आफ्नै गीतमा…

  • नवराज सुब्बा

एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा धोएर वेदनालाई पखाल्ने गर्दछु । मलाई लाग्छ मेरो गीतले सायद मलाई नै सबैभन्दा बढी पीडा र सुख पनि दिन्छ होला र नै यति निचोर्छ मेरो मुटुलाई ।

आज स्टूडियोमा एकजना प्रतिभाशाली किशोर गायक डि.बी. राईको स्वरमा मेरो गीत रचना रेकर्ड भइरहेको छ । हाल विछोडिएका एकजना मेरा मित्र प्रेम भट्टचन जसले ३३ वर्ष अघि गरेको संगीतमा आज गीत रेकर्ड भइरहेकोले म भावुक भएको छु । धीरज श्रेष्ठले संगीत संयोजन गरेका छन् । स्टूडियोमा रेकर्डिष्ट धीरजजीले जव सकियो भने तब म झल्यास्स भएँ । म गीत, संगीत र स्वरमा डुबेर कता कता पुगेछु । त्यसबेला मैले मेरो किशोरावस्था सम्झिएँ जुनबेलामा मैले यो गीत रचना गरेको थिए र रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा वि.स. २०३५/३६ सालतिर गाएको थिएँ, त्यो दृष्य मेरो मानसपटलमा आएछ । म पनि त्यसबेला अहिलेका किशोर गायक डि.बी. राई जस्तै किशोर थिएँ । उनको सुमधुर स्वरमा जब मैले गीत सुनें तब मलाई मलाई गीत रचना गर्दा बखतको सम्झना र भावना आलो भएर आयो र म आज फेरि रोएँ ।

यसरी भावुक बनाउने अर्को कारण थियो, प्रतिभाशाली डिबी राईको नियति । कति मीठो स्वर छ, गायकी पनि उस्तै राम्रो छ यस्ता कलाकारलाई यो देशमा नेपाली संगीतलाई आवश्यकता छ तर उनको नियतिले अब उनलाई स्वदेशबाट अनि सायद संगीतबाट पनि टाढा पार्दैछ । सुरुमा स्टूडियोमा छिर्ने वित्तिकै मैले सोधें— “के छ डि.बी. भाई ?” उनले जवाफ दिए “सर म जनवरी महिनातिर कोरिया जान्छुहोला ।” मैले थप सवाल सोध्न उचित पनि ठानिन । यो देशमा युवालाई रोजगार दिने वातावरण नै छैन । आफ्नो भाग्य विदेशमा खोज्नु पर्ने नेपालीको नियति जगजाहेर छ । त्यसैले मैले यत्ति भने “भाई जहाँ रहे पनि रियाज गर्न नछाड्नु है ।” उनी खिसिक्क हाँसे ।

गीत रेकर्ड भइरहेको बेला कन्ट्रोल रुममा म उनको आवाज र गीतमा जब जब डुबें तब मैले आफूलाई उनको उमेरमा पुर्याएँछु । किशोरावस्थामा मैले पनि डि.बी.राई जस्तै संगीतमा पनि केही गरौं भनेर गायन सिकें संगीत सिकें र केही अभ्यास पनि गरें तर जब जागिरमा लागें यी सबै लुकेको रहर बनेर आफूमै सीमित रहे । कति लामो कालखण्ड पर्खे पछि मात्र गीतसंगीतमा फर्कन सकें म । यसरी फर्कन मलाई करिव तीनदशक जति लाग्यो । बा ! यिनको पनि नियति कतै मेरो जस्तो पो हुने हो कि भनेर मलाई सारै चिन्ता लाग्यो ।

म प्रतिभा चिन्न सक्ने तर केही गर्न नसक्ने लाचार रहेछु । जेहोस् अतीत ब्यँझाउने गीतको गहिराईभित्र पात्रहरू उनै गायक डि.बी. राई, संगीतकार प्रेम भट्टचन र रचनाकार म थियौं । यसरी कल्पनाको आकासमा डुल्दाडुल्दै जब गीत सकियो मलाई मीठो सपना बीचैमा टुटेको जस्तै नमीठो लाग्यो । खै कतिखेर आँखा भिजिसकेछन्, गला अबरुद्ध भैसकेछ मेरो । यसरी धेरै पछि फेरि म आफ्नै गीतमा रोएँ । …

गुलाफको थूँगाभित्र मायालुको वास्ना पाउँछु
उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरु गीत गाइ रुझुँ भन्छ
चञ्चले यी आँखाहरु कतै पुगी अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर
सपनीमा आउने माया विपनीमा आउने गर ।

शब्द रचना : नवराज सुब्बा (रचनाकाल २०३५ साल, जुनबेला गीतकारको उमेर १७ वर्ष) संगीत : प्रेम भट्टचन, स्वर : डि.बी. राई, (गीतकार स्वयम्को स्वरमा पनि यसअघि गीत रेकर्ड भैसकेको छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.