साहित्य पवित्र परिकल्पना हो  


हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासक मात्र हैनन् । उनी एक सफल र्सजक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन् । उनका जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (२०६३), मनको मझेरी निबन्धसङ्ग्रह (२०६४), बीच बाटोमा ब्यू“झेर कवितासङ्ग्रह (२०६५), सहिदलाई सलाम गीतसङ्ग्रह -२०६७), यात्रा आधा शताब्दीको कवितासङ्ग्रह (२०६८) प्रकाशित भइसकेका छन् । यतिमात्र हैन सुब्बाका आधा दर्जन देशभक्तिपूर्ण गीतहरु श्रोतामाझ आइसकेका छन् । नेपालका विभिन्न जिल्लामा तीन दशकदेखि जनस्वास्थ्य व्यवस्थापनमा काम गरेर पेशागत अनुभव संगालीसकेका सुब्बाले पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४मा प्रथम स्थान प्राप्त गरेका छन् भनें दर्जन बढी संघ संस्थाहरुबाट पुरस्कृत तथा सम्मानित समेत भइसकेका छन् । प्रस्तुत छ, उनै बहुमुखी प्रतिभा भएका सुब्बासंग गरिएको कुराकानीका केही अंशहरु  (मोहन भट्टराई)

साहित्य क्षेत्रमा कहिलेदेखि कसरी लाग्नु भयो ?
साहित्य क्षेत्रमा म बाल्यकालदेखि नै लागेको हो । खास गरेर विद्यार्थीकालदेखि नै । विद्यालयमा हुने मासिक कविता गोष्ठी, अन्य कार्यक्रमहरुमा भाग लिंदा गुरुहरुले हौसला दिनुहुन्थ्यो । त्यसैले अगाडि बढ्दै गएँ ।
नेपाली साहित्यमा पश्चिमा शैलीको प्रयोग बढेर गएको छ, यो कत्तिको सहि छ ?
यसले कतिपय राम्रा कुराहरु प्रयोग भइरहेका छन् भनें हुबहू नक्कल गर्दा चाहीं हाम्रो नेपालीपन हराएर जाने खतरा पनि छ । लामो समयदेखि नेपालीले एउटा छवी नै बनाइसकेका छौं । अहिले आएर पश्चिमा साहित्य मात्र हैन, विश्वमा आएको परिवर्तनले पनि नेपाली साहित्यलाई असर पारेको छ । तर पनि नेपाली बाङ्मय, साहित्यको आफ्नोपनलाई जोगाउन जरुरी छ ।

तपाई धेरै विधामा कलम चलाउनुहुन्छ, आफुलाई कुन विधाबाट चिनाउन चाहनुहुन्छ ?
मैले कविता, गीत, निबन्ध र अहिले आएर केही गजलहरु पनि लेखेको छु । सुरुमा मैले लेख्न सिकेको कविता र निबन्ध नै हो । साथसाथै मैले गीत पनि लेखें । तर अहिले आएर कविता लेख्दा चाहीं आफुलाई आत्मसंतुष्टि बढी मिल्छ । र कवितामा व्यक्त गर्न नसकेका कुराहरु निबन्धमा समेट्ने गर्छु । गीत चाहीं साहित्यको बेग्लै विद्या हो । त्यसैले मलाई गीतमा बढी आनन्द आउँछ र कवितामा संतुष्टि मिल्छ ।
तपाई जिल्ला जनस्वास्थ्य प्रशासक पनि हुनुहुन्छ । तपाई बढी सरकारी कर्मचारी कि साहित्यकार ?
मेरो पहिलो कर्तव्य चाहीं जिल्ला जनस्वास्थ्य कार्यालयको पेशात दायित्व पुरा गर्नु नै प्रथम दायित्व हो । यसलाई नै मैले पहिलो प्राथमिकता दिएको छु र दिनुपनि पर्छ । साहित्य र संगीत क्षेत्र चाहीं मेरो दोस्रो प्राथमिकतामा पर्छ । कार्यालयको काम गरेर उब्रेको बचेको समयलाई साहित्यमा लगाउने गरेको छु । साहित्य र कलामा यो मेरो जागीर भन्दा पहिलेदेखि नै लगाव भएकोले छोड्न सकेको छुइन । साहित्य र संगीतमा लाग्दा मलाई मानसिक रुपमा स्वस्थ र संतुलित हुनलाई सहयोग गरेको छ । मेरो जागीरे जीवन पछाडि पनि मलाई चिनाउने क्षेत्र भनेको साहित्य नै भएकोले अब चाहीं मलाई साहित्यकारकै रुपमा चिनिदिए हुन्थ्यो भन्ने लोभ पलाएको छ ।
हालै मात्र प्रकाशित ‘यात्रा आधा सताब्दीको’ नामक कविता संग्रहको कस्तो प्रकारको पुस्तक हो ?
यो कविता संग्रहमा म ५० वर्षपुगेको यो महत्वपूर्ण कालखण्डको अनुभवलाई कविताको माध्यमबाट अभिव्यक्त गरेको छु । यो कालखण्डमा म मात्र हैन, समाजको, देशको र विश्वको जुन विकासक्रम छ, त्यो पनि मेरो जीवनसंग गासिएको छ । त्योसंगै मेरो साहित्यिक यात्रालाई पनि समेटेर पाठकहरुलाई उपहार स्वरुप निकालेको हो । त्यसमा मेरो जीवनको ५० वर्षो अनुभव, सफलता, विफलताका कुराहरु मैले देखे भोगेका कुराहरुलाई पनि प्रतिबिम्बित गरेको छु ।
केही नव साहित्यकारहरुले बढी पैसा खर्च गरेर राम्रो अध्ययन नगरी कृति प्रकासन गर्दा वास्तविक साहित्यकारहरुलाई के असर परेको छ ?
यो त धेरै ख्याल गर्नुपछ । संख्या बढाउने उद्देश्यले मात्र कृति निकाल्नु हुदैन । यसले गर्दा पुराना, परिपक्क र वास्तविक र्सजकहरु ओझेलमा परिरहेका छन् । र्सजकहरु स्वयं परिपक्व भए भनें मात्र परिस्कृत सिर्जना पस्कन सकिन्छ र समाजलाई ठोस सन्देश दिन, बाटो देखाउन सक्छ । त्यसैले हतार नगरीकन कुनै सृजना प्रकाशन गरेमा साहित्यलाई ठूलो योगदान गर्छ ।
साहित्यकारहरु यथार्थ भन्दा बढी भावनामा बग्छन् भनिन्छ नी !
हामी साहित्यकारहरुलाई भावनामा बग्ने र अब्यवहारिक समूह भनेर आरोप लाग्ने गरेको छ त्यो केही हदसम्म सत्य पनि हो । साहित्यकारहरुलाई धेरै आगाडिदेखि नै एक प्रकारको एकाङ्की समूह देखियो तर यसको चाही म पनि विरोधी हो । साहित्यलाई र्सवसाधारण मानिसले बुझ्ने विषयवस्तु बनाइनु पर्छ । सबै मान्छेमा भावना हुन्छ, साहित्यिक संवेगले छोएको हुन्छ । तर आत्माकेन्द्रित भएर लेखिएको साहित्यले चाहीं तपाईले भनेजस्तै बढी भावुक मात्र भएर गन्तव्यहीन क्षणमा पुर्‍याउँछ ।
नयाँ प्रयोग गर्ने नाममा उच्छृंखल र अस्लील शब्दहरु पनि प्रयोग भएको पाइन्छ, यसले समाजलाई कस्तो सन्देश दिन्छ ?
यसले पटक्कै राम्रो गर्दैन । साहित्यमा प्रयोगको सामाजिक मर्यादालाई नाघेर बोलिने संबोधन गरीने शब्दहरुको प्रयोग हुनुहुदैन । साहित्य भनेको पवित्र परिकल्पना हो । त्यसमा भोलीको हामीले कल्पना गरेको संसार पनि हुन्छ । त्यस्तो सुन्दर र पवित्र साहित्यमा उच्छृंखल शब्द ल्यायौं भनें छाडापन भित्रिन्छ ।
आफ्नो सृजना बिक्री गरेर बाँच्न सक्ने अवस्था छ ?
राम्ररी बजारको व्यवस्थापन गरेर व्यवसायिक हिसावले राम्रा कृतिहरु निकाल्यौं भनें नोक्सान हुदैन । बाच्ने नै अवस्था नभए पनि नोक्सान चाहीं हुदैन । तै पनि र्सजकहरुलाई पुस्तक लेखेर नै जीवीकोपार्जन गर्न त निक्कै मुश्किल छ ।
साहित्य क्षेत्रको विकासका लागि राज्यका तर्फाट के गर्नुपर्छ भन्ने लागेको छ ?
मेरो विचारमा राज्यको तर्फबाट कमसेकम गाउँगाउँमा पुस्तक पसल खोलिनुपर्छ । सकिन्छ भनें अझ वडा वडामा खोलियोस् । गाविसलाई दिइएको अनुदानबाट पुस्तक किन्ने नीति बनाइयोस् ।
अब बन्ने संविधानमा साहित्यकारका विषयमा कस्तो कुरा समावेश गर्नु पर्छ ?
साहित्यकारहरुलाई अहिले संगठित भएर आफ्ना सिर्जनाहरु प्रकाशित गर्ने मञ्चको अभाव छ । जमघट, चिन्तन, अध्ययन, अनुसन्धानको साहित्यमा ज्यादै कमी छ । संविधानमा र्सजकहरुलाई संगठित हुने नीति बनोस् । सम्मान तथा प्रोत्साहन गर्ने व्यवस्था गरियोस् ।

प्रस्तुति :  मोहन भट्टरा
साभार :  ‘प्रतिदिन’ दैनिक वर्ष३, अंक १६७ साउन १, २०६८ आइतबार प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.