तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा)

म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं । वर्षेनी आठराइ सक्रान्तिमा एस.एल.सी. परीक्षा दिदै गरेका हामी सरस्वती मा.वि.का विद्यार्थीहरुले २०३३ सालमा ताप्लेजुङमा गएर एस.एल.सी. दियौं ।
म सम्झन्छु वि.स. २०३१ साल र स्व. तुलसी लामिछानेलाई जो जिल्ला पंचायत तेह्रथूमका सभापति हुनुहुन्थ्यो । जसले मलाई पूर्वाञ्चलव्यापी विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा विजयी हुँदा मलाई स्यावासीका साथमा पदक भिराइ दिनु भएको थियो । तत्कालीन जिल्ला पंचायत भवनको मास्तिर डाँडामा निर्मित स्थायी मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । पदक पाएपछि मैले म्याङलुङ बजार परिक्रमा गरें बेनु चुडालसर सँगै । पछि सभापति तुलसी लामिछाने एकपटक सरस्वती मा.वि. हाङपाङमा आउनुभो, हामी विद्यार्थीहरू पंक्तिवद्ध भएर हातमा फूल लिएर स्वागत गर्दै थियौं मेरो छेऊमा आएपछि मैले पनि वहाँलाई फूलका गुच्छा दिएर स्वागत गरें । विद्यार्थीको त्यत्रो हुलमा पनि उहाँले मलाई चिन्नुभो र नाम लिएर बोलाउनु भो । मलाई त्यसबेला अत्यन्तै गौरवको महसूस भयो । पछि रेडियोमा, पत्रपत्रिकामा र हल्ला सुनें- तुलसी लामिछानेले त खोरुङ्गा खोलामा हाम्फालेर आत्महत्या गरे रे । मलाई त्यसबेला देखि आजसम्म पनि त्यो कुरा पत्याउन मन मानिरहेको छैन आखिर किन उनले आत्महत्या गर्नुपर्‍यो । आज पनि तेह्रथूमका उनका समकालीनहरूलाई यस्तै जिज्ञासा राख्दै आएको छु ।
निबन्ध लेखेर विद्यालय स्तरमा रेडियो नेपालको बाल कार्यक्रममा पनि विजयी भएको थिएँ । यसरी मलाई निबन्ध लेख्न सिकाउने र हौसला दिने मेरा गुरु प्रल्हादकुमार प्रसाइ हुनुहुन्छ । वहाँसंगै तेह्रथूम म्याङलुङ बजारमा गएर सरस्वती मावि हाङपाङको प्रतिनिधित्व गर्दै निबन्ध प्रतियोगितामा लेख्न बसें र वादविवाद प्रतियोगितामा पनि सहभागी भएँ । अहिले सम्झन्छु, म निबन्ध लेख्न बस्दा सिंहवाहिनीमा अंग्रजी विषय पढाउने शिक्षक भरत दाहालसर मेरो छेऊमा आउनु भयो र मलाई धाप मार्दै कानमा खुसुक्क भन्नु भो- ‘तिमी नै हौ हाङपाङका फष्ट ब्याव’ भनेर । पछि सुने, उहाँको मानसिक सन्तुलन बिग्रियो रे । मलाई अझै जिज्ञासा उठ्छ जो त्यसबेला दार्जिलिङबाट अंग्रेजीमा स्नातक गरेका त्यस्ता होनहार अंग्रेजी शिक्षकलाई त्यस्तो के पर्‍यो र मानसिक सन्तुलन गुमाउनु पर्‍यो ? मेरो मनै मान्दैन त्यसैले सायद तेह्रथूमका जोकोही उनलाई चिन्ने मानिस भेट्दा यही सवाल अझै तेर्‍स्याउनु गर्दछु ।
म सम्झन्छु, नारायण सुबेदीलाई । वहाँ अत्यन्त सुरिला लोकगायक साब्ला निवासी शिक्षक हुनुहुन्थ्यो । ‘बाबा र ज्यूको नि हौ टाहारी खेत जोरजोरै समाहा चट्टै रानी रुमालमा…’ उहाँको गाएको यो गीत त्यसबेला रेडियो नेपालमा खूबै बज्दथ्यो । अनि वहाँले नै संकलन गरेको तिरीमा तिरी नी मुरली बज्यो, बज्यो मुरली झिरैले खोपेको बज्यो मुरली, कैलै र पनि बिर्सने छैन बज्यो मुरली हाँसेर बोलेको बज्यो मुरली’ यो गीत हामीले पनि विद्यालयमा गायौं, नाच्यौं । हामी विद्यार्थीहरू रेडियोमा त्यस्ता गीत गाउने मान्छे अर्थात् रेडियोमा नाम आउने मान्छे कस्ता होलान् भनेर अचम्म मान्दै उनको मुहार नियाल्थ्यौं । एकपटक उनै नारायण सुबेदीले हामीलाई दर्जीको दमाहा व्यवस्था गरिदिनु भयो । तेह्रथूम जिल्लास्तरीय पी.टी. प्रतियोगिताको लागि । अरु विद्यालयहरूले सीटी फुक्दै पी.टी. खेले । जब हाम्रो हाङपाङको टोलीको पालो आयो दमाहा ठोक्दै बेनुसरले पी.टी. सुरु गरेपछि हाम्रो पी.टी. हेर्न म्याङलुङबजार सोरसार टुँडिखेलमा ओर्लियो । हामी पहिलो भयौं । सायद यही दमाहाले गर्दा पनि पहिलो भयौं होला । स्टुडेण्ट सपदेखि अलि परतिर अजाको होटल थियो जहाँ हामी विद्यार्थीहरू खाना खाने तथा बास बस्दथ्यौं । अजा हारमोनियम बजाउँदै मीठो गाउनु हुन्थ्यौ । वहाँकी बुहारीले खानासित कागती, बयर, खल्पीको मीठो अचार दिनुहुन्थ्यो । किन हो किन सारै मीठो लाग्दथ्यो मलाई होटलको खाना, उसबेला मुखै फेरिन्थ्यो ।
यसरी म हाङपाङको सरस्वती मा.वि.को विद्यार्थी भए पनि विद्यालयको उठबस, हासखेल सबै तेह्रथूमको सिंहवाहिनी मा.वि., आठराइ सक्रान्तिको त्रिमोहन मा.वि. र आठर्राईकै मदन मेलामा आयोजित विभिन्न प्रतियोगिताहरूमा धाउँदा धाउँदै बित्यो । एकान्तमा विचार गर्दछु, आज मेरो नागरिकतामा जन्मस्थानमा हाङपाङ, ताप्लेजुङ लेखिएको भए पनि मेरो हृदयमा तेह्रथूमकै गहिरो छाया र माया छ । सायद यसैले पनि होला मैले तेह्रथूम जिल्लाका स्वास्थ्यसंस्थाहरूमा करिव ५/६ वर्ष सेवा पनि गरेको छु ।
आज म सहपाठी गोपालकृष्ण सिवाकोटी ‘चिन्तन’ लाई पनि सम्झन्छु । उनी त्रिमोहन मावि आठराइ सक्रान्तिका प्रतियोगी, म हाङपाङ सरस्वती माविको प्रतियोगी । हामी लगायतका विभिन्न विद्यालयका विद्यार्थीहरुले ‘गाउँले जीवन र सहरीया जीवन’ विषयमा वादविवाद प्रतियोगिता गर्‍यौं । त्यसबेला गोपालजीले भनेको एउटा कुरा म कहिल्यै भुल्दिन- ‘सहरियाहरु बाहिर बाहिर टाइफिटिङ भित्र भने जुम्राको मिटिङ’ । आज म पनि सहरिया भएको छु । बेलाबेला यही कुराले मलाई घोच्ने गर्दछ । केहि महिना अघि धेरै वर्षो अन्तरालमा वहाँसंग काठमाडौं एयरपोर्टमा भेट भएको थियो । त्यसबेला वहाँले भावुक बन्दै मसित भन्नु भो- ‘नवराजजी, हामीले सिक्ने कुरा विद्यालयमा नै सिकेछौं, पछि त त्यही कुरा विस्तारित मात्र गर्‍यौ’ । वास्तवमा मलाई उनको कुरा सही लाग्यो ।
ठिक अहिले त्यही तेह्रथूममा तेह्रथूम महोत्सव चलिरहेछ । त्यहाँबाट निम्तो नआएको पनि होइन । निम्तो नै नपाए पनि जान पर्ने हो । कति बाँधिएको छ जीवन, कति स्वार्थी भयो मन । निस्वार्थ कतै हिंड्नै मन नलाग्ने गरी जीवन कूँजो भएको छ मेरो पनि । मलाई धिक्कार लाग्छ कहिले काहिँ आफ्नै जीवन सम्झेर । आफू खेलेको हुर्केको ठाउँको दुःखमा त साथ दिइएन, सुखमा पनि साथ दिन सकिएन भनेर । तैपनि, तीनजुरे जस्तै अटल छ तेह्रथूम तिम्रो माया, लालीगुराँसको रङ्गझैं पवित्र छ म्याङलुङ ! तिम्रो मोह !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.