गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको भए बोटबारे केवल अनुमान मात्र गर्न सकिन्छ । यसैले साहित्य र सिर्जनामा लेखक, पाठक, समालोचक र अनुसन्धानकर्ता लगायतका लागि रचनागर्भ महत्वपूर्ण साधन मानिन्छ । रचनागर्भले सर्जक र श्रोता वा पाठकबीच भावनात्मक अन्तरसम्बन्ध बढाउन, कृतिको मूल्याङ्कन गर्न तथा कृतिलाई जीवन्त र श्रोता, पाठकलाई उत्प्रेरित बनाउन सहयोग गर्दछ । हो, आफ्ना रचना वा कृतिका बारेमा अरूहरुले नै बोलेको वा लेखेको राम्रो अवश्य हो जुन खुला छ जुन भोलि बोलिनेछ, लेखिनेछ । अहिले म एक सर्जकको हैसियतले सिर्जनाकालखण्डमा भोगेका अनुभूति तथा भावभूमिलाई श्रोता र पाठकसमक्ष बाँड्न मेरो तेस्रो गीति–एल्बम “अमूल्य जीवन”को रचनागर्भबारे लेख्दैछु ।

यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू ‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ गजल एल्बम मैले बजारमा ल्याइसकें । यो ‘अमूल्य जीवन’ मेरो तेस्रो गीति एल्बम हो । पछाडि फर्केर हेर्दा मेरो पहिलो एल्बम ‘देशको माया’ मार्फत् देशमा लोकतन्त्र, गणतन्त्र आएको ऐतिहासिक कालखण्डमा देशले भोगेको संक्रमणकालको पुकार र नेपाली जनताको आवाजलाई प्रतिविम्बित गर्ने प्रयास गरें । यसैगरि मेरो दोस्रो गीति तथा गजल एल्बम मार्फत् गीतसंगीत क्षेत्रलाई सम्मान र सेवा गर्ने हेतुले गजल जस्तो गहन विधामा प्रवेश गर्दै केही अञ्जुली स्वाद र भाव श्रोताहरूमाझ पस्कने प्रयास पनि गरें । अहिले यस्तो लाग्छ, मेरो तेस्रो गीति एल्बमको लोकार्पणमार्फत् मैले लामो समयसम्म मभित्र लुकेर बसेको जुन रहर थियो त्यो पूरा गरें । साँच्चै भन्ने हो भने बरु यो एल्बमलाई लुकेको रहर शिर्षक दिँदा अझ अर्थपूर्ण हुने थियो । तर एउटा कृतिलाई आफैले दिइसकेको नाम फेरि अर्कोलाई दिन सकिंदैन, यति जान्दाजान्दै पनि म यो तर्क किन मात्र गरिरहेको छु भने, मेरो दोश्रो गजल एल्बम यद्यपि मेरो जीवनमा निकै लामो समयावधि मभित्र लुकेको बसेको रहर नै थियो तर त्यो रहर भन्दा पनि अझ पुराना रहरहरू हुन् ‘अमूल्य जीवन’ भित्रका मेरा सांगीतिक कोशेलीहरू ।

यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् । जसमा मेरो एकल शब्द रचना र एउटा गीतमा संगीत र अर्को एउटा गीतमा स्वर पनि आफैले दिएको छु । गीत रचनाकाल हेर्दा वि.स. २०३२/३३ साल देखि २०६८ सालभित्र रचना गरिएका गीतहरू समाविष्ट छन् । गीतकारको उमेरका हिसाबले बाल्यकाल, युवाकाल र वयस्ककाल खण्डमा लेखिएका रचनाहरू यसमा संग्रहित गरिएका छन् । एल्बममा संग्रहित गीतमध्ये एउटा गीत चालिसको दशकमै रेडियो नेपालमा रेकर्ड भई बजेको र अन्य दुई गीत केही वर्ष यता एफ.एम. तथा संचारमाध्यममा पनि बज्दै आएका गीतहरू हुन् । गायक गायिकातर्फ नेपाली सङ्गीत क्षेत्रमा स्थापित गायक सूर्य थुलुङ, नरेन्द्र प्यासी, सुमित खड्का देखि नवोदित गायक गायिका डी.बी.राई, सुनिता लिम्बू रहेका छन् । साजन राईले पाँचवटा गीतहरू संगीतबद्ध गर्नुभएको छ भने तीनवटा गीतमा स्वर समेत यस एल्बममा दिनु भएको छ ।
‘अमूल्य जीवन’ को पहिलो साङ्गीतिक प्रस्तुती रहेको छ– सहिदलाई सलाम । यो गीतको रचना एक मित्रको आग्रहमा भएको हो । केही वर्ष अघि एकदिन मलाई वहाँले कुनै एक राष्ट्रनेताको जन्मोत्सवमा आयोजित कुनै राजनीतिक दलको समारोहको लागि गीत लेखिदिन भन्नुभयो । मैले पनि तत्काल हुन्छ भनिदिएँ । कसैको स्तुतिनिम्ति गीत लेख्न मलाई पटक्कै मन नपर्ने भएका कारणले होला गीत थाल्न मलाई कठिन भयो । पंचायतकालदेखि नै राष्ट्रियगीतको नाममा व्यक्तिगतस्तुति लेखिने र गाइने राष्ट्रिय गीतप्रति मेरो वितृष्णा थियो जो अझै पनि कायमै रहेछ । तैपनि कसैको विषयमा गीत लेख्नै परेमा सही पात्र सहिद नै हुनसक्छ भन्ने ठम्याएर मैले यो गीत लेखें र शिर्षक दिएँ ‘सहिदलाई सलाम’ । उक्त गीतसहितको गीतसङ्ग्रहलाई साझा प्रकाशनबाट सोही शिर्षकमा पुस्तक पनि प्रकाशित भइसकेको छ, सोही गीतलाई एल्बमको पहिलो कोसेलीको रूपमा राखेको छु । युवा संगीतकार तथा गायक साजन राईले यसमा संगीत र स्वर दिनुभएको छ ।
एल्बमको दोस्रो गीत अर्थात् युवागीतको सिर्जना प्रसङ्ग पनि केही रोचक नै रहेको छ । एकदिन एकजना युवा संचारकर्मीले मलाई फोन गर्नुभो र आग्रह गर्नुभयोे— दुव्र्यसनसम्बन्धी एउटा गीत लेखिदिनु प¥यो भनेर । मैले पनि मेरो पेशागत जनस्वास्थ्य क्षेत्रसंग सम्बन्धित विषयवस्तुमा लेख्ने कामलाई अवसर र चुनौतीका रूपमा स्वीकारें र हुन्छ भनिदिएँ । कस्तो परिदृश्यको लागि वा कस्तो फर्मेटमा गीत चाहिएको हो भनेर फोनमार्फत् सबै कुराको पृष्ठभूमि त थाहा भएन । तैपनि आफ्नै हिसाबले आफ्नै दृष्टिकोणले गीत रचना गरें अनि गीत रच्दारच्दै गुनगुनाएँ र संगीत सिर्जना पनि सोहि बखत गरें । पछि आफ्नै उपस्थितिमा गायक सुमित खड्काले बिट्स डिजिटल स्टुडियो विरानगरमा उक्त गीत रेकर्ड गर्नु भयो । यो गीत आम युवाको लागि सन्देशमूलक र जीवनदायक छ भन्ने मैले ठानेको छु र एल्बमको शिर्षक पनि यही गीतको भावलाई पनि समेट्ने गरि छानेको छु— ‘अमूल्य जीवन’ भनेर । मैले यो गीतलाई विश्व एड्स दिवस—२०११ अर्थात् डिसेम्बर १ का दिन विराटनगरमा आयोजित एक समारोहमा प्रथम पटक सार्वजनिक गरें जसलाई कान्तिपुर एफ.एम.ले पनि सोहि दिन पटक पटक प्रसारण ग¥यो— ‘अमूल्य यो जीवनलाई नफालौं है खेर, दुव्र्यसनलाई चिनेर टाढै बसौं हेर’ ।

एल्बममा तेस्रो गीत रहेको छ— ‘ए बहार तिमीसंग हाँसू हाँसू लाग्छ, आँशु पुछि तिमीसंग नाचूँ नाचूँ लाग्छ’ । यो गीत सम्भवतः मेरो जीवनको पहिलो गीत रचना हो । गीत मैले २०३२/३३ सालतिर १३/१४ वर्षको उमेरमा त्यस्तै ८/९ कक्षामा पढ्दाखेरि रचना गरेको थिएँ । हाल यो गीत मैले बिर्सेको रहेछु । आजकल मैले एल्बम निकालेको देखेर मेरी बहिनी सरलाले एकदिन मलाई झस्काइन्— ‘दाई तपाईको एउटा पुरानो गीत थियो नि ! ‘ए बहार…’ भन्ने, त्यसलाई पनि रेकर्ड गर्नु नि !’ केहीबेर कुराकानी गरे पछि मलाई त्यो क्षणको याद आयो । सरस्वती माद्यमिक विद्यालयको एक साँस्कृतिक कार्यक्रमको लागि भनेर उक्त गीतलाई मैले रचना गरेको थिएँ अनि रेडियोमा त्यसबेला बज्ने एक लोकप्रिय गीतको धुनमा मैले उक्त गीतलाई गाएर उनै सरला बहिनीलाई साँस्कृतिक कार्यक्रममा नचाएको रहेछु । उनी नाचेको गीत भएकाले गीतको शब्द उनलाई अझैसम्म याद रहेछ । उनीबाट फेरि गीत सम्झेपछि मेरो मन प्रफुल्ल भयो । तर यो गीतलाई अब कसरी जगाउने होला भनेर चिन्ता र दायित्वबोध पनि भयो । एकदिन युवा संगीतकार साजन राईलाई गीतको पृष्ठभूमि बताएँ र शब्द पनि थमाएँ । २०६५ सालतिर यस गीतको नयाँ संगीत पनि सिर्जना भयो । उक्त गीतलाई नवोदित तर प्रतिभाशाली गायिका सुनिता लिम्बूको स्वरमा इटहरीस्थित रिभ्स डिजिटल स्टुडियोमा रेकर्ड गरियो । करिव ३५ वर्ष अघि यसरी रचना गरेको जीवनको पहिलो शब्दरचना आज साढेतीन दशक पछि एउटा गीत बन्यो । जुन गीत आज सुन्दा मलाई मेरो अतीतको मीठो याद र आनन्द आउँछ, जुनबेला म भरखरै हारमोनियम सिक्दैथिएँ र हारमोनियसंगै गीत गाउन सिक्दै थिएँ ।

आफैलाई आज के अचम्म लाग्छ भने, म त्यस्तो उमेरमा पनि के–कस्तो पीडाबोध गर्दो रहेछु । गीत सुनेर मलाई मेरी पत्नीले पनि जिस्कदै सोध्छिन्— ‘हैन त्यो उमेरमा पनि तपाईलाई त्यस्तो के पीडा थियो ?’ जसको जवाफस्वरुप अहिले म न केही अभिव्यक्त गर्न सक्छु न त लेख्न नै सक्छु, केवल हाँसेर टारिदिन बाहेक अरू के नै गर्न सक्छु र !

‘अमूल्य एल्बम’ मा रहेको चौथो गीतको स्थायी यस्तो छ— ‘सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको एउटा प्रश्न सोध्न मन लाग्छ’ । यो गीत मैले २०४९ सालमा रचना गरेको गीत हो । वास्तवमा यो गीतमा त्यसबेलाको मेरो अन्तरआत्माको आवाज थियो तर संगीत नपाएर यत्तिकै डायरीमा लामो समयसम्म थन्केर बस्यो जसलाई ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रहमा २०६३ सालमा प्रकाशित गर्ने अवसर बल्ल मिल्यो । २०६३ सालतिरै होला युवा संगीतकार साजन राईसितको पहिलो भेटमा मैले उक्त पुस्तक वहाँलाई उपहार स्वरुप दिंदै यस सङ्ग्रहभित्रका गीतहरू मध्ये जुन गीतले तपाईको मन छुन्छ छोएमा सोगीत संगीत गरिदिनु होला भनेको थिएँ । केही हप्तापछि वहाँले मलाई फोन गर्नुभो संगीत तयार भयो सुन्न आउनु होला भनेर । म पनि उत्साहित भएर मेरो शब्दरचनामा भरिएको संगीत सुन्न विराट कला केन्द्र गएँ । संगीतको डमी बनाउनलाई साथमा ध्वनि रेकर्डर पनि बोकेको थिएँ । साजन राईले हारमोनियममा मेरो बब्द जब गाउन थाल्नु भयो तब म अत्यन्तै भावविभोर भएँ । मलाई मेरो अतीतको याद आयो, मैले गीत रचना गर्दाको अवस्थाको चित्र मेरा आँखा वरिपरि नाच्न थाले, अनायास आँखा रसाए, भक्कानो फुट्ला जस्तो भएर छाती भरिएर आयो । सम्हालिएँ, देख्छु— छेऊमा मेरी पत्नि पनि छिन्, अनि वरिपरि प्रशिक्षण केन्द्रका चेलीहरू बसेर गीत ध्यानपूर्वक सुनिरहेका छन् । हत्तपत्त आफूलाई नियन्त्रित गर्दै संयमित बन्न कोशिस गरें र सुटुक्क पसिना पुछेझैं आँशु पुछें । यसरी साजन राईसंगको पहिलो पटकको सहकार्यमा सोचेभन्दा राम्रो संगीत सिर्जना सुनेर म वहाँसित निकै प्रभावित भएँ । अब मैले आफ्नो सुसुप्त सांगीतिक यात्रालाई अगाडि बढाउने अठोट पनि त्यसैबेला गरें ।

त्यसपछि ‘सोध्न मन लाग्छ प्रितम् भेट्न मन लाग्छ’ बोलको उक्त गीतलाई मैले गायक नरेन्द्र प्यासीको स्वरमा काठमाडौं स्थित गुञ्जन स्टूडियोमा रेकर्ड गरें । संगीतकार भूपेन्द्र रायमाझीले सङ्गीत एरेञ्ज गर्नुभयो तर समयाभावले हतार हतार रेकर्ड गर्नु परेकाले यसमा अझै पनि केही सुधार गर्न सकिने अवस्थामा गीत तयार भएको छ । कुनै दिन फेरि स्वयम् संगीतकार साजन राईकै स्वरमा उक्त गीतलाई पुनः रेकर्ड गरेर गीतसंगीतलाई अरू जीवन्त बनाउने अठोट छ ।

‘अमूल्य जीवन’ एल्बममा रहेको पाँचौ गीत छ— ‘सिमलको भुवासरि उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान’ । ‘जीवन मेरो शब्दकोश’ कवितासङ्ग्रह भित्र रहेको एक गीतमा रहेको वाक्यांश ‘मन पुग्छ रनवन संगी डाक्दै होला’ ले संगीतकार साजन राईलाई सारै मन छोएछ । यही भावमा एउटा गीत लेखि दिनु होस् भनेर आग्रह गर्नु भयो । मैले हाम्रो देशको अवस्था हेरें, शान्ति प्रक्रिया सुरु भएको थियो तर अनिश्चयको बादल फाटेको भने थिएन, नेपाली युवाका नियति केलाएँ र आफूलाई पनि नियालें एकपटक र पुगें आफू जन्मे, हुर्केको अनि खेलेको पहाडमा । बाल्यकालमा चैतमा सिमलको फेदमा सिमलका बियाँ टिप्दै खाँदा माथि बोटबाट बतासको लहरसितै उड्दै झर्ने सिमलको भुवामा मेरो मन पुग्यो र उसरी नै नाच्न थाल्यो मन । यसरी मैले यो गीतको रचना गरें जसलाई संगीतकारले पनि रुचाउनु भयो र मीठो संगीत भर्नुभयो । यो गीतलाई आजभन्दा तीनचारवर्ष अघि नै इटहरीस्थित रिभ्स डिजिटल स्टुडियोमा रेकर्ड गरियो र गीतलाई केही संचारमाध्यममा र आफ्नै वेभसाइटमा पनि राखें । गीतलाई धेरैले रुचाए, वेभसाइटमा पनि धेरै मात्रामा डाउनलोड भयो । तर जब म यो गीतलाई पनि एल्बममा संग्रहित गर्ने अवस्थामा आइपुगें तब गीतको समीक्षा गर्दा यसमा केही सांगीतिक र प्राविधिक पक्षमा सुधार गर्नुपर्ने देखें । यसैले पुन एकपटक केही वाद्यवादन थपें र रिमिक्स पनि गरें र यथासम्भव प्रसारणयोग्य बनाएँ कि भन्ने ठान्दै अमूल्य जीवन एल्बमको एक अङ्गको रूपमा यसलाई राखेको छु ।

अमूल्य जीवन एल्बमको छैटौं गीत बोल्छ— ‘फूलभित्र लुकि घोच्ने काँडा खोज्दैछु, बैगुनीलाई गुनले जित्ने माया रोप्दैछ’ु । अलि पपशैलीको संगीत र स्वरमा युवाहरूलाई लक्षित गरेर तयार पारिएको यस गीतको संगीतकार धीरज श्रेष्ठ र गायक डी.बी.राई हुनुहुन्छ । संगीतकार धिरज श्रेष्ठ र गायक डी.बी.राई दुवैजनाको प्रतिभाबाट म प्रभावित छु । गीतले मलाई पनि नयाँ स्वाद र सन्तुष्टि दिएको छ ।

अमूल्य जीवन एल्बमको सातौं गीत पनि छैटौं गीतझैं युवावर्गलाई लक्षित गरिएको गीत हो । मलाई एक दिन साजन राईले स्टेजमा गाउने खालको तथा दर्शकलाई पनि नचाउन मिल्ने खालको गीत लेखिदिन आग्रह गर्नुभयो । साजन राईलाई नै लक्षित गरेर रचना गरेको गीत बोल्छ— ‘सागर भन्दा गहिरो भयो हाम्रो माया, सगर भरि फैलियो चोखो हाम्रो माया’ ।

अब आएर आठौं गीतको कुरा गर्दा यसले मलाई विगत सम्झाउँछ । पंचायतकालमा रचेको गीत हो यो । त्यसबेलाको राजनीतिक अवस्थामा पिल्सिएको तनलाई तथा प्रेममा छट्पटाएको मन एकसाथ लत्पत् पार्दै मैले रचेको गीत हो— ‘विवशताले बाँधिएको मान्छेको जीवन, पिँजडाभित्र छट्पटिरहने मैनाझैं यो मन’ । मलाई के कुराको राम्रो हेक्का छ भने कविशिरोमणि श्री लेखनाथ पौडेलको ‘पिंजडाको सुगा’ कवितामाझैं म पनि गीतको माध्यमबाट एउटा कालखण्डको चित्रण गर्दैछु । मैले वि.स. २०३८ सालतिर रचना गरि रेडियो नेपालमा रेकर्ड गरिएको गीत हो यो । जसलाई सूर्य थुलुङले संगीत र स्वर दिनु भएको छ । यो गीत तीस चालिसको दशकमा रेडियो नेपालमा निकै बजेको पनि थियो । केही वर्ष अघि मैले उक्त गीत रेडियो नेपालमा खोजें तर त्यहाँ पाइन । बल्ल बल्ल मित्र सुर्य थुलुङबाट यो गीत प्राप्त गरें । पुरानो प्रविधिमा रेकर्ड भएकोले आवाजको स्तर केही कमजोर भएता पनि प्राविधिकको सहयोग लिएर यथासम्भव स्तर उकास्ने प्रयास गरेको छु । यस गीतलाई हालै सूर्य थुलुङले अत्याधुनिक स्टूडियोमा पुनः रेकर्ड गर्नुभएको छ जसलाई भविश्यमा ल्याउन सकिन्छ । तर यो गीत र यसको आवाज मेरो निम्ति ऐतिहासिक चिनो हो जोसित मेरो भावना गाँसिएको हुँदा अमूल्य जीवन एल्बममा उही तीसवर्ष पुरानो गीतलाई मेरो अतीतको निसानी स्वरूप प्रस्तुत गरेको छु ।

एल्बमको नवौं तथा अन्तिम गीतमा मेरो आफ्नै स्वर पनि संग्रहित छ । यो गीत मैले २०३५ सालमा रचना गरेको गीत हो र त्यही साल रेडियो नेपालबाट आयोजित आधुनिक गीत प्रतियोगितामा गाएको पनि थिएँ । एकजना सहपाठीले उक्त गीत रेडियोबाट टेप रेकर्ड गरिदिनु भएछ, मलाई वहाँले पछि उपहारस्वरूप दिनु भयो । टेपमा राख्दा राख्दा यत्रो वर्षमा आवाज पनि बिग्रने अवस्थामा पुगेके थियो । त्यसलाई १० वर्ष अघि मैले पुनः कम्प्यूटरमा एमपीथ्री फरमेट बनाएर संग्रहित गरें । संगीतकार प्रेम भट्टचन जोसंग अहिले भेट नभएको लगभग तीसवर्ष जति भयो । अतीतलाई सम्झदै गीतलाई जीवन्त बनाउँन पुनः एकपटक जुर्मुराएँ । आज म मेरा सहपाठी प्रेम भट्टचनलाई उनीद्वारा संगीतबद्धगीत फेरि सुनाउन र उनलाई समर्पित गर्न लालायित भएको छु । केही महिना अघि यो गीतको बारेमा मैले फेसबुकमा चर्चा गरेको थिएँ । महाराजगञ्ज क्याम्पस पढ्दाका मेरा सहपाठी रमेश खोजु श्रेष्ठले प्रतिक्रिया दिनुभो— ‘हैन यो गीतको बोल त सयपत्रीको थूँगाभित्र हैन र ? म त बेलाबेला त्यसरी नै पो गुन्गुनाउँछु त !’ म छक्क परें । मलाई लागेको थियो यो गीतको बारेमा शायद सुन्ने बुझ्ने छैनन् होला । तर सहपाठी रमेशजीले तीनदशक पछि त्यसरी कुरा कोट्याइ दिंदा म रोमाञ्चित भएँ । आहा ! मेरा त्यसबेलाका केही साथीहरूले आज संसारमा छरिएता पनि मेरो पुरानो गीत अझै सम्झेका रहेछन् । मैले फेसबुकमैं जवाफमा रमेशजीलाई स्पष्टिकरण यसरी दिएँ— पहिले गीत रच्दा उक्त गीतको बोलमा ‘सयपत्रीको थूँगाभित्र मायालुको वास्ना पाउँछु’ थियो । जब मैले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गाएँ तब मेरा कक्षाकै सहपाठी सावित्री दिदीले आपत्ति जनाउनु भयो— ‘यो सयपत्री फूल त तिहारमा लगाइने चेलीमाइतिबीचको पवित्र प्रतीक हो । यसलाई मायालुको लागि प्रयोग गरेछौं’ भने पछि म झसङ्ग भएँ । हुन त मैले गीत रचना गर्दा सयौं फूल मध्येकी तिमी एक फूलबाट भन्ने सोचेर सयपत्री भन्ने शब्द चयन गरें तर फूलको सन्दर्भबारे उति ध्यान नदिएको रहेछु भन्ने पछि महसूस भयो । यसैले मैले यो गीतलाई ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रहमा प्रकाशित गर्दा ‘गुलाफको थूँगाभित्र मायालुको वास्ना पाउँछु’ भनि सच्याएँ । गायनको दृष्टिकोणबाट हेर्दा सयपत्री शब्दोच्चारण मीठो सुनिन्थ्यो । गीतमा गुलाफ शब्दोच्चारण त्यो पनि सुरुमा गर्नुपर्दा मलाई गाउन निकै असजिलो महसूस भएको थियो । तीनदशक अघिको उमेरमा जुन जोस र जाँगर थियो त्यसलाई केवल सम्झेर गाउनु पर्ने अवस्थामा गीत रेकर्ड गर्नु पर्यो । उहीले उमेरमा रहर हुँदा मौका पाइएन र लामो समयसम्म सुसुप्त रहेको रहर यति ढिला आएर पूरा गर्दा यो उमेरमा मैले आफूले पहिले जस्तो गाउन नसकेको महसूस भयो तैपनि जसलाई म मेरो प्रतिवद्धताको निसानीस्वरूप राख्न चाहन्छु ।

अन्तमा, म के भन्न चाहन्छु भने मेरा सबै सांगीतिक कोशेलीहरू मेरा रहरहरू पनि हुन् जो कत्तिको सार्थक भए वा भएनन् अब श्रोता र समयले पनि बताउने पालो आएको छ । यस आलेखमा मैले गीतलाई ‘मेरो’ भनेर सम्बोधन गर्दा मलाई कता कता अप्ठेरो महसूस भएको छ । कुनै गीत भनेको लेखक अर्थात् गीतकार, संगीतकार, गायक, वाद्यबादक सबैको सामुहिक प्रस्तुति हो । कुनै पनि गीतमा लेखक, संगीतकार र गायक सबैको सामूहिक महत्व र हक हुन्छ । तापनि गीतको भावभूमि अथवा पृष्ठभूमिको परिकल्पना सर्वप्रथम गीतकारबाटै हुने भएकाले गीतको सुरुमा गीतकारकै नाम लिइने गरिन्छ । यस अर्थमा मेरो तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’ का बारेमा केही कोरें । एउटा कुरा म के स्पष्ट पार्दैछु भने मेरा सबै साङ्गीतिक कोशेली अब हामी सबैका साझा साङ्गीतिक सम्पत्ति हुन्, जसलाई अब उचित माया र सम्मानको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.