मितज्यू कुलप्रसाद प्रसाइ

उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात्  धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो । हुन पनि पैण्टशर्ट, चश्मा खेतीकिसानी गर्नेलाई कहाँ हुन्छ र ! अल्झाइहाल्छ नि जस्तो लाग्दथ्यो । किनभने उसबेला कामको सुरमा लागेपछि चप्पल, जुत्ताले त अल्झाउथ्यो हामीलाई । कहिले हतारमा चप्पल जुत्ता खुस्कने, कहिले लोती चुडिने, कहिले पानी, हिलोले भिज्ने । बरु खाली खुट्टा हिड्यो एकछिन बालुवा, ढुँगाले घोच्छ एकछिन पछि थाहै हुँदैन थियो घोचेको पनि । अहिले सम्झँदा कहाली लागेर आउँछ ।

त्यसबेला अर्थात् २५/३० सालतिर हाम्रो पहिरन दौरा सुरुवाल वा कमिज सुरुवाल हुने गर्दथ्यो । मलाई पनि दौरा सुरुवाल नै खूब मन पर्दथ्यो । किनभने यो कुनै पनि खेल खेल्नलाई, काम गर्नलाई सजिलो हुन्छ । पैण्ट लगाएर खेल्दा धेरैचोटी पेण्ट फुटेर कन्तबिजोग हुने गर्दथ्यो । मधेश झरेर आउनेले एकदुइ दिन पैण्ट लगाउँथे र सबैका आँखाका तारा बन्दथे । पहाडको उकालीओरालीले टाइट पेण्ट फुट्न थालेपछि दौरा सुरुवाल नै लगाइन्थ्यो । यसो सम्झन्छु त्यसबेला टाइट पैण्टको जमाना थियो । अहिलेको जस्तो खुकुलो पैण्टको जमाना त्यसबेला गइसकेको थियो । अलि पछि जिन्स पैण्ट चलन आएपछि मात्र पैण्ट लोकप्रिय भयो जस्तो लाग्छ । बल्ल खुकुलो पैण्टको जमाना अलि टिकेको छ र आजकल यो पहिरन गाउँबजार जताततै छ्प्छ्याप्ती भएको छ ।
मेरा मितज्यू कुलप्रसाद प्रसाइ जो मेरो छिमेकी पनि हुनुहुन्थ्यो वहाँलाइ दौरा सुरुवालमा नेपाली ठिटोको मोडल जस्तो लाग्दथ्यो र आजसमम पनि त्यो विम्व मेरो मानसपटलमा ताजै छ । दौरा सुरुवाल लगाएर बसेर नाच्न थालेपछि फूलको हाँगामा चरी नाचे जस्तो देखिन्थ्यो मितज्यूलाई । यी सबै अब सम्झनामा मात्र रहे यसैले लिपिवद्ध गर्न खोजेको । कारण वहाँ मेरो मितज्यू भएकाले मात्र होइन एउटा प्रतिभाशाली नृत्यकारलाई सम्झना गरेको हुँ वहाँको त्यो नृत्यकलालाई मेरो सलाम ।
म नढाँटीकन भनिरहेछु, दौरा सुरुवाल लगाएर नाच्दा वहाँलाई जत्ति सुहाएको आजसम्म मैले न त कुनै सास्कृतिक कार्यक्रम न त पर्दामा, वा काँचको शिशामा नै देखेको छु । म २०२५/२६ साततिरको कुरो गर्दैछु । “नेपालीको के राम्रो पहिरन, दौरा र सुरुवाल कोट लाएको कम्मरमा पटुकी कसेर खुकुरी भिरेको” । आहा ! म सम्झन्छु सुरिलो स्वरमा हरि संग्रौला गीत गाउँथे, शालिन भाकामा गणेशबहादुर राइ हारमुनियम बजाउनु हुन्थ्यो र फूर्तिलो पारामा विद्याराज प्रसाइले मादल घन्काउन थालेपछि त्यसबेलाको सरस्वती माद्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रम गुञ्जयमान हुन्थ्यो ।
कुलप्रसाद प्रसाइ उमेरको हिसावले मभन्दा केही जेठो भए पनि धनमाया (इन्दिरा) दिदीले मीत लाउनु पर्छ भनेर हामीलाई खै किन हो उक्साउनु भयो र हामीबीच  टोपी साटासाट गराउँदै एकदिन तखतीघरको पुराणमा मीत लगाइ दिनु भयो । त्यसबेला दुइचार प्याकेट रातो मीठाइ बोकेर गाउँ डुल्दै गाउँलेहरूलाई मीठाइ पनि खुवायौं । तर त्यसबेला मीत लाएपछि नजिक होइन्छ होला भनेको त झन झन टाढा टाढा भए जस्तो पो भयो । जेसुकै बोल्न पनि नहुने, जिस्कन पनि नहुने । भेटे पछि ढोग्नु पर्ने । ढोग्नु पर्ला भनेर कहिलेकाहि टाढैबाट तर्कने पनि भइएको थियो ।
आज मीत लगाएको लगभग चालीस वर्षभयो । पाँचवर्षअघि होला म विराटनगरमा अफिसमा बसिरहेको थिएँ । मीतज्यू अचानक आउनु भयो । हामी गला लाग्यौ । त्यसबेला मेरा खुशीका आँशु झरेका थिए । फेरि त्यहाँदेखि आजसम्म भेट भएको पनि छैन । तीस वर्षछि पछिल्लो भेट भएको थियो विराटनगरमा । बा कतै फेरि त्यत्तिकै अन्तरालमा मात्र पो भेट हुने हो कि भनेर कहिलेकाहि म भावुक हुन्छु, यो तस्वीर हेरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.