कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

– डा. नवराज सुब्बा

महामारी, विपद आइपर्दा मानिसमा असामान्य व्यवहार देखिन्छ । शारीरिक र मानसिक दुवै अवस्था प्रभावित हुन्छन् । यो बढी नकारात्मक नै हुन्छ । मानसिक हिसाबले मानिस आफूकेन्द्रीत परिवारकेन्द्रीत हुन्छन् । यस विषयमा स्ट्रङ (१९९०) ले महामारी मनोविज्ञानबारे अध्ययन र चर्चा गरेका छन् । उनले महामारीमा उत्पन्न हुने खतरनाक विश्वव्यापी विकृति भेदभाव (स्टिग्मा) लाई औंल्याएका छन् ।

विश्वव्यापी महामारी एचआईभी एड्स, ईबोला आदिको अध्ययनक्रममा उनले मानिस यसबेला एउटा जटिल मनोवैज्ञानिक प्रक्रियामा गुज्रन्छ । पहिलो अवस्था, मानिसले सामना गर्ने वस्तु हो– डर । मानिस सूचना सुनेर, देखेर वा भोगेर डराउँछ । दोस्रो अवस्था, मानिस रोग वा त्रासबारे अनेक ब्याख्या गर्नु, अर्ति–उपदेश दिन थाल्नु । मानिसले यसबेला भौतिक, आध्यात्मिक दृष्टिले विषयको खोजी र ब्याख्या गर्न थाल्दछ । र तेस्रो अवस्था हो, महामारीको व्यवस्थापन गर्नु ।

यी तीनचरणहरु क्रमसः वा एकसाथ उपस्थित भएको अवस्था भोग्न आज देश, प्रदेश र नगर बाध्य छ । गलत तरिका अवलम्बन, कार्यमा तार्किकताको अभाव, गलत सूचना प्रवाह, भयपूर्ण सूनचा सम्प्रेषण, भेदभावपूर्ण व्यवहार, बहिस्कार, अलग्याउने संस्कार, मानिस तथा स्रोत साधनको दुरुपयोग, रोगउत्पत्तिबारे अनर्गल सिद्धान्त निर्माण वा वकालत र आध्यात्मिक व्याख्या समेतले महामारीमा मानिसको चिन्ता थप जटिल बन्दछ भनेर वेबर र गोल्डमेयर (१९८३) ले भनेका छन् ।

कोभिड महामारीमा चीनमा गरिएको एक अध्ययनमा मानिसमा सामाजिक मनोवैज्ञानिक असर बढेको र यसको प्रभाव लामो रहने देखाएको छ । चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता मानसिक स्वास्थ्य स्थितिमा बृद्धि भएर समाजलाई नै अपाङ्ग बनाउन सक्ने खतरा संकेत गरेको छ । बढी चिन्तित हुनेमा युवासमूह उल्लेख्य भएकाले यो गम्भीर स्थिति उत्पन्न भएको हो ।

नेपालमा गरिएको अध्ययनले पनि स्वास्थ्यकर्मीको संक्रमण दर पनि बढ्दै गएको र उनीहरुमा समेत मानसिक रोगसम्बन्धी समस्या जस्तै चिन्ता, डिप्रेसन दर बढेको देखाएको छ । हिजोसम्म यी अध्ययन कागजमा बोल्दथे तर आज घरघरमा सडक गल्लीमा बोल्न थालेका छन् ।

Comments are closed.