Manko Majheri

Essays by Nawa Raj Subba

मनको मझेरी- निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर । 
Preview/Download

यस निबन्धसंग्रहभित्र जम्मा २० वटा निबन्ध संग्रहित छन् ।
१ नयाँ नेपालको चित्र
२ तस्वीरमा पोखिएका कविताहरू
३ श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई
४ आमाका रूपहरू
५ तरकारी बेच्ने महिला
६ हाक्पारे सङ्गीत
७ गीतसङ्गीत भित्र देश र जीवन खोज्दै
८ जन्तरेसरको टक्करी ट्वाक
९ ती एक जोडी परेवा
१० धन्यबाद धराबासी
११ जदौ दाहाल यज्ञनिधि
१२ साहित्यकार इमान्दार हुन्छ
१३ स्रष्टाप्रति समाजको अपेक्षा
१४ टेलिफोन र थुतुनो
१५ पशुप्रति मानव सम्वेदनशीलता
१६ पुस्तकालय
१७ बैंकक शहरमा कोइलीको स्वर
१८ भेगाइको अनुभूति र प्राप्ति
१९ सम्झनाको तरेलीमा प्रधानबा
२० तालु ।
माथिका निबन्धहरू मध्ये पाठकद्वारा रुचाइएको एउटा निबन्ध नमूनास्वरुप प्रस्तुत छ ।

श्रद्धाञ्जली एउटी लिम्बूनीलाई
– नवराज सुब्बा

ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै ।
एउटी साइलीबूढी वा लिम्बूनीबूढी थिएन् ताप्लेजुङ हाङपाङ हाइस्कुलको खेलमैदानै मुन्तिर । त्यसबेला म उनलाई श्रद्धा भन्दा पनि डरपूर्वक साइलीबजू भन्दथें । उनी हामीजस्ता स्कुले विद्यार्थीका खलनायिका बनेर सधै विद्यार्थीलाई पीडा दिने गर्दथिन् । खेल्दाखेल्दै भकुण्डो मैदानबाट तल उनको बारीमा खस्यो भने हाम्रो मुटु ढुक्ढुक् हुनेगर्दथ्यो । बुझनुपर्दथ्यो साइलीबजूको हसियाले अब भकुण्डो प्वाल पर्‍यो । कि त बुझनुपर्दथ्यो बूढीले टिपेर घरमा लगेर लुकाइन् । भकुण्डो माग्न गए चल्ला हुर्काउने पोथी कुखुरीले कसैलाई खेदाए झैं हातमा हसिया उझयाउदै विद्यार्थीलाई गुटुटु लखेट्थिन् । त्यसबेला विद्यार्थीको भागाभाग हुनेगर्दथ्यो । यस्तै त्रासबीच पनि हामी प्रायः दिनहु फुटबल खेल्नेगर्दथ्यौं । हाम्रो विद्यालयका दुइटा खेलमैदान थिए । एउटा ठूलो र अर्को सानो मैदान । ठूलो मैदानमा हामी केटाकेटीले त्यत्ति खेल्नै नपाइने । त्यसैले सानो मैदानमा गएर खेल्नुपर्दथ्यो जहाँबाट भकुण्डो सिधै बूढीको बारीमा खस्ने गर्दथ्यो । उसबेला लाग्दथ्यो ती महिला कत्ति शक्तिशाली कत्ति निर्दयी कत्ति छुच्ची तर आज त्यसवेलाकी त्यस्ती क्रूर ब्यक्तिको पीडा, मनोविज्ञान म बल्ल बुझदैछु । बुझनखोज्दैछु वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नु पर्दोरहेछ । फूलमा पलाएका काढाको अर्थ पनि बुझ्दैछु र श्रद्घाञ्जलि स्वरुप केही शब्द कोर्दैछु ।

एकदिन हाङपाङ हाइस्कुलको ठूलोमैदानमा विद्यार्थीबीच फुटवल म्याच हुदैथ्यो । खेल मैदानको बार नाघेर भकुण्डो गयो सिधै बारीमा- बूढीले भकुण्डोलाई हसियाले ठुगिदिइन् । भकुण्डो प्वाल पर्‍यो र हावा गयो- फुसुस्स । विद्यार्थी आवेसमा आए र उनको कोदोबारी उफ्रीउफ्री माडिदिए । कोदोबारी सोत्तर भयो । ठूलो बादविवाद र घम्साघम्सी भयो । त्यत्रा विद्यार्थीको प्रतिकार तिनै साइलीबजू एक्लैले गरिन् । कसैले पनि उनलाई छुन आँट गरेन केवल बारी माडमूड गरेर बिजय हासिल गरेको मूडमा विद्यार्थी फर्किए । त्यत्रो क्षति उनले त्यत्तिकै खपिन् । उनी यस रूपमा बिद्यार्थी, शिक्षकका लागि एकप्रकारकी खलनायिका नै थिइन् ।
तर म भने बूढीको दुइ रूप देख्दथें । हाम्रो घर र उनको घर तल्लो घर र माथिल्लो घर अर्थात छिमेकी थियौं हामी । उनी मसंग लिम्बू भाषामा कुरा गर्न खोज्थिन् म बुझदथें तर फर्काउन लजाउथें । नेपाली भाषामैं छोटो प्रत्यत्तर दिएर उम्कन्थें । उता बिद्यार्थीसित त्यत्ति कठोर तर छरछिमेकसंगको दैनिक व्यवहारमा उनी सरल र नरम् स्वभावकी थिइन् । मलाई थाहा भए देखि नै उनका छोराछोरी कोही थिएनन् । न श्रीमान थिए । घरमा निर्धक्क एक्लै बस्थिन् उनको कोही थिएन । विवाह नै नगरी बसेकी बूढीकन्या थिइन् उनी ।
साइलीबजू दशैंको बेलामा मेरी आमालाई खान बोलाउथिन् । म पनि आमाको पछ्यौरामा झुण्डिन्दै उनको घर जान्थें । उनी याङ्गबेन अर्थात लेकमा रूखमा फल्ने एकप्रकारको झयाउलाई रागाको रक्तीमा पकाएको परिकार र कोदोको जाडले आमालाई सत्कार गर्दथिन् । र मलाई पनि सानो बोटुकोमा याङ्गबेन र कासको लोहोटामा पानी दिन्थिन् । याङ्गबेन मलाई साह्रै मीठो लाग्दथ्यो । पीरो पखाल्न म पानी पिउथें । कहिले काही दुम्से कुखराको प्वाखको अचार खुवाउँथिन । पीरो तर स्वादिलो हुन्थ्यो त्यो पनि म पानीसित मजाले खाइदिन्थें । यस्तो परिकार चार्डपर्वमा मात्र हुन्थ्यो । आमासंग अरुबेला जादा चाहि छ्यापीफलको अचार, कहिले दुङ्गदुङ्गे पातको अचार, कहिले रामभेंडाको काचै पिसेको अचार बनाउथिन् । म आमाको छेउमा बसेर सुटुक्क आमाको अचार अलिअलि चाट्थें मलाई त्यसबेला पिरो पिरो मीठो मीठो लाग्दथ्यो । म त्यसबेला सायद पाच छ वर्षको थिए होला । आज चालिस वर्षपछिसम्म पनि त्यो याङ्गबेन, छ्रयाप्पी, दुङ्गदुङ्गे र रामभेंडाको अचारका स्वाद जीब्रोमा अझै टासिएको छ । आजकल मैले कतै याङ्गबेन, दुङ्गदुङ्गेको साग देखें भने उनकै झल्झल्ती याद आउछ । यत्ति मात्र होइन, कतै घिरौला र कुभिण्डो देखें भने पनि तिनै साइलीबजूको याद आउछ । उनी बाख्राको कटेराको छानाभरि घिरौंला र कुभिण्डो फलाउथिन् । म उनको आगनको बाटो भएर हिड्दा दिनदिनै त्यो फुलेको फलेको बढेको पाकेको हर्दै हिड्थें ।
हेर्दै मापाकी साइलीबजूसित बोल्न भने म हत्तपत्त सक्तिनथें निकै ठूलो भइञ्जेलसम्म पनि । काठमाडौमा चिकित्साशास्त्रको प्रमाणपत्रतह सकेर म मेरो गाउको हेल्थपोष्टमा इञ्चार्जको रुपमा बि.स.२०३७ सालमा खटिएर आए । त्यत्तिबेला साइलीबजू निकै बूढी भइन् । एकदिन घरको फलैंचामा बसेर आमासंग गफ गर्दै थिइन् । नरम श्वरमा उनले मलाई भनिन् “नवराज यो चिलाउने घाउको औषधी छ भने मलाइ दे न !” भन्दै उनको टाउकोमा आएको घाउ देखाइन् । मैले हेरें टिनिया केपिटिस अर्थात टाउकाको दाद रहेछ । मैले स्वास्थ्य चौकीमा भएको औषधी ल्याइदिए । त्यसले केही जाती भयो । पछि २०४० सालदेखि म सरुवा भएर अन्यत्र जिल्लातिर लागें । पछि घर आउदा एकदिन थाहा पाए उनको मृत्यु भएछ । बडो कष्टपूर्वक मृत्यु भएछ । थाहा पाएर मलाई सारै नरमाइलो लाग्यो । देख्छु, विद्यालय र खेलमैदान अन्यत्र सारिएको छ । हामीले उहीले खेल्ने मैदान पनि सून्य छ । तल साइलीबजूको घर एक्लै छक्कपर्दै ठिङ्ग उभिएको छ यता म जस्तै । ढोका बन्द छ ताला लागेको छ घरमा । फुटवल खेल्ने विद्यार्थी पनि कोही छैनन् । कस्तो बिडम्बना साइलीबजू जब बितिन् खेलमैदान पनि अन्यत्रै सरेछ विद्यार्थी पनि उतै गएछन् । बाचुञ्जेल विद्यार्थीसित पौंठेजोरी खेल्नुपर्ने नियति रहेछ कठै साइलीबजूको ।
जे होस्, यस्ती दृढ महिला मैले कमै देखेको छु । आफ्नो इच्छा र आदर्शमा सधैं अटल अविचलित महिला जसको बाचुञ्जेल त कोही थिएन नै । मरेपछि पनि उनलाई खै कसले सम्झला र कसैले सम्झे पनि त्यसबेला उनको कोदोबारी माड्ने उही विद्यार्थी जो आज म जस्तै कता कता छरिएका होलान् । तिनले कदाचित् सम्झे पनि एउटी खलपात्रको रुपमा मात्र उनलाई सम्झेलान् ।
तर आज मैले उनलाई एउटी संघर्षशील नायिकाको रुपमा सम्झेकोछु । यसबेला उनको फोटो सम्म छैन मसंग तैपनि उनको तसवीर मनमा साचेकोछु । मैले बाल्यकालमा खाएका ती स्वादिला परिकार निश्चय अब म कहिल्यै खान पाउने छैन । कतै कसैले दिइहाले पनि अव म स्वास्थ्यको कारण खान सक्नेछैन । सदा स्वाद र उनको याद मलाई एकसाथ आइरहनेछ । एउटी दृढनिश्चयी व्यक्तिका रूपमा बाँच्न सफल नायिकालाई म सदा श्रद्धा गर्नेछु । खुशीसाथ जीवनभर एक्लै बाच्ने अनि एक्लै मर्ने स्वर्गीय साइलीबजू अर्थात् मापाकी तर मनकारी लिम्बूनीलाई मेरो भावपूर्ण श्रद्धाञ्जलि । अस्तु ।