खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता शर्त रहेछ । सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा संचालित एक जनस्वास्थ्य कार्यक्रममा सामाजिक, आर्थिक अवस्था उकास्न हामी पराले त्यान्द्रो बाँडिरहेछौं । यही अभियानमा हामी छौं । आशाले बोलिसके पछि मैले मनमनै सोचें– केवल तीनहजार र व्यवसायिक तालिमले मात्र उनको जीवनमा यत्रो परिवर्तन ! कार्यक्रम समापन पछि चिया पिउँदा पिउँदै मैले साझेदार संस्थाका मित्रसित फेरि अघिको कुरा कोट्याएँ । उनले मलाई बताए– आज बिभिन्न संस्थाहरूले व्यवसायिक तालिम र साधन उपलब्ध गराए पनि दिएका सिलाई मेसिन घरधरमा थन्किएका अवस्थामा छन् । यद्यपि आवश्यक परेका अर्थात् लक्षित समूहको सही पहिचान गरेको खण्डमा त्यसको सही उपयोग हुँदो रहेछ र राम्रो प्रतिफल आउँदो रहेछ, यो त्यसैको दृष्टान्त हो ।

आजको यो उपभोगवादी जमानामा सडक किनारमा च्याऊझैं उम्रेका सेकुवा कर्नरमा एकजोडी एकछिन खान बसे भने सजिलै तीनहजार रुपैया चट् पार्छन् । तर त्यही रकम कसैको जीवनको भेलमा बग्दाबग्दै भेटिएको आशारुपी परालको त्यान्द्रो पनि रहेछ जसले जीवनमा साँच्चै परिवर्तन ल्याउँदो रहेछ । यसरी सहारा खोज्ने सही हात पहिचान गर्नु आजको चुनौति भएर उभिएको अवस्था म देखिरहेछु । जेहोस्, खुशीको आँखु कुन बेला कसरी आउँदो रहेछ, मैले बुझें । यो देखेपछि अर्थात् यति कुरा बुझेपछि मेरा पनि आँखा रसाए ।

असार २९, २०६९ विराटनगर नेपाल । .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.