कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गर्ने तथा व्यवसायिक तालिम दिने कार्यक्रम अर्न्तर्गतको एक समारोहमा मलाई अतिथीको रुपमा निम्तो गरियो । कार्यक्रमको विषयवस्तु सुनेपछि म जिज्ञाशु आँखा लिएर कार्यक्रमस्थल अर्थात् मोरङको कटहरी गा.वि.स. पुगें । शैक्षिक सामग्री वितरण गर्ने परोपकारी कार्यमा सरिक छु भन्ने मलाई थाहा थियो तर के कस्ता बालबालिकालाई के के सामग्री दिँदैछु भन्ने पूर्ण जानकारी थिएन ।

स्थानीय स्वास्थ्य ब्यवस्थापन समिति मार्फ् द्वन्द्व प्रभावित बालबालिकालाई अध्ययन कार्यमा सहयोग गर्ने र ब्यवसायिक तालिमको लागि समेत प्रबन्ध गरिदिन हामीकहाँ सहयोगी बिदेशी हातहरू पनि जुटेका रहेछन् । म केवल निमित्त पात्र मात्र थिएँ । मैले प्रदान गर्ने शैक्षिक सामग्री जुटाउनमा मेरो कुनै योगदान थिएन । सहयोगी संस्थाको निम्तो आए पछि जानै पर्‍यो । प्रमुख अतिथि बनाइएको छ, सायद गमक्क पर्दै पुगियो होला । औपचारिक रूपमा कसैले सोधेमा संक्षेपमा भन्नुपर्दा म यत्ति भन्छु- एउटा राष्ट्रसेवकको नाताले द्वन्द्व प्रभावितहरुलाई सहयोग प्रदान गरें । मप्रतिको अपेक्षा र आफ्नो दायित्व मैले निर्वाह गरें, बस् ।

समारोहमा द्वन्द्व प्रभावित बालबालिकाहरूलाई जब शैक्षिक सामग्री प्रदान गर्न थालें कोही अभिभावक गुमाएका बालबालिकाहरू थिए, कोही हात चुँडिएका, कसैका औंला नभएका बालबालिकाहरु पनि मेरा अघि सहयोग थाप्न आए । एकजना बालक आफ्नो एक हात गुमाएका अनि अर्को एकजना हातका औंला पूरा नभएका कारण मैले दिएको सहयोग वा उपहार समाउन अलि अर्समर्थ भए, जुन अवस्था देखेर म एकाएक स्तब्ध भएँ । मैलै नै बिस्तारै उनीहरूका असक्त हातहरूमा आफ्नो हातले केही भर दिँदै उपहार समात्न सहयोग गरें । आफ्नो मन्तव्य दिने क्रममा उनीहरूको आँखामा मेरो आँखा जुध्दा मेरा आँखा रसाए, गला अवरुद्ध भए, र मैले मेरो भनाई पनि छोट्याएँ ।

मैले आजसम्म र्सार्वजनिक समारोहहरूमा कैयौं मानिसहरूलाई तथा बालबालिकाहरूलाई यसरी नै उपहार तथा पुरस्कारहरू प्रदान गर्ने थुप्रै अवसर प्राप्त गरें । तर उपहार वा पुरस्कार प्राप्त गरेर यत्तिको खुशी अनुहारहरू मैले आजसम्म कहिल्यै देखेको थिइन । असोज महिनामा पनि दिन धुम्म छ, झमझम पानी परिरहेछ । कोठाभित्र प्रकाश त्यत्ति नपुगेर त्यत्ति उज्यालो छैन तर त्यहाँभित्र रमाएका विद्यार्थी बालबालकिाहरुको अनुहारमा जुन कान्ति र खुशी देखें, त्यो अकल्पनीय थियो, अद्वितीय लाग्यो । मैले त्यहाँ बालबालिकाहरू मात्र हैन इश्वर हाँसिरहेको जस्तो देखें ।

कार्यक्रमकी आयोजक सीता पौडेल मलाई कार्यक्रमसम्बन्धी थप केही कुरा सुनाएर मेरो ध्यानाकर्षा गरिरहनु भएको थियो । वितरण कार्यक्रम सिद्धिए पछि शैक्षिक सामग्री पाउने भाइबहिनीहरू उज्यालो मुहार लिएर कोही धन्यवाद, कोही तपाइहरुको आशिर्वाद लागोस्, र कोही नमस्कार भन्दै विदा माग्दै थिए । म सीताजीको गफमा कम र भाइबैनीहरुको विदाईमा बढी हात हल्लाउँदै थिए र यसरी ध्यान बाँड्दै थिएँ । बोल्न खोज्दाखोज्दै पनि हात गुमाएका भाइहरुलाई बोलाउन भ्याइन । एक मनले सोचें फोटो खिचिएको छ । तर अर्को मनले भन्यो तिनको गुमेको हात र औंला आउने गरि पक्कै खिच्न भ्याइएको छैन । मन मानेन, ती हात गुमाएका भाइहरुको अरु फोटो खिचाउन मन लाग्यो । केही मिनेट बितिसकेको थियो । आयोजक मध्येका रामजीलाई मेरो मनसाय राखेर अनुरोध गरें । अलि पर पुगेका दर्ुइजना महमद दाइभाइलाई बोलाएर गा.वि.स. भवनको अधिल्तिर उभ्याएर फोटो खिचें ।

अहिले म कम्प्यूटरमा डाउनलोड गरेर एक-एक फोटोहरु नियाल्दै छु । शैक्षिक सामग्री प्राप्त गर्ने भाइबैनीहरूको अनुहार पढ्दैछु । कसैको अनुहारमा अभिभावक गुमाएका नियास्रा धर्काहरू छन् । कसैका आँखामा थुप्रै जिज्ञाशाहरू छन् । अझ गहिरिन्छु आँखाभित्र के के जिज्ञाशाहरु होलान् । पक्कै उनीहरुको भविश्यको जिज्ञाशा होला । भविश्यमा हाम्रो भूमिका र सहयोगप्रतिको पनि आशा होला । अझ त्यो भन्दा पनि सुनौलो भविश्यको सपनामा बुन्दै बित्ने बाल्यावस्थामा बिना कसुर द्वन्द्वको चपेटामा परेर भगवानले दिएको सग्लो शरीरका महत्वपूर्ण अंगहरु समाजले खोसिदिँदाको पीडा अनुहारमा प्रष्टै देख्छु । यो जीवनमा यसको क्षतिपर्ूर्ति कहिले अनि कसरी होला भनेर सोधिएको जिज्ञाशाले मलाई बेस्सरी पिरोल्छ । सायद यिनै सवालहरूले पिल्सिएर यी हरफहरू कोरें होला ।

भाग्यको छायामा पारिएका यी बालबालिकाहरूलाई उज्यालो भविश्यसम्म डोर्‍याउने जिम्मेवारी अब हाम्रो हो, किनभने तिनीहरूलाई हामीले नै त्यो अवस्थामा पुर्‍यायौं ।  यी दुइ महमदभाई र द्वन्द्व प्रभावित अन्य बालबालिकाहरूको अवस्थाले हामी सबैलाई आज कटु ब्यङ्ग्य गरिरहेको छ । यसैले आज एउटा कुरा गम्भीरतापूर्वक सोच्नैपर्छ कि, भोली हाम्रा सन्ततीहरूले हामीलाई नै कतै नधिक्कारुन्, हाम्रो भाग्य हाम्रा युद्धलिप्त रक्तपिपाशु पितृहरूले खोसिदिए भनेर ।

२०६७।६।६ विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.