सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३

यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर बोकेर प्रभातफेरी गरिरहन पर्दैन । बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गरेर वा एक्लै बसेर भए पनि यसबारे चिन्तन मनन् गरेर यो दिवसलाई सार्थक तुल्याउन सकिन्छ ।
मान्छेले आफ्नो बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक सम्पत्ति हुन् । मूर्त वा अमूर्त रचना वा अभिव्यक्ति जो बौद्धिक सम्पत्ति हुनलाई मौलिक हुनै पर्दछ । यसपछि यो अधिकार स्रष्टालाई स्वतः प्राप्त हुन्छ चाहे त्यो वस्तु गुणस्तरीय, उपयोगी वा मूल्यवान होस् वा नहोस् । यस्तो अधिकार प्राप्त गर्न सर्जकले कुनै औपचारिकता पूरा गरि रहनु पर्दैन । तर सार्वजनिक अभिलेख राख्नको लागि वा प्रमाण पु¥याउनका लागि स्वैच्कि रूपमा दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ । नेपालमा पनि यस सम्बन्धि ब्यवस्थाको लागि प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तथा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरिएको छ ।
बौद्धिक सम्पतिलाई सामान्यतयाः दुई भागमा बाँड्न सकिन्छ— (१) प्रतिलिपि अधिकार (२) औद्योगिक सम्पत्ति अधिकार । लेखन, कला, सिर्जना आदि प्रतिलिपि अधिकार अन्तर्गत र आविष्कारमूलक कामको लागि पेटेन्ट, वस्तुको मौलिक डिजाइन आदिको संरक्षणको लागि डिजाइन अधिकार र उत्पादकले आफ्नो वस्तु तथा सेवाहरूलाई अरूको भन्दा फरक देखाउन वा चिनाउन प्रयोग गर्ने चिन्हहरूको संरक्षणको लागि ट्रेडमार्क अधिकार इत्यादि औद्योगिक सम्पत्ति अधिकार अन्तर्गत पर्दछन् ।
प्रतिलिपि अधिकारका क्षेत्रहरूमा मानिसका रचनात्मक र सिर्जनात्मक कामहरू पर्दछन् । एक दृष्टिकोणले हेर्दा यो क्षेत्र असीमित छ तापनि यसलाई ब्यवस्थित बनाउन निम्नानुसार बर्गिकरण गरिएको छ । (१) लेखनकार्यः लेख, निबन्ध, उपन्यास, कथा, कविता, नाटक, पाठ्यपुस्तक, वेभपेज, विज्ञापन सन्देश, संगीत तथा नृत्यका संकेतहरू आदि । (२) सांगीतिक कार्यः गीत, संगीत आदि । (३) कलात्मक कार्यः चित्रकला, मूर्तिकला, रेखाचित्र, फोटोग्राफी, नक्सा, खाकाचित्र आदि । (४) नाट्य वा नृत्य रचनाः नाटक, ओपेरा, नाच आदि । (५) चलचित्रजन्य रचनाः चलचित्र, भिडियो खेल, टेलिभिजन कार्यक्रम, कार्टुन फिल्म आदि । (६) कम्प्यूटर रचनाः कम्प्यूटर प्रोग्राम, सफ्टवेयर आदि ।
वर्न महासन्धिका अनुसार प्रतिलिपि अधिकारका किसिमहरूमा सामान्यतयाः दुईवटा अधिकार मुख्य मानिन्छन् । (१) आर्थिक अधिकार (२) नैतिक अधिकार । कुनै स्रष्टाले रचनाबाट प्राप्त हुने आयमा लाभको अधिकार राखेको हुन्छ भने अर्कातिर कृतिकारको नाम वा जश पाउने अधिकार पनि सुरक्षित राखेको हुन्छ । यसका साथै रचनाकारलाई सर्वाधिकार -Exclusive Rights_ वा लाभांश पाउने अधिकार -Remuneration_ मात्रको अधिकार रहन्छ । आर्थिक अधिकार अन्तर्गत पुनः उत्पादन गर्ने, अनुवाद गर्ने, शैली परिवर्तन गर्ने, वितरण गर्ने, प्रशारण गर्ने, सार्वजनिक सञ्चार गर्ने आदि पर्दछन् । नैतिक अधिकार अन्तर्गत आफ्नो रचनामा वास्तविक वा छद्म नाम उल्लेख गर्न पाउने ९च्ष्नजत या एबतभचलष्तथ) र रचनाको ख्याति, सम्मान, प्रतिष्ठा कायम राख्ने (Right of Integrity) पर्दछन् ।
प्रतिलिपि अधिकार संरक्षण अवधि तर्फ भने यो अधिकार सधै पाइरहिने अधिकार होइन । राज्यको कानूनले रचनाकार वा रचनाको किसिम अनुसार अवधिको सीमा तोक्ने गरिएको हुन्छ । यसरी संरक्षण अवधि समाप्त भए पछि त्यस्ता रचना सार्वजनिक सम्पत्ति हुन्छन् । वर्न महासन्धिले रचयिताको जीवनभर र मृत्युपछि ५० वर्षसम्म प्रतिलिपि अधिकार संरक्षण गरिदिनु पर्ने न्यूनतम शर्त तोकेको छ । कतिपय मुलुकले यो समयावधि भन्दा बढी समयावधि तोकेको देखिन्छ । अज्ञात रचनाकारको हकमा भने रचना प्रकाशित भएको मितिले ५० वर्ष प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । कुनै रचनाको धनी ब्यक्ति नभई संस्था भएमा प्रकाशित भएको मितिले ५० वर्षसम्म मात्र अधिकार रहन्छ । कतिपय मुलुकहरूद्वारा रचनाकारको नैतिक अधिकार संरक्षणको कार्यलाई भने अवधि नतोक्ने गरिएको छ ।
प्रतिलिपि अधिकार धनीको स्वीकृति नलिईकन पनि कुनै रचनाको प्रयोग गर्न पाउने विशेष ब्यवस्था पनि प्रतिलिपि अधिकारले कानूनमा गरेको छ । यसलाई असल नियतको सिद्धान्त (Fair Use Principle) भनिन्छ जस अन्तर्गत अरूको रचना प्रयोग गर्दा सकिने अवस्था निम्नानुसार छन्— (१) कुनै रचनाको सानो अंश उद्धरण गर्दा, (२) पढाउने कामको लागि प्रयोग गर्दा, (३) समाचार सम्प्रेषण गर्दा, (४) संग्रह वा व्यक्तिगत रूपमा प्रयोग गर्न एक प्रति प्रतिलिपि बनाउँदा । तर उल्लेखित अवस्थामा अरूको रचनाको कुनै सानो अंश उद्धरण गर्दा वा शैक्षिक प्रयोजन वा समाचारको लागि अन्यको रचना प्रयोग गर्दा मूल रचना वा रचनाकारको नाम तथा स्रोत खुलाउनु पर्दछ । व्यक्तिगत प्रयोजनको लागि एक प्रति बनाएकोमा त्यसको व्यवसायिक वा आर्थिक लाभ हुने गरी प्रयोग गर्नु हुँदैन ।
प्रतिलिपि अधिकारको उल्लंघन हुने गरेका विभिन्न प्रवृत्ति, स्वरूप र क्षेत्रहरू छन् । अरूको रचनाका पूरै वा आंशिक अंश नक्कल गरेर आफ्नो रचना हो भनेर उत्पादन बिक्री वितरण गर्ने नक्कली प्रवृत्तिलाई Plagiarism भनिन्छ । त्यस्तै अरूको रचना जस्तै पुस्तक, संगीत, चलचित्र, कम्प्यूटर सफ्टवेयर, भिडियो गेम आदिको बिना अनुमति नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने प्रवृत्तिलाई डकैती (Piracy) भनिन्छ । आजकल डिजिटल प्रविधि तथा इन्टरनेटको माध्यमबाट हुने डाउनलोड, अपलोड, पीटूपी फायल सेयरिङ गरेर बिक्री वितरण तथा आदान प्रदान हुने गरेको छ । यसलाई पनि प्रतिलिपि अधिकार संरक्षणमा ब्यपक चुनौति मानिन्छ ।
कानूनी उपचारको सन्दर्भ हेर्दा विशेष गरी प्रतिलिपि अधिकार सम्बन्धी अपराध नियन्त्रण गर्न देवानी र फौजदारी दुवै प्रकारका कानूनी उपचारको ब्यवस्था गरिने र अन्य मुलुकबाट प्रतिलिपि अधिकार उल्लंघन गरेर माल वस्तु आयात हुनबाट रोक्न भंसारमा नै नियन्त्रण हुने ब्यवस्था गर्नु पर्ने जस्ता शर्त बौद्धिक सम्पत्ति सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौताहरूमा राखिएका छन् । मेलमिलाप तथा मध्यस्थता जस्ता विवाद समाधानका सरल उपायहरू पनि अपनाउन सकिने प्रचलन रहेको पाइन्छ । वर्न महासन्धि जसमा नेपाल लगायत १६० मुलुकहरूले हस्ताक्षर गरेका थिए जस अनुसार सदस्य राष्ट्रले अर्को मुलुकको नागरिकको रचनालाई पनि आफ्नो मुलुकको नागरिकलाई दिने सरहको सुरक्षा दिनु पर्ने हुन्छ ।
जेनेभामा प्रधान कार्यालय रहेको संयुक्त राष्ट्र संघको विशिष्टीकृत अन्तर्राष्ट्रिय संस्था विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) ले यो अधिकारलाई सुदृढ बनाउने जुन विश्वव्यापी अभियान चलाएको छ सोबारे आजका स्रष्टा सचेत हुन आवश्यक छ । यसका साथै रोम महासन्धि १९६१, विश्व बौद्धिक सम्पत्ति प्रतिलिपि अधिकार सम्झौता १९९६ र विश्व बौद्धिक सम्पत्ति कार्यान्वयन सन्धि १९९६ समेतको अध्ययन र कार्यान्वयनले मानव जातिको बौद्धिक सिर्जनशीलतालाई टेवा पुग्ने र भावी पुस्ता सुनिश्चित बन्ने देखिन्छ ।

IPR

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.