“हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न उचित ठान्दै जवाफ दिएँ— “यस्तै फट्याक–फुटुक गर्दैछु ।”

कवि अनिल पौडेलसित गफ सकिए पछि मैंले सोचें, मैले के बोलें । मलाई नै अचम्म लाग्यो यो “फट्याक–फुटुक” शब्द मलाई मुखमा कसरी आयो भनेर । स्वःस्फूर्त मुखमा आएको यो शब्द पछि सम्झँदा चाहिँ रमाइलै लाग्यो ।

“सिक्टी प्लस” भनेको अरू केही होइन, एकपटक साझा प्रकाशनको बजार प्रबर्धनको सिलसिलामा भारतको सिलिगुरी जाँदा एउटा स्रष्टाको नाताले मैले पनि कवितावाचन गर्नु पर्ने अवस्था आयो । मञ्च कस्तो परेछ भने त्यो कार्यक्रम ६० वर्ष उमेर पुगेकाहरुको संस्था “सिक्स्टी प्लस” भनिने संस्था रहेछ । त्यहाँका दर्शक तथा सहभागी हेर्दा विचार गर्दै मैले वृद्धबृद्धालाई समर्पित मेरो कविता “पुराना जुत्ताहरू” वाचन गर्न उचित ठानें । वाचन गरिसके पछि स्रोताहरूले उक्त कविता निकै मन पराए र मलाई आशिर्वाद पनि दिए । त्यसैबेला टोलीप्रमुख मित्र अनिल पौडेलको पनि मनमा वास यो कविताले पाएछ क्यार । पछि वास वस्ने होटलमा हामीले कविताबारे छलफल गर्यौं र सोही क्रममा पछि हामीले पनि साठी वर्ष पुगेपछि यस्तै “सिक्स्टी प्लस” क्लब खोल्ने अठोट गर्यौं । यही अठोट जीवन्त रहोस् भनेर होला सायद हामी दुईको भेटमा होस् वा टेलिफोनमा कुरा गर्दा होस् हामी दुईभाईको स्वर चिनाउने थेगो नै भएको छ यो “सिक्स्टी प्लस” ।

लेख्दा लेख्दै भूमिका अलि लामो भैगएछ । अब संक्षेपमा यस पालिको यो तिहारमा (तीनदिनमा) मैले के ‘फट्याक–फुटुक’ गरें, निम्नानुसार उल्लेख गर्दैछु ।

तपशिलः
१) “एकताको लागि संगीत” सांस्कृतिक कार्यक्रममा सहभागी भएँ (करिव ६ घण्टा)
२) राजवंशीको इतिहास र संस्कृतिसम्बन्धी पुस्तकहरूको अध्ययन गरें (करिव ६ घण्टा)
३) शोधसामग्रीको सम्पादन, प्रकाशोन्मुख एल्वमको स्व–परीक्षण गरें (करिव ४ घण्टा)

कार्तिक १२, २०६८ शनिवार, विराटनगर ।

साँस्कृतिक कार्यक्रम
बिहानी ब्यूँझाउने रातसित...

Leave a Comment