प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

भीरको खरझैं लजालु
गुराँस फूलझैं बैंशालु
कस्की छोरी कस्की चेली
कस्की हौ तिमी मायालु ?

सीताकी हुँ म बहिनी
पार्वती मेरी साहिंली
विशाल हिमाल पिता मेरा
नेपाल मेरो माइती ।
(गणेशबहादुर राई)

आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ । एउटा आदर्श गुरु जसले जीवनको आरोहअवरोह, घातप्रतिघातको निसानी अचानो जस्तो जीवन जिउँदै केही आशा केही निराशा बोकेका एउटा सजीव बिम्ब हेडसर गणेशबहादुर राई जसको नाम लिंदा मात्र पनि हामी विद्यार्थीको मनमा एउटा हौसला उत्पन्न हुन्छ ।

आज ८१ वर्षको उमेरमा पक्षाघातयुक्त शरीरसाथ विछ्यौनामा ध्यानमग्न शालीन मुद्रामा झ्यालबाट केही उज्यालोको प्रतीक्षामा उहाँलाई देख्दा अनि उहाँको सेवासुश्रुमा समर्पित विद्या गुरुमा, सुयोग्य सुपुत्र आलोक, नातिनी सहितको ममतायुक्त परिवार देख्दा मलाई खुशी लाग्यो । भेटमा विद्या गुरुमा, आलोकभाईसंग अतीत सम्झँदा मलाई हाङपाङ पुगे जस्तै भयो । हामी विद्यार्थी भेट्न जाँदा देखेर उहाँ मुखले सस्वर बोल्न नसके पनि आँखाका आँशु छचल्किएर अभिव्यक्त हुने भावले एकछिन जोकोहीलाई भावशून्य बनाउँछ ।

२०१८ सालमा दार्जिलिङबाट एक होनहार स्नातकले विकट ताप्लेजुङको हाङपाङलाई आफ्नो कर्मभूमि बनाई शिक्षण पेशालाई आर्थिक उपार्जनको माध्यम नबनाएका एक आदर्श गुरुको ऋण तिरेर सकिन्दैन । मलाई कक्षागत पाठको अतिरिक्त जीवनको आदर्श, मूल्य र मान्यता सिकाउने, गीतसंगीतमा लगाव बढाइदिने आदरणीय हेडसरको बारेमा केही कुरा लेख्ने धेरै अघि देखिको धोको पूरा गर्न बाँकी नै छ । आजको भेटलाई पनि एउटा आधार बनाएर कुनै दिन मनभरीका ती रसिला भरीला संस्मरण कोर्ने मेरो एउटा रहर मात्र हैन कर्तव्य नै मैले ठानेको छु । आफू रित्तिएर अरुको ज्ञानको प्यास मेट्ने प्रातःस्मरणीय गुरु हेडसर श्री गणेशबहादुर राईलाई आज भेटेपछि मनमा कुनै मन्दिरमा पसेर निस्कदा आशिर्वाद पाए जस्तो अनुभव भयो ।

Comments are closed.