साहित्य के हो? यो किन र कसरी सिर्जना हुन्छ?

साहित्यको नाममा हामी लेख्छौ, पढ्छौं र चर्चा पनि गछौं । विश्वमा साहित्यको अस्तित्व, महत्व, चरित्रबारे हाम्रा अग्रजहरूले पर्याप्त चर्चा, परिचर्चा मात्र हैन सिद्धान्त नै प्रतिपादन गरेका छन् । साहित्यलाई सिर्जना गर्ने अनि हेर्ने वा पढ्ने तथा देख्ने वा बुझ्ने सन्दर्भमा पूर्वीय र पाश्चात्य वाङ्मयमा आ–आफ्ना अवधारणा र दृष्टिकोणहरू छन् । यहि साहित्यको महासागरबाट एक थोपा सार खिच्ने घृष्टता गर्दैछु ।
साहित्य के हो भन्ने बारेमा पूर्वीय सिद्धान्त र अवधारणा निक्कै पुरानो छ । आचार्य भामह भन्छन्– “शब्दार्थो सहितौ काव्यम्” अर्थात् शव्द र अर्थको सहभाव नै काव्य वा सहित्य हो । आचार्य रूद्रट भन्छन्– “ननु शब्दार्थौ काव्यम्” अर्थात् शब्द र अर्थ नै काव्य हो । आचार्य मम्मट भन्छन्– “तददोषी शब्दार्थौ सगुणावनलंकृती पुनः क्वापि ।” अर्थात् दोषरहित, गुणसहित, अलङ्कारयुक्त शब्दार्थ नै काव्य हो । रसवादी आचार्य मम्मटको उक्त परिभाषा निकै महत्वपूर्ण मानिन्छ । उनले काव्यको चरित्र तथा अलङ्कारलाई महत्व दिंदै साहित्यको उपयोगिता पनि दर्शाएका छन् । तर दोषरहित भन्ने उनको परिभाषामा प्रयुक्त मापदण्ड भने अव्यवहारिक वा असंभव पनि देखिन्छ ।
आचार्य बाग्मटका अनुसार “गुणालंकाररीतिरसोपेतः साधुशब्दार्थसन्दर्भ काव्यम् ।” अर्थात् गुण, अलंकार, रीति र रसले युक्त सुन्दर शब्दार्थ, समूह नै साहित्य हो । यसैगरी जयदेवका अनुसार दोषरहित, तथा गुण, अलंकार, लक्षण, रीति र वृत्तिले युक्त वाक्य नै काव्य वा साहित्य हो । आचार्य विश्वनाथका अनुसार “वाक्यम् रसात्मकम् काव्यम्” अर्थात् रसलेयुक्त वाक्य नै काव्य वा साहित्य हो । संस्कृत साहित्यमा साहित्यशास्त्रलाई अलङ्कारशास्त्र भन्ने पनि चलन छ ।
हिन्दी साहित्य समालोचक महावीरप्रसाद द्विवेदीले ज्ञानराशीको सञ्चितकोषलाई साहित्य मानेका छन् । हिन्दी उपन्यासकार प्रेम चन्दले साहित्य भनेको जीवनको आलोचना भनेका छन् । समालोचक गुलाबरायको मतमा साहित्य भनेको संसारप्रतिको मानसिक प्रतिक्रिया अर्थात् विचार, भाव तथा संकल्पको शाब्दिक अभिव्यक्ति हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले सजीव अनुभवहरूको कलात्मक प्रकाशनलाई साहित्य भनेका छन् । उनले साहित्यको पहिले भाव र त्यसपछि शैलीपक्षलाई जोड दिएका छन् । उपन्यासकार रूद्रराज पाण्डेले व्यक्तित्वको अभिव्यक्ति अर्थात् वैयक्तिक आत्मरागको प्रकाशनलाई साहित्य भनेका छन् । सोमनाथ सिग्देलले सर्वसाधरणलाई मुग्ध पार्ने अभिव्यक्तिलाई पनि साहित्य भनेका छन् ।
यसरी साहित्यलाई परिभाषित गर्ने सिलशिलामा पूर्वीय साहित्य बाङ्मयमा हेर्दा साहित्य भनेको जीवन जगतप्रतिको मानवीय अनुभव, अनुभूति, धारणा, दृष्टिकोणको कलात्मक एवम् सौदर्यपूर्ण भाषाशिल्पका माध्यमबाट गरिने सिर्जनात्मक अभिव्यक्ति हो जसमा बौद्धिकता, हार्दिकता एवम् कल्पनाको प्रचुरता हुन्छ । पूर्वीय साहित्य समालोचना जगतमा समालोचना गर्दा विभिन्न आधारलाई मापदण्डको रूपमा लिइन्छ । साहित्यको परिभाषा अनुसार सिर्जनात्मक मूल्यांकन, साहित्यको हेतु, साहित्यको प्रयोजन, साहित्यमा प्रयुक्त शब्दशक्ति अर्थात् अभिधा, लक्षणा र ब्यञ्जनालाई समालोचनाको पूर्वीय दृष्टिकोण र आधारशिला मानिएको छ ।
पाश्चात्य साहित्य जगतमा साहित्यलाई परिभाषित गर्ने दृष्टिकोण अझ व्यापक छ । परिष्कारवादी टि.एस. इलियतको मत अनुसार परिष्कृत साहित्य प्रौढ मष्तिष्क, प्रौढ सभ्यता र प्रौढ भाषायुक्त साहित्यलाई नै परिष्कृत अर्थात् क्लासिकल साहित्य मानिन्छ । त्यस्तो साहित्य सार्वभौमिक र सार्वकालिक हुन्छ । अर्को पाश्चात्य साहित्य सिद्धान्त स्वच्छन्दतावाद अनुसार परम्परामुक्त, स्वच्छन्द अभिव्यक्ति प्रणालीमा आधारित, तर्क र बुद्धिको साटो भावना र भावुकता, वस्तुपरकता भन्दा आत्मपरकता, विवेक नियन्त्रितको साटो हार्दिकता, सचेत आयोजनको साटो सहजता वा स्वतःस्फूर्तता, यथार्थको साटो सहजता, स्वतस्फूर्तता, वास्तविकताको साटो कल्पना अनि चेतन मनको साटो अवचेतन मनमा आधारित साहित्यलाई स्वच्छन्दवादी साहित्य भनिएको छ ।
परिष्कृतवादी तथा स्वच्छन्दतावादी साहित्य लेखन विरूद्ध पश्चिमी साहित्यमा सन् १८३० तिर यथार्थवादी लेखनको प्रारम्भ भयो । यस बादले जीवन र जगतलाई यथातथ्य एवम् निष्पक्ष भावले हेर्ने र त्यस्तै किसिमले तिनको चित्रण–अङ्कन गर्दछ । यस वादले भावुकता र काल्पनिकताको साटो भौतिकता विश्वास गर्दै यथार्थ सामाजिक वस्तुगतको अंकन साहित्यमा फोटोग्राफी जस्तै गर्दछ । अर्को छ, प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपबिना निर्वैयक्तिक चित्रण गर्ने एक साहित्यिक मत जसलाई प्रकृतवादी साहित्य भनिएको छ । यसले मानवतावादी, नैतिक, धार्मिक दृष्टिकोणका विपरित विशुद्ध प्राकृत वा प्रकृतिवादी पाशविकताको चित्रण साहित्यमा गर्ने गर्दछ ।
पाश्चात्य साहित्यको अतियथार्थवादी साहित्यकारहरू अवचेतन मनका गूढ रहस्यहरूको अभिव्यक्तिहरूलाई स्वचालित लेखनप्रणालीको माध्यमद्वारा साहित्य सिर्जना गर्दछन् । अतियथार्थवादीहरू स्वप्न, विभ्रम, अर्धजाग्रम अवस्था आदिको खोजमा हुन्छन् । यिनीहरू समून्द्रको गर्भरूपी अवचेतनमा डुबेको भागका कतिपय आयामलाई प्रकट गर्न स्वप्न र स्वप्नसादृश मानसिक अवस्थाका विशिष्ठ विम्वविधानको प्रयोग गर्ने गर्दछन् । अर्को छ, हामी जन्मन नचाही जन्मन्छौं र मर्न नचाही मर्दछौं, हामी जन्म र मृत्युका बीचमा छौं, त्यसैले हाम्रो अस्तित्व विसङ्गत छ भन्ने विसङ्गतवादीहरूलाई हामी असंगतिवाद, निस्सारवाद, अनास्थावाद, शून्यवाद आदि शब्दले पनि पुकार्न सक्छौं । जीवन जगतप्रति अनास्था, शून्यता, निराशा र उदेश्यविहीन दृष्टिकोण राख्ने विसंगतिवादीहरू साहित्य भनेको जीवनको अभिव्यक्ति, अनुकरण वा प्रतिकृति होइन बरू जीवन के हो भन्ने सम्बन्धमा कुनै व्यक्ति वा साहित्यकारको चिन्तन दर्शन वा धारणा, दृष्टिकोणको प्रस्तुतिको माध्यम हो साहित्य भन्ने गर्दछन् ।
नियतिवाद र आदर्शवादको विरूद्धमा बीसौं शताव्दीमा पश्चिममा जन्मेको अस्तित्ववादले भाव र विचारप्रति जीवनको विद्रोह गर्ने गर्दछ । अस्तित्ववादी मोलियरको मतानुसार भाव र वस्तुहरूको अतिवादी दर्शनको विरोधमा स्थापित मानवीय तथा मानववादी दर्शन नै अस्तित्ववादी लेखन हो भनेका छन् ।
मनोवैज्ञानिक फ्रायडका अनुसार साहित्य भनेको अचेतन मनका कुराहरूको उदात्तिककृत वा रचनात्मक तथा सिर्जनात्मक अभिव्यक्ति हो । अचेतन मनमा रहेका दमित तथा कुण्ठित अवस्थामा रहेका कामेच्छाहरू अहम् तथ पराअहम् वा सामाजिकनैतिक चेतनाबोधका कारण सोझै बाह्य रूपमा प्रकट हुन नसकी विभिन्न छद्मरूप धारण गरेर अर्थात् विभिन्न प्रतीक, विम्बका सहायताले प्रकट हुने सिर्जना नै साहित्य हो । यसैगरी एड्लरको साहित्यसम्बन्धी सिद्धान्त अनुसार चेतन मनमा अवस्थित अहम् स्थापनार्थ श्रेष्ठतम् भावलाई साहित्य सिर्जनाको मूल श्रोत हो । एड्लरका अनुसार मानिसमा कुनै न कुनै कमी कमजोरी हुन्छ । त्यसले उसमा रहेका अहम् स्थापनामा ठेस पुग्न गई हीनताभावलाई जन्म दिन्छ । यही हिनताभावको क्षतिपूर्तिस्वरूप मानिसले विभिन्न व्यवहारहरू गर्ने क्रममा साहित्यको सिर्जना हुन्छ ।
मनोवैज्ञानिक कार्ल गुस्ताव युङ्गका अनुसार सामुहिक अचेतन मनमा अनन्त समयदेखि सन्चित अनुभव व्यक्तिको अन्तर्मुखी र बहिर्मुखी वृत्तिका बीचमा सामाञ्जस्य हुँदा विभिन्न विम्ब, प्रतीक, मिथक आदिका माध्यमबाट साहित्यको सिर्जना हुन्छ । उनका अनुसार मानिसको मनका तीन तहहरू चेतन मन, व्यक्तिगत अचेतन मन र सामुहिक अचेतन मन हुन्छन् । उनले फ्रायडको जस्तो दमित कामेच्छा अनि एड्लरको जस्तो हीनताबोधको क्षतिपूर्तिको रूपमा साहित्य सिर्जना भएको नभई सामुहिक अचेतन मनको आग्रहलाई नै साहित्य सिर्जनाको मूल प्रेरक तत्व मानेका छन् ।
(डा. नवराज सुब्बा)