मेची–कोशी शब्द व्युत्पतिमा स्थानियता र ऐतिहासिक आधारहरूको खोजी

डा. नवराज सुब्बा

(क)पृष्ठभूमि
मार्केण्डेय पुराणका अनुसार महाभारतकालमा प्रमुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई आफ्नो ग्रन्थमा शुद्र भनेर लेखे (मनुस्मृति दशौं अध्याय) । महाभारतकालमा विहारमा हर्वा हाङ र बंगालमा दर्बा हाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ नामी राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (चेमजोङ, २००३) ।

(ख) मेची र कोशी शब्दको व्युत्पत्तिमा स्थानीयता पहिलो आधार
महाभारतकालीन पाँच पाण्डव गुप्तवासमा लुक्न आएको बेला उत्तर बिहार, उत्तर बंगाल र आसाममा किरातीहरू राज्य गर्दथे । आर्यहरूले किरात पूर्वमा छन् भन्ने सुनेका थिए । आर्यहरूले आसाम र लोहित देशलाई म्लेच्छ देश नाम दिए । यही म्लेच्छ देशबाट म्लेच्छ र म्लेच्छबाट मेच वा मेचे जाति बनेको हो (चेमजोङ, २००३) । मेरो विचारमा, यही मेचे जाति बसोबास गर्ने क्षेत्रमा बग्ने नदीलाई पछि मेची नदी भनिएको हुनुपर्छ । मेची नाम रहनुमा मेचे जातिको इतिहास गाँसिएको छ ।

यसको आधार स्वरूप म इतिहासकार चेमजोङकै एउटा तथ्य अघि सार्दैछु । लिच्छवी शब्द किरात शब्दबाट बनेको हो । ‘लि’ भन्नाले एउटा निश्चित परिवार वा वर्ग र ‘छा’ भनेको सन्तान अर्थात् ‘लि’ का सन्तान भन्ने बुझिन्छ । किरात भाषामा ‘ली’ शब्दको प्रयोग धेरै हुन्छ । ‘ली’ शब्दले परिवार बुझाउँछ । इतिहासमा लिच्छवीकालको पतन भए पछि यिनीहरू नेपालको पूर्वी पहाड दिल्पा, नेचा, डुङ्मा, डिम्मा, पारा, सेर्मा, माक्पा, सावा नामक ठाउँमा आश्रय खोजेर बसे (चेमजोङ, २००३) । पछि यिनीहरू बसेको ठाउँको नामबाट ‘ली’ थपेर त्यहाँको ‘बस्ने’ वा ‘वासी’ बोधक शब्द निर्माण भएको छ । जस्तैः तत् तत्वासीलाई हामी दिल्पाली, नेचाली, हुङ्माली, डिम्माली, पाराली, सेर्माली, माक्पाली, सावाली नामले सम्बोधन गर्दा त्यहाँका बासिन्दा भनेर बुझ्दछौं । मलाई विश्वास छ, किरातका सन्तान ‘मेचे’ शब्दमा ‘ली’ प्रत्यय जोडेर ‘मेचेली’ बाट अपभ्रंस भई ‘मेची’ बनेको बलियो सम्भावना म देख्तछु ।

कोशी नामाकरणको खोजी विभिन्न विद्वानहरूले गरेका छन् । रामकुमार पाण्डेका अनुसार कोशी नदीको उत्पत्ति तिब्बतमा भएकाले उनी तिब्बती भाषामा यसको अर्थ खोज्दछन् । तिब्बतमा कोशीलाई ‘को’ या ‘कू’ भनिन्छ । यहीबाट यस क्षेत्रमा बसोबास गर्ने किरातहरूले यो नदीलाई कोशी भनेका हुन् भन्ने उनको मत रहेको छ (पाण्डे, २०४३) । यसैगरि सोमप्रसाद खतिवडाले यसको अर्थ संस्कृत साहित्यमा खोजेका छन् । उनी संस्कृत साहित्यमा यस नदिको नाम कौशिकी उल्लेख भएको र यसलाई कुशिक ऋषिकी पुत्रीको नाम मानिएको बताउँछन् । यस्तै कौशिकीलाई संस्कृत साहित्यमा शिवकी शक्ति उमा या पार्वतीको नामले जान्ने गरिएको खतिवडाले बताएका छन् (खतिवडा, २०७०) ।

‘कोशी’ नदीको नाम व्युत्पत्तिमा यस क्षेत्रका बासिन्दा किरात कोच अर्थात् हालका राजवंशीसित जोडेर हेर्न म बढी युक्तिसंगत देख्दछु । यो नदी आर्य यो क्षेत्रमा आउनु पूर्व नै यो क्षेत्रमा किरात कोच जातिको राज्य स्थापना भएकोले कोच जाति समिप बग्ने नदीलाई यस अघि नै पहिचान पक्कै गरिएको हुनुपर्छ । नामाकरण गर्नलाई आर्यलाई पर्खन पर्दैन । यसलाई स्थानीय जातिलाई जनाउने हिसाबले सम्बोधन भएको हुनु पर्छ । यहाँ बसोबास गर्ने जाति ‘कोच’ मा ‘ली’ प्रत्यय जोडेर ‘कोची’ र पछि अपभ्रंस भएर ‘कोशी’ नाम रहन गएको हुन सक्ने बलियो सम्भावना मैले पाएँ ।

(ग) ऐतिहासिक आधारहरू
यी माथिका तर्कहरू राख्नलाई म केही ऐतिहासिक पृष्ठभूमिलाई आधारको रूमा उठाउन चाहन्छु । कोच, मेच जातिको उदय र पतन कसरी भयो इतिहास हेरौं । ई.पु. १२५ मा किरात देशमा राजा पर्वतेका सातौं पुस्ता राजा सम्योकहाङको पालामा विद्रोह भयो । मधेसिया किरातले राजा साम्योकको शासनको विरोध गरे । बाजदेव (जसको संस्कृत नाम वासुदेव) को नेतृत्वमा साम्योकहाङको शासन अन्त्य गरे र हालको पूर्वी नेपालको शासकको रूपमा बाजदेव उदाए । राजधानी लिबाङमा राखे । उनी पछि १२ राजाहरू शंखदेव, देवशंख, देवापुर, देवभिच्छुक, देवघाण्टुक, सोतुङहाङ, लिम्दुङहाङ, लिजेहाङ , मापुङहाङ, डेण्डेहाङ, र कुन्दुङजापाले शाासन गरे । कुन्दुङजापाका चार छोराहरू मुधुङगे, सानधुङगे, कानेहाङ र कोचुहाङ थिए । यिनीहरूले राज्यलाई विभाजन गरे । यी मध्ये कोचुहाङ उत्तर बंगालमा गए र कोचपिगुरी राज्यको स्थापना गरी शासन गरे । र जनतालाई कोच जाति भनियो । जसको नाम अहिले कुचविहार भएको छ ।

चौथो शताब्दीमा आसाममा शक्तिशाली किराती कोच राजा शङ्कालको उदय भयो । उनका १ लाख घोडा, ४ हजार हात्ती, र ४ लाख सैनिक थिए । उनले कुशान (खसान) राज्यलाई पनि जिते र विहारलाई पनि जिते । यसरी उनको राज्य पूर्वमा अफगानिस्तानदेखि पश्चिममा आसामसम्म फैलियो । राजधानी कामरूप देखि लखनौति बंगालमा सारे । त्यसबेला पर्सियन राजा अफ्रसियाबले ५० हजार मंगोलियन सैनिकसहित आक्रमण गरे पहिलो पटक हारे तर दोस्रोपटक जिते । तर पहिलो पटक हारेका मंगोलियन सैनिक उत्तरी हिमाली भूभागमा लुके र यतै बसे । इतिहासकार इमानसिंह चेमजोङले हालको लेप्चा जाति यिनै शरणार्थी सैनिक भएको र र इलाम शब्द उनीहरुले ल्याएको उल्लेख गरेका छन् । यसरी शक्तिशाली किरात कोच साम्राज्य तितर–बितर भयो । यिनै तितर–बितर भएका जातिहरू नै पछि संगठित भएर काठमाडौं उपत्यकामा किरातशासनलाई हटाएर लिच्छवी शासन सुरू गरे भनेर इतिहासकार इमानसिंह चेमजोङले भनेका छन् ।

१६ औं शताब्दीमा आसाममा राजा हरिया कोचको उदय भयो । उनले गोवालपारालाई राजधानी बनाएर शासन गर्न थाले । उनका छोरा विशु कोचले अरू कोच तथा मुसलमानलाई पनि अधिनमा ल्याए । उनले अधिराज्यलाई बलियो बनाए र हिन्दू धर्म ग्रहण गरे, अनि आफ्नो नाम पनि विश्वसिंह कोच राखे । उनले हिन्दू धर्मलाई राजकीय मान्यता दिएर कामाक्ष मन्दिरको मर्मत गरी पुरोहितहरूको व्यवस्था गरिदिए । उनका १९ जना छोरा थिए, तिनमध्ये शुक्लध्वज चिल्ला राईको नामले विख्यात भए । विश्वसिंह कोच हिन्दूधर्म प्रति झुकाव भएकाले आफ्ना छोरालाई संस्कृत पढाउन बनारस पठाए । संस्कृत पढेर आएपछि नर नारायण कोच राजा भए र उनका भाई चिल्ला राई सैनिक प्रमुख भए । उनले राज्य विस्तार गरे र उत्तर विहारदेखि आसामसम्मको राज्य स्थापना गरी ४० वर्ष शासन गरे ।

त्यसबेला हिन्दूले कोचलाई म्लेच्छ भनेर हेय भावले हेर्दथ्यो । राजा नर नारायणले उनका भाई चिला राईसित सल्लाह गरेर कोच थरलाई राजवंशी बनाउने निधो गरे र राज्यमा हिन्दू कोचलाई राजवंशी भन्न वा बन्न अभियान चलाए । यसरी हिन्दू पुरोहितहरूले पैसा लिंदै कोचलाई धमाधम हिन्दू राजवंशी बनाए । त्यसबेला ८ लाख कोच भएको बताइएको छ । धेरैजसो कोच विपन्न थिए, यसैले उनीहरूले हिन्दू पंडित पुरोहितलाई पैसा दिन सकेनन् र उता मुस्लिममा जाँदा पैसा नलाग्ने भएकाले धेरै कोच मुस्लिम बने । अझै पनि मुस्लिमलाई हिन्दू राजवंशीले हेय दृष्टिले हेरेकाले आपसमा राजवंशीबीच आसाममा ठूलो भिडन्त भयो र तिनको पतन पनि भयो भनेर इतिहासकार इमानसिंह चेमजोङले बताएका छन् ।

(घ) छलफल
कोशी नामाकरण सम्बनधमा उल्लेखित विद्वानहरूको मत आ–आफ्नो ठाउँमा सही होला तर यसले जिज्ञाशा शान्त हुँदैन । तिब्बती ‘को’ या ‘कू’ यहाँ आउँदा कोशी बन्ने आधार के हुन् ती प्रष्ट छैनन् । यस्तैगरि संस्कृति साहित्यमा कोशीलाई शक्ति स्वरूप उमाको रूपमा मानिएको प्रतीकको रुपमा जनाइएको भएता पनि कोशी नामको व्युत्पत्तिका बारेमा तथ्य मौन छ । कौशिकी शब्दबाट कोशी व्युत्पन्न भएको भन्ने सन्दर्भमा कौशिकी शब्दको अर्थ चञ्चल हो, ऋषिकी छोरी त्यस्तै स्वभाव अनुरुप कौशिकी राखिएको हुनसक्छ तर सवाल कोशी नदी जेठो हो कि कौशिकी पुत्री जेठो भन्ने उठ्छ । कौशिकी पुत्री नजन्मुन्जेल यो नदिको नाम के थियो कि कोशी थियो भन्ने पनि सवाल उठ्छ । मेरो भनाई कोशी जेठो कि कौशिकी जेठो भन्ने हो । किनभने आर्यको प्रवेश किरात देशमा पछि मात्र भएको थियो । या कतै किराती शब्द बाजदेवलाई संस्कृतमा वासुदेव भनिए जस्तै कोशीको संस्कृत रूप कौशिकी पनि हुनसक्ने सम्भावनालाई नकार्न सकिन्दैन ।

आर्यले हेयभावले पुकारेको शब्द ‘म्लेच्छ’ र पछिसम्म सम्मान गर्न नसकेको शब्द वा जाति ‘कोच’ रहेको कुरामा माथि ऐतिहासिक तथ्य बोलेको छ । महाभारतकालीन नक्सा हेर्दा आर्यको आगमन पूर्व लामो कालखण्ड नेपालमा किरात देश रहेको स्पष्ट छ । अझ एक समय अफगानिस्तानदेखि आसाम र उत्तर विहार किरात देशमा रहेको र इतिहासको लामो कालखण्ड तराई भूभाग र आसाम कोचराज्य अधीन रहेको पनि इतिहासले सिद्ध गरिसकेको छ ।

यहाँका नदीनालाको नामाकरणमा यहाँका जातिको भाषा, संस्कृति र पहिचान खोज्न सकिने संभावनालाई नकार्न सकिदैन । किरात भाषा र नामाकरण सम्बन्धी अन्य तथ्यहरूले मेची, कोशी शब्दको व्युत्पतिलाई सार्थक बनाइदिएका छन् । यहाँ तीन शब्दको खेलबाट ‘मेची’ र ‘कोशी’ बनेको देखिन्छ । ‘म्लेच्छ’ शब्दबाट ‘मेच’ अनि यसमा किरात शब्द ‘ली’ प्रत्यय लागेर ‘मेचे’ वा ‘मेची’ बनेको छ । यसैगरि ‘कोच’ शब्दमा ‘ली’ प्रत्यय लागेर ‘कोची’ भएर ‘कोशी’ बनेको हुनसक्ने बलियो आधार भेटिएको छ ।

(ङ) निष्कर्ष
‘मेची’ र ‘कोशी’ शब्दको ब्युत्पत्ति स्थानीय आदिवासीको प्राचीनतम् लोकगाथा तथा ऐतिहासिक आधारमा खोजी र विश्लेषण गर्दा बढी तथ्यपरक र सत्यनजिक पुगिन्छ । कोच जातिको गौरव र आर्यसंस्कृतिको दृष्टिकोणबाट मेची र कोशी शब्दको ब्युत्पत्ति भएको पाइन्छ । यसैले मेची नदीको नामाकरणमा मेचे जाति र कोशी नदीको नामाकरण यस क्षेत्रमा लामो कालखण्ड साम्राज्य चलाएको कोच जातिको नामसित जोडिएको ऐतिहासिक तथ्यहरूलाई मध्यनजरमा राखेर हेर्नु पर्दछ । ‘म्लेच्छ’ वा ‘मेच’ वा ‘मेचे‘ र ‘कोच’ शब्दहरूमा किरात शब्द ‘ली’ प्रत्यय लागेर क्रमसः मेची र कोशी बनेकोमा हामीले गौरव मान्नु पर्दछ ।

References
1. Iman Sing. Chemjong (2003) History and Culture of The Kirat People, Kirat Yakthung Chumlung, Lalitpur.
2. Som Prasad Khatiwada (2070) Koushiki Sanskriti, Sri Jagat Guru Pith, Sunsari, Nepal, pp 3.
3. Ram Kumar Pande (2042) Geography of Nepal, Centre for Altitude Geography, Lalitpur, pp 83.