स्वाभिमान (कविता) नवराज सुब्बा
आँगनमा खेलिरहेको
मेरो सानो छोरो
एकदिन
रेडियोको समाचारले झस्कियो
“पार्टीको ढोका खुल्ला छ !”
अचम्म मान्दै
उसले आमालाई सोध्यो
“आमा ! त्यहाँ चोर छिर्दैन ॽ”
उसकी आमा
अलमल्ल परिन्
र हेरिन् मतिर
म भने आज
स्वदेशी हैन
विदेशी संगीत घन्काएर
कुर्सी वरिपरि घुम्दै खेलिने
सत्ताको म्यूजिकल चेयर देखेर
लज्जित भएको छु
शक्तिको लागि लडेको देखेर
निरुत्तरित र घायल पनि छु
सन्तानसामु
शिर निहुराएको छु
झुक्न नहुने स्वाभिमान
आफैसामु झुकाएको छु ।
२०६६।१०।२ विराटनगर
Read More