न्यू सृष्टि अन्तर्वार्ता

सिर्जनालाई पैसासँग तुलना गर्न सकिंदैन — नवराज सुब्बा, साहित्यकार

पछिल्लो समयमा आएर नेपाली साहित्यका पाठक बढ्दै गएका छन् । पाठकको संख्या बढेसँगै नेपाली साहित्यमा राम्रा कृति पनि धमाधम आइरहेका छन् । नाम चलेका र राम्रो कृति प्रकाशित गर्न प्रकाशकहरुले समेत तँछाडमछाड गर्ने अवस्थाको सिर्जना भएको छ । पाठकको संख्या बढ्नु समग्र नेपाली साहित्यकै लागि खुसीको कुरा भएको अग्रज साहित्यकार नवराज सुब्बा भनाइ छ । तीसको दशकदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका सुब्बाका हालसम्म जीवन मेरो शब्दकोशमा, बीच बाटोमा ब्यूँझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, सहिदलाई सलाम गीतसंग्रह र मनको मझेरी निबन्धसंग्रह प्रकाशित भइसकेका छन् । त्यस्तै देशको माया, लुकेको रहर, अमूल्य जीवन, हामी पहिला नेपाली र दुईवटा भिडियो एल्बम बजारमा आइसकेका छन् । प्रस्तुत छ सुब्बाको साहित्य लेखनका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सार: ( न्यू सृष्टि दैनिकमा प्रकाशित अन्तरर्वार्ताको पूर्ण पाठ Jan 12, 2013)

हाल के लेख्दै हुनुहुन्छ ?

लेख्ने बानी परेपछि नलेखी बस्न नसकिने रहेछ । गीत, कविता, मुक्तक, निबन्ध र अन्य लेखहरु लेखिरहेको छु । लेख्नका लागि अध्ययन पनि उतिकै आवश्यक पर्ने हुन्छ । साहित्य लेखनका साथै फुर्सदको समयमा अरुका कृति, लेख रचना पनि अध्ययन गर्ने गर्दछु । म यो नै लेख्छु भनेर समय छुट्याउँदिन । कहिले कविता लेख्छु, कहिले गीत त कहिले मुक्तक लेख्छु । हालसालको कुरा गर्नुहुन्छ भने बढी मात्रामा मुक्तक नै लेखिरहेको छु ।

यति धेरै विधामा कलम चलाउनुहुन्छ, कुन विधालाई बढी प्राथमिकता दिनुहुन्छ ?

मेरो साहित्य लेखन तीसको देशकदेखि सुरु भएको हो । जुन बेला म साहित्य क्षेत्रमा लागेको थिएँ । त्यतिबेला मैले कवितालाई प्राथमिकतामा राखेको थिएँ । त्यतिबेला खुब कविता लेखियो । धेरै गोष्ठी र कवि सम्मेलनमा जोडतोडले कविता सुनाइयो । दर्शक र श्रोताबाट खुब प्रशंसा पनि पाइयो । पछिल्लो समयको कुरा गर्नुहुन्छ भने मैले खास गरी गीत र कवितालाई प्राथमिकतामा राखेको छु । यो मेरो बाध्यता पनि हो । किन भन्नुहुन्छ भने अन्य विधा लेख्दा बढी समय खर्च हुने भएकाले मैले गीत र मुक्तक लेखनलाई अगाडि बढाएको हुँ । यो विधा छोटो समयमै मनमा उठेका भावनालाई पस्कन सजिलो हुने हुँदा मैले यसलाई प्राथमिकतामा राखेको छु । हुन त यी विधाबाहेक अन्य विधामा कलम चलाउन छोडेको चाहिं होइन । अरु पनि लेखिरहेको छु ।

साह्रै व्यस्त हुनुहुन्छ, समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हेर्नुस् समय भनेको आफैंले व्यवस्थापन गर्नुपर्ने रहेछ । खास गरी म बिहान र बेलुका लेख्छु । दिउँसो केही कुरा मनमा आइहाल्यो भने डायरीमा टिपोर्ट गर्छु अनि राति र बिहान त्यसलाई पूरा गर्छु । सबै क्षेत्रलाई मिलाएर साहित्यलाई समय दिनु मेरा लागि निकै चुनौती पनि छ । किन भन्नुहुन्छ भने कार्यालयको सम्पूर्ण कामकाजदेखि लिएर पारिवारिक व्यवस्थापन गर्नुपर्छ । यसका साथै हाल म विद्यावारिधिको तयारीमा छु । जसरी भए पनि मैले केही महिनाभित्र विद्यावारिधिको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यता पनि समय दिनुपर्ने हुन्छ । यसबाहेक विभिन्न अनुसन्धानात्मक लेखहरु पनि लेख्नुपर्ने हुन्छ । तथापि सबै क्षेत्रलाई मिलाएर साहित्यलाई पनि अगाडि बढाइरहेको छु ।

कृतिका रुपमा अब पाठकले के पाउँदैछन् ?

मैले अघि पनि भनिसकें, खास गरी अहिले मेरो लेखाइ मुक्तकतिर केन्द्रित छ । कवितासंग्रह, गीतसंग्रह, निबन्धसंग्रह पाठकले पाइसक्नुभएको छ । अब एउटा कृतिका रुपमा मुक्तक पाठकलाई दिनुपर्छ भन्ने मलाई लागेको छ । अब निकट भविष्यमै पाठकले ‘चित्कार’ मुक्तकसंग्रह पाउनुहुनेछ । यसबाहेक टेलिभिजनमा दिएको अन्तरवार्ता, कविता वाचन र केही म्युजिक भिडियोलाई समेटेर प्रतिबिम्ब भाग–३ प्रकाशोन्मुख रहेको छ । यो चाहिं अध्ययन र अनुसन्धानकर्तालाई सहज होस् भन्ने उद्देश्यले ल्याउन लागेको हुँ । यो दुईटै कृतिलाई वाणी प्रकाशनले प्रकाशित गर्ने तयारी भएको छ । यस्तै ‘समयको स्वाद’ निबन्धसंग्रह साझा प्रकाशनले प्रकाशित गर्दैछ ।

अनि साझा प्रकाशनमा त भागबण्डा हुन्छ रे, तपाईं पनि भागबण्डामै पर्नुभएको हो ?

हा………हा……(लामो हाँसोपछि) खै अहिलेसम्म मलाई यस विषयमा थाहा छैन । यसभन्दा अगाडि पनि ‘सहिदलाई सलाम’ मेरो गीतसंग्रह साझा प्रकाशनले नै प्रकाशित गरेको हो । सुरु–सुरुमा मैले पनि यस्तै सुनेको थिएँ । आफ्ना मान्छेको मात्रै साझाले कृति छाप्छ रे भन्ने खुब हल्ला थियो । तर मलाई त्यस्तो लागेन । ‘सहिदलाई सलाम’ मेरो गीतसंग्रहको पाण्डुलिपि पठाएको थिएँ, त्यो स्वीकृत भएर छापियो । मैले कसैलाई सोर्सफोर्स पनि लगाइन । यसले गर्दा म कसैको भागबण्डामा परेको होइन । सायद साझाले मेरो कृतिको मूल्यांकन गरेर प्रकाशित गरेको होला । अनि अब आउने निबन्धसंग्रह पनि साझाले उपयुक्त ठानेर प्रकाशित गर्न लागेको होला ।

धेरै विधामा कलम चलाउनुहुन्छ तर तपाईंको बढी गीतको चर्चा छ नि, किन होला ?

ठीक भन्नुभयो, मेरा अन्य विधाले भन्दा गीतले बढी चर्चा पाएको छ । गीतलाई कृतिको रुपमा मात्रै सीमित राखेको भए यसरी चर्चा हुने थिएन होला । तर मैले गीतलाई एल्बमको रुपमा स्रोतामाझ ल्याएँ । त्यसले पनि होला । जतिबेला मधेस जलिरहेको थियो, जहाँ एकले अर्काको अस्तित्व नस्वीकार्ने अवस्था थियो । त्यतिबेला मैले ‘नेपाली नेपाली हामी सबै नेपाली……….’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत स्रोतमाझ ल्याएँ । त्यसले आमस्रोताको मन जित्न सफल भयो । त्यसपछि स्रोताको भावनालाई समेटेर धेरै गीतहरु लेखें । लेखेका गीतलाई तत्काल स्रोतामाझ ल्याएँ । सबैजसो मिडियाहरुले मेरा गीत बजाए । यसले सायद गीतको चर्चा बढी भएको हुनुपर्छ ।

साहित्य किन लेख्नुहुन्छ ?

मान्छेको जीवन फूल हो भने कला र साहित्य वास्ता हो । साहित्यले जीवनलाई सुन्दर बनाउन सहयोग गर्छ । यसका साथै मान्छेलाई जीवन्त राख्न पनि साहित्यले मद्दत गर्छ । त्यसो भएकाले पनि म साहित्य सिर्जना गर्दछु । बाल्यकालदेखि नै साहित्य र गीतसंगीतप्रति मेरो झुकाव थियो । पछि गएर विद्यार्थीकालमा अभ्यास गर्दै अहिलेसम्म आइपुग्दा साहित्य नलेखिकन बस्न नसक्ने अवस्थामा पुगेको छु । गीतसंगीतलाई युग र सकारात्मक परिवर्तनको बाहकका रुपमा पनि लिइन्छ । सुन्दर प्रस्तुतिबाट सांगीतिक मनलाई जित्न सकिन्छ । यसबाट पनि साहित्य र कलाको सेवा हुन्छ भनेर साहित्य सिर्जना गरेका हुँ ।

पाठक र श्रोताबाट प्राप्त हुने प्रतिक्रियाले लेखनलाई कतिको ऊर्जा प्राप्त हुन्छ ?

कुनै पनि लेखकले समाजका लागि लेख्ने हो । जति पनि लेखक साहित्यकारले आफ्ना लागि लेख्ने होइन, समाज र जनताका लागि लेख्ने हो । स्रष्टा मरेर जान्छ तर उसका कृति समाजमा रहिरहन्छ । समाज र जनताका लागि लेखकले लेख्ने भएकाले एउटा साहित्यकार भनौं या लेखकका लागि पाठक र श्रोताबाट आउने प्रक्रिया सबैभन्दा ठूलो हुन्छ । सिर्जनालाई पैसासँग तुलना गर्न सकिंदैन । पाठक र श्रोताले दिने सल्लाह, सुझाव र प्रतिक्रिया नै कुनै पनि लेखकको सफलता हो । लेखकले लेखेका सिर्जनाका बारेमा पाठक र श्रोताबाट आउने प्रतिक्रिया नै लेखकको सम्पत्ति हो । उसको सफलता हो भन्ने लाग्छ मलाई । सकारात्मक या नकारात्मक जुनसुकै विषयमा आएका भए पनि म श्रोता र पाठकका प्रतिक्रियालाई जहिले पनि आत्मसाथ गरेर अगाडि बढ्ने गर्दछु । मेरो लेखाइले यो उचाइ प्राप्त गर्नुमा पनि मेरा आदरणीय पाठक र श्रोताको ठूलो हात रहेको छ । अहिले तपाईंसँग कुरा गरिरहँदा मेरा सबै पाठक र श्रोतालाई सम्झिन चाहन्छु ।

फेसबुकमा तपाईंका नयाँ सिर्जना पढ्न पाइन्छ, यसले पनि आफ्ना पाठक बढेका हुन् भन्ने लाग्छ कि लाग्दैन ?

हो, मेरा पाठक बढ्नुमा फेसबुकको पनि हात रहेको छ । मैले छोटा सिर्जना गरें भने तत्काल फेसबुकमा अपडेट गर्दछु । अहिले म मुक्तकसंग्रह प्रकाशित गर्ने तयारीमा लागेको छु । यो अवस्थामा आइपुग्नुमा फेसबुककै देन हो । यदि फेसबुक नभएको भए म मुक्तक लेख्ने थिइन । किनभने फेसबुकमा लामा सिर्जनाभन्दा छोटा सिर्जना राख्नु राम्रो भएकाले मैले फेसबुककै लागि लेख्दालेख्दै मुक्तकसंग्रह तयार भयो । फेसबुकमार्फत यति धेरै प्रतिक्रिया पाउँछु कि म आफैं अचम्भित छु ।

पाठकको संख्या बढिरहेको छ के अब नेपाली साहित्य व्यावसायिक भएको हो ?

केही वर्षयता नेपालमा पाठकको संख्या अत्याधिक बढेको छ । पुस्तक पढ्ने बानीको विकास भइरहेको छ । यो लेखकहरुका लागि खुसीको कुरा हो । मान्छेलाई हेरेको र देखेकाले भन्दा पढेकाले बढी ज्ञान प्राप्त हुन्छ । पढेको कुरा दीर्घ हुने भएकाले पनि किताब पढ्नेको संख्या बढेको हुनसक्छ । जहाँसम्म अहिले नेपाली साहित्य व्यावसायिक भएको कुरा छ, पक्कै पनि नेपाली साहित्यले हाल आएर व्यावसायिकता हुन थालेको छ । म चाहिं व्यावसायिक लेखक होइन ।

हालै सार्वजनिक भएको हामी पहिला नेपाली एल्बमको प्रतिक्रिया कस्तो पाउनुभयो ?

यो एल्बमको देशविदेशबाट राम्रो प्रतिक्रिया पाएको छु । यस गीतका संगीतकार शक्तिबल्लभ हुनुहुन्छ भने गायक सुमित खड्का हुनुहुन्छ । सुमित खड्का केही समयअघि हङकङमा कन्र्सट गरेर फर्कनुभएको छ । उहाँले यो गीत हङकङमा गाउँदा त्यहाँका श्रोताले खुब रुचाउनुभएछ । यसले पनि मलाई उत्साहित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.