भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । यो रोग २ देखि ७ दिनमा आफै निको भएर जान्छ । दोस्रो हो, पाण्डेमिक इन्फ्लुएन्जा जसलाई हामी पहिले स्वायन–फ्लुको नामले चिन्दथ्यौं जो विश्वभरि एकसाथ महामारीको रूपमा फैलने गर्दछ । यसले श्वासप्रश्वास प्रणालीलाई अलि कडा रूपमा असर पु¥याउँछ जसमा हाच्छिउँ आउने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने र आलस्य लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । बालबालिकाहरूमा वाकवाकी लाग्ने वा बान्ता आउने, पेट मडारिने तथा झाडापखाला लाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् । तेस्रो हो बर्ड–फ्लु जसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ यो रोग पङ्खीहरूमा मात्र लाग्दछ । यो अति नै संक्रामक र घातक रोग हो जसले मुख्यत पङ्खीको श्वासप्रश्वास, पाचन र स्नायु प्रणालीमा असर गर्दछ । यो भाइरस सामान्यतयाः मानिसमा बिरलै देखा पर्दछ तर यही रोग कुखुरा, हाँस वा अन्य पङ्खीमा लागेको खण्डमा ती पङ्खीसित सम्पर्कमा आउने मानिस वा बालबालिकालाई यो रोग सर्ने सम्भावना हुन्छ ।
मानव इतिहास हेर्ने हो भने बिगत तीन शताब्दीमा तीनओटा पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको थियो । बिसौं शताब्दीमा पनि तीनओटा पाण्डेमिक इन्फ्लुएन्जा भइसकेको इतिहास छ । सन् १९१८–१९ मा भएको महामारी जसलाई स्पेनिस–फ्लु भनिन्छ उक्त महामारी एच१ एन१ भाइरसबाट भएको र यसबाट ४ करोड मानिसहरूको मृत्यु भएको थियो । जुन बेला रोगको मृत्युदर २–३ प्रतिशत थियो । यस्तै सन् १९५७–५८ मा दक्षिण चीनमा सुरु भएको एच२ एन२ प्रजातिको भाइरसबाट ४० लाख मानिसको मृत्यु भएको थियो । यसैगरी सन् १९६८–६९ मा दक्षिण चीनबाट सुरु भएको एच३ एन२ प्रजातिको भाइरसबाट करिब १० लाख मानिसको मृत्यु भएको थियो ।
पाण्डेमिक इन्फ्लुएन्जा भाइरसको उत्पत्ति, विकास र प्रसार कसरी हुन्छ भन्ने विषयमा धेरै अध्ययन भएका छन् । विभिन्न प्रजातिका इन्फ्लुएन्जाका भाइरसहरूले पङ्खी र स्तनधारीहरूलाई पनि सङ्क्रमण गर्दछन् । कहिलेकाहीँ जनावरमा पाइने भाइरसले मानिसमा पनि सङ्क्रमण गर्ने सम्भावना हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा यही नयाँ प्रजातिको इन्फ्लुएन्जा ए भाइरस हो जसले जीवजन्तुबाट मानिसमा सङ्क्रमण गर्छ र मानिसबाट पुनः मानिसमा सङ्क्रमण गर्ने क्षमताको विकास गरी विश्वव्यापी रूपमा तीव्र रूपमा प्रसार भइ ठूलो जनधनको क्षतिसहित विश्वव्यापी महामारी गराउँछ जसलाई हामी पाण्डेमिक इन्फ्लुएन्जा भन्दछौं । पाण्डेमिक इन्फ्लुएन्जा रोग सर्ने तरिका जान्न आवश्यक छ । यो रोग खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा श्वासप्रश्वासको माध्यमबाट एक अर्कामा सर्दछ । साँघुरो ठाउँमा धेरै मानिस जम्मा हुने जस्तै विद्यालय, बस, चियापसल आदि स्थलमा एकअर्कामा यो रोग सर्ने सम्भावना हुन्छ । यसका साथै सीधा सम्पर्क जस्तै हात मिलाउने, गला मिलाउने, म्वाइ खाने गरेमा पनि यो रोग सर्दछ । अरूले प्रयोग गरेको रुमाल, मोबाइल, कलम, टेलिफोन, चुरोट, ढोकाको हेन्डिल वा अन्य कुनै पनि संक्रमित वस्तुबाट यो रोग सर्दछ । राम्ररी हावा नखेल्ने ठाउँको हावामा भाइरसको जनघनत्व बढी हुने हुँदा त्यहाँ यो रोग सर्ने सम्भावना अत्यधिक हुन्छ ।
प्रकोप वा महामारी भएको बेलामा यसको उपचार घरैमा गर्न सकिन्छ । यस्तो अवस्थामा सामुदायिक पहल पनि आवश्यक हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा महामारी फैलिएको अवस्थामा सामान्य लक्षणहरूजस्तै ज्वरो आउने, टाउको, घाँटी, तथा जीउ दुख्ने, खोकीको घरमै उपचार गर्न सकिन्छ । यसमा सामान्य औषधीको प्रयोग र घरेलु उपचारबाट पनि रोग निको पार्न सकिन्छ । झोलपदार्थको सेवन र लक्षण अनुरूप झाडापखालाको लागि पुनर्जलीय झोल, ज्वरोको लागि सिटामोलबाट उपचार गर्न सकिन्छ । बालबालिका, बृद्ध, दीर्घरोगी र गर्भवतीलाई विशेष ध्यान दिनु पर्दछ । विरामीलाई निमोनियाको, जलवियोजनको लक्षण देखापरेमा स्वास्थ्यकर्मीको सेवा लिनु पर्दछ । पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको बखत समुदायमा आवतजावत तथा भेलामा नियन्त्रण गर्नु पर्दछ र विद्यालयमा बिदा दिनुपर्ने अवस्था पनि आउँछ । समुदायमा पाण्डेमिक इन्फ्लुएन्जा महामारीको रूपमा फैलिएको अवस्थामा घरैमा उपचार गर्न सकिने सामान्य बिरामीलाई घरैमा उपचार गर्नु पर्दछ । विरामी सबै अस्पतालमा भीड लागेमा सिकिस्त बिरामीहरूले जरुरी उपचार पाउनबाट बञ्चित हुने स्थितिको सिर्जना हुने भएकाले यसतर्फ पनि सचेत हुनु जरुरी छ ।
पाण्डेमिक इन्फ्लुएन्जाबाट बच्ने उपायहरू पनि जानी राख्नु पर्दछ । इन्फ्लुएन्जाबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा वा बोल्दाखेरि उछिटिने साना साना कणबाट वरिपरि बस्ने स्वस्थ व्यक्तिहरू संक्रमित हुन्छन् । यसबाट बच्ने चार उपायहरूछन् । पहिलो, खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने । दोस्रो, साबुन पानीले हात सही तरिकाले पटक पटक धुने । तेस्रो, दूरी कायम राख्ने अर्थात् करिब एक मिटरको दूरीमा रहेर गफगाफ वा कुराकानी गर्ने ताकि थुकका कणहरू उछिटिएर अर्कामा नपुगोस् । चौथो उपाय हो, यदि पाण्डेमिक इन्फ्लुएन्जाबाट कोही संक्रमित भइहालेमा बिरामीलाई अलग्गै राख्ने ।
(जनस्वास्थ्य अभ्यास र अनुभव पुस्तकबाट)

जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती

१२ डिसेम्बर २०१५ मा विश्वका १९५ राष्ट्रहरुले फ्रान्समा भेला भई विश्व तापक्रम २ डिग्री सेन्टिगे्रट भन्दा बढ्न नदिने प्रतिबद्धता सहित पेरिस सम्मेलन गरे । यसमा हालसम्म १४८ मुलुकहरुले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरिसकेका छन् । तर हालै आश्चर्यजनक रुपमा अमेरिकाले उक्त विश्वसम्मेलनमा पारित प्रतिवद्धताबाट हात झिकेको छ । खासगरी औद्योगिक मुलुकहरुका उद्योग कलकारखाना, यातायात आदिबाट बढी मात्रामा भएको कार्वन उत्सर्जनलाई योजनावद्ध ढंगले क्रमसः कम गर्दै लैजान अभियानले आव्हान गरेको छ । त्यतिमात्र होइन बढी कार्वन उत्सर्जनबाट जलवायुमा प्रतिकूल प्रभाव पर्ने नेपाल जस्ता मुलुकलाई क्षतिपूर्ति दिने व्यवस्था पनि यसमा गरिएको छ । Continue reading जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

डा. नवराज सुब्बा

आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क हुनसकेका छैनन् । भनेको बेलामा एम्बुलेन्स नपाइनु, आपद विपद् परेको बेला एम्बुलेन्सको लागि सम्पर्क गर्दा फोन नउठाउने गरेको, सम्पर्क भईहाले एम्बुलेन्स बिग्रेको भनेर नआउने गरेको विविध प्रकारको जनगुनासो छन् भने अर्कातिर अस्पतालको गेट वरिपरि एम्बुलेन्स थुप्रिएर बस्ने गरेको पाइन्छ । Continue reading एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ ।

सामान्यतयाः मानसिक रोग चार प्रकारका वर्गीकरण गरिएको हुन्छ । १. साइकोसिस वा पागलपन २. डिप्रेसन वा उदासपन, ३. चिन्तारोग वा मानसिक तनाव र ४. अन्य अर्थात् छारेरोग, लागुपदार्थ मादकपदार्थका दुव्र्यसनी, सुस्त मनस्थिति आदि । मानसिक रोगका कारणहरूमा वंशानुगत, मानसिक तनाव तथा घटनाविशेष, पूर्व प्रसूती तथा उत्तर प्रसूती अवस्थामा पर्ने असर पर्दछन् । यस्तै संक्रमण जस्तै मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाउकोमा चोट, लामो समयसम्म मद्यपान, उपचार नगरिएको छारेरोग र स्नायु प्रणालीमा उत्पन्न परिवर्तन पनि मानसिक रोगका मुख्य कारणहरू हुन् । Continue reading मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू
— नवराज सुब्बा
पृष्ठभूमि
दादुरा अति संक्रामक रोग हो । नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमि आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान संचालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमि आएको छ । Continue reading राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू

बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

नेपाल सरकारले २०६७ साल चैत्र महिनादेखि आर्थिक रुपले बिपन्न नागरिकलाई क्यान्सर, हृदयरोग, एल्जाइमर, पार्किन्सन्स वा मृगौला आदि जस्ता कडा रोग लागेको अवस्थामा उपचार गराउँदा आर्थिक सहायताको व्यवस्था गरेको छ । यसरी कडा रोग लागेर विरामीलाई नेपालमा वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसमा बढीमा रु एक लाख रुपैयासम्मको औषधी उपचार खर्च प्रदान गर्ने व्यवस्था मिलाएको हो । २०६८ कार्तिक महिनाअघि यो रकम रु ५० हजार रुपैयासम्म मात्र तोकिएको थियो । Continue reading बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

१. विषयप्रवेश
सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले इन्फ्लुएञ्जा रोगको उपचार स्वास्थ्य संस्थाहरुमा गरेको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहेको पाइन्छ । उक्त तथ्यांक हेर्दा वर्षैभरि यो रोग देखिएता पनि वैशाक देखि भाद्र महिनासम्म यो रोगको विरामीदर बढी देखिन्छ । Continue reading भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

१.१ पृष्ठभूमि
पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ । Continue reading नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा एक अर्ब तीस करोड भन्दा मानिसहरूले धूम्रपान गर्दछन् । यसकै प्रत्यक्ष असरबाट बर्षेनी ५० लाख मानिसहरूको मृत्यु हुने गरेकोछ । नेपालमा प्रतिवर्ष १५ हजार भन्दा बढी मानिसको मृत्यु धुम्रपानका कारण हुनेगर्दछ । ९० प्रतिशत फोक्सोको क्यान्सर यही धुम्रपानका कारण हुने गर्दछ । अझ चिन्ता मान्नु पर्ने कुरा के छ भने यो मृत्युदर आगामी १५ वर्षमा दोब्बर हुनेछ त्यो पनि विकासशील मुलुकहरूमा । Continue reading मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

मातृ–शिशु स्वास्थ्यमाथि अधिकारवादी दृष्टिकोण (नवराज सुब्बा)

September 27, 2011 

 जनस्वास्थ्यमा महिलाको स्वास्थ्यस्थितिलाई विशेष दृष्टिकोणले हेरिन्छ । हामीलाई थाहा भएकै कुरा हो, महिलाको प्रजनन् स्वास्थ्य र महिलाको स्वास्थ्य अधिकारबीच नङ–मासुको सम्बन्ध रहन्छ । महिला अधिकार सुनिश्चित नगरे राज्यले महिलाको लागि उपलब्ध गराएका सेवाहरु लक्षित समूहमा नपुग्ने कुरा निश्चित छ । यसैले स्वास्थ्य सम्बन्धी सवालमा महिला अधिकारको कुरा गर्दा एउटा महत्वपूर्ण सूचक महिला हिंसालाई हेर्नु जरुरी भएको छ ।  Continue reading मातृ–शिशु स्वास्थ्यमाथि अधिकारवादी दृष्टिकोण (नवराज सुब्बा)