मैवाखोलाभित्र लुकेको दासीको प्रेमकथा

मैवाखोलाभित्र लुकेको दासीको प्रेमकथा

(सत्य घटनामा आधारित कथा)
डा. नवराज सुब्बा ।

ताप्लेजुङ जिल्लाको आठराई हाङपाङबाट हेर्दा उत्तरतर्फका हिमश्रृङ्खलाबाट बग्दै आएका दुई नदी तम्बरखोला र मैवाखोला मैवादोभानमा मिसिएको एक सुन्दर दृश्य देखिन्छ । यी नदीहरू मिसिएर बनेको भूआकृतिलाई टाढाबाट हेर्दा झण्डै त्रिशूल आकारको लाग्दछ । त्यही दुई नदीको सङ्गममा रहेको छ व्यापारिक स्थल मैवादोभान । उक्त मैवादोभानपारि तम्बरखोलावारि रहेको छ महादेवटार । जहाँ अघि एउटा विशाल शिवालय थियो । त्यहाँ शिवालय परिशरमा पाटी, पौवा तथा बगैंचा थिए । जहाँ टाढाटाढाबाट साधुसन्त आउने, आराधना गर्ने, बस्ने गर्दथे । यही दुई नदीको सङ्गमस्थल भएकाले बजारलाई मैवादोभान तथा मैवापारिको टारलाई शिवालयको नामबाट महादेवटार भन्ने गरिन्थ्यो । हाल शिवालय, पाटी, पौवा, बगैंचा इतिहासको गर्भमा पुगेका छन्, भग्नावशेषमा परिणत भएका छन् । उक्त प्राचीन धार्मीक स्मारक स्थल अतिक्रमण वा विस्थापित गर्दै प्राचीन महादेवटार हाल मेरिङदेन खाम्लुङ दोभान नामले व्यापारिक केन्द्रको रुपमा उदाएको छ ।

नेपालको इतिहास सम्बन्धमा इन्साइकोपिडिया ब्रिटानिकाले कोरेको साङ्गोपाङ्ग रुपरेखा हेर्दा सन् १७७५ देखि १९५१ सम्म नेपालका शासक र उपत्यकामा अघि मल्लकालदेखिका सम्भ्रान्त नेवारबीच द्वन्द्व चल्यो । सन् १७७७ देखि १८३२ सम्म शाह राजगद्दीमा देखिए तापनि अन्य भारदारले शासन चलाउँथे । यही क्रममा थापा परिवारले सन् १८०६ देखि सन् १८३७ सम्म र राणा परिवारले सन् १८४६ देखि १९५१ सालसम्म नेपालमा शासन गरे । ताल्चा भण्डेल वंशावली (वि.सं. २०७२) अनुसार भादगाउँ अर्थात् भक्तपुरको भोलाछें र याछें टोल निवासी ताल्चाभण्डेल अघि जयस्थिति मल्लको पाला (वि.सं. १४३७ देखि १५४२ सम्म) दरबारमा भण्डार हेरेर बसेका भण्डारे थिए । यही ताल्चा भण्डेल पद्वी आफ्नो थर धारण गरी भक्तपुरमा शाहकालीन शासनमा चलेको द्वन्द्वबीच सन् १७९८ (वि.सं. १८५५) मा यिनीहरुको एक हाँगो उपत्यका नाघेर पूर्व लाग्यो । पृथ्वीनाराणको नेपाल एकीकरण तथा लिम्बूवानसितको नुनपानी सन्धि सन् १७७४ (वि.सं.१८३१) मा भएकाले यिनीहरुको लिम्बूवान प्रवेश सहज भएको अनुमान गर्न सकिन्छ । यिनीहरु व्यापारमा निपूर्ण भएकाले पहाडीक्षेत्रका दुई नदीको संगमस्थल दोभान, मूलबाटो जोडिने केन्द्र वा दोबाटो आदिमा व्यवसाय गरिबसेको देखिन्छ । त्यही क्रममा एक हाँगो लिम्बुवानको याङमाने अर्थात् मैवादोभानमा व्यवसायिक दृष्टिले स्थापित भएका छन् । उनीहरूले उपत्यकाबाट बाहिरिदा दासप्रथा संस्कार पनि संगै ल्याएको अनुमान गर्न सकिन्छ ।

इतिहासको एक महत्वपूर्ण कालखण्ड वि.स. १९९० को महाभूकम्पमा उक्त मैवादोभान नजिक  उक्त महादेवटारमा रहेको शिवालयमा क्षति पुग्यो । पुनरुत्थान तथा स्याहारसम्भारको अभावमा शिवालय र पाटीपौवा क्रमसः भत्किदै गए । सम्भवतः त्यहाँका तत्कालीन समाजले धार्मीक क्रियाकलापभन्दा स्थानीय सुरक्षा व्यवस्थालाई महत्व र प्राथमिकता दिए । भत्किएका शिवालय र पाटीपौवाका ढुङ्गा र ईटा तथा काठपात पछि नयाँ मैवादोभानमा प्रहरी पोष्ट बनाउँदा प्रयोग भए । त्यसरी महादेवटारदेखि निर्माणसामग्री ओसार्ने हात अझै जीवित छन् ।

अहिले बताउन लागेको परिघटना आजभन्दा करिव एक शय बीसवर्षअघिको हो । घटनाक्रम सुरु गर्नअघि अलिकति सामाजिक, भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबारे बताउनु उचित होला । गत फागुन २०७७ मा ताप्लेजुङ जिल्लाको मैवादोभान महादेवटारमा विद्युत सर्किटबाट उत्पन्न आगोबाट आगलागी भएर करिव ७५ घर खरानी भयो जुन दृश्य कतिपय हामीले आँखाले देख्यौ, धेरैले समाचारमा पढ्यौं र सुन्यौं । उक्त स्थानमा वि.स. २०२५ मा पनि ठूलो प्राकृतिक प्रकोप भएको थियो । वर्षा याममा तम्बरखोलामा बाढी आउँदा मैवाखोला थुनिएपछि पुरानो मैवादोभान बजारलाई बगाइदिएको थियो । त्यसपछि त्यहाँका मानिस हालको मैवादोभानमा सरेका हुन् जहाँ प्रहरी पोष्ट रहेको छ ।

मैले बताउन लागेको घटना भोग्ने वा देख्ने मेरा ससुराबा (पिता) पुस्ताकालीन हो जसलाई सुन्ने मेरी धर्मपत्नी वा मेरो पुस्ता हो । म त्यहाँका स्थानीयवासीको जनजीब्रोमा स्थानीय भौगोलिक संज्ञालाई प्रयोग गर्दैछु । अघिल्लो पुस्ताको बाल्यकाल पुरानो मैवादोभानमा बितेको थियो जहाँ कथाको घटना घटेको थियो । यो घटना सुन्ने पुस्ता हालको नयाँ मैवादोभान तथा महादेवटारसंग सम्बन्धित छन् ।

हालको पुस्ताले बाल्यकालमा आफ्ना पिताबाट सुनेको एक घटनाक्रमलाई कथाको रुपमा अहिले कोर्दैछ जो उसले आँखाले देखेको होइन कानले सुनेको हो आफूले भोगेको होइन घटना भोग्नेलाई भेटेको हो । यो घटना मैले मैवादोभान (ससुराली) जाँदाआउँदा कुनै सन्दर्भमा सुनेको थिएँ । अहिले दोभान बजारको मीठो यादसंगै उक्त ऐतिहासिक घटनाले मलाई पछ्याइरहन्छ । जेहोस् किरात लिम्बू समाजमा नपाइने तर लिम्बुवानकै मैवाखोला थुममा बसेका नेवार समुदायभित्र रहेको दासप्रथाबारे कथाले बताउँछ ।

हालसम्म मैवादोभानमा नेवार समुदायको बसोबास छ । उनीहरू दोभानमा व्यापार व्यवसाय गरेर समुदायसित घुलमिल भएर बसेका थिए र छन् । उनीहरू त्यहाँ कहिलेदेखि बसेका भनेर साल एकीन गरेर बताउन नसकिएता पनि उनीहरू काठमाडौं उपत्यकामा गोरखा आक्रमणपछि विस्थापित हुने क्रममा पूर्व लागेका जाति हुन् । उनीहरूले धारण गरेको थरले संभवतः भक्तपुरे दरवारको भण्डार सम्हाल्ने व्यक्ति वा जाति जनाउने ‘ताल्चा भण्डेल’ थरका केही नेवार भक्तपुरबाट व्यापारिक स्थलको खोजी गर्दै मैवादोभानमा बसेर स्थापित भएका हुन् भन्ने थुप्रै आधार भेटिन्छन् । उनीहरूले उपत्यकाबाट बाहिरिदा दासप्रथा संस्कार पनि संगै ल्याएको अनुमान गर्न सकिन्छ ।

उनीहरूले घरमा दासदासी राख्दथे । यही क्रममा मेरा ससुराको परिवारमा एकजना दम्पत्ति दासदासी रहन्थे । त्यसबेला ती दासदासीको अवस्था अहिले अनुमान तथा तुलना गर्दा हाल हामीले घरमा पालेका गाईवस्तुझैं बेचबिखन गर्ने गरिन्थ्यो । मेरा ससुराबा त्यसबेला चार पाँचवर्षका बालक थिए । उहाँका अनुसार ती दासदासी आफ्ना घरमालिकलाई आफ्नो जोडी नछुटाइदिन अनुनयविनय गरिरहन्थे ।

नभन्दै एकदिन घरधनीले नोकरलाई बेचिदिए । आफ्ना दास पतिलाई अन्यत्र बेचिदिएपछि दासी बिलाप गर्न थालिन् । उनलाई कोठामा थुनेर राखियो । बेलाबखत कोठाभित्रै लगेर खानेकुरा दिइन्थ्यो । घरछिमेकका बालबालिका नोकर्नीलाई झ्यालको च्यापबाट चियाएर हेर्ने गर्दथे । यसरी केहीदिन भएपछि नोकर्नीको धैर्यको बाँध टुट्यो । एकदिन उनले आफूलाई झ्यालबाट चियाउनेमध्ये एकजना बालकलाई सुटुक्क नजिकै बोलाइन् । उनको पटुकामा राखेको थैलीबाट एउटा सिक्का देखाउँदै ढोकाको साङ्लो खोलिदिएमा बालकलाई आफ्नो सिक्का दिने लोभ देखाइन् । फलस्वरुप एक बालक (मेरा ससुराबाभन्दा जेठो) भाइले दासी थुनेको ढोकाको बाहिरबाट लगाएको साङ्लो सुटुक्कै खोलिदिए ।

यसरी ढोका खोल्नासाथ बालकको हातमा सिक्का थमाएर ती दासी महिला हावाको गतिमा हान्निदै रुँदै रुदै मैवाखोलातर्फ दौडिन् । बिछोड भएका आफ्ना पतिलाई अब यस जुनीमा भेट्ने उपाय नदेखेपछि दासीले देहत्याग गर्ने निश्चय गरेकी थिइन् । हेर्दाहेर्दै उनी मैवाखोला नजिकै रहेको झोलुङ्गेखेत छेउको बगरको ठूलो ढुङ्गामा उक्लिन् । एकफेर चारैतिर हेरिन् । आफ्ना घरमालिकलाई आत्मैदेखि सरापिन् । यो पापी समाजमा अब कहिल्यै नबाँच्ने अठोट गरिन् । अनि आफ्नै जीवनलाई धिक्कारिन् । आफ्ना महादेवतुल्य पतिलाई पाउने दृढ चाहनालाई आत्माभित्र गाँठो पारेर उनी मैवाखोलामा देहत्याग गर्न निडरतापूर्वक अघि सरिन् । अग्लो ढुङ्गामा उक्लेर दुई हात जोड्दै महादेवलाई पुकारिन् र यो स्वार्थी दुनियाँबाट सदाको लागि विदा भइन् । उनको भौतिक शरीर त्यहाँबाट सिधै तल मैवाखोलाको कालिदहमा छप्ल्याङ्ग ढुङ्गाझैं खस्यो, एकछिन पानीको फिँजसितै छट्पटायो केहीबेरमा शान्त र अलप भयो ।

यो घटनाले मैवादोभान बजारका सम्बन्धित परिवारजनमा मात्र हैन सिङ्गो मैवाखोला थुम तथा मानव जगतलाई स्तब्ध बनाइदियो । दासीको श्रापबाट मुक्ति पाउन तथा स्वस्तिशान्तिको लागि सम्बन्धित परिवारजनले पूजाआजा गरे । उप्रान्त परिवारमा दास नराख्ने तथा दासप्रथा नमान्ने सङ्कल्प पनि गरे । सम्बन्धित परिवारजनले पछिसम्म खोलामा गएर श्राप बगाउने धार्मीक अनुष्ठान आदि गरे । दासीले सरापेको घरपरिवारमा पछि अनेकन प्राकृतिक विपत्ति आए । जसलाई श्रापसित गाँसेर पनि हेरियो । जेहोस्, आज हाम्रो पुस्ताले त्यस्ता दासदासी राखेको वा त्यस्तो अमानवीय व्यवहार गरेको आँखाले देख्न परेको छैन ।

यसरी पशुतुल्य नारकीय जीवन बिताउन बाध्य एक दासीको ज्यानलाई अघि सीता मातालाई धरती माताले शरण दिएझैं मैवाखोलाले पनि एक दासीलाई माताको अङ्गालो फैलाएर आफूभित्र समावेश गरिन् । जीवनको अन्त खोज्दै समीप आएका एक प्राणीलाई मैवाखोलाले पापी दुनियाँको नजर छल्दै शवलाई तम्बरखोलामा मिसाएर अन्ततः गङ्गा नदीमा विसर्जन गरिदिइन् । आज पनि बेलाबेला उही दासीको बिलौनाको प्रतिध्वनि मैवाखोला र तम्बरखोला सुसाउँछन् । उनका बिछोडिएका पति जो गोरुझैं जोतिन हारेको जुनी जिउन बाध्य भएका थिए । उनको अतृप्त चाहना र अमर माया उनकी प्राणप्रिय पत्निको मुहार खोज्दै आँशुको असारे भल बनेर बर्षेनी मैवादोभान झर्छन । आफ्नी जीवनसखीलाई त्यहाँ नदेखेर उनी मैवाखोला र तम्बरखोलाको रौद्र भेषमा हरसाल बहुलाउँछन् ।

यसरी इतिहास खोतल्दै जाँदा विभिन्न कालखण्डमा तत्कालीन सामाजिक अन्याय, अत्याचारमा परेर जीवनदेखि हारेका, समाजले लखेटेका, चीरहरणमा परेका असंख्य मानिसको आत्मिक पुकारका प्रतिध्वनि मैवाखोला, तम्बरखोला लगायत नदीका सुसेलीभित्र सुनिन्छन् । त्यसैले होला नदीनाला टाढाबाट हेर्दा जति सुन्दर र मनमोहक देखिन्छन् त्यसभित्र लुकेका आँखाले नदेखिने समाजको कुरुप तस्बिरले भने समाजलाई केही न केही सन्देश दिइरहेका हुन्छन् । 

मैवादोभान आज व्यापारिक स्थलको रुपमा परिचित छ । इतिहासमा यो एक धार्मीक तीर्थस्थल थियो । यसको धार्मीक महत्वको बारेमा गुनगान गाउने बुढापाका धेरै छन् । यसको ऐतिहासिक गरिमालाई सम्झँदै वि.स. २०५२–५३ तिर मैवादोभानमा सप्ताह पुराण समेत लगाइएको थियो । उक्त धार्मीक अनुष्ठानले चिताएको कुरा पुगेको विश्वास गर्ने मानिस अझै छन् । अतः धार्मीक जनआस्था गाँसिएको मैवादोभान, महादेवटारको मौलिकता, ऐतिहासिकता तथा पुरातत्विक अन्वेषण हुन आवश्यक छ ।

References
The Editors, Encyclopedia Britannica. History of Nepal. Retrieved on March 26, 2021. https://www.britannica.com/place/Nepal/History
पलिखे, भागवत (२०७२) ताल्चाभण्डेल परिवारको वंशावली पुस्तिका, भोलाछें टोल र याछें टोल भक्तपुर, इटहरी, सुनसरी, ताल्चाभण्डेल परोपकार समिति ।

Comments are closed.