फगिङ मेसिन भोट मेसिन नबनोस्

फगिङ मेसिन भोट मेसिन नबनोस्

डा. नवराज सुब्बा

लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २ थानका दरले वितरण भएको देखेर यो पङतिकार अचम्ममा परेको छ । हिजो आफू जिल्ला जनस्वास्थ्य कार्यालयमा रहँदाको एउटा अनुभव बाँड्न खोज्दैछु । उसबेला मोरङमा जम्मा २ थान फगिङ मेसिन थिए । त्यसले पूर्वाञ्चलका तराई जिल्ला मात्र हैन धनुषासम्मलाई धान्दथ्यो । चितौनमा भएको डेंगु महामारीमा समेत मोरङले फगिङ मेशिन र प्राविधिक सहयोग दिएको थियो । गाउँ–गाउँमा औलो प्रभावित क्षेत्रमा विषादी छिट्काउलाई लामखुट्टे मार्ने अभियान सम्झने र बुझ्नेहरुले विभिन्न दलका नेताहरु मार्फत यता पनि उता पनि छिट्काउ गरिदिनोस् भन्दथे, कहिले आएर लामखुट्टेले धेरै दुःख दियो यहाँ आएर धुँवा उडाइदेऊ भन्दथे । तर विरामीको तथ्यांक, विषादी छिट्काउ र फगिङको फायदा, वेफाइदा, निर्देशिका र मापदण्ड सम्झाइबुझाइ गरेर चित्त बुझाउन उसबेला हामीलाई हम्मेहम्मे पर्दथ्यो । चित्त बुझाएजस्तो गरे पनि कतिपयद्वारा काम नगरिदिएको वा आलटाल गरेको आदि आक्षेप पनि लगाएन्थ्यो । विराटनगर महानगरपालिकामा पनि उसबेला फगिङको उत्तिकै जनदवाव आउँथ्यो । नगरपालिका व्यवस्थापनले पनि धेरै दवावको सामना गर्नुपर्दथ्यो र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सहयोगमा एकाध फगिङ गर्ने गर्दथ्यो । आज अचम्म छ, विराटनगर महानगरपालिकाले पाएका ६ मेसिन विभिन्न ६ वडामा भागबण्डा गरेको समाचारले बुझिन्छ । यति सानो नगरक्षेत्रमा भोली आवश्यक पर्दा जुनसुकै वडामा पनि मेसिन प्रयोग केन्द्र वा पालिकाबाटै गर्न सकिन्थ्यो । यसबाट थाहा हुन्छ कि राजनीतिक भागवण्डाको नेपाली संस्कार अब जनस्वास्थ्य कार्यक्रममा पनि अभ्यास हुन थालेका छन् । जेहोस्, अब त सबैका हातमा पर्याप्त मेसिन पुगेका छन् । यसैले फगिङ, मेसिन र यसका काम, असर तथा संभावित जोखिमबारे केही जानकारी बाँड्ने जमर्को गर्दैछु, ताकि भोलिको दिनमा फगिङ मेशिन भोट मेसिन नबनोस् ।

यो फगिङ मेसिनको प्रयोग दक्षिणपूर्वी एशियामा विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको भएता पनि विशेषज्ञहरुले यसको औचित्यमाथि नै शंका गर्ने गरेका छन् । डेंगी रोग महामारी नियन्त्रणमा मात्र यसको प्रयोग गर्न सकिने भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । तर लामखुट्टेबाट सर्ने अन्य औलो, हात्तीपाइले, जापानीज इन्सेफलाइटिस तथा कालाज्वर महामारीका लागि यसको विलकुलै औचित्य छैन । भारतको राजधानी शहर दिल्लीमा कार्यरत यस क्षेत्रका विज्ञहरुले डेंगी रोग नियन्त्रणको लागि समेत यो औचित्यहीन भएको र यो केवल सरकारले जनतालाई महामारी नियन्त्रणमा राज्यले केही काम गर्दैछ भनेर देखाउने काम मात्र हो भनेर बताएका छन् (Centre for Science and Environment, 2017) । फगिङ गर्दा झाडिभित्र लामखुट्टे लुकेको ठानेर मुस्लो त्यता मुस्लो फालिन्छ तर डेंगी रोग फैलाउने मच्छर त फालेका टायर, वा प्लाटिक वा टिनका बट्टाहरुमा अस्थायी रुपमा जमेको आकाशे पानीमा, घरमा प्रयोग हुने पानीको ट्यांकी, कूलर जस्ता पानी राखिने भाँडाकुँडामा उसको सन्तानोत्पादनको जीवनचक्र पुरा गर्ने प्रजाति हो । त्यसैले घाँस, झाडी, नाला, हावामा विषादी छर्केर डेंगी रोग फैलाउने लामखुट्टेलाई केही फरक पर्दैन ।

यद्यपि विषादीलाई हावामा छर्केर लामखुट्टे केही समय भगाउने जोखिमयुक्त काम डेंगी रोग महामारी फैलिएको बेलामा गरिन्छ । त्यसबेला तत्काल मृत्यु हुने मानिसको ज्यान भन्दा पछि हुने दुस्प्रभावलाई आँखा चिम्लिन खोजिन्छ । महत्वपूर्ण कुरो, डेंगी रोग महामारी भएको बेलामा स्वभाविक रुपले उत्पन्न जनदवावको फलस्वरुप नगरक्षेत्रमा फगिङ गर्ने गरिन्छ । वास्तवमा, यसको औचित्य छैन बरु यसको दुस्प्रभाव बढी छ भन्ने जान्दाजान्दै पनि राज्यले जनभावना वा जनदवावको कारणले फगिङ गर्दै आएको छ । विषादी हावामा छर्केपछि यो स्वासप्रश्वासको माध्यमबाट, छालाबाट, बोटविरुवामा भएका फलफूल तथा तरकारीबाट, पानीबाट, माटोमा फलेका खाद्यान्नबाट यो विषादी दीर्घकालसम्म मासिनको शरीरमा प्रवेश गरिरहन्छ । किनभने यो विषादी वातावरणमा आफै नष्ट हुदैन तसर्थ विभिन्न चक्रप्रणलीको माध्यमबाट प्रवेश गरी मानिसको स्वास्थलाई प्रभाव पारिरहन्छ । फलस्वरुप नसर्ने रोग जस्तै क्यान्सर, नशासम्बन्धी, स्वासप्रश्वासम्बन्धी, छालासम्बन्धी, कलेजोरोग रोग आदि लाग्ने जोखिम बढाउँछ । उदाहरणस्वरुप, कृषिमा तरकारीमा विषादी छर्कने धनकुटाका किसान परिवार क्यान्सरबाट पीडित भएको केही समय अघिको समाचारलाई स्मरण गराउन सान्दर्भिक ठान्दछु । यस्ता घटना देशैभरि भएकोले हाल कृषिक्षेत्रमा विषादी न्यूनतम् रुपमा प्रयोग गरियोस् भनेर सरकारले कृषकलाई प्रोत्साहित गरेको अवस्था छ ।
यति जान्दाजान्दै लामखुट्टे नियन्त्रणको नाममा भोली जहाँ जहाँ लामखुट्टे त्यहाँ त्यहाँ विषादी छर्कदै जाने हो भने यो श्रोत र साधनको दुरुपयोग मात्र हैन यसले वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर पार्ने अवश्यम्भावी छ । यस अघि नै उल्लेख गरें, यो विषादी हावामा उडाउने काम डेंगी महामारी नियन्त्रणको लागि मात्र त्यो पनि औचित्य त्यति छैन भन्ने जान्दाजान्दै पनि जनभावना वा जनदवावको कारणले मात्र गर्ने गरिन्छ । यसले औलो, कालाज्वर, हात्तीपाइले र जापानिज इन्सेफलाइटिस रोग र यी रोग फैलाउने लामखुट्टेलाई कुनै काम गर्दैन । किनभने हावामा छर्केको विषादीले त्यस्ता रोग फैलाउने लामखट्टेलाई कुनै असर पार्दैन । तब किन वातावरण र जनस्वास्थ्यमा यत्रो जोखिम लिएर फगिङ गर्ने?

राजनीतिले त जनस्वास्थ्य सम्बन्धी विश्वव्यापी अभ्यास, सरकारले अवलम्बन गरेको स्वास्थ्यनीति, महामारी सम्बन्धी विज्ञानको मूल्य र मान्यतालाई आधार मानेर मानवोपयोगी तथा जनोपयोगी सेवा र कार्यक्रमको तर्जूमा गर्नुपर्ने हो । राज्यले लामखुट्टे समस्या कि यसबाट सर्ने रोग समस्या त्यो कुरा पहिले आफूले एकीन गरेर त्यो कुरा जनतालाई बुझाउनु पर्दछ । जनताले जति नै चाहे पनि वातावरणीय सरसफाइ, फोहोर मैलाको उचित व्यवस्थापन, नालापानी निकासको उचित प्रवन्ध नगरेसम्म अर्थात् लामखुट्टे उत्पादन र बृद्धि हुने स्थल रहेसम्म लामखुट्टको उपस्थिति रहिरहन्छ । त्यसैले पहिलो कुरो वातावरणीय सरसफाइमा ध्यान दिएर मात्र लामखुट्टेको संख्या कम गर्न सकिन्छ । त्यसपछि यसको टोकाइबाट बच्न घरघरमा झूल प्रयोग गर्नुपर्दछ । थप उपायमा पूरा लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने जस्ता वहुपक्षीय उपाय अवलम्बन नगरे डेंगी लगायत औलो, कालाज्वर, जापानीज इन्सेफलाइटिस रोगबाट बच्न सकिन्दैन ।

सबभन्दा महत्वपूर्ण कुरो, जनतालाई विषादीको दुस्प्रभावको बारेमा जानकारी दिएमा फगिङ गरेर विषादी वातावरणमा फैलाउने काम भन्दा अन्य वैकल्पिक काम जस्तै वातावरणीय सरसफाई, झूलको प्रयोग, टोकाइबाट बच्ने उपायपट्टि जनताले बढी ध्यान दिन्छन् । यसकारण स्वास्थ्य शिक्षा र जनचेतना फैलाएर जनसहभागिता हासिल गर्ने रणनीति सरकारको लिनुपर्दछ । फगिङ किन? भनेर भोलि प्रश्न उठ्दा जनतालाई मच्छरले सारै टोकेछ त्यसैले फगिङ गरियो भनेर जवाफ दिने स्थिति आयो भने प्राविधिक दृष्टिले यो भयङ्कर त्रुटी र गैरजिम्मेवारी हुनेछ । यस्तो संवेदनशील कार्यलाई डेंगी रोग वा महामारीको अवस्था र तीव्रतासित गाँसेर यसको औचित्य स्थापित गर्न सक्नुपर्दछ । यसको लागि रोगीको अद्यावधिक तथ्यांक, महामारी रोग नियन्त्रण तथा इपिडिमियोलजिकल ज्ञान र शीपको आवश्यकता पर्दछ । विरामी कहाँ कहिले कति कुन कुन रोगी छन्? ती बढ्दै वा घट्दै छन्? यसको उत्तर पाएपछि मात्र कार्य अघि बढाइन्छ । कार्यक्रम सुरु भएपछि त्यसको स्पष्ट निगरानी प्रणाली नभइकन डेंगी महामारी नियन्त्रण कार्य प्रभावकारी हुदैन ।

मोरङ जिल्लामा औलो, कालाज्वर, हात्तीपाइले जस्ता दीर्घरुपमा समस्या रहेका छन् । डेंगी नियन्त्रणका प्रयास विराटनगर क्षेत्रमा भएका छन् । कीटजन्य रोग नियन्त्रणका विभिन्न उपायहरु छन् तिनलाई गम्भीरतापूर्वक लिनु पर्दछ । गरिबहरुको रोग भनेर चिनिएको कालाज्वर मोरङमा बढी छन् भनेर सोचिएको भए आज छापिने समाचारको स्वरुप नै अर्कै हुन्थ्यो । वास्तवमा सामाजिक न्याय पुग्ने थियो । कुनै दातृनिकायबाट कुनै कुरा पाइयो भनेर गर्व गर्नु भन्दा पनि माग र आवश्यकतालाई ध्यान दिनु पर्दछ । माग सहि हो कि हैन भनेर प्राविधिक कसीमा घोट्न प्राविधिक परामर्श लिन राज्य चुक्नु हुँदैन । फगिङ मेशीन कुनै दातृनिकायले दिएको एमबुलेन्स वा मोटरसाइकल जस्तो होइन । यो त हतियार हो वन्दूक जस्तै हो । जसलाई सही ठाउँ र सही समयमा सही लक्ष्यलाई हानिए औचित्यपूर्ण हुन्छ नत्र जथाभावी प्रयोग गरियो भने यो आत्मघाती पनि हुन्छ । संक्षेपमा, कीटजन्य रोग नियन्त्रणसम्बन्धी विद्यमान स्वास्थ्य नीति, विश्व स्वास्थ्य संगठनको मापदण्ड र प्रोटोकलको आधारमा मात्र फगिङ मेशिनको प्रयोग गरियोस् ।नाकमा बसेको झिंगालाई तरबारले काटिदिएको कथाजस्तो नहोस् ।

References:
1. Our Biratnagar (2019) लामखुट्टे नियन्त्रण अभियान, बिराटनगरवाट ३० वटा मेसिन वितरण. Retrieved Feb 25, 2019 from https://ourbiratnagar.net/2019/02/77921
2. Centre for Science and Environment (July 13, 2017) Fogging to control Dangue May Harm Health: CSE. Retrieved Feb 25, 2019 fromhttps://food.ndtv/food-drinks

Comments are closed.