गजल

गजल

।। एक ।।

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निराशाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

।। दुई ।।

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुई नयनमा बग्ने आँसु फरक भए कि कसो
आफूलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल तिमी एउटी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

।। तीन ।।

जाली माया लाउनुरैछ चिनो रूमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाउमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

।। चार ।।

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन
कता–कता भौतारिनु नपुगेको गाउँ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्मसम्म गरिनछु
झुक्किएर आँगनीमा टेक्ने उनको पाउ छैन ।

।। पाँच ।।

मेरा सबै रहरहरू पूरा भए अब के गरौं
दिक्दार भए मसित सायद सब के गरौं ।

अलिकति बचेको यो ओठको खुशी लेऊ
आएन हात कसैको दुःखमा जब के गरौं ।

आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ
कर्केनजर पो लगाए उल्टै तब के गरौं ।

कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा
बन्यो घर बिर्सियो छैन मतलब के गरौं ।

।। छ ।।

कति सुनका कुरा गरौं अब गुनका कुरा
गर्मी भो प्रिय थालौ अब जूनका कुरा ।

चाहिया हो न्यानोपन खोजियो तिम्रो हृदय
आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा ।

आफन्त माया मारी पराय आफ्नो बनायौ
दाजुभाइ गरिरहेछन् रातदिन खुनका कुरा ।

छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ
छिमेकीले बिर्सेनन् पैंचो दिया नुनका कुरा ।

Comments are closed.