Diary Post1

Diary Post1

डायरीलेखनको चार दशकपछि
डा. नवराज सुब्बा

दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो । डायरी लेख्ने बानीको महत्व मलाई बुझाउने क्रममा उहाँले डायरी भविश्यमा उपयोगी सामग्री हुने र यो लेख्ने राम्रो बानी भनेर बुझाउनु भएको थियो । उहाँले डायरी लेख्ने गरेको देखेपछि मैले पनि त्यसैबेलादेखि डायरीलेखन अनुकरण गरेको थिएँ ।
माद्यमिक विद्यालय पढ्दा सुरु गरेको यो बानीलाई मैले कलेज जीवन र जागिरे जीवनमा निरन्तरता दिएँ । तर जागिरको उत्तरार्धतिर भने डायरी लेखनले नियमितता पाउन सकेन । डायरी राख्ने ठाउँ पनि साँगुरो हुँदै गयो । पुराना डायरीको बिजोग देखेपछि मैले दैनिकीलाई टिपोटको रुपमा कम्प्यूटरमा लेख्न थालें । पहिले अलि बाक्लो दैनिकी लेखन हुन्थ्यो तर पछि महत्वपूर्ण घटना घटेका दिनमा मात्र डायरी लेख्न थालें । मलाई डायरी नलेखेको दिन केही काम अधुरो रहे जस्तो असजिलो लाग्ने गर्दथ्यो ।
हुन त लेखिसकेका कुरा पछि पल्टाएर त्यति नहेरिने रहेछ । उही आफ्नो सन्तोषको लागि टिपोट गरिएछ भन्ने लाग्न थाल्यो तर त्यसबेला त्यो गर्दा मनमा एकप्रकारको ढुक्क चाहिँ हुँदो रहेछ । यसबाट मलाई फायदा भनेको मानसिक सन्तुष्टि भयो । मैले डायरी हेरेर योजना बनाएको वा संस्मरण लेखेको पनि छैन । तर यत्ति हो यदि कुनै तिथिमिति वा नाम लेखनमा संशय भयो भने त्यो एकीन गर्नलाई डायरी एउटा भरपर्दो सन्दर्भ–सामग्री हुन्छ भन्नेमा भने मलाई विश्वास थियो र छ पनि । हस्तलिखित डायरी हेर्दा त्यस्तो कालमा लेखेको थिएँ भन्ने अतीत भावना उत्पन्न हुने  र कहिलेकाहीँ भावुक पनि बनाउँदो रहेछ । त्यही कुरा कम्प्यूटरमा लेखिएका कुरा हेर्दा त्यो आकर्षण नहुने रहेछ ।
डायरी लेखनलाई सुरु गर्दा सादा डायरीबाट काम थालियो । डायरीमा मिति, स्थान समय आदि आफैले लेखेर डायरी लेखिन्थ्यो । कलेज जीवनमा पुगेपछि डायरीमैं साल, महिना, तारिख छापिएको डायरी पनि प्रयोग गरियो । आज ती सबै डायरीहरु सुरक्षित छन् । समयको प्रवाहसितै लेख्ने शैलीमा आरम्भकालको शैलीमा हाल केही मात्रामा परिवर्तन भएको छ । आजकल म सूचना प्रविधिले उपलब्ध गरेको सुबिधालाई पनि प्रयोग गर्ने गर्दछु । माइक्रोसफ्ट अफिस वर्ड, एक्सेल, तथा अन्य नोट राख्ने सफ्टवेवरमा पनि डायरी लेख्ने गर्दछु ।
साहित्यिक सिर्जनाका अतिरिक्त डायरी लेखनलाई मन शान्त पार्न गरिने लेखन कार्यको रुपमा लिन्छु । मनका उठ्ने विचार, प्रतिक्रिया, र पीरलाई अक्षरमा पोखेर बोझलाई कम गर्न पनि केही लेखि टोपल्छु । केही कुरा स्मरणको लागि रहोस् भन्ने हिसाबले पनि लेख्दछु । डायरी लेखनमा अनियमितता आउनुमा डायरीको खासै उपयोगिता नदेख्नु, साहित्यिक सिर्जनाले समय खाइदिनु र त्योभन्दा बढी मनमा आएको अल्छिपन नै जिम्मेवार छन् ।
भाषाको सवालमा पनि केही कुराहरु लेख्नुपर्ने हुन्छ । मेरो डायरी लेखनको मूलभाषा नेपाली भाषा नै हो । नेपाली भाषामा म आफूले चाहेको कुरा व्यक्त गर्न सहज पाउँछु । सन् २००१ जब मैले कम्यूटरमा पनि डायरी लेखेर राख्न थाले तब अंग्रेजी भाषाको पनि प्रयोग गरें । तर मलाई यसमा त्यत्ति सन्तोष मिलेको छैन । यसैले म करिव पाँच प्रतिशत अंग्रेजीमा लेखे पनि ९५ प्रतिशत डायरी लेखन नेपाली भाषामा नै लेख्न चाहन्छु ।
निकै वर्षअघि देखि डायरी लेखनलाई नयाँ शैलीमा लेखेर अभिलेखीकरण गर्ने हो कि भनेर सोचिरहेको थिएँ, डायरी लेखन आरम्भ गरेको आज चालीस वर्षपछि यसलाई अब नयाँ रुपमा प्रस्तुत गर्न लाग्दैछु । मैले वेभसाइट पहिलोचोटी प्रकाशन गरेको सन् २००१ सालमा हो । त्यो निःशुल्कमा पाइने वेभसाइट मेरो अभ्यासकालीन आरम्भ थियो । पछि सन् २००७ मा वर्डप्रेसमा सम्पादन थालें र आफ्नो डोमेन दर्ता गरी शुल्क तिरेर वेभसाइट वा ब्लग लेख्न सुरु गरें । यसरी वेभसाइटमा केही लेख्न थालेको पनि आज १७ वर्ष भएछ । मैले वेभसाइटमार्फत रचना प्रकाशित गरेर पनि डायरी लेखनको धित केही मारेको थिएँ । वेभसाइट किन? भनेर मलाई त्यसबेला सोध्दथे अझै पनि सोध्ने होलान् । तर मैले आत्मप्रकाशनको लागि पनि वेभसाइट बनाएर प्रकाशित गरें ।
सन् २००८-९ सालतिर म पनि फेसबुकतर्फ आकर्षित भएँ । फेसबुक आउने बुकले मलाई त्यहाँ पनि डायरीमा जस्तो आत्मपरका कुराहरु लेखेर फोटोसहित राख्ने पुस्तक होला भन्ने लागेको थियो । तर पछि बुझ्दै जाँदा त्यो त एउटा सामाजिक चौतारी तथा संजाल नै पो रहेछ । त्यसमा सुरुसुरुमा मनका कुरा केही राखियो तर कालान्तरमा के बुझियो भने मनका सबै कुरा खोलेर त्यहाँ राख्न उचित लागेन । कारण, फेसबुकमा अनावश्यक प्रतिक्रिया बढी आउने रहेछ । यद्यपि मैले फेसबुकलाई गतिलो साहित्यिक चौतारीको रुपमा भने मैले पाएँ । मैले यसैमा आफ्ना रचना पोष्ट गरेर संजालमा प्रकाशित गरें । अब मलाई परम्परागत रुपमा गरिने साहित्यिक गोष्ठी तथा सभासम्मेलन प्रति जाँगर लाग्न छाड्यो । परम्परागत साहित्यिक कार्यक्रमहरुमा त्यसरी आकर्षण घट्नुमा पहिलो कारण विकल्पको रुपमा आएको सामाजिक संजाल फेसबुक नै प्रमुख थियो । अन्य कारणमा विराटनगरमा वाणी प्रकाशन बन्द भएपछि साहित्यिक गोष्ठीमा कमी हुन थालेको, अन्यत्र आयोजना भएपनि गुणस्तरिय नहुने भएको पाइयो । त्यत्ति मात्र नभएर राजनीतिक तथा व्यापारिक गन्ध ह्वास्सै आउने, नातावाद, कृपावाद, वाहुनवाद, धनवाद ठ्वाँस्सै आएको देखेर साहित्यिक कार्यक्रमहरुप्रति वितृष्णा जागेको महसुस  भयो । यसमा थप अर्को महत्वपूर्ण कारण मेरो स्वास्थ्यले पनि पहिले जस्तो साथ दिन छाडेकाले पनि दिनभर जस्तो बित्ने यस्ता कार्यक्रमबाट भरसक म तर्कन थालें ।
अब डायरी लेखनको माध्यमबाट स्वयमभित्र साहित्यिक माहौल तयार पार्न, मन हलुको पार्न र समाजोपयोगी विचार र धारणालाई सार्वजनिक गरेर साहित्यको सेवा गर्न भनि म डायरी लेखनको आयामलाई थप फराकिलो बनाउन लाग्दैछु । मैले भन्न खोजेको के भने, आफूले सुरु गरेको वेभसाइट वा ब्लगमा डायरी वा जर्नलको रुपमा लेख्दै जानेछु । यसले डायरीको संस्मरणात्मक अंश पनि कायम राख्नेछ साथै यसमा गरिने रचनात्मक विश्लेषण, र अभिव्यक्त भावनाले जीवन र जगतलाई थोरै भए पनि योगदान पुग्ने लक्ष्य राखेको छु ।
लाग्छ, मनभित्रका चिन्तन–मनन, विचार र भावनालाई अभिव्यक्त गर्ने एउटा भरपर्दो ठाउँ डायरी पनि हो । कागजको डायरीमा अक्षर कोर्नु भन्दा सार्वजनिक ब्लगमा कोरे र दीर्घकालसम्म राख्ने किफायती माध्यम मध्ये वेभसाइट वा ब्लग पनि एक हो । यसले पुस्तक प्रकाशन गर्दा हुने कागजको प्रयोगबाट मुक्त यो शैलीले वातावरण बचाउन पनि योगदान दिनेछ । अर्कोकुरा कागजभन्दा यो दीर्घकालीन रुपमा राख्न संभव हुन्छ । तर यसमा जोखिम पनि छ । अलि अपरिपक्व विचार र क्षणिक भावनालाई तुरुन्त सार्वजनिक गर्दा कतै अनर्थ पो हुने हो कि भन्ने चुनौती पनि छँदैछ ।

Comments are closed.