काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)

केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो । प्राज्ञ कृष्णभूषण बललाई आगामी कार्यकालको लागि सभामा र्सवसम्मत निर्णय गर्दै प्रसन्न मुद्रामा बसिरहेका बेला अचानक सुनिएको यो समाचारले हामी सबैको मनमा एक्कासी अमिलोपन छायो । सबैले प्रश्नबोधक मुद्रामा एकआपसमा जिज्ञासा प्रकट गरे । प्रायः विछ्यौनामा बसिरहने दिज्यूलाई त्यस्तो दुर्घटना कसरी हुन गयो ? धेरैले धेरै कुरा गरे, मैले पनि सबै सुनें र एकप्रकारको लामो सुस्केरा मेरो मुखबाट थाहै नपाइकन फुत्त निस्कियो “त्यस्तै हो एउटा एउटा निहुँ” । मुखबाट ‘निहुँ’ शब्द निस्किनासाथ म आफै झस्किएँ । लाग्यो, सायद बोल्न नहुने अशुभ शब्द मेरो मुखबाट निस्कियो ।
यसरी प्वाक्क बोल्ने आफ्नो बानी आफैलाई मन नपरेर मनमनै आत्मालोचना गर्दै थिएँ, आज विहान समाचारपत्रमा देवकुमारी दिदीको देहवसान भयो भन्ने सुनेर म साँच्चै स्तब्ध भएँ । बबरसिंह थापा गुठीका अध्यक्ष कविराज न्यौपानेको हवाला दिँदै आज शुक्रवार ११ बजेसम्म श्रद्धाञ्जलीको लागि शवलाई निवासमा राखिने समाचारमा बताइएको छ । तर किन किन निवासतिर पाइला र्सार्न मन गर्‍ह्रौं भइरहेका बेला स्मृतिका केही हरफहरू कोरेर अनि मात्र भौतिक शरीरमा अन्तिम पटक श्रद्धाञ्जली दिनलाई सोच्दैछु ।
सम्झन्छु, केही वर्षअघि म झापामा कार्यरत रहेको बेलामा एकदिन अचानक साहित्यकार विवश पोखरेलले मलाई फोन गर्नुभयो र भन्नुभयो “देवकुमारी दिदी तपाईसित केही कुरा गर्न चाहनु हुन्छ” । अचम्म मान्दै मैले दिज्यूसित फोनमा कुरा गरें । वहाँले मेरो ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह भित्रको ‘भगवानसँग’  शिर्षको एउटा कविताको बारेमा कुरा गर्नुभयो । यो छोटो कवितालाई वहाँले गीताको वाक्यसित तुलना गर्नुभयो । र आफूलाई अत्यन्त छोएको र मन परेको कुरा बताउनु भयो अनि मलाई मनभरि आशिर्वाद पनि दिनुभयो । त्यसबेला फोनमा कुरा सकिए पछि मैले खुशीको आँशु पुछेको थिएँ ।
मेरो लागि दिज्यूको ती वाक्यांश र आशिर्वादलाई सबैभन्दा ठूलो पुरस्कार हो भनेर मैले सञ्चारमाध्यममा बताइसकेको पनि थिएँ । एक अग्रजले यति मिहीन, मार्मिक र गम्भिर ढंगले मेरा रचनालाई आत्मासात गरेर मन पराइ आत्मैबाट दिएको आशिर्वाद पाएपछि निश्चय म खुशीले गद्गद् भएको छु । मैले यही कुरा रेडियोमा बोलेको भए पनि आज यसलाई लिपिबद्ध पनि गर्दैछु ।
बबरसिंह थापा स्मृति गुठीको वाषिर्क समारोहमा मलाई वर्षेनी निम्तो आउँछ । तर कार्यब्यस्ततावश म सहभागी हुन सकेको थिइन । केही हप्ताअघि पनि यसरी नै निम्तो आएको थियो । सोही दिन तर केही अधि मलाई अर्को कार्यक्रममा पनि सहभागी हुन जानुपर्ने अवस्था आयो । उक्त कार्यक्रम निर्धारित समयमा सुरु नभएको र कार्यक्रममा आफूलाई पनि सम्मान गर्ने कार्यक्रम भएकाले बीचैमा हिंड्न वा सम्मान थाप्नासाथ हिड्न पनि अप्ठेरो भइरहेको बेलामा बबरसिंह थापा स्मृति गुठीको कार्यक्रमको निर्धारित समय झण्डै एकघण्टा वितिसकेको थियो । मैले तीन-तीन वर्षम्म निमन्त्रणा अवज्ञा गरें यो त अति नै भो, ढिलै भए पनि जान्छु, सुटुक्क पछाडि दर्शकदीर्घामा बस्छु र कमसेकम आत्मसन्तुष्ट हुन्छु भन्दै कार्यक्रमस्थल पुगें । नभन्दै बबरसिंह थापा स्मृति गुठीद्वारा आयोजित कार्यक्रम अन्तिम चरणमा पुगेको रहेछ । तैपनि मलाई समारोहमा ससम्मान मञ्चमा बोलाइयो । मैले मञ्च उक्लने क्रममा देवकुमारी दिज्यूलाई पनि अभिवादन गरें वहाँले बडो प्रसन्न मुद्रामा मेरो अभिवादन फर्काउनुभो ।
उसबेला मैले देखेको दिज्यूको उही प्रसन्न मुहारलाई मैले मेरो मुटुमा साँचेको छु अनि वहाँले फोन मार्फत मलाई दिनुभएको आशिर्वादलाई हृदयमा पोको पारेर राखेको छु । जेहोस् म यसबेला उही देवकुमारी दिज्यूको आत्माको चीरशान्तिको कामना गर्दै वहाँलाई कुनै दिन यस भौतिक संसारमा मन परेको मेरो ‘भगवानसँग’ शिर्षकको कवितालाई आज काव्यात्मक पुष्पस्वरुप श्रद्धाञ्जली चढाउँछु ।
केटाकेटी छँदा
आँखा फेटाले छोपेर
साथी छुने खेल खेल्दथें म
तर आज
आँखा खोलेर पनि
कतै भेटिन तिमीलाई
हे भगवान !
र्सवत्र छामेर पनि
कतै पाउँदिन तिमीलाई
एउटा कुरा सोध्नु थियो-
के म अझै उस्तै छु
तिमीले सोचेजस्तै
बनाएजस्तै ।
(‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५)
बैशाख २३, २०६८ विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.