परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

बाल्यकालमा मैले अनुभूत गरेका लिम्बू समुदायका केही गतिविधि स्मरण गर्न चाहन्छु । आजभन्दा करिव ५० वर्ष अघि मेरो गाउँ आठराई हाङपाङमा अनौंठा गतिविधि हुन्थे । मेरो घर विद्यालयको नजिक थियो । विद्यालय लागेको बेला विद्यार्थी, शिक्षकहरूको चहलपहल हुन्थ्यो । तर असार साउन छुट्टि भएको बेला गाउँ सुनसान हुन्थ्यो । त्यसबेला सबैजना काम काममा हुन्थे । म सानै केटाकेटी नै थिएँ । घरमा बेलाबेला हिन्दू साधु आउँथे ती भद्र हुन्थे, चामल आदि दिए पछि सरक्क जान्थे । त्यस्तै गरी अर्काथरीका साधु थिए, लिम्बू साधु, तिनको हातमा एउटा एकतारे बाजा हुन्थ्यो । उनी एकहातले त्यो एकतारे बजाएर मग्न भएर लिम्बू भाषामा भजन गाउँथे । हामी केटाकेटी झुम्मिएर बडो ध्यान दिएर उनले भजन गाएको सुन्दथ्यौं । कुरो नबुझे पनि संगीतले हामीलाई तान्दथ्यो । उनी सत्तेहाङ साधु भनेर भन्दथे । उनी बेलाबेला अर्थात् दुईतीन महिनामा एकपटक जसो आउँथे । अर्काथरी थिए, युमा । ती युमा एकजना बाहुन जातिका तर लिम्बूभाषा मात्र बोल्दथे ।
कुरा गर्दै जाँदा थो तम्बरखोला अर्थात् माथि तम्बरखोला भनेर बोलेको मात्र सम्झना छ । यसको मतलब उनी तम्बरखोलातिर दीक्षित अर्थात् गुरूकुल थियो होला । तर उनी व्यवहारमा उग्र स्वभावका थिए । केटीले लाउने जामा लगाउँथे । अग्ला कदका मानिस जामा लगाएर बाटोमा काम्दै लिम्बूभाषामा साम्लो गीत गाउँदै मुन्धुम भन्दै हिड्दथे । ‘येन हिम माखिमाखि नाम्सु’ अर्थात् यो घर रगत गनाउँछ भनेर युमाले भन्यो भने त्यो घरमा छिटै मानिस मर्दछ भन्दथे । त्यसैले मानिस उनीसंग त्रसित थिए । बाहुन मान्छेले त्यसरी लिम्बू भाषा बोलेर युमा भएको देखेर हामी छक्क पर्दथ्यौं । उनलाई विद्यार्थीले तिम्रो के शक्ति छ भनेर सोद्धथे । उनी म बान हानेर मान्छेलाई रगत छदाएर मार्न सक्छु, पानी पार्न सक्छु आदि भन्दथे । लौ पानी पार त भनेर विद्यार्थीहरूले उल्याँउँथे । त्यसैले विद्यालय नलागेको मौका पारेर हाम्रो इलाकामा युमाले हामीलाई थर्काएर हिड्दथे । उनको गतिविधि अहिले सम्झँदा कतै मानसिक असन्तुलन पो थियो कि जस्तो पनि लाग्छ । तर त्यसबेला त्यस्तो सोच्ने वा भन्ने कसको आँट र !
आजकल सत्तेहाङ र युमाको बीचमा वाक्युद्ध चलेको छ । यो नयाँ होइन रहेछ । मेरो गाउँमा आजभन्दा पचासवर्ष अघि पनि यी दुवै सम्प्रदायको चल्तीफिर्ती थियो । आज दुवैले आफ्नो सम्प्रदाय मौलिक हो भनेर आफूलाई भनि आएका छन् । सत्तेहाङले हिन्दूको चरू पोल्ने, शंख फुक्ने, मंत्र भन्ने चलन भित्र्याएको युमाको आरोप छ । सत्तेहाङ आफू मौलिक भएको र समाजलाई सहज बनाउने प्रयास गरेको दावी गर्दछ ।
आध्यात्मिक दृष्टिले अघि सारिएका तर्कभन्दा प्राज्ञिक र ऐतिहासिक प्रमाणलाई बढी विश्वास गर्नुपर्दछ । लिम्बू जातिको इतिहास धेरै अघि विदेशी विद्वानहरूले गरे । इमानसिंह चेमजोङ, प्रेमबहादुर माबोहाङ, काजीमान कन्दङवा, शिवकुमार श्रेष्ठ जस्ता विद्वानहरूले किरात लिम्बूको इतिहास लेखेका छन् । अहिले आएर लिम्बू अध्येताहरूले पनि लिम्बू इतिहास तथा मुन्धुमबारे प्राज्ञिक अध्ययन गरेका छन् । लिम्बू जातिको इतिहास तथा मुन्धुमका बारेमा विभिन्न वैज्ञानिक लेखहरू अनलाइनमा पनि उपलब्ध छन् । मुन्धुमको भाषागत अध्ययन शिर्षकको पिएच.डी. शोधग्रन्थमा डा. मोहनकुमार तुम्बाहाङले चाल्र्स बेलको अध्ययन उदृत गर्दै लेख्नुभएको ग्रन्थको एक अंशको सार यस्तो छ– तम्बरखोला निवासी सिरिजङ्घा राजा (सन् ८८२–९२५) समाज सुधार गर्न चाहन्थे, त्यसैले त्यसबेला उनी तिब्बतको ल्हासा गएर विभिन्न विद्वानहरूसंग रायसल्लाह लिएर किरात लिपीको निर्माण गरे, र प्रचारमा ल्याए, जसलाई पछि उनकै नाम दिइयो । उनले किरात साम्लो साप्ला नामक लिम्बू भाषामा गीतसंग्रह पनि प्रकाशित गरे । उनले तिब्बती वोन धर्मसंग मिल्दोजुल्दो युमा धर्मको पनि प्रचारप्रसार गरे (चाल्र्स बेल, १९२८) । बोन धर्मका बारेमा इनसाइक्लोपेडिया ब्रिटानिकामा उल्लेख छ– जादुतुना, भूतप्रेत मन्छाउने र रगत भोगदिने अभ्यासहरू यसमा पाइन्छन् । यसकारण युमा धर्म जसलाई हामी मौलिक भन्छौं, के यो साँचै मौलिक छ या यो चाल्र्स बेलको भनाई जस्तै बोनधर्मसित कति प्रभावित छ, यसमा प्राज्ञिक तथा बौद्धिक अध्ययन जरूरी छ । साथै, सत्तेहाङ सम्प्रदायमा विद्यमान सङ्ख फुक्ने, होमादि गर्ने चलन किरातको मौलिक भएको जुन पछि हिन्दूले अवलम्बन गरेको भन्ने भनाईको पनि परीक्षण तथा बौद्धिक तथा प्राज्ञिक अध्ययन उत्तिकै जरुरी छ ।
दुवै सम्प्रदाय किरात लिम्बूमा प्रचलित जनआस्था हुन् । एकअर्कालाई हिलो छ्याप्ने काम गर्नु हुदैन । यसमा बिना पूर्वाग्रह अध्ययन गर्नु पर्दछ । प्रकृतिपूजक किरात अर्थात् किरात लिम्बूको सामान्य जीवनमा आधारित जीवनशैली जस्तै उधौली, उभौली, साप्पोक चामेन, नाहेन, येबा आदि कुराहरूलाई आखिर सबै लिम्बूले धर्मकै रूपमा ग्रहण गरेकै छन् । आज धेरै लिम्बूहरू लिम्बूकै परम्परागत चलन थाम्न नसकेर हिजो मुङलान भासिने दिन थिए, आज क्रिश्चियन वा हिन्दू हुन तयार भएका छन् । लिम्बूको परम्परागत एउटा रीत गर्नुप¥यो भने गाउँमा त पाइएला तर मधेश वा शहरमा फेदाङमा पाइदैन । विवाह, मृत्युमा गरिने खर्च धान्न खेतवारी बेच्नु पर्ने अवस्था छ, तीनवर्षसम्म ससुरालीमा सुँगुर मारेर, उत्तानो पारेर बोकाएर लानु परेको छ । खर्च नगरे वा सुँगुर, रक्सी नलगेर के गर्नु छिमेकी, समुदाय मान्दैन । उहिले मैले त खर्च गरेको थिएँ, तैंले नखाए पनि तेरो बाबुले खाएको थियो, तँ किन गर्दैनस् भनेर समाजले खर्च गराउन बाध्य पार्छ र साहु खोज्नु पर्ने हुन्छ । यसमा सुधार गर्ने प्रयास नभएका होइनन् तर पनि परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू । भन्नु सजिलो छ, तर गर्नु गाह्रो छ । मर्म अरूले बुझ्ने हैन । हामी आफैले बुझ्ने हो । सेवारो ।