आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा

श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो लाग्दछ । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाम्रोतिर शिक्षक नपाएर एक योग्य शिक्षकको खोजीमा उहाँलाई दार्जिलिङबाट फकाएर, बोलाएर, ल्याएर हेडसर पदमा स्थापित गरिएको रहेछ । त्यसबेला हाम्रो क्षेत्रमा विद्यालय उति थिएनन् । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्ने कालमा दार्जिलिङमा पढेर बी.ए. पास गरेका एक होनाहार युवकलाई मनाउन गाउँका अग्रजहरू सफल भएका रहेछन् । उहाँका पिता भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँका पिता तेह«थूमस्थित भारतीय सैनिक डिष्ट्रिक्ट सोल्जर्स बोर्डको कार्यालयमा भएको बेला आफ्ना छोरा गणेशबहादुर राईलाई बोर्डले केही सहयोग गरेको, मूलतः जनताले नै चन्दा उठाएर चलाएको सरस्वती स्कुलमा शिक्षकको रूपमा ठूलो जोखिम र जिम्मेवारीसाथ पठाउनु भएको रहेछ ।
उसबेला गणेशसरले आफ्नो योग्यताले यो शिक्षक जागीरभन्दा धेरै राम्रा अवसर पाउन सक्नुहुन्थ्यो । शिक्षकपेशा सम्मानित भएतापनि उसबेला यो निकै दुःखी पेशा नै थियो । त्यसबेला शिक्षकलाई अहिले जस्तो सरकारले तलब दिंदैनथ्यो, अर्थात् विद्यालयलाई सरकारले हेर्दैनथ्यो । शिक्षकलाई तलब खुवाउन, विद्यालयको भौतिक संरचना बनाउन मरम्मत गर्न जनताले नै चन्दा उठाएर स्कुल चलाउनु पर्दथ्यो । शिक्षकहरूले तलब खान महिनौं त कसैले वर्षभरी कुर्नुपर्दथ्यो । धेरै शिक्षकले उसबेला तलबस्वरूप नगद नभएर चन्दामा उठेको खेतबारी पनि प्राप्त गर्दथे । हाङपाङको विद्यालय चलाउन, छानामा जस्तापाता लगाउनलाई चन्दा उठाउन उसबेला संचालक समितिका पदाधिकारी तथा शिक्षक मधेसतिर हुँदै आसामसम्म चाहार्थे र चन्दा उठाउँथे । संचालक समितिका पदाधिकारी तथा शिक्षक बेलाबेला चौतारामा बसेर चन्दा उठाउँदा भोगेका दुःखसुखका कुरा गर्दथे । फलानाले यति चन्दा दियो चिलानाले दिएन आदि, इत्यादि । त्यो बेला गाउँमा वार्षिक भेला बोलाएर जनतालाई चन्दा रकम तोकिन्थ्यो । एकप्रकारले शैक्षिककर नै थियो त्यो । जनताले गरेको उक्त योगदानलाई अहिले सम्झँदा लाग्छ, विद्यालयलाई जनताले रगत, पसिना र आँशुले सिंचेका थिए । गणेशसरको कुशल नेतृत्वमा त्यो फष्टायो, मौलायो र जनताले आज त्यसको मीठो फल खान पाएका छन् । यस्ता धेरै ऐतिहासिक कुराहरू इतिहासको गर्भमा त्यत्तिकै मेटिएर जाला तर मजस्ता कैंयौं विद्यार्थीको मनमा भने अझै पनि सरस्वती स्कुल सरस्वतीको मन्दिर र गणेशसर सरस्वतीपुत्रको प्रतीक बनेर मनमन्दिरमा विराजमान छन् ।
उहाँको एक छिमेकी भएर मेरो बाल्यकाल बितेको थियो । विद्यार्थी जीवन पनि उहाँकै छत्रछायामा व्यतीत भएको हुँदा म उहाँलाई नजिकबाट जान्दछु । मेरा स्मृतिका पानामा छरिएका केही धुमिल अनुभूति खोतल्दै म उहाँको शब्दचित्र कोर्न चाहन्छु । यसमा उहाँका गुरुका सबलपक्ष र दुर्वलपक्ष आउन सक्छन्, यथाशक्य सन्तुलित चित्र कोर्दैछु ।
पहिले हेरौं, उहाँको लवाई–खवाई, बानी–व्यहोरा कस्तो थियो । हाम्रो गाउँमा त्यसबेला चश्मा लगाउने मानिस उति थिएनन् सधैं चश्मा लगाउने गाउँमा एकजना गणेशसर मात्र हुनुहुन्थ्यो । त्यसैले हामी केटाकेटीलाई के लाग्दथ्यो भने चश्मा भनेको हेडसरले मात्र लगाउने चीज हो । त्यसबेला कोही मानिस बेला–बेला कालो चश्मा अर्थात् शितलु चश्मा लगाउँथे तर गणेशसरजस्तो निरन्तर लगाउने अरू कोही थिएनन् । हामीलाई उसबेला चश्मा आँखाको दृष्टि कमजोर भएकाले लगाउने वस्तु हो जस्तो लाग्दैनथ्यो । चश्मा भनेको धेरै पढेकाले मात्र लगाउने चीज होला जस्तो लाग्दथ्यो । धेरै पढेलेखेका मानिसको निशानी वा विद्धानमान्छेको द्योतकको रूपमा हामीले चश्मालाई बुझ्दथ्यौं । अर्कोकुरा, त्यसबेला हाम्रो गाउँमा पैण्ट, शर्ट लगाउने मानिस पनि गणेशसर एक्लै हुनुहुन्थ्यो । लाहुरेहरू छुट्टिमा आउँदा केही दिन पैण्ट, शर्ट लगाए पनि गाउँमा धेरैजसो दौरासुरूवाल नै लगाउँने चलन थियो । हामीलाई पैण्ट, शर्ट लगाए पछि काम गर्नु हुन्न जस्तो लाग्दथ्यो किनभने गणेशसर पैण्ट, शर्ट लगाएर अरूझैं खेतबारीमा काम गरेको देखेनौं । गणेशसर सरल, भद्र र शालीन व्यक्ति, अत्यन्त कम बोल्ने स्वभावको हुन्थ्यो । उहाँले अरूजस्तो गलल हाँसेको हामीले कहिले देखेनौं । सधैं गम्भीर मुद्रामा रहने गणेशसरको छेऊ पर्न विद्यार्थी डराउँथे । उहाँलाई टाढैैबाट देखेपछि विद्यार्थी परपरै तर्कन्थे । विद्यार्थी आपसमा खासखुस कुरा गर्दथे, उहाँ रिसाहा स्वभावको हुनुहुन्छ, कक्षामा सोधेको बेला पाठ आएन वा यदि कुनै विद्यार्थीले विद्यालयमा अनुशासनहीन काम गरेको खण्डमा सजायस्वरूप हातका रगत आउने गरी फिट वा लौरोले पिट्नु हुन्छ रे । हुन पनि मैले लाइनमै एकदुई पटक विद्यालय ढिला आउने विद्यार्थीहरूलाई सामुहिक रूपमा लाइन लगाएर पिट्दा केटाहरू लाजले नरोए पनि केटीहरू भने पछ्यौराले मुख छोपेर घुँक्कघुँक्क रोएको देखेको थिएँ । पाठ बुझाउँदा उहाँतिर फर्केर कसैले हाँस्यो भने “तेरो सिस्नो खाएको दाँत देखाउँछस् नाथे” भनेर हप्काउनु हुन्थ्यो । उहाँ विद्यार्थीलाई गाली गर्दा प्रायः ‘नाथे’ शब्द पुकारेर गालि गर्नुहुन्थ्यो । हामी यो ‘नाथे’ भनेको के रहेछ भनेर आपसमा कुरा गर्दथ्यौं । त्यसको अर्थ नाकभित्रको रौं रहेछ । त्यत्ति सारै नराम्रो गाली त हैन रहेछ भन्ने लाग्दथ्यो । कुनैबेला ‘गधा’ भनेर पनि हपार्नु हुन्थ्यो । पहाडतिर हामीले गधा नदेखेको हुँदा हामीलाई त्यो गालीमा आउने विम्बले छुँदैन थियो केवल त्यसबेलाको उहाँको अनुहारको भाव र आवाजको झोक्काले असर पार्दथ्यो र विद्यार्थी थर्थरी काँप्दथे ।
गणेशसर हाम्रो गाउँको रोलमोडल नै हुनुहुन्थ्यो । गाउँमा चर्पी बनाउने चलन थिएन । गाउँमा बाँसघारी, खोल्छाखाल्छीमा दिसापिसाब गर्ने चलन थियो । त्यसबेला हाम्रो गाउँमा व्यवस्थित चर्पीको प्रयोग सर्वप्रथम उहाँले नै आरम्भ गर्नुभयो । उहाँ बिहानै हातमा पानीको वोतल बोकेर चर्पी जानुहुन्थ्यो । कहिलेकाहीँँ हामी केटाकेटी पछ्याउँदै उहाँ चर्पी गएको, चाबी खोलेको, भित्र पसेर चुक्कुल लाएको, निस्केको परिदृष्य लुकेर बडो रमाइलो मानेर हेर्दथ्यौं । हामीलाई त्यसबेला त्यो क्रिया अचम्म पनि लाग्दथ्यो । किनभने त्यसबेला हामीलाई चर्पीको आवश्यकता र महत्वबारे कसैले बुझाएकै थिएन । धेरै पछि मात्र अरू सरहरूले पनि घरमा चर्पी निर्माण गर्नुभो । अहिले सम्झँदा हामी त्यसबेला कति असभ्य रहेछौं जस्तो लाग्छ । अर्कोकुरा उहाँले कहिले पनि धुम्रपान गर्नुभएन । विद्यालयमा पनि धुम्रपानलाई निरूत्साहित गर्नुभयो । विद्यालयमा कुनै विद्यार्थीले धुम्रपान गरेको पाइएमा कठोर सजाय हुन्थ्यो । शिक्षक पनि लुकेर मात्र चुरोट पिउँने गर्दथे ।
उहाँलाई अंग्रेजी भाषाको राम्रो ज्ञान थियो । मलाई साल ठ्याक्कै याद भएन त्यस्तै २०२५÷२६ सालतिर होला म तीनचार कक्षामा पढ्दथें । विद्यालयमा पिटर नामका एकजना अमरिकी पिसकोर स्वयंसेवक अंग्रेजी भाषा पढाउन शिक्षकको रूपमा खटिएर हाङपाङ आएका थिए । त्यसबेला आठराई, हाङपाङ क्षेत्रका शिक्षक र विद्यार्थीमाझ कम्यूनिष्ट विचारधाराको लहर फैलँदो अवस्थामा रहेछ, म त केटाकेटी मान्छे केही बुझ्दिन थिएँ । विद्यालय छुट्टी भएर घर फर्कनेबेला पिटरलाई विद्यार्थीहरूले पटकपटक घेरेर तिमी अमेरिकी साम्राज्यवादी देशका नागरिक हौ, यहाँ जाशुसी गर्दैछौ, यहाँ बस्न पाउँदैनौं तिमी आफ्नो देश फर्क भनेर भन्दथे, उल्याँउँथे र हल्लाखल्ला गरिरहन्थे । अब के होला भनेर हामी केटाकेटी सशंकित थियौं । नभन्दै एकदिन अमेरिकी राजदूत क्यारोल सी. लेस हेलिकप्टर चढेर हाङपाङ आइन् । त्यसबेला हाम्रो गणेशसरले ती अमेरिकी विशिष्ठ नागरिकसंग अंग्रेजीमा फरर बोलेको देख्दा हामी दङ्ग परेका थियौं । हामी साना विद्यार्थीलाई राजदूतले बाँडेको चकलेट थाप्न लाइन लगाइयो । चकलेट थापेपछि “थैन्क्यू” भन्नु है भनेर सरहरूले सिकाउनु भयो तर त्यसको अर्थ भने हामीलाई खासै थाहा थिएन । तर मलाई त्यो चकलेट भन्दा पनि राजदूत चढेर आएको हेलिकपप्टर नजिकबाट देखेर औधी खुशी र उद्वेलित भएँ । त्यसपछि त सपनामा पनि त्यही हेलिकप्टर देख्न थालें । लेख्ने कापीमा जताततै हेलिकप्टरको चित्रमात्र कोर्न थालें । पाइलट हुन पाए वा हेलिकप्टर वा हवाइजहाज चढ्न पाए कस्तो होला भनेर म दिनरात मीठो कल्पना गर्दथें ।
गणेशसर राजनीतिक हिसाबले सचेत हुनुहुन्थ्यो । मलाई ठ्याक्कै कुन साल हो त्यो त सम्झना भएन । दशकको हिसाबले तीसदशकको कुरो हो । एकपटक गणेशसर हाङपाङमा प्रधानपञ्चमा पनि उठ्नु भयो । चुनावलाई त्यसबेला हामी भोट भन्ने गर्दथ्यौं । हाल हेल्थपोष्ट रहेको स्थान जसलाई त्यसबेला डिस्पेन्सरी भनिन्थ्यो त्यहाँको सानो मैदानमा भोट अर्थात् चुनाव सम्पन्न भएको थियो । मत खसाल्ने दुई उम्मेदवारको छट्टाछुट्टै रंगको बाकसको व्यवस्था हुन्थ्यो, दुई रङ्गको, सेतो र रातो बाकस । आफूले जुन रङ्को बाकसमा मत छिराउन मनलाग्छ, बाहिर एउटा मतपत्र दिइन्छ, भित्र पस्यो, मन परेको बाकसमा मतपत्र छिरायो भैगयो । जसको बाकसमा धेरै मत खस्यो उसको मत धेरै हुने नै भो, अर्थात् गन्नलाई पनि छिटो र सजिलोे पाराको चुनाव थियो । अपरान्ह ५ बजेपछि चुनावको नतिजा घोषणा भयो, भोट माथिल्लो गाउँले जित्यो अर्थात् नरेन्द्र लिम्बूले चुनाव जिते, गणेशसर तथा हामी तल्लागाउँलेले भोट हा¥यौं । म त सानै रहेंछु, आमालाई खुसुक्क जिज्ञाशा राखें । भोट जिते वा हारेमा अब हेडसरले के गर्नुहुन्छ ? आमाले पनि खुसुक्क भन्नुभयो– भोट जिते हेडसरलाई सबैले अबिर, फूलमाला लगाएर वासस्थानमा ल्याउँछन् यदि हारेको खण्डमा लाजले लुक्दैलुक्दै फर्कन्छन् नि । नभन्दै भोटको नतिजा आएपछि नरेन्द्र लिम्बूलाई अबिरमाला लगाएर बोक्दै–बोक्दै उँभो माथिल्लो गाउँतिर लगे । हाम्रो गणेशसर केही शिक्षकहरूका साथ बाटैबाटो लुरूलुरू हिडेर निवासतिर फर्कनु् भयो । आमाले सुनाएजस्तै गणेशसर कसरी लुक्दै फर्कनु होला हेरौं भनेको त उहाँ त नलुकीकनै सबैले देख्नेगरी बाटैबाटो फर्केको देखेर मेरो बालमन त्योबेला अचम्ममा परेको थियो । अहिले त्यो सम्झेर हाँस उठ्छ ।
उहाँ एक कुशल खेलाडी हुनुहुन्थ्यो । मैले सुनेको थिए गणेशसर अत्यन्त राम्रो फुटबल खेल्नु हुन्छ । हाम्रो विद्यालयमा ठूलो फुटबल मैदान थिएन । तापनि विद्यार्थीहरू यसैमा फुटबल खेल्दथे । रेफ्रीले दौडनु पर्दैन थियो । विद्यालयको बार्दलीमा बसेर गणेशसर रेफ्रीको काम गर्नुहुन्थ्यो । हामीलाई लाग्दथ्यो फुटबलको रेफ्री गर्दा एकठाउँ बसेर वा उभिएर गरिन्छ, किनभने भलिबलमा पनि रेफ्री दौडनु पर्दैन एकैठाउँ उभिएर रेफ्रीको काम चल्दछ । आठराई सक्रान्तिमा वर्षेनी भव्य मदनमेला लाग्ने गर्दथ्यो । सक्रान्तिबजारस्थित त्रिमोहन माद्यमिक विद्यायलमा हाम्रोभन्दा ठूलो फुटबल मैदान थियो जहाँ वर्षेनी फुटबल म्याचको आयोजना गरिन्थ्यो । ताप्लेजुङ, तेह«थूम, फिदीम, खाम्लालुङ, सम्दु, साँघु, फेदापतिरबाट खेलाडीहरू भेला हुन्थे र प्रतियोगितात्मक प्रतिष्पर्धा गर्दथे । फुटबल, भलिबल, ब्याडमिण्टन, क्यारेमबोर्ड लगायतका प्रतियोगिता हुन्थे । हामी भुराभुरी छँदै गणेशसरले मदनमेलामा राम्रो फुटबल खेल प्रदर्शन गर्नु भयो रे भनेर चर्चा थियो । उसबेला एकजना अर्का खेलाडी आठराईतिरकै रसाइलीसर थिए । उनी पनि सारै फूर्तिला, लामो केसमा काइँयो सिउरेर हिड्दथे । उनी सुनसरी धरान स्थित फुटबल टिमका एक खेलाडी हुन् रे भनेको सुनें । एकपटक हाङपाङ चुँवाको खेलमैदानमा भएको फुटबल म्याचमा खेलाडीसंगै ती रसाइलीसर रेफ्री भएर दौडेको देखेर हामी छक्क प¥यौं । पहाडतिरका खेलमैदान साना हुन्छन् यसैले हामीले रेफ्री मैदानका बीचमा उभिएर सिटी बजाएको मात्र देखेका थियौं । त्यसबेला रसाइलीसरको चुरीफुरी देखेर हामी विद्यार्थीलाई अनौंठो लाग्यो, यिनै रसाइलीसरको टिमलाई हाम्रो गणेशसरको टिमले मदनमेलामा जितेको भन्ने सुनेको थिएँ ।
गणेशसरले हाङपाङ र आसपासका क्षेत्रमा अनुशासनको पाठ सिकाउनु भयो । गाउँमा पढेका भन्दा नपढेका मानिसको हाबी थियो । त्यसबेला ‘पढ्यो लेख्यो के काम हलो जोत्यो खायो माम’ भन्ने उक्ति प्रचलित थियो । पढ्यो भने हलो जोत्दैन, घरमा काम गर्दैन, छोरी पढाए लभलेटर लेखेर पोइला जान्छे भनेर अभिभावक भन्दथे । त्यसैले होला विद्यालयमा भर्ना हुनेहरू अलि उमेर चढेका विद्यार्थी नै बढी थिए । अर्थात् ५÷७ कक्षामा पढ्ने विद्यार्थी पनि १५÷२० वर्ष उमेरमाथिका हुन्थे । अहिले त १५÷१६ वर्षमा एस.एल.सी.÷एस.ई.ई. पास गर्छन्, उसबेला २५÷३० वर्षमा मात्र प्रायः म्याट्रिक गर्दथे । शरीरमा बल पसेका तर अनुशासन नजान्ने विद्यार्थीलाई विद्यालयमा पढाउनु तथा सधाउनु सजिलो थिएन । फुटबल म्याच भयो भने आपसका खुट्टा हानाहान गर्थे, आपसमा छिर्के लाउँथे र खेलमा प्रायः अस्वस्थ भिडन्त नभएको कमै हुन्थ्यो । एकैछिन अघि मिलेर खेल्दै गरेका विद्यार्थी पछि ढुँगा हानाहान गर्दै छुट्टिन्थे । त्यस्ता काँचा युवक विद्यार्थीहरूलाई गणेशसरले खेलको माध्यमबाट अनुशासनको पाठ सिकाउनु भयो । उहाँ भएको बेला विद्यालयमा पी.टी., एथलेटिक्सको वार्षिक प्रतियोगिता आयोजना गरेर खेलकुदमा विद्यार्थीलाई अभ्यस्त गर्नुहुन्थ्यो । पढाईको अतिरिक्त विद्यालयमा सिकाइएको खेलकुद, दौड, पिटी आदिले विद्यालय सकेर वा बीचमा छाडेर लाहुर जानेलाई खूब काम लाग्यो रे भनेर कतिपय लाहुरेले घरमा चिठी लेख्ने गर्दथे ।
मैले गणेशसरबाट सिकेको अर्को महत्वपूर्ण कुरा हो– स्पोर्टसम्यानसीप अर्थात् खेलकुदभावना । उहाँ भन्नु हुन्थ्यो– खेल भनेको अनुशासित भई नियमको कलात्मक परिपालन गर्नु हो । तिमी अनुशासनपूर्वक खेल राम्रो खेल र भरसक जित । तर हा¥यौ भने दुःख नमान जित्नेलाई बधाई देऊ, मित्रता स्थापित गर । खेल हारेमा दुस्मनी नराख । खेल खेल्नु भनेको मैत्रीभाव बढाउनु हो । खेल भनेको जित्नलाई मात्र खेलिन्न उत्कृष्ट खेल प्रदर्शन गर्नु र रेकर्ड राख्नु पनि खेलकुदको मर्म हो भनेर उहाँले हामीलाई सिकाउनु हुन्थ्यो जुन म अझै सम्झन्छु । अनुशासन र चरित्रको बारेमा विद्यार्थीहरूलाई सिकाउन उहाँले विशेष जोड दिनु भएको थियो । विद्यार्थीहरूलाई यसबारे निबन्ध, कविता, नाटक लेख्न प्रोत्साहित गर्नुहुन्थ्यो । राम्रो अनुशासन भएका हरेक कक्षाबाट एकजनाका दरले नामावली विद्यालयले वार्षिक घोषणा गर्दथ्यो । विद्यार्थीको रिपोर्ट–कार्डमा शिक्षकले कुनैबेला कैफियत लेखिदिएमा उक्त विद्यार्थी नराम्रो विद्यार्थीमा दरिन्थ्यो । यदि कडा कैफियत लेखिएको खण्डमा विद्यार्थी विद्यालयबाट निष्काशनसम्म हुन्थ्यो । यसैले गर्दा एस.एल.सी. परीक्षामा यस विद्यालयको परीक्षाफल राम्रो आउँथ्यो र विद्यालयको नाम र गणेशसरको नाम चारैतिर फैलिएको थियो ।
गणेशसर गीतसङ्गीतमा रूची राख्ने साधक र स्रष्टा पनि हुनुहुन्छ । उहाँले बिहानबेलुका सङ्गीत साधना गर्दा बजाएको हारमोनियको ध्वनिले मभित्र गहिरो प्रभाव पारेको थियो । उहाँले निकाल्ने मीठा धुन र मेलोडीले मलाई क्रमसः गीतसङ्गीतप्रति मोह जगायो । उहाँले धेरै गीतरचना गर्नुभयो । गीतमा सङ्गीत भर्नुभयो । आफैले हारमोनियम बजाएर विद्यार्थीहरूलाई गाउन र नाच्न लगाउनु भयो । उहाँपछि बेनु चुडालसरले हारमोनियम बजाउन थाल्नु भयो । बेनुसरको हातमा हारमोनियम परेपछि यदाकदा मौका पारेर मैले पनि हारमोनियम छुने र ट्याँट्याँ पार्ने मौका पाएँ । यसरी मेरो हृदयमा साङ्गीतिक चेतना र यात्राको थालनी गणेशसर, बेनुसरको सामिप्यताबाट आरम्भ भएको थियो ।
म गणेशसरको विवाह उत्सवलाई पनि भुल्न सक्दिन । म भुराभुरी नै छँदा उहाँले ताप्लेजुङ फुङलिङ निवासी पेशाले शिक्षिका विद्या प्रधानलाई विवाह गर्नुभयो । विवाह हुने दिनमा हामी विद्यार्थी अत्यन्तै प्रफुल्लित थियौं । गुरुमा अर्थात् बेहुली हेर्न भनेर हामी खुवागाउँमा गएर दानाको फल टिप्दै पर्खेको अझै सम्झना छ । ताप्लेजुङ फुङलिङबाट तम्बरमा खड़कुणे साँघु तरेर फुलबारी, छिन्ताङ हुँदै दुलहीजन्ती हाङपाङ आएको थियो । दुलही हाङपाङ आइपुग्दा झण्डै साँझ परेको थियो । त्यसबेला खोक्लिङ स्कुलमा शिक्षक पेशामा कार्यरत हाङपाङ निवासी कम्युनिष्ट नेता नन्दकुमार प्रसाईले बेहुलाबेहुलीको जोडी बाँध्नु भएको भनेर पछि कुरा सुनियो । हालको गाविस भवन जसलाई त्यसबेला पञ्चायतघर भनिन्थ्यो, जहाँ त्यसबेला गणेशसरको निवास थियो । गुरुमालाई नवदुलहीको रूपमा त्यही भवनमा दुलही भित्र्याउने कर्म भएको थियो । हाङपाङमा रहँदा उहाँहरूका जेठो छोरा अशोक र पछि आलोकको जन्म भयो । विद्या गुरुमाले पछि मलाई पशलमा सामाग्री राखेर प्याक गर्न मिल्ने कागजको थूँगे बनाउन सिकाउनु भयो ।
हाङपाङ गाउँ राजनीतिक हिसाबले सचेत र संवेदशील पनि थियो । हाङपाङ गाउँ भौगोलिक हिसाबले तल्लोगाउँ र माथिल्लो गाउँमा विभाजित थियो । तल्लो गाउँमा बस्ने खहरेघरखाल, बाह«भैयाखाल गणेशसरकोमा आउजाउ गरेको देखिन्थ्यो । माथिल्लो गाउँको समुदायको नेतृत्व क्याप्टेन खगेन्द्रसिंह लिम्बू गर्दथे । माथिल्लो गाउँमा कालिका प्रा.वि. वरिपरिका घरहरू, कतिपय यक्सो परिवारका सदस्य लगायतकाहरू थिए । एकप्रकारले गाउँ भित्रभित्रै कम्युनिष्ट र कांग्रेसमा पनि विभाजित थियो । मानिस पञ्चायत र अन्य पार्टीगत विचारमा पनि विभाजित थिए । समय समयमा जिल्लाको राजनीतिक ध्रुविकरणको प्रभाव पनि गाउँमा प¥यो । गाउँले मत मादेन र थेबे समूहमा पनि विभाजित थियो । क्याप्टेन खगेन्द्रसिंह मादेन पक्षीय थिए तल स्कुलका शिक्षक प्रायः थेबे पक्षका थिए । तर जे भए पनि गाउँमा तल्लो गाउँ र माथिल्लो गाउँबीच एकप्रकारको अघोषित लामो प्रतिष्पर्धा यसरी नै कायम थियो । एकपटक गणेशसरलाई विराटनगर झरेको बेला हाङपाङबाटै विराटनगर झरेकाहरूले अंचलाधीसलाई कम्युनिष्ट भएको झोसपोल गरी थुन्न लगाए । त्यसबेला विद्यागुरुमाले पनि धेरै दुःख पाउनुभयो ।
चालिसदशकको अन्ततिर हाङपाङ गाउँको राजनीतिले अनौंठो रूप लियो । एकदिन चाँगे, नेसुम, ढुँगेसाँगुतिरबाट आउने विद्यार्थीहरूले सोबुवाखोलाको पुल मर्मत गर्नुप¥यो भनेर विद्यालयमा माग राखे । विद्यार्थीको मागलाई संचालक समितिले सकारात्मक रूपमा लिन सकेन फलस्वरूप समस्याको उचित ढङ्गले सम्बोधन भएन । गाउँले राजनीति घुसेको विद्यार्थी आन्दोलनमा विद्यालयकै शिक्षकबाट भित्रभित्रै आड़भरोसा पाएर विद्यार्थी उत्तेजित थिए । यसरी सानो कुराको निहुँले ठूलो रूप लियो, र विद्यार्थी आन्दोलन चर्कियो । वातावरण साम्य पार्न जिल्ला शिक्षा कार्यालय ताप्लेजुङबाट तत्कालीन सहायक जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाई जो हाङपाङ निवासी हुनुहुन्थ्यो, हाङपाङ आउनु भयो । त्यसबेलाको घटना विस्तारमा के भयो मलाई थाहा भएन । तर यत्ति कुरा बाहिर आयो, प्रसाईले गणेशसरलाई विचलित नहुन तथा राजीनामा नदिन सम्झाउनु भयो तर गणेशसर राजिनामा नदिई नछाड्ने अडानमा अडिग रहनुभयो । यसरी बीसदशकको अन्त्यमा हाङपाङ टेक्नुभएका गणेशसरले दुईदशकपछि अर्थात् चालिसदशकको अन्त्यतिर हाङपाङबाट विदा लिनुभयो । यसपछि, गणेशसरले ताप्लेजुङको सदरमुकाम फुङलिङबजार गएर एक बोर्डिङ स्कुल खोल्नुभयो । कालान्तरमा गणेशसर शिक्षाको ज्योति फैलाउँदै हङकङसम्म पुग्नुभयो । ताप्लेजुङ फुङलिङको यात्रापछि म अलि अनभिज्ञ भएँ । यसरी हाङपाङले दुईदशकपछि आकस्मिक रूपमा गणेशसरलाई गुमाएर पछुताउनु प¥यो । शिक्षाको दियोरूपी युगपुरूष गणेशबहादुर राईलाई जसरी स्वागत गरेको थियो त्यसरी नै विदा गर्न नसकेको दोष हाङपाङलाई लागेको छ, दुःख यसैमा छ ।
धेरै वर्षपछि २०७३ सालमा उनै गणेशसरलाई भेट्न भक्तपुरस्थित उहाँको निवासस्थानमा गएँ । उमेर आठदशक पार गर्नुभएको छ, पक्षाघातले सताएको असक्त अवस्थामा सरलाई पाएँ । बोल्न खोजे पनि आवाज नबुझिने भएको छ, तर अनुहारमा झुल्कने भाव र आँखामा छचल्किने आँशुले उहाँभित्रका धेरै कुरा व्यक्त भएको अनुभूति भयो । कुराकानीमा विद्या गुरुमाले सघाउनुभयो र भन्नुभयो– कोही विद्यार्थी आउँदा उहाँ यसरी नै खुशी र भावविव्हल बन्नुहुन्छ, रूनुहुन्छ । सरको अवस्था देखेर, थप कुरा सुनेर म एकछिन अवाक भएँ । हिजो विद्यार्थीकालमा उहाँसित डरले बोल्न सकिएन । अब त त्यो डर कम भएको थियो तर यसबेला गणेशसरकै आवाज बसेको अवस्था छ । गुरु–चेला बीचको नियति सायद यस्तै रहेछ । विद्या गुरुमाको माध्यमबाट र सरको भावअनुरूप केही कुराकानी त भयो । यसैमा चित्त बुझाएर भारी मन लिएर म फर्किए । भक्तपुरस्थित नवनिर्मित घरमा छोरा आलोक, बुहारी र नातिनासंग गणेशसर र विद्यागुरुमा शान्तिपूर्वक रहेको देखेर खुशी लाग्यो ।
संक्षेपमा, गणेशसर एक असल र आदर्शवान शिक्षक हुनुहुन्छ । विषयवस्तुमा दक्ष, सरल, शालीन र इमान्दार स्वभाव र जीवनशैली उहाँका विशिष्ठता हुन् । उहाँको स्वाभिमान र सोझोपनले चाकरी र अवसरवादलाई कहिल्यै पछ्याएन । त्यसको पछि दौडेका भए उहाँको यो इमान्दारीपन र शालीनता हामीले देख्न कहाँ पाउँथ्यौं होला र ! के उहाँलाई यो स्वार्थी समाजले प्रयोग गरेर फालिदिएको हो त ? अवश्य होइन । उहाँ जनमानसबाट कदापि फालिनु भएको छैन, विद्यार्थी, अभिभावकको मनमा पहिले भन्दा अझ सम्मानित भएर बस्नु भएको छ, उहाँप्रतिको श्रद्धाभाव, मानसम्मान यथावत छ, उहाँको नाम र योगदान हाङपाङ, ताप्लेजुङको शैक्षिक इतिहासमा स्वर्णाक्षरले कोरिएकोछ । आज राष्ट्रनिर्माणमा लागेका कैयौं होनहार विद्यार्थीका गुरुलाई राज्यले सम्मान गर्न भने बाँकी नै छ । शिक्षा चेतनाको द्वार र विकासको मुहान हो । साहित्यिक कृतिमार्फत् उहाँ पाठकहरूका मनमा अलग्गै स्थान बनाएर बस्नु भएको छ । उमेर र स्वास्थ्यको कारण उहाँ शारीरिक रूपमा अशक्त हुनुहुन्छ, बोल्न, लेख्न सक्नु हुन्न तर उहाँ आफ्ना विद्यार्थीलाई सन्तानका रूपमा अझै चिन्नु हुन्छ र भावविव्हल बन्नुहुन्छ, यो उहाँको महानता र आत्मसन्तुष्टीको द्योतक पनि हो । मनाकाशमा कहिल्यै नअस्ताउने घाम र जूनजस्तै चेतना र ज्ञानका अजर, अमर ज्योतिपुञ्ज गणेशबहादुर राईसरलाई म यही शब्दरूपी पुष्पहरूले सम्मान गर्न बाहेक के नै सकुँला र ! उहाँ त मेरो भुराभुरीदेखिका जीवनका आदर्शपात्र, मार्गदर्शक तथा सच्चागुरु हुनुहुन्छ, जसलाई म सदा सम्मानपूर्वक स्मरण गरिरहन्छु । सेवारो ।

Comments are closed.