धन्यवादको माला ! (नवराज सुब्बा)

त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले भाईे रहेछन् अर्थात् ताप्लेजुङ हाङपाङ निवासी जो मेची क्याम्पस भद्रपुरमा एम.ए. नेपाली दोस्रो वर्षा पढ्दै रहेछन् । मैले जागिरको क्रममा आफ्नो गाउँ छाड्दा उनी बालखै थिए, यसैले उनले आफ्नो बूबाको नाम लिए पछि मात्र मैले उनलाई चिने चूडामणि बराइली भनेर ।

मेरो साहित्यिक यात्राको बारेमा अध्ययन गर्ने प्रस्ताव लिएर आएका रहेछन् । उनको प्रस्ताव सुनेर पहिले म अल्मलिएँ । एक छिन स्तब्ध भएँ र झापाको साहित्यिक वातावरणमा मलाई राखेर अर्न्तर्मनमा चियाएँ । ‘श्रद्धाञ्जली एउटी बूढी लिम्बूनीलाई’ शिर्षको निबन्ध र ‘सतारको सम्बोधन’ कविता झापाका स्थानीय पत्रपत्रिकामा छापिए पछि यसले झापामा एक प्रकारको तरङ्ग ल्याएको महसूस म गर्दथें । मैले घुमाउरो पाराले उनलाई सोधें ‘भाइलाई यो विचार कसरी आयो त -‘ उनले स्नातकोत्तर तहमा नेपाली पढाउने प्राध्यापकले सल्लाह दिनु भएको साथै आफ्नै गाउँको एकजना दाईको विषयमा अध्ययन गर्ने पनि इच्छा भएको सुनाए । उनका कुरा सुनेर म भित्रभित्रै एकप्रकारले खुशी भएँ र अध्ययनको लागि सहमति प्रकट गरें । उनको आग्रह अनुरुप आवश्यक सामग्री अर्थात् मेरा कृतिहरू, आवश्यक अन्तर्वार्ता दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरें । साथै मैले नै अग्रसर भएर सम्पन्न भए पछि थेसिसलाई केही सयप्रति पुस्तकाकार रूपमा छपाइदिने पनि बाचा गरें ।

मैले कृतिहरू उनलाई दिएको, यसो अन्तरवार्ता दिएको हिजो जस्तो लाग्छ । ख्यालख्यालमा दुइवर्ष बितेछ । कालो कभरमा ब्यान्डिङ गरिएको शिर्ष सहितको थेसिस अर्थात् अध्ययनग्रन्थ मेरो हातमा आज पर्‍यो । उनले माथि गाउँमा मेरा बूबा, आमा, गुरुहरू, गाउँले दौतरी, अभिभावकहरुसंग सोधखोज गरेछन् र मेरा सबल र दुर्बल पक्षहरु समेत केलाएर मेरो साहित्यिक व्यक्तित्व र कृतित्वमाथि एउटा थेसिस तयार गरेछन् जुन देखेर म अहिले दङ्ग छु । अब मेरो काँधमा मैले हिजो आफैले गरेको बाचा पूरा गर्नुपर्ने अवस्थामा आफूलाई पाएको छु ।

जे होस् अहिले भने म, यत्रो श्रोतसाधन अर्थात् समय, श्रम लगाएर विद्यार्थी, मेची बहुमुखी क्याम्पसका प्राध्यापकज्यूहरू लगायत झापाका विद्वानहरूले एकजना र्सजकलाई जुन अध्ययन, विश्लेषण र अभिलेखन कार्य सम्पन्न गर्नु भयो त्यो कार्यको म हार्दिक प्रसंशा, आभार र धन्यवाद टक्र्याउन अत्यन्त जरुरी ठान्दछु । यस क्रममा शोधकर्ता विद्यार्थी चूडामणि बराइली, शोध निर्देशक उपप्राध्यापक श्री शान्तिराम मिश्र, अनुसन्धान प्रमुख सहप्राध्यापक डा. द्रोणकुमार उपाध्याय, विभागीय प्रमुख सहप्राध्यापक श्री कमलप्रसाद गुरागाइँ, र बाह्य परिक्षक श्री जीबनाथ सुबेदीज्यू र मेची बहुमुखी क्याम्पसलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । धन्यवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.