुँदो रहेछ भन्ने कुरो मैले चीनमा गएर देख्ने मौका पाएँ ।
मितेरी आवाज : चीन घुम्दा बिर्सनै नसक्ने कुरा पनि भए कि ?
नवराज सुब्बा : म चीनका विभिन्न शहरहरुमा घुमें, सांघाइको पर्ल टि.भी. टावर जुन भव्य टावर छ त्यो असाध्यै अग्लो छ । मलाई ती कुराहरु देख्दा आकास जस्ता ठूला घरहरु देख्दा मानिसले यस्ता काम कसरी गर्न सकेको होला जस्तो लाग्यो । वास्तवमा मान्छेले चाहेमा के हुन सक्दैन भन्ने मैले महसुस गरें । चीनलाई प्रकृतिले पनि साथ दिएको पाएँ । म सपनामा अझै पनि चीनको कुसाङ्ग शहर देख्छु । त्यहाँको लु को ताल, बिहानीपख गुन्जिने सुमधुर संगीत, त्यहाँको स्वच्छ वातावरण म कहिल्यै कहिल्ये बिर्सन सक्दिन। म त कल्पनाको स्वर्गमा पुगेको महसुस गर्छु । सुमधुर संगीतमा झुम्दै व्यायाम गरिरहेका महिला, पुरुष, युवा युवतीलाई म कहिल्यै पनि बिर्सन सक्दिन ।
मितेरी आवाज : चिनियाँ जनताहरुको स्वभाव कस्तो पाउनु भयो ?
नवराज सुब्बा : चीनका मानिसहरुको स्वभावको बारेमा बताउनु पर्दा चीनको विकास र प्रगतिलाई बिर्सन मिल्दैन । चिनियाँ जनतामा देखिने राष्ट्रिय भक्ति, इमान्दारिताले नै चीन आज यो रुपमा उपस्थित भएको हो जस्तो लाग्यो। चिनियाँ जनताका बानी व्यवहोरालाई हामीले अनुकरण गर्ने हो भने हामीले पनि हाम्रो देशलाई अगाडि बढाउन सक्छौं जस्तो लाग्छ ।
मितेरी आवाज : सांघाइ शहरको सडक यातायातबारे केही बताइदिनु होस् न !
नवराज सुब्बा : सांघाइ शहर मेरो विचारमा विश्वको एउटा त्यस्तो विशाल शहर जो कहिल्यै सुत्दैन जस्तो लाग्छ । म केही रात सांघाइमा बसें । म राती जुन समयमा बिउँझदा पनि दिउँसो जस्तै सडकहरु व्यस्त देख्थें । राती 12 बजे, 1 बजे सधैं गाडी चलिरहेको देख्थें । मलाई त के पनि लाग्थ्यो भने सांघाइका मानिस कति जाँगरिला जो कहिल्र्य सुत्दैनन् । त्यहाँको सडकको निर्माण र व्यवस्थापनको मन कल्पना पनि गर्न सक्दिन । मानिसले गरेको विकासको त्यो स्वरुप देख्दा मलाई पनि आफ्नो देश कहिले त्यस्तो होला जस्तो लाग्छ । हामी पनि कुनै समयमा हाम्रो देशमा यस्तै विकास गर्न सक्छौं कि जस्तो लाग्थ्यो ।
मितेरी आवाज : तपाईं चीन गएपछि के सिकेर आउनु भयो ?
नवराज सुब्बा : चीनबाट सिक्ने कुरा धेरै छन् । हाम्रा राम्रा गुण पनि छन् भने हामीले सुधार गर्ने पनि धेरै कुरा छन् । हामीले परिश्रम, कर्तव्य, लगनशिलतालाई बिर्सनु हुन्न । दिएको जिम्मेवारी पुरा गर्न सक्नु पर्छ भन्ने पनि मैले चीनबाट सिकें । समुदायलाई परिचालन गरेर गाउँ शहर सबैलाई स्वस्थ बनाइएको छ । परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सा प्रणालीसँग त्यहाँ जोडिएको छ। हामीले त्यसबाट पनि धेरै सिक्न सक्छौं भन्ने कुरा चीनले सिकाएको छ । चीनले जनसंख्याको व्यवस्थापनमा विश्वमै नमूना देखाएको छ । हामीले हाम्रो परिवेश हेरेर हाम्रा नीतिहरुलाई अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।
मितेरी आवाज : नेपाल चीन बिच दौत्य सम्बन्ध स्थापना भएको 50 औं वर्षको यो अवसरमा दुई देश बिचको सम्बन्ध जनस्तरमा पुर्याउन के गर्नु पर्ला ?
नवराज सुब्बा : चीनले नेपालको हरेक क्षेत्रमा सहयोग पुर्याएको छ । चिनियाँ सामानहरुले हाम्रो जीवनस्तरलाई अगाडि बढाउन सहयोग गरेका छन् । हामी दुई देश बिचको सुसम्बन्लाई जनस्तरबाट हामीले अझ सशक्त ढंगमा अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।
Read More
समालोचना
डा. कृष्णप्रसाद दाहाल
१. परिचय
कवि नवराज सुब्बाको जन्म वि.स.२०१८ साल असोज १५ गते मेची अञ्चल, ताप्लेजुङ जिल्लाको हाङपाङ
Read More
नवराज सुब्बा
मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।
त्यसबेला धेरैले 'ठूली ठूली' भनेर मलाई आशिर्वाद दिए । कसैले 'जम्दार हुनु' 'सुब्दार हुनु' भनेर आशिर्वाद दिए । कसैकसैले 'जर्नेल हुनु' 'कर्नेल हुनु' भनेर पनि आशिर्वाद दिए । तर मलाई भने सानोमा पाइलट बन्ने इच्छा थियो । किनभने कहिलेकाहीँ हाम्रो गाउँमाथिको आकाशमा हवाइजहाज, हेलिकप्टर उड्ने गर्दथ्यो त्यो देखेपछि मलाई भित्रैदेखि पाइलट हुने इच्छा जागेको थियो । 'पछि तँ के हुन्छस् हँ ?' भनेर कसैले सोद्धाखेरि म सोही इच्छा प्रकट गर्ने गर्दथें । त्यो थाहा पाउने कतिपयले मलाई 'पाइलट हुनु' भनेर पनि आशिर्वाद दिएका थिए । तर त्यो पूरा भएन ।
मेरो घरमा दोकान पनि थियो । दोकानमा ग्राहकहरू शिव बिडी, गणेश बिडी किन्दथे । कसैले आशा चुरोट, गैंडा चुरोट र हुनेखानेले चाहिँ याक चुरोट किन्दथे । र त्यो सल्काउन कतिपयले मलाई 'आगो ले ले ! नवराज !' भन्दथे । म पनि बडो फुर्तिकासाथ चुल्होमा पुग्दथें; आगो लिन । आज्ञाकारी बालकझैं चुल्होबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिन्थें । कहिले बल्दै गरेको दाउरा तानेर खुरुखुरु ल्याइदिन्थें । कहिलेकाहीँ त आमाले भर्खरै बल्न थालेको दाउरै उठाएर लुरुलुरु ल्याइदिन्थें । यसरी आगो झिक्दा अगेना निभेमा आमाको खप्की खानु पर्दथ्यो, त्यसैले त्यो काम प्रायः म आमाको आँखा छलेर गर्ने गर्दथें । त्यसबेला आगो पुर्याए पछि म उपर बर्सने आशिर्वाद पाएर म बुझिनबुझि फुरुङ्ग हुन्थें ।
उसबेला म सायद चुल्होबाट आगो जेनतेन ल्याउनसक्ने त्यस्तै चारपाँच वर्षो बालक हुँदो हुँ । त्यसबेला कहिले काहिँ मलाई मनमा एकप्रकारको जिज्ञाशा उठ्ने गर्दथ्यो- 'कस्तो हुन्छ होला ? त्यो सूर्तीको स्वाद' भनेर । एकपटक मैले उनीहरूले फालेका ठूटा उनीहरू उठेर गएपछि सल्काएर चाखें । तर, अहँ मलाई त्यो बन्दै मीठो लागेन । मलाई त्यसको स्वाद पटक्कै मन परेन ।
मलाई सानोमा मिठाइ असाध्यै मन पर्थ्यो । घरैमा दोकान भएकोले चोर्दै भए पनि म मिठाइ अलि बढी नै खान्थें । मुखको सरसफाई नपुगेर होला सानैमा मेरो दाँत किराले खायो । त्यसबेला अहिले जस्तो अस्पताल जाने र उपचार गर्ने चलन थिएन । घरैमा घरेलु उपचार गर्ने गरिन्थ्यो र केही नलागे पछि मात्र अस्पताल खोजिन्थ्यो । फेरि त्यसबेला अहिले जस्तो गाउँगाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी हुदैनथे । म त्यसबेला आफ्ना पीर ठूलालाई भन्न डराउँथें । 'तैले मिठाइ धेर खाएर त त्यस्तो भएको हो नि !' भनेर उल्टै बाआमाको गाली गर्दथे, त्यसैले रोगलाई खप्न सकुन्जेल म आफैं खप्दथें । बरू निको पार्न आफै अनेंक प्रयत्न गर्दथें । दाँत दुखेको ठाउँमा के लाउँदाखेरि, के गर्दाखेरि अथवा के खाँदाखेरि जाती होला भनेर छट्पटाइरहन्थें । दाँत दुखेर खपिनसक्नु भएको बेला 'दुख्यो !' भनेर म बाआमालाई भन्न खोज्दथें तर घरमा राखिएको फलामको किला च्याप्ने सनासोले दाँत च्यापेर जबर्जस्ती फुकालिदेलान् कि भन्ने डर थियो । एकदुइपटक यस्तै सनासाले दाँत च्यापेर फुकाल्दा मलाई सारै दुखेको थियो । त्यसबेला मेरो गाउँ हाङपाङ ताप्लेजुङमा अहिलेको जस्तो सुइ लगाएर अर्थात गिजा लट्याएर दाँत उखेल्ने चलन थिएन ।
एकदिन एकजना अलि जाती खालका अभिभावकसमक्ष मैले मेरो व्यथा फुकाएँ । उनले किराले खाएको ठाउँमा बट्टेखैनी लगाऊ भनेर उनीसंगै भएको खैनी झिकेर दिए र लगाएँ तर झण्डै उल्टी आयो । छिमेकी साथी सन्तोषले भन्यो- 'बिँडी खा न ! त्यसको धुवाँले किरा मर्छ' । उसले उदाहरण स्वरूप 'हेर फलाना मान्छे कत्ति सूर्ती खान्छ त्यसको कहिल्यै दाँत दुखेको देख्याछस् -' भनेर भन्थ्यो, मलाई पनि हो कि जस्तो लाग्यो ।
दाँतको त्यो पीडा दमन गर्न मैले निकै समयसम्म अनेक उपाय खोजें । एकदिन सहपाठी निलेलाई हाइस्कूलको खेलमैदानको एकान्त कुनामा अलि छेलिएर तर बडो ठाँटले बिडी तान्दै गरेको देखें । चुरोटको खरानी झार्न औंला पड्काउँदै अभिभावकहरूको दुरुस्त नक्कल गर्दै उसले पनि औंला फड्काएको देखेर म चकित परें । जीवनमा पहिलोचोटी कुनै विद्यार्थीले चुरोट खाएको देखें । यसबेला म त्यस्तै सात आठ वर्षो थिएँ होला । आर्श्चर्य, डर र उत्सुकता एकसाथ जाग्यो । 'के खा'को ? किन खा'को ? कस्तो हुन्छ ?' भन्ने सवालको जवाफमा उसले धेरै कुरा बतायो । 'मैले फलाना सरको देखासिकी गरेको हुँ !' 'हेर, यो खायो भने जाडो भाग्छ, तेरै घरबाट त किनेर ल्याएको हो नि ! बरु तँ पनि झिकेर खा न ! हेर तेरो दाँतको किरा पनि धुवाँले मर्छ' भनेर सिकायो । उसले सरलाई भन्देला भन्ठानेर हो वा किन हो मलाई धेरैबेर राखेर मजाले सम्झायो र भन्यो- 'हेर भान्सामा भएका काठपात धुवाँले गर्दा किराले खाँदैनन्, त्यस्तै त हो नि दाँत पनि !' भनेर सूर्ती खान मलाई उक्साउनसम्म उक्सायो । उसका कुराले म निकै प्रभावित भएँ र त्यसपछि मैले लुकिछिपी एक दुइ मूठा बिडी बाआमाका आँखा छलेर दोकानबाट चोरेर खाएँ ।
यसरी मैले सूर्ती खान थालेको एकमहिना जति पनि बित्न नपाउँदै दुर्घटना भयो (उसबेलाको लागि) । एकदिन हाम्रो सरस्वती हाइस्कूलमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । जसलाई हामी 'नाटक' भन्दथ्यौं । नाटक साँझमा हुने गर्दथ्यो । नाटक हेर्न पाइने भो भनेर त्यसबेला हामी स-साना विद्यार्थीका भुइँमा खुट्टा हुँदैनथे । 'आज स्कूलमा नाटक छ' भनेर आमालाई कन्याएर छिटो छिटो खाना बनाइमागेर साँझ नपर्दै हामी नाटकस्थलमा पुग्दथ्यौं । बेलैमा नाटक मञ्चन हुने स्थलमा पुगेर मञ्च तैयारी गरेको, माइक परीक्षण गरेको, कलाकारहरूको हाऊभाऊ, गुरुहरू र दाइदिदीहरूले चाँजोपाँजो मिलाएको हेर्न मजा लाग्दथ्यो । त्यसबेला केटामान्छे केटी बनेको अनि केटीमान्छे केटा बनेको हेर्न झन् रमाइलो लाग्थ्यो ।
त्यो दिन साँझ परिसकेको थियो तर नाटक सुरू भैसकेको चाहिँ थिएन । मैदानको एक छेऊमा छेलिएर म, शंकर र योवन तीनभाई मजाले गफ हाँक्दै बिँडी तान्दै थियौं । हेडसर गणेशबहादुर राइको डेराबाट एकजना मानिस हातमा टर्चलाइट बालेर हामीतिर आयो । हामी हेडसरको डेरा र साँस्कृतिक कार्यक्रमस्थलको करिव बीचमा थियौं । दिउँसैदेखि दाइदिदीहरू हेडसरको डेरा र मञ्चमा ओहोरदोहोर गर्दै थिए । कोही विद्यार्थी दाई वा दिदी आएको होलान् भन्ठान्यौं र टर्चलाइटलाई उति ध्यान दिएनौं । तर अचम्म † त्यो र्टचलाइट त हामीतिरै पो तर्ेर्सियो । 'को हँ' भनेर सोध्ने टर्चलाइटवाला त कुनै दाइ नभएर हेडसर गणेशबहादुर राइ पो रहेछन् । उनको अनुहार अँधेरोमा देखिएन तर उनको आवाज र खप्की चिनिहाल्यौं । हत्तपत्त हातको बिडी पछाडी लग्दै अर्को हातले माडमुड गरेर आगो मार्दै त्यहाँबाट कुलेलम ठोक्यौं । त्यसबेला हाम्रो हंसले ठाउँ छाड्यो । किनभने हामीलाई थाहा थियो हेडसर अति कठोर हुनुहुन्छ, उहाँले बेतले हातमा हिर्काउँदाखेरि तर्तरी रगत आउँछ भनिन्थ्यो । हामी उहाँलाई सिधै हेर्न पनि डराउँथ्यौं ।
अब नाटक अर्थात् साँस्कृतिक कार्यक्रम हेर्ने हाम्रो उत्साह हावा फुस्केको भकुण्डोझैं चाउरीपर्यो र हामी सल्याकसुलुक पर्यौं । तैपनि नाटक हेर्न बिरालाझैं सुटुक्क दर्शकका बीचमा घुस्रियौं । कार्यक्रम सुरू हुने बेलामा विद्यार्थी यूनियनका सभापति लक्ष्मीप्रसाद प्रसाइले माइकबाट 'एउटा अत्यन्त जरूरी सूचना' भनेर उद्घोषण गरे । उनले भने- 'आज केही विद्यार्थीहरूले विद्यालय परिसरमा अनुशासनहीन काम गरेको हुदा, ती विद्यार्थीहरूलाई भोलि कडासेकडा कारवाही गरिनेछ ।' यो सूचना हामीलाई नै लक्षित गरेर प्रसारण गरेको जस्तो लाग्यो र सुनेपछि मलाई सपना हो कि विपनाझैं भो । 'त्यसै त बुहारी भट्मास खाएकी' भनेझैं त्यसै त यसअघि नै हराएको हाम्रो सातो त्यसमाथि त्यो सूचनाले त झन् अब हाम्रा बाँच्ने दिन गएछन् भन्ने लाग्यो र सारै निराश भएँ । त्यसै त्यसै रुन मन लागेर आयो । तर कसको सामू के भनेर रुनु र ! सायद, घरमा बाआमाका कुटाइ खाँदाखाँदा अनि स्कुलमा गुरुहरूका खप्की र कुटाइले होला मलाई हरेक दुखाइमा मरिन्छ कि भनेर डर लाग्दथ्यो । यसैले सायद मभित्र हिँसाप्रति सानैदेखि त्रास र त्यो भन्दा बढी घृणा उत्पन्न भयो । म बालक स्वभाविक रूपमा स्वच्छन्द भएर बाँच्न, हाँस्न र खेल्न खोज्दथें र किताबलाई गत्ता लगाएर राखेजस्तै गरेर जीवनलाई जानीनजानीकनै सारै जतन गर्दथें । तर आफ्ना पीडा आफ्ना बाआमालाई व्यक्त गर्न नसक्ने म लठुवा दिनभर साथीसंग भने रुञ्चे हाँसो मात्र हाँसें । सपनामा पनि कतिचोटी त म आफै मरेको देखें ।
हामीलाई भोलि के कारवाही होला भनेर स्कूल नजाउँ भन्ने पनि लाग्यो तर के गर्नु ! नगए बाआमाले नै कुटिहाल्छन् । सरहरूले त झन् के बाँकी राख्लान् र ! भन्ने लाग्यो । जेहोस्, नून खाएको कुखुराझैं स्कूल गइयो । र धेरै दिनसम्म सातो हराएको विरामीझैं भएँ म । राती नाटक हेर्दा पो तर्सिएर सातो गयो होला भनेर आमाले फेदाङ्बा लगाइ दिनुभयो ।
अहिले सम्झँदा लाग्छ; उसबेला हेडसरले तथा लक्ष्मीदाइले हामीलाई तर्साउनु भएको मात्र रहेछ । त्यसबेला घटेको यो घटना मेरो निम्ति उसबेला दुर्घटना भए पनि आखिर अहिले ओखती नै सावित भयो । जसले ममा भर्खरै सुरु हुन लागेको सूर्ती खाने कुलतलाई चटक्कै चुँडाइदियो । उसबेला हेडसरको खप्की नखाएको भए सायद म यतिबेला चुरोट खाइरहेकै हुन्थेंहोला । माइकबाट लक्ष्मीदाइले त्यसरी डर नदेखाएको भए यतिबेला चुरोट खाँदा लाग्ने रोगले सायद मलाइ पनि च्यापिसकेको हुन्थ्यो होला । वास्तवमा, 'ओखती र अर्ती तीतो हुन्छ' भनेको ठिकै रहेछ ।
एक स्वास्थ्यकर्मीको हैसियतले म धुम्रपानबारे लेखरचना पत्रपत्रिकामा छपाएर जनचेतना फैलाउने कोशिस गर्दछु । कहिलेकाहीँ विद्यालयमा गएर 'धुम्रपान गर्नु हुँदैन, अर्थात् सूर्ती खान हुँदैन है भाइबैनी हो !' भनेर धुम्रपानबारे विद्यार्थी भाइबैनीलाइ सम्झाउँने पनि गर्दछु । मलाई कसैकसैले भन्छन् 'फलाना डाक्टर आफै चुरोट खान्छ तर अरुलाई नखाऊ भन्छ, नखाने चीज भए डाक्टरले चै किन खान्छन् त !' उसलाई चित्त बुझाउने जवाफ मसंग छैन ।
आजकल स्वास्थ्यचेतनामूलक लेख लेखिरहेको बेला अर्थात विद्यार्थी भाइबैनीहरूसंग कुराकानी गरिरहेको बेला म समक्ष त्यही सवाल घुम्छ र मेरा अतीतको सम्झना एकसाथ आउँछ । धन्य ! म आफू सूर्ती नखाने भएँ र मात्र ! नत्र मलाई पनि विद्यार्थी भाइबैनीले 'तपाई चै किन खानु हुन्छ त ?' भनेर सोधेमा मसंग जवाफ थिएन । यस अर्थमा, म मेरो बाल्यकालको सूर्तीको स्वादलाई धन्यवाद दिन्छु । तर बाल्यकाललाई खोतल्दा भने मलाई त्यो सूर्तीको स्वाद अर्थात् त्यो घटनाले गिज्याएजस्तो लाग्छ र कताकता मनभित्र आफैलाइ कुरिकुरी पनि लागेर आउँछ ।
लेखन मितिः २०६५। भद्रपुर झापा । मिर्मिरे २०६५ जेठ अंक, साझामञ्च, २०-२६ चैत२०६५,
Read More
नवराज सुब्बा
मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।
मेरो जन्म आजभन्दा ४७ वर्षन्दा अघि दुर्गम पूर्वी हिमाली ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको हो । मेरी आमाको नाम नरमाया सुब्बा र बूबाको नाम आइतराज सुब्बा हो । हाल मेरो परिवारमा श्रीमति, दुइ छोरा, एक बुहारीका अतिरिक्त सासु र भतिज गरि सात जना छौं ।
मैले मेरो गाउँकै सरस्वती माध्यमिक विद्यालयमा शिक्षा आरम्भ गरें । र एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरें । उसबेला गाउँबाट पहिलो श्रेणीमा एस.एल.सी. बिरलैले मात्र पास गर्दथे । एस.एल.सी. मा मैले राम्रो स्थान ल्याएकाले मलाई काममाडौंमा गएर उच्च शिक्षा हासिल गर्न सबैले हौसला दिए ।
वि.स.२०३४ सालमा काठमाण्डौं गएँ । क्याम्पसको प्रवेश परीक्षामा सामेल भएँ र महाराजगञ्ज क्याम्पसमा भर्ना भएँ । त्यहाँ मैले छात्रवृत्ति पनि पाएँ । करिव ३ वर्ष जति पढे पछि म आफ्नै गाउँमा स्वास्थ्य चौकीमा प्रमुख भएर आएँ । र करिव ३ वर्ष जति मैले आफ्नै गाउँको सेवा गरें । यसरी म कलिलै उमेरदेखि स्वास्थ्य सेवामा लागें । २०३७ सालमा स्वास्थ्य मंत्रालयको पाँचौं तहको सहायक पदबाट सुरु गरेर हाल म दशौं तहको अधिकृत पदमा पुग्न मैले धेरै ठूलो संघर्ष गर्नुपर्यो ।
जागिरकै दौरानमा मैले आफ्नो अध्ययनलाई पनि निरन्तर जारी राखें । त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य र नेपालीमा स्नातकोत्तर गरें । राष्ट्रसेवामा समर्पित छु यसले मात्र आफ्ना सिर्जनात्मक प्रतिभा थिचिन नमानेर साहित्यिक सिर्जना भएर उम्रन खोज्छन् । यसैले साहित्य सिर्जनाको क्षेत्रमा पनि उत्तिकै समर्पित हुन खोज्दछु ।
हुन त म बाल्यकालदेखि नै कक्षाकोठा भित्रको एक जेहेन्दार छात्र मात्र नभएर विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ । बाल्यकालमा कविता, निवन्ध लेखेर प्रतियोगिताहरूमा सहभागी हुन्थें र विजयी पनि भएँ । म गीत गाउँथें, कतिपय गीतमा संगीत पनि भरें । तर यो मेरो गायन क्षेत्र चाहिँ अहिले टुट्यो । अहिले म गीत रचना मात्र गर्छु ।
खेलकूदतर्फमलाई फूटबल र ब्याडमिण्टन खूब मन पर्छ । केटाकेटीमा यति फूटबल खेलें कि मेरा खुट्टाका चोट नलागेका कुनै औंला थिएनन् । ब्याडमिण्टन खेलमा मैले विद्यालयमा मलाइ सिकाउने गुरुलाई पनि हराएँ, र उनले तेह्रथूम जिल्लाको आठर्राई सक्रान्तीमा लाग्ने मदन मेलामा प्रतियोगितामा भाग लिन पठाए । त्यहाँ मैले मेरा अभिभावक उमेरका खेलाडीहरूलाई हराएँ । मलाई सानो फूच्चे देखेर होला सबै दर्शकले मेरै पक्षमा हुटिङ गरि खेलमा प्रोत्साहित गरे । क्याम्पस स्तरमा पनि म आफ्नो क्याम्पसको ब्याडमिण्टन च्याम्पियन नै थिएँ । यो पनि अहिले टुट्यो ।
क्याम्पस जीवन ३०३४-३७ सालतिर म महाराजगंज क्याम्पसबाट निस्कने भित्तेपत्रिका 'सुनगाभा'को सम्पादक थिएँ । यसमा विशेष साहित्यिक सामग्रीहरू प्रकाशित गरिन्थ्यो । लामो समयसम्म प्रतिवन्धित रहेको विद्यार्थी यूनियन २०३६ सालमा पुनस्थापित भए पछि म क्याम्पसको विद्यार्थी यूनियनमा पनि निर्वाचित भएँ । यसरी क्याम्पसमा पनि साहित्यिक र साँस्कृतिक कार्यक्रमको संयोजन गर्ने गर्दथें । यसबेलातिर अर्थात् २०३५ सालतिर मेरा मित्र सूर्य थुलुङको स्वर र संगीतमा एउटा आधुनिक गीत रेडियो नेपालमा रेकर्डिङ गरें । मैले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा पनि भाग पनि लिएँ । मेरो रचनाको गीत त्यसबेला रेडियो नेपालबाट प्रकाशित हुने 'झंकार' पत्रिकामा पनि प्रकाशित भएको थियो ।
२०३७ सालदेखि म देशको दर्ुगम जिल्लाहरूमा स्वास्थ्य सेवामा लागें । शहर पुग्न अर्थात् धरान पुग्न कस्सिएर हिंड्दा तीन दिन लाग्दथ्यो । मैले धेरै साहित्यिक रचना २०३०, २०४० र २०५० का दशकमा लेखें । यसलाई छपाउन धेरै प्रयत्न गरें तर यसको छेउटुप्पै भेटिन । गोपालप्रसाद रिमालले 'कुनै एक दिन' अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त भने थिएँ । कविता लेख्दै, राख्दै गरें । र २०३५ सालदेखि २०६१ सालसम्मका रचनाको 'जीवन मेरो शव्दकोशमा' कवितासङ्ग्रह २०६१ सालमा प्रकाशित गरें । नेपाली साहित्य जगतमा मैले कवितासङ्ग्रह 'जीवन मेरो शव्दकोशमा' र निबन्धसङ्ग्रह 'मनको मझेरी' प्रकाशित भएपछि भने मलाई पाठकहरू, स्रष्टाहरू र सञ्चार जगतले चिने र मेरा रचनाले निकै चर्चा पनि पाए ।
स्वास्थ्य चौकीमा औषधी व्यवस्थापन कार्यक्रम सफलतापर्ूवक सञ्चालन गरेर लगातार तीन वर्षप्रथम घोषित भएपछि २०४७ सालमा मैले 'गोरखादक्षिणबाहु' पाएँ । जीवनमा राजाबाट कुनैदिन तक्मा पाउँला भन्ने आशा त के कल्पनासम्म पनि मैले गरेको थिइन । तर रेडियो सुनेर अचम्म, खुशी र पछि गर्व लाग्यो । यो तक्मा मैले कसैको नाजायज सिफारिस वा कृपाले पाएको होइन भन्ने मलाई पूर्ण विश्वास छ । हाल आएर म त्यति सम्मानलायक नभए पनि मेरो साहित्यिक योगदानलाई हेरेर धेरै साहित्यिक प्रतिष्ठानहरूले मलाई सम्मान गरेका छन् । यो मेरो योगदान भन्दा बढी नै भयो होला जस्तो पनि लाग्छ । श्री मोहन रेग्मी स्मृति वाणी पुरस्कार, नवरङ्ग साहित्य प्रतिष्ठान सम्मान, नाट्येश्वर प्रतिष्ठान सम्मान मैले प्राप्त गरें । हालै बबरसिंह थापा स्मृति सम्मान पुरस्कार पनि मलाई दिने घोषणा गरिएको सुनेको छु । यसले मलाई मेरो साहित्यिक यात्रामा उर्जा थपेको छ अर्थात् जिम्मेवारीबोध गराएको छ ।
हालै सम्पन्न 'प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४' मा म प्रथम स्थान हासिल गर्न सफल भएँ । प्रतियोगितामा २७ देशका १०३ जना प्रतियोगीहरू थिए । विश्वस्तरमा भएको यस प्रतियोगितामा नेपालमा बस्ने नेपालीले उक्त प्रतियोगिता जितेकोमा अझ खुशी भएँ । यो घटना परम्परागत साहित्य जगतमा सूचना र प्रविधिको उपयोग भएको एउटा नयाँ सुरुवात थियो । यो केवल नयाँ परम्पराको उद्घाटन मात्र नभएर नयाँ आयामको विस्तार भएको ऐतिहासिक घटना हो भन्ने मैले ठानेको छु ।
अध्ययन अनुसन्धान मेरो रुचीको क्षेत्र हो । मैले सामाजिक क्षेत्रका विविध विषयमा अनुसंधान गरें र अझै पनि गर्दैछु । यो क्षेत्रमा कार्य गर्दा मलाई बौद्धिकता बढेको अनुभव हुन्छ । यसले सामाजिक क्षेत्रमा बेग्लै योगदान पुग्छ र सन्तुष्टि पनि मिल्छ । तर साहित्य सिर्जना गर्दा भने अझ आम जीवन र जगतको ज्यादै निकटता, हार्दिकपन मिल्दोरहेछ । यसैले पनि म यस जगतसित निरन्तर आकषिर्त छु ।
हाल म नयाँ कवितासङ्ग्रह 'बीच बाटोमा ब्यूँझेर' प्रकाशनको तैयारीमा छु । 'नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली, दलित होस् वा तागाधारी हामी नेपाली' बोलको राष्ट्रियगीत लोकप्रिय बनेपछि यसबाट उत्साहित भएर, हाल म अरू राष्ट्रियगीत र आधुनिकगीत रचना र रेकर्ड गर्दैछु । आशा छ, आगामी दिनमा म मेरा विद्वान पाठकहरूलाई नयाँ कवितासङ्ग्रह मात्र होइन म मेरा प्रिय श्रोताहरूलाई नयाँ गीतले पनि स्वागत गर्नेछु । धन्यवाद †
लेखन मिति- २०६४ चैत्र, साझामञ्च साप्ताहिक १८ बैशाख २०६५, अन्नपूर्ण दैनिक, बैशाख २०६५
Read More
नवराज सुब्बा
फूर्सद हुँदो हो त उपन्यास पढ्न नै मजा आउँछ ।
Read More