जसको सवाल उसको नेतृत्व

जसको सवाल उसको नेतृत्व

डा. नवराज सुब्बा

समाजमा आइपर्ने आफ्ना समस्यालाई आफैले समाधान गर्न अघि सर्नु पर्दछ भन्ने दृष्टान्त मानसिक स्वास्थ्यको क्षेत्रमा सुन्न पाइन्छ । समाचार कार्यक्रम पछि लगत्तै प्रसार हुने मानसिक स्वास्थ्य सम्बन्धी एउटा साप्ताहिक रेडियो कार्यक्रम ‘कोशिस’ रेडियो कान्तिपुरमा म नियमित रुपमा सुन्ने गर्दछु । कुनै बेला जीवनको कालखण्डमा आफू पनि मानसिक स्वास्थ्यबाट प्रभावित भएको र हाल निको भएर आफू जस्तैलाई लक्षित गरेर संचालित उक्त रेडियो कार्यक्रम उत्पादन र प्रसारमा मातृका देवकोटाको भूमिका महत्वपूर्ण रहेको कुरा कार्यक्रम सुनेपछि थाहा हुन्छ । आधा घण्टा लामो कार्यक्रमको हाल एकसय भन्दा बढी श्रृंखला प्रसार भइसकेको छ । उक्त कार्यक्रमले म जस्ता जनस्वास्थ्यकर्मीलाई पनि धेरै फाइदा पुगेको छ । जनस्वास्थ्यको मानसिक स्वास्थ्य क्षेत्रमा समर्पित कोशिस, टिम र यस्तै अन्य संघसंस्थाहरुको अमूल्य योगदानको म प्रशंसा गर्दछु । र समुदायमा कार्यरत जनस्वास्थ्यकर्मी साथीहरुलाई उक्त कार्यक्रम शुक्रबार बिहान नबिराई सुन्न सल्लाह पनि दिन्छु ।

हालै बीबीसी विश्व सेवाको कार्यक्रममा एउटा यस्तै कार्यक्रमसम्बन्धी रिपोर्ट सुनेपछि मलाई पनि हाम्रै देशमा भएका यस्तै उपयोगी रेडियो कार्यक्रमको बारे केही हरफ कोर्न म बाध्य भएको छु । बीबीसीको उक्त रिपोर्ट अनुसार अर्जेन्टिनामा मानसिक रोगीहरुका लागि यही रोगबाट प्रभावित भएर मुक्त भएका मानिसहरुले एउटा छुट्टै रेडियो च्यानल नै चलाएका रहेछन् जहाँ उनीहरुलाई अनुकूल हुनेगरी सूचना र जानकारी, मनोरञ्जन, अन्तरवार्ता तथा गीतसंगीत आदि सुनाउने एउटा लोकप्रिय च्यानलको बारेमा विश्वप्रसिद्ध बीबीसीले चर्चा गर्नु जनस्वास्थ्यको क्षेत्रमा एउटा सुखद र सकारात्मक सूचना हो ।
हाम्रो देशमा पनि केही पहल र प्रयास भएका छन् । कोशिस रेडियो कार्यक्रममा मानसिक स्वास्थ्य र समस्याको बारेमा विविध जानकारी, विशेषज्ञसंग अन्तर्वार्ता, सूचना, सल्लाह र सरकारी निकायसितको सहकार्यको रेडियो रिपोर्ट प्रसारित हुने गरेको छ । एउटा गैरसरकारी संस्थाले गरेका सकारात्मक पहलले समाजमा कस्तो प्रभाव परेको होला अनुभव आज समाजले गरेको हुनुपर्दछ । म पनि यस्तै प्रकृतिको जनस्वास्थ्य सम्बन्धी रेडियो कार्यक्रम उत्पादक तथा प्रसारक भएकोले यस्ता कार्यक्रमसित अत्यन्त नजिक भएर सकारात्मक भाव प्रकट गर्दछु । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा मैले पनि स्थानीय तहमा निकै वर्ष यस्तै कार्यक्रम उत्पादन र प्रसार गर्ने गरेको थिएँ । स्थानीय तहमा मोरङ जिल्ला लक्षित गरे पनि सोलुखुम्बु, ओखलढुँगा, इलाम, जिल्लाहरुबाट श्रोताहरुको अत्यन्त हार्दिक र सकारात्मक प्रतिक्रिया भएका अनगिन्ति पत्रहरु म आज पनि झल्झल्ती सम्झन्छु । कोशिसलाई पनि यस्तै पत्रहरु विभिन्न जिल्लाहरुबाट आएका होलान् । केही प्रतिनिधिमूलक पत्रहरुलाई पनि सम्बोधन वा वाचन गरिदिएमा यसले रेडियो कार्यक्रम र लक्षित श्रोताबीचको नाता प्रगाढ हुनेछ ।
जिल्ला जिल्लामा आज पनि लागुपदार्थ दुव्र्यसनबाट छुट्कारा पाएर दुव्र्यसनमा कुनैबेला आफूजस्तै फसेकालाई पुनस्र्थापना केन्द्र खोलेर सेवा गर्ने मानिसहरु पनि धेरै छन् । तर आमसंचारको माध्यमबाट आफूले गरेका सकारात्मक कुरा प्रचार प्रसार गरेर समाजलाई जानकारी दिनु, पीडितलाई हौसला प्रदान गर्नु, आवश्यक नीतिगत सवाल उठाउनु र सम्बोधनको लागि पहल गर्नु अझ राम्रा कुरा हुन् ।
कार्यक्रममा आगामी जनगणनामा अपाङ्गता भएका मानिसको तथ्यांकमा मानसिक स्वास्थ्यबाट पीडितको संख्या पनि नछुटोस् भनेर जुन सचेतना र पैरवी आरम्भ भएको जानकारी पाएर मलाई राम्रो लाग्यो । हुन त नेपाल सरकारले मानसिक स्वास्थ्यमा एउटा बृहद अध्ययन गर्न लागेको संचार माध्यममा पनि हालै एक सूचना आएको छ । जे होस्, हाम्रो समाजमा मानसिक अपाङ्गता भएकाहरुको सही तथ्यांक वा लगत दिन घरपरिवारका मानिसहरुमा अझै पनि जागरुकता आएको छैन । धेरैले त यस्तो कुरा लुकाउने नै गर्दछन्, नलुकाउनेले पनि यहाँ बताएर के फरक पर्ला र भन्ने सोच भएको हुन सक्छ । अर्कातिर तथ्यांक लिने गणकलाई पनि अपाङ्गता त्यसमा पनि मानसिक अपाङ्गताबारे पर्याप्त जानकारी नहुने भएकाले यसको सही तथ्यांक संकलन चुनौतीपूर्ण नै छ । यसबारे तथ्यांक विभागले तथ्यांक संकलनका क्रममा संकलकलाई सही अभिमुखीकरण दिएमा यसलाई सहयोग पुग्नेछ । समाजमा रहेका सबैले अपाङ्गताकको तथ्यांक संकलनमा चासो दिएर सहयोग गर्नु पर्दछ । सही तथ्यांक संकलन र प्रकाश भएमा अपाङगता सवालले पनि भविष्यमा उचित सम्बोधन हुने मौका पाउँछ । यसैले यसमा सबै पक्ष सचेत हुनु पर्दछ ।
कोशिस रेडियो कार्यक्रमको प्रस्तुतीको आधारमा प्रयासलाई समाजसेवा भावनाले अभिप्रेरित एक उत्कृष्ट प्रयास र अभ्यासको रुपमा लिन सकिन्छ । आज एकातिर सरकारी र विदेशी सहयोग लिएर काम गर्ने गैरसरकारी संघसंस्था धेरै छन् । परियोजना वा जागिर भन्दा पनि समाजप्रति उत्तरदायी भएको आभास दिने गरि संचालन गर्ने संघसंस्था कम छन् भन्ने अर्कोतिर जनगुनासो रहेको छ ।
त्यत्ति मात्र हैन आज समुदायमा मानसिक स्वास्थ्य सेवा पु¥याउन नेपालमा गैरसरकारी संघसंस्थाले पु¥याएको योगदानलाई सही मूल्यांकन र सहकार्यको पनि उत्तिकै खाँचो छ । सरकारी निकायले यो मानसिक स्वास्थ्य सेवालाई उचित महत्व दिन नसकेको सर्वत्र गुनासो छ । राज्यले अवलम्बन गर्न बनाएको मानसिक स्वास्थ्य नीति कार्यान्वयनमा उतार्न संघ, प्रदेश र स्थानीइ सरकारले ढिला नहोस् भन्ने आग्रह पनि उत्तिकै टड्कारो छ ।
यस क्रममा छुटाउन नमिल्ने कुरा, मानसिक स्वास्थ्यमा समाजमा रहेका परम्परागत उपचार प्रणालीले गरेको योगदानको पनि आज उचित मूल्याङ्कन हुन सकेको छैन । धामीझाक्रीका केही गलत परम्परालाई लिएर समग्र परम्परागत उपचार पद्धतिलाई अवैज्ञानिक र नकारात्मक ठानिए पनि हाम्रो समाजले भने यसलाई पूर्ण रुपमा अस्वीकार गर्न सक्ने व्यवहारिक अवस्था विद्यमान छैन । यसर्थ, जसरी नेपालको स्वास्थ्य प्रणालीले कुनै बेला धामीझाक्री, पण्डित, पुरोहित जस्ता परम्परागत उपचारकलाई अभिमुखीकरण गरेर प्रेषण प्रणालीमा समावेश गरेपछि खासगरि बालबालिकामा झाडापखाला, निमोनिया, क्षयरोग, कुष्ठरोग नियन्त्रण कार्यमा स्वास्थ्य संस्थामा समयमा प्रेषण गरेर मृत्युदर कम गर्न सहयोग भएको थियो । मानसिक स्वास्थ्य सेवामा पनि यही अभिमुखीकरण र प्रेषण पद्धतिको सिकाईलाई अवलम्बन गर्न सकेमा नेपालको मानसिक अवस्था सुधारमा थप बल पुग्न सक्दछ ।

Comments are closed.