भाइरल ज्वरो इन्फ्लुएन्जा

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । यो रोग २ देखि ७ दिनमा आफै निको भएर जान्छ । दोस्रो हो, पाण्डेमिक इन्फ्लुएन्जा जसलाई हामी पहिले स्वायन–फ्लुको नामले चिन्दथ्यौं जो विश्वभरि एकसाथ महामारीको रूपमा फैलने गर्दछ । यसले श्वासप्रश्वास प्रणालीलाई अलि कडा रूपमा असर पु¥याउँछ जसमा हाच्छिउँ आउने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने र आलस्य लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । बालबालिकाहरूमा वाकवाकी लाग्ने वा बान्ता आउने, पेट मडारिने तथा झाडापखाला लाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् । तेस्रो हो बर्ड–फ्लु जसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ यो रोग पङ्खीहरूमा मात्र लाग्दछ । यो अति नै संक्रामक र घातक रोग हो जसले मुख्यत पङ्खीको श्वासप्रश्वास, पाचन र स्नायु प्रणालीमा असर गर्दछ । यो भाइरस सामान्यतयाः मानिसमा बिरलै देखा पर्दछ तर यही रोग कुखुरा, हाँस वा अन्य पङ्खीमा लागेको खण्डमा ती पङ्खीसित सम्पर्कमा आउने मानिस वा बालबालिकालाई यो रोग सर्ने सम्भावना हुन्छ ।
मानव इतिहास हेर्ने हो भने बिगत तीन शताब्दीमा तीनओटा पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको थियो । बिसौं शताब्दीमा पनि तीनओटा पाण्डेमिक इन्फ्लुएन्जा भइसकेको इतिहास छ । सन् १९१८–१९ मा भएको महामारी जसलाई स्पेनिस–फ्लु भनिन्छ उक्त महामारी एच१ एन१ भाइरसबाट भएको र यसबाट ४ करोड मानिसहरूको मृत्यु भएको थियो । जुन बेला रोगको मृत्युदर २–३ प्रतिशत थियो । यस्तै सन् १९५७–५८ मा दक्षिण चीनमा सुरु भएको एच२ एन२ प्रजातिको भाइरसबाट ४० लाख मानिसको मृत्यु भएको थियो । यसैगरी सन् १९६८–६९ मा दक्षिण चीनबाट सुरु भएको एच३ एन२ प्रजातिको भाइरसबाट करिब १० लाख मानिसको मृत्यु भएको थियो ।
पाण्डेमिक इन्फ्लुएन्जा भाइरसको उत्पत्ति, विकास र प्रसार कसरी हुन्छ भन्ने विषयमा धेरै अध्ययन भएका छन् । विभिन्न प्रजातिका इन्फ्लुएन्जाका भाइरसहरूले पङ्खी र स्तनधारीहरूलाई पनि सङ्क्रमण गर्दछन् । कहिलेकाहीँ जनावरमा पाइने भाइरसले मानिसमा पनि सङ्क्रमण गर्ने सम्भावना हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा यही नयाँ प्रजातिको इन्फ्लुएन्जा ए भाइरस हो जसले जीवजन्तुबाट मानिसमा सङ्क्रमण गर्छ र मानिसबाट पुनः मानिसमा सङ्क्रमण गर्ने क्षमताको विकास गरी विश्वव्यापी रूपमा तीव्र रूपमा प्रसार भइ ठूलो जनधनको क्षतिसहित विश्वव्यापी महामारी गराउँछ जसलाई हामी पाण्डेमिक इन्फ्लुएन्जा भन्दछौं । पाण्डेमिक इन्फ्लुएन्जा रोग सर्ने तरिका जान्न आवश्यक छ । यो रोग खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा श्वासप्रश्वासको माध्यमबाट एक अर्कामा सर्दछ । साँघुरो ठाउँमा धेरै मानिस जम्मा हुने जस्तै विद्यालय, बस, चियापसल आदि स्थलमा एकअर्कामा यो रोग सर्ने सम्भावना हुन्छ । यसका साथै सीधा सम्पर्क जस्तै हात मिलाउने, गला मिलाउने, म्वाइ खाने गरेमा पनि यो रोग सर्दछ । अरूले प्रयोग गरेको रुमाल, मोबाइल, कलम, टेलिफोन, चुरोट, ढोकाको हेन्डिल वा अन्य कुनै पनि संक्रमित वस्तुबाट यो रोग सर्दछ । राम्ररी हावा नखेल्ने ठाउँको हावामा भाइरसको जनघनत्व बढी हुने हुँदा त्यहाँ यो रोग सर्ने सम्भावना अत्यधिक हुन्छ ।
प्रकोप वा महामारी भएको बेलामा यसको उपचार घरैमा गर्न सकिन्छ । यस्तो अवस्थामा सामुदायिक पहल पनि आवश्यक हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा महामारी फैलिएको अवस्थामा सामान्य लक्षणहरूजस्तै ज्वरो आउने, टाउको, घाँटी, तथा जीउ दुख्ने, खोकीको घरमै उपचार गर्न सकिन्छ । यसमा सामान्य औषधीको प्रयोग र घरेलु उपचारबाट पनि रोग निको पार्न सकिन्छ । झोलपदार्थको सेवन र लक्षण अनुरूप झाडापखालाको लागि पुनर्जलीय झोल, ज्वरोको लागि सिटामोलबाट उपचार गर्न सकिन्छ । बालबालिका, बृद्ध, दीर्घरोगी र गर्भवतीलाई विशेष ध्यान दिनु पर्दछ । विरामीलाई निमोनियाको, जलवियोजनको लक्षण देखापरेमा स्वास्थ्यकर्मीको सेवा लिनु पर्दछ । पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको बखत समुदायमा आवतजावत तथा भेलामा नियन्त्रण गर्नु पर्दछ र विद्यालयमा बिदा दिनुपर्ने अवस्था पनि आउँछ । समुदायमा पाण्डेमिक इन्फ्लुएन्जा महामारीको रूपमा फैलिएको अवस्थामा घरैमा उपचार गर्न सकिने सामान्य बिरामीलाई घरैमा उपचार गर्नु पर्दछ । विरामी सबै अस्पतालमा भीड लागेमा सिकिस्त बिरामीहरूले जरुरी उपचार पाउनबाट बञ्चित हुने स्थितिको सिर्जना हुने भएकाले यसतर्फ पनि सचेत हुनु जरुरी छ ।
पाण्डेमिक इन्फ्लुएन्जाबाट बच्ने उपायहरू पनि जानी राख्नु पर्दछ । इन्फ्लुएन्जाबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा वा बोल्दाखेरि उछिटिने साना साना कणबाट वरिपरि बस्ने स्वस्थ व्यक्तिहरू संक्रमित हुन्छन् । यसबाट बच्ने चार उपायहरूछन् । पहिलो, खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने । दोस्रो, साबुन पानीले हात सही तरिकाले पटक पटक धुने । तेस्रो, दूरी कायम राख्ने अर्थात् करिब एक मिटरको दूरीमा रहेर गफगाफ वा कुराकानी गर्ने ताकि थुकका कणहरू उछिटिएर अर्कामा नपुगोस् । चौथो उपाय हो, यदि पाण्डेमिक इन्फ्लुएन्जाबाट कोही संक्रमित भइहालेमा बिरामीलाई अलग्गै राख्ने ।
(जनस्वास्थ्य अभ्यास र अनुभव पुस्तकबाट)

Comments are closed.