नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।
अपरान्ह २ बजेतिर कार्यक्रम सुरु हुने भएकाले हामी साढे एकमा नै कार्यक्रमस्थल पुग्यौं । तर त्यहाँ पनि साहित्यिक कार्यक्रम सुरु हुनलाई यता हाम्रोतिर नेपाली टायममा चले जस्तै अलि ढिलै भयो । अर्थात् तीनबजेतिर कार्यक्रम सुरु भयो ।
भारतीय नेपालीहरूका कविताहरूमा मैले अलि बेग्लै स्वाद पाएँ । उनीहरूलाई अर्कै पीडा छ, पहाड अर्थात् पितृभूमि छाड्नुको पीडा, नेपालभूमिसँग छुट्टनिुको छटपटी, स्वतन्त्रता पाए पनि सामाजिक र राजनीतिक क्षेत्रमा कुनै जातिको थिचोमिचोमा बस्नुको पीडा उनीहरूका रचनामा टड्कारो सुनियो । त्यत्तिमात्र हैन यता नेपालमा आएको अस्थिरताप्रति पनि उनीहरूमा उत्तिकै चिन्ता रहेछ । नेपालले आफ्नो र्सार्वभौम नगुमाओस् भन्ने चाहना उनीहरूमा रहेछ । उनीहरूको पीडा अर्थात् सुस्केरा सबै नेपाली भाषामा नै पढियो, गाइयो तथा सुनाइयो । त्यहाँ नेपाली भाषाले सबै जात, जाति, धर्मावलम्बीहरूलाई एक शूत्रमा बाँधेर राखेको रहेछ । हामी जाति भन्नाले थरलाई बुझदछौ र लड्दैछौ, त्यहाँ जाति भन्नाले भाषी भन्ने बुझिन्छ र लडिदैछ । यहाँ र त्यहाँ मैले अनुभव गरेको एउटा फरक यही हो । हामी त्यहाँ पुग्दा उनीहरूले आफ्नै मान्छे घरमा पाए जस्तो स्वागत गरे । यता टोलीका मित्र जे.बी. थुलुङ मलाई खुसुक्क भन्दै हुनुहुन्थ्यो- “दाई मलाई त तपाईहरू नेपालबाट आएको भनेर भन्दा त रुन पो मन लाग्यो हौ ।” अर्का साथी अनिल भन्दै हनुहुन्थ्यो “हेर यो बाटो, यो रुख, पुल, डाँडा सबै नेपालै जस्तो त छ नि, के फरक छ र, हेर मान्छे पनि उस्तै, भाषा पनि उही, तर हामी मेची तरेर अर्कै मुलुकमा आयौं हगि !” भन्दै हामीलाई भावुक नजरले पुलुक्क हेर्दै हुनुहुन्थ्यो । हामी स्वीकृतिको शिर हल्लाउँदै अघि बढ्यौ बाटामा । मलाई पनि मनमा कस्तो कस्तो लागिरह्यो बाटाभरि ।
साझा प्रकाशनले आफूलाई घाटा लागेको भनि त्यहाँबाट विक्रीडिपो हटाएकोमा त्यहाँका नेपालीभाषीको ठूलो चित्त दुखाई रहेछ । जुन कुरा उनीहरूले अन्तरक्रिया कार्यक्रममा खुलेर बताए । साझा प्रकाशनमा खेम नेपाली कार्यरत रहेको बेलामा हटेको रहेछ साझा पुस्तक पसल त्यहाँबाट । उहाँ पनि हामीसंगै हुनुहुन्थ्यो आज । त्यसलाई अहिले पुनस्थापित गर्न खोज्ने अनिल पौडेल पनि सँगै हुनुहुन्छ । त्यही मौकामा त्यहाँका नेपालीभाषी हामीलाई एक हातले गालामा स्वागत र अर्का गालामा गालीका झापटले हाने । न हाँस्नु न रुनु भनेझैं कान ठाडा, मुख चूप राखेर उनीहरूकै बात सुनिरहेथ्यौं धेरैबेर बसेर । पहिले त घाटा सहेर संस्था कसरी चल्छ भनेर वकालत गर्दै गरेका नेपालीजी अन्तमा भने गल्नुभो र भन्नुभो- “यस्तै अन्तरक्रिया गरेर मात्र डिपो हटाउनु पर्ने रहेछ !” भन्दै पछुताएको पनि सुनें । अन्ततः अनिल पौडेल जो वर्तमान साझा प्रकाशन संचालक समितिका सदस्य हुनुहुन्छ वहाँले यथाश्रि्र पसल खोल्ने आश्वासन दिए पछि मात्र त्यहाँ वातावरण शान्त भयो ।
यसअघि संघका अध्यक्ष युवराज खतिवडाको अध्यक्षता तथा साझा प्रकाशनका संचालक अनिल पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपालबाट साहित्यकार खेम नेपाली, जे.बि. थुलुङले र भारतका ज्ञानेन्द्र खतिवडा, लक्ष्मण सिमल, बि.बि. विश्वकर्मा, गौरी सुब्बा प्रधान, राजन ढकाल, सन्तोषकुमार क्षेत्री लगायतका साहित्यकारहरुले आ-आफ्ना रचनावाचन गरे । सम्पन्न भएको काव्यवाचनका शिलसिलामा मलाई एउटा कुराले छोयो । त्यहाँ “सिक्टी प्लस एसोसिएसन” भन्ने एउटा संस्था पनि रहेछ गोर्खा सेवा परिषदसँगै हातेमालो गर्दै हिंडेको । जहाँ साठी वर्षउमेर पुगेकाले मात्र सदस्यता पाउने रहेछन् जसले समय समयमा साहित्यिक, सामाजिक र धार्मिक कार्यक्रमहरूको आयोजना गर्दो रहेछ । दर्शकदर्ीघामा बसेका बृद्धबृद्धा देख्दा मलाई मेरो “पुराना जुत्ताहरू” शिर्षको कविता सुनाउन मन लाग्यो । मञ्चमा उभेर सिक्टी प्लस एसोसियसनकोबारेमा केही भूमिका बाँधे र कविता वाचन गरें । सबैले ध्यान दिएर सुने । बीच बीचमा ताली पिटे, वाहवाही गरे र वाचन गरिसकेपछि धेरैले खुशीका भाव र बधाईका हात दिए र आशिर्वाद दिए ।
कार्यक्रमस्थलबाट हिड्ने बेलामा एकजना बृद्धले मैले वाचन गरेको कविता ‘पुराना जुत्ताहरू’ प्रकाशनार्थ माग्नुभो । साँझपख खाना खाने बेलामा टोलीका मित्र खेम नेपाली भन्दै हुनुहुन्थ्यो- “मलाई तपाईले कवितावाचन गरिसकेपछि आँखामा उम्रेको पानी पुछ्न अप्ठेरो भइरहेको थियो, धन्न खादा ओढिएको थियो र त्यसैले पसिना पुछेझैं गरेर मैले मेरो आँशु पुछें ।” मलाई यस अघि दर्शकहरूले गरेको प्रतिक्रिया र नेपालीजीको भनाई सुनेपछि कुनै ठूलो पुरस्कार पाए जस्तो आत्मसन्तुष्टी मिल्यो । अहिले म मेरा तिनै पुराना जुत्ताहरूले साँटेर ल्याएको आशिर्वाद र आत्मसन्तुष्टि यो मनमा नअँटेर होला सायद यी हरफहरू कोर्दै थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.