म हुस्सु !

नवराज सुब्बा

साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन । केही बेर पछि प्रसारण कार्यक्रममा ब्यस्त संचालिका सबिना आएर “हुन त तपाइलाई २ बजेर ५० को समय दिएको हो आउनु भएछ ठिकैछ एकैछिन पर्खनुस् म तपाईको अन्तरवार्ता लिनेछु !” भनेपछि पो म झसङ्ग भएँ । यसो मोबाइल झिकेर एस.एम.एस. हेरेको त नभन्दै २ बजेर ५० नै समय लेखिएको रहेछ । समयमा नपुगिएला भनेर त्यत्रो हतार हतार गरेर ट्याक्सीमा आइयो तयार भएको खाजा पनि छाडेर आइयो । समय त रहेछ नि खाजा खाइवरी माइक्रोवस चढेर आउँदा ठिक्क हुने रहेछ नि ! यो दिमागमा कसरी १ बजेर ५० भन्ने छाप पर्‍यो हँ – भनेर आफैलाई सोध्छु र जवाफ पाउँछु- तँ अलि हुस्सु नै छस् । हो, मलाई पक्का भयो म अलि हुस्स-हुस्सु नै छु ।

कार्यक्रम संचालिका सविनासंग अन्तरवार्ताको तैयारीको सिलसिलामा वहाँले तपाइले एउटा कविता पनि भन्नु पर्छ है भन्नु भो । “मिडविक म्यूजिक” भन्ने कार्यक्रममा अन्तरवार्ता दिनु पर्ने भएकाले यस्तै गीतसंगीतसम्बन्धी, एलवमसम्बन्धी सामान्य कुराकानी होला भन्ने सोचेर मैले कविता बोकेको थिएन । अब मलाई परेन त फसाद ! सम्झे, कवि-कवि भन्छन् मलाई, खै मुखमा भने एउटै कविता आउँदैन । आउन पनि पो कुनै कविताको दुइ हरफसम्म पनि पो आउँदैन त ! फेरि कविताका दुइदुइ वोटा पुस्तक प्रकाशित भैसकेका छन्, कसरी बुझाउनु कविता लेख्ने मानिसलाई कविता आउँदैन भनेर । वास्तवमा म आफ्नो हालत देखेर आफै लज्जित हुन्छु । कविगोष्ठीमा कैंयौं कवि नहेरीकन फरर कविता सुनाउँछन्, फरर गजल गाउँछन् । आफूलाई भने न कविता आउँछ न गजल नै आउँछ न त गीत नै मुखाग्र आउँछ ! खै म कस्तो कवि – म हुस्सु नै हुँ क्यार ! तर त्यसबेला मैले एउटा उपाय निकालें । इन्टरनेटबाट हालसालै लेखेको कविता वहाँकै ल्यापटपमा ब्राउज गरें र पढिदिएँ अनि लाज  बचाएँ ।

त्यहाँबाट फर्कदा मैले मेरो बाल्यकाल सम्झें । बूबाले मलाई घरिघरि हकार्नु हुन्थ्यो “तँ आफूले काम गर्दागर्दै राखेको सामान जस्तै कैंची, हेमर आदि नथन्क्याइकन जहाँको त्यहीँ छाडेर हिंड्छस् र बारम्बार हराउँछस्, त्यस्तो हुस्सु दिमागले तँ पढाइमा चाहिँ कसरी पहिलो हुन्छस् हँ – खै तेरो दिमाग त्यति राम्रो त देख्दिन !” त्यतिबेला बाको कुरा मलाई तीतो लागे पनि अहिले मलाई त्यही कुरा मीठो लाग्न थालेको छ ।
आगामी बुधबार ८ बजेपछि प्रसारित हुने तय भएको उक्त एफ.एम. कार्यक्रमको दौरानमा मेरो शिक्षाबारे पनि चर्चा भयो । चार पाँच विषयमा स्नातकोत्तर पढेको तर डिग्री चाहिँ दुइटाको मात्रै लिएको । “स्नातकोत्तर मात्र धेरै पढेर हुँदैन बरु कुनै एउटामा विद्यावारिधि गरे पो जाती !” भन्ने अर्ती पाएपछि विद्यावारिधिमा तीनवर्षेखि झुन्डेको भनेर पनि गफ हाँकियो । तर मलाई आज पक्का विश्वास भयो कि मेरो दिमाग मेरा बाले भने जस्तै त्यति ठिक छैन । म अलि हुस्सु नै छु । बास्तवमा मैले जति पढे पनि जति लेखे पनि ठ्याक्कै मेरा बाले भनेको जस्तै मेरो दिमागलाइ अलि ठेकानमा ल्याउन जरुरी भएको छ ।
२०६७।११।२१ काठमाडौं
Tea Talk audio

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.