गीतसंगीतः मेरा मूल्य र मान्यता

– नवराज सुब्बा

कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै बहिनी सरलालाई नचाएँ । सरस्वती माध्यमिक विद्यालयको साँस्कृतिक कार्यक्रममा सोही गीत र नृत्य प्रस्तुत गरियो । तर केही समयपछि त्यो गीत बिर्सिइयो । आजकल मैले एलबम निकाल्न थालेको देखेर उनै बहिनीले “त्यो पुरानो गीत पनि थियो नि दाजु रेकर्ड गर्नु नि !” भनेर उनले खर्रर गाइन् । म दङ्ग परें ।

ए बहार Û तिमीसित हाँसु हाँसु लाग्छ,
आँसु पुछि तिमीसित नाचु नाचु लाग्छ…

२०३५/३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक तथा लोकगीत प्रतियोगिताहरूमा सहभागी भएको थिएँ । एउटा आधुनिक गीत र केही लोकगीत मैले रेडियो नेपालमा रेकर्ड पनि गराएको थिएँ । तर अहिले खोज्दा ती गीतहरू रेडियो नेपालमा भेटिदैनन् । कत्ति नमिठो लाग्छ । उसबेला कत्रो उत्साहका साथ गाइएका आधुनिकगीत, संकलन गरिएका लोकगीतहरू आज हराए । खै कता गए Ûआज मलाई मेरो आँगन सिँगो एउटा संसार भो, फर्केर आऊ त्यो बाटो नजाऊ

महाराजगञ्ज क्याम्पसको छतमा २०३४/३५ सालतिर प्रायः साँझपख घन्कने संगीत आज सम्झन्छु । त्यो अतृप्त सांगीतिक प्यास आज अर्ढाई दशकपछि पुनः आफ्नै स्वरमा गीत गाएर आफ्नो रहर पूरा गर्दैछु । यही गीत र संगीतको कोसेली बोकेर सांगीतिक जगतमा सम्भवतः नसुनिएको नाम एन्ड्रयू सिथलिङलाई लिएर उभिएको छु-

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी…


यस्तै अर्का प्रतिभाशाली संगीतकार साथी जसलाई सायद कसैले सुनेका छैनन्, जोसँग मेरो बिछोड भएको पनि तीनदशक भयो । उनले सायद मलाई पनि बिर्सि सके होलान् । उनै संगीतकार साथी प्रेम भट्टचनलाइ सम्झेर अतीतलाइ समर्पित गर्दै उनले संगीत गरेको गीत पनि अब गाउँदैछु –

गुलाफको थँगाभित्र मायालुको वास्ना पाउँछु
उड्ने मेरो मनभित्र त्रि्रो मात्र सपना देख्छु


गायन होस् या लेखन, मान्छे पूर्ण हुनु प्रायः असम्भव नै छ । गर्दागर्दै कोही ब्यवसायिक हुन्छन् कोही शौकीन रूपमै रहिरहन्छन् । संख्याको हिसाबले व्यवसायिक कम र शौकीन बढी हुन्छन् । संख्यात्मक हिसाबले जे भए पनि यिनीहरू एकअर्काका परिपूरक हुन् । गीतसंगीतको श्रीबृद्धिमा यी दुवैको योगदान बराबर छ । जसरी सर्जक र पाठकको योगदानले साहित्यको विकास हुन्छ त्यसैगरि कलाकार र श्रोताको योगदानले संगीतको विकास हुन्छ । संगीतको मर्मज्ञ समूहमा यिनै शौकिन कलाकारहरू पनि पर्दछन् । व्यवसायिक वा परिपक्वले मात्र गाउने वा लेख्ने हो भने हाम्रो साहित्य वा संगीतको विकास हुदैन । त्यसैले सिकारू लेखक हुन् वा शौकिन कलाकार सबैले नहिच्किचाइ सिर्जनामा पाइला सार्नुपर्छ । एकदिन पूर्णताको नजिक पुग्न सकिन्छ ।

गीतसंगीतप्रति मेरा मान्यता छन् । पहिले लोकगीततर्फ लागौं । लोकगीत जुन जाति वा समुदायको हो त्यही जाति वा समुदायले संकलन गर्नु वा गाउनु राम्रो हुन्छ । लोकगीतले भौगोलिकता, क्षेत्रीयता, जातीयता, समुदाय वा संस्कृती विशेषको प्रतिनिधित्व गर्ने भएकाले लोकगीत गाउनको लागि स्थानीयलाई अवसर दिइनुपर्दछ । अरूमा सारेगामामा दक्षता छ तालसुरमा ज्ञान छ स्वर सुरिलो छ भन्दैमा अर्थात् अवसर पाएँ भन्दैमा लोकगीतलाई व्यवसायिक वा दक्ष कलाकारले मात्र कब्जामा लिनु राम्रो होइन । जस्तैः संचारमाध्यममा चन्डिगीत राइले गाएको वा देउडागीत बैतडी, दार्चुलातिरका खसले गाएको नै अर्थपूर्ण सुनिन्छ ।

तर देशभक्तिगीत सबै जातजातिले गाएको राम्रो सुनिन्छ । देशप्रेमयुक्त गीत सबै जातजातिले लेख्नु पर्दछ अनि यसमा अझ सबैको आफ्नो सांस्कृतिक विविधतायुक्त संगीत भर्दै ती गीत गाइनु पर्दछ । कुनै जात, वर्ग वा समूहले मात्र सधैं देशपे्रमका गीत लेख्नु र गाउनुको अर्थ के अरू कसैलाई देशको माया छैन त – अवश्य सबैलाइ देशको माया छ । कुनै मुसलमान कलाकारले, कुनै दलित र्सजकले कुनै अदिवासी स्रष्टाले, मधेसीले अनि सीमान्तकृतले यो देशको मायामा कुनै देशभक्तीगीत लेख्नु, संगीत भर्नु, गाउनु नै वास्तवमा अर्थपूर्ण हुन्छ, सबैले त्यस्तो अवसर पाउनु पर्दछ ।

अरुले तपाइ भनोस् नभनोस् आफ्नै बखानलाइ देशभक्तिगीत मानेर लेख्ने अनि आधुनिक बाजागाजा राखेर अत्याधुनिक स्टुडियोमा रेकर्ड गर्ने र सञ्चारमाध्यममा घन्काउने परिपाटीमा आज परिवर्तनको आवश्यकता छ । गीतसंगीत कला हो तर देशभक्तिगीतले यसभन्दा माथि उठेर जनभावना, जनआग्रह, विविधता, समावेशीपन र सान्दर्भिकता समेतलाइ बिर्सन मिल्दैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.