भूकम्पको प्रतिध्वनि (Poem)

भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा

आस्थाको आकाश
हिजो खसेकै थियो
टेकेको धरती धस्यो आज
घामपानी छेक्ने घरहरू पनि
भूकम्पसितै नाच्यो जब हामीमाथि
एक मूठी स्वास फेर्न नपाएर
उडे धेरै आत्माहरु कतै
अरू पनि ढले यसबेला
इतिहासका थुप्रै धरहराहरू
ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

अब, खण्डहरमा रुपान्तरित वस्तीमा
प्रेमपूर्वक खोस्रदा केटाकेटीले भेटुन्
तिनका कापीकिताब र कलमहरू
परदेशी सन्तान फर्की आउँदा
भेटुन् बाआमाका तस्वीर
आँशु ओभाउन् खुलुन् अवसरका आँखा
अनि मिलेर गरौं अब यस्तो संकल्प
हटाऔं जुटेर चुनौतीको भग्नावशेष
र ठडाऔं अब नयाँ घर
उठाऔं सिंगो आकाश
बनाऔं साझा देश
नबिर्सौं हाम्रा मनमा
अझै ढलेको छैनन्
स्वाभिमानका धरहराहरू
मुटुमा अझै हिलेको छैनन्
पौरख र गौरवका हिमालहरू
बिछोडिएका आत्माको शान्ति खातिर
हृदयमा श्रद्धाको दियो बालेर भन्छौं
हामी नेपाली जहाँ रहे पनि
ज्यूँदो छौं अवम्बरी भई
सदा ज्यूँदो रहनेछौं ।

Comments are closed.