कवितामा पारुहाङ र लेप्मुहाङका पदचाप

कवितामा पारुहाङ र लेप्मुहाङका पदचाप

(काव्य–समीक्षा) – डा. नवराज सुब्बा

कविमन स्वैरकल्पनामा बहन सक्छ, यो भावनामा भौतारिन सक्छ । यत्तिकै आधारमा सिर्जना केवल कोरा कल्पना हुन् भन्न चाहिं मिल्दैन । कवि वर्तमान र भविश्यको चिन्तनमा मात्र केन्द्रीत नभएर प्राचीनकालीन जीवन र जगत छामेर मानव सभ्यता अनि युगीन चेतनाको लेखाजोखा समेत गर्ने गर्दछन् । ज्ञानचक्षु उघार्दै कलात्मक कलमको बिर्को खोल्दै धार्मिक तथा आध्यात्मिक विषयवस्तु र पात्रलाई काव्यको माध्यमबाट पाठकीय धरातलमा बोकेर ल्याउँछन् कविले अनि शाश्वत सत्यलाई उठाएर जीवनोपयोगी सन्देशमा रुपान्तरित गरिदिन्छन् । जसलाई हामी एक सुन्दर कविताका रुपमा पाउँछौं । यही शक्ति र सन्देश बोकेको नेपाली साहित्य जगतको एउटा कविताको चर्चा गर्दैछु । कवि वानिरा गिरीको ‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा डुब्दा आफ्नै जीवनको सत्यता, परिश्रमको सुन्दरताको खोजी गर्दै केही हरफ नकोरी रहन सकिन । साझा कविता संग्रहमा प्रकाशित कवि गिरी रचित कविताको अंश यसप्रकारको छ –

म मान्छे !
च्यात्तिएका वाक्यका टुक्राहरुका
पटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।

अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढा
नाति–नातिनासंग लोककथा भन्छ ।
पारोहाङ र लेप्मुहाङ ओर्लन्छ
बूढाका आँखाहरुमा मानौं उ स्वयं
एउटा शिव एउटा युगको
र सतिदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा…

साझा प्रकाशनद्वारा (२०४९ पाँचौं संस्करणमा) प्रकाशित कवि वानिरा गिरीको प्रस्तुत कविता पढ्दा पाठकको कविताको धीत मात्र मर्दैन, यसले मानिसको अन्तरआत्मालाई घच्घच्याउँछ र आध्यात्मिक धरातलतर्फ धकेल्छ ।

कविताको पहिला चार हरफले पाठकको आँखा खुला, कान ठाडो पार्दै मन आकर्षित गर्दछ । यही चार हरफले एउटा जीवन दर्शन बोकेको छ । बाँकी हरफहरुमा आध्यात्मिक पात्रले दिल छुने काम गर्छन् । कविताले पाठक मन्त्रमुग्ध हुन्छन् । कविता पढ्दै जाँदा पारोहाङ र लेप्मुहाङ एवम् शिवको बिम्बात्मक प्रस्तुतिले मलाई पनि नतमस्तक बनायो । शिव वा सत्यलाई चिन्न नसक्ने दक्षको निरर्थक यज्ञको झल्को पनि मिल्यो । समयको गतिशील प्रवाहमा छट्पटिएको मेरो मन एकछिन भए पनि कविताले उद्वेलित अनि शान्त भयो । कविले कवितामा आफ्ना एक वृद्ध पात्रलाई जसरी शिवको रुपमा देख्नु भएको छ, उसरी नै मैले स्वयम् कविलाई मेरो मन शान्त पारिदिने मेरो अघि मुन्धुम फलाकिरहेकी फेदाङ्मा वा यूमाको रुपमा प्रकट भएभैंm देखें । फेदाङ्माले देवात्माको सन्देश मानव मनमा सन्देशको रुपमा ल्याइदिने काम गर्दछन् । उनका वरिपरि जोखाना हेराउने जन उनलाई साक्षात देव वा देवीको रुपमा प्रकट भएको ठान्दछन् । यसैगरी हामी पाठक पनि कविलाई कहीँ कतैबाट हामीलाई ल्याइदिएको दिव्य–सन्देश मानेर पढ्छौं, सुन्छौं र विश्वास पनि गर्दछौ. । भनिन्छ, यो काम गर्न फेदाङ्माको भौतिक शरीरमा देवता चढ्नु पर्छ । उसैगरी कविलाई पनि कविता फुर्न उसको शरीरमा कुनै शक्तिको प्रवेश हुन्छ भनेर स्वयम् कवि बताउँने गर्छन् ।

शिवलाई सत्यको रुपमा चिनिन्छ । सत्य रुप के हो भनेर दृष्टान्त दिन कविले आफूलाई पूर्ण पोष्टरझैं पढ्न वा समष्टिमा हेर्न आग्रह गर्नुहुन्छ । अर्थात् पूर्णता नै सत्यको एक रुप हो भन्न खोजिन्छ । मानिसको रुप मात्र हैन मन पनि सुन्दर हुनुपर्छ भनेर हामी भन्दछौं । शरीर र आत्माको एकता नै जीवन हो भनिन्छ अर्थात् शरीरबाट आत्मा अलग भएको अवस्थालाई मृत्यु भनिन्छ । अर्कातिर मानिस जिज्ञाशा राख्छन् – किन मानिस आज हिजोको जस्तो छैन? र आजजस्तो मानिस भोली किन हुँदैन? हाम्रो वाल्यकाल, किशोरावस्था, वयस्क उमेर, वृद्धावस्था जीवनका सबै चरणलाई हामी एउटै तराजुमा जोख्न खोज्दछौं । कुनै अवस्था देखेर र परिस्थितिलाई टिपेर हामी उसको निधारमा छाप लगाउँछौं । मानिसको जीवनको भौतिक तथा मनोवैज्ञानिक अवस्थितिको सिंगो मूल्यांकन गर्न चुक्छौं । हामी मानिसको खास समय, अवस्था, क्षणिक चरित्रलाई मनमा राख्दै उसको जीवन खण्डित तुल्याएर हेर्न मन पराउँछौं, किनभने हामीसंग समग्रमा हेर्नलाई समय र क्षमताको अभाव छ । यसथै कवि गिरी आफूलाई नटुक्र्याउन वा टुक्रा टुक्रामा नचिन्न आग्रह गर्नु हुन्छ । यो नै कविताको सार र जीवनदर्शनको महत्वपूर्ण पक्ष हो । हामी कुनै मानिसलाई कुनै समय सापेक्षमा राखेर मूल्यांकन गर्दा त्यहाँ आग्रह–पूर्वाग्रहको गुन्जायस रहन सक्छ । यसर्थ कसैलाई वा कुनै विषयलाई समष्टिमा राखेर वस्तु वा घटनाको परीक्षण गरेर मात्र सही नतिजामा पुग्न सकिने शाश्वत सत्य नै शिव भनिएको हो । कविको यो आग्रह उहाँको व्यक्तिगत जीवन वा घटनाक्रमसित मात्र सीमित नभएर जीवन र जगतलाई लागुहुने सबैलाई उत्तिकै काम लाग्ने मार्गदर्शन पनि हो । उहाँले पौराणिक घटना र पात्रलाई बिम्बका रुपमा अघि सारेर जुन सन्देश प्रवाह गर्नुभएको छ, त्यो सुन्दर र जीवनोपयोगी सन्देश बनेको छ ।

प्राचीन गुफामा कुँदेका कुनै चित्र ब्याख्या गर्नलाई या त मानवशास्त्री चाहिन्छ या त धामीझाक्री नै चाहिन्छ भनेर आधुनिक विज्ञानले स्वीकार गरेको छ । मानवशास्त्रीको पाटो अलग छ । धामीमा भने यस्तो शक्ति हुन्छ जसले मानव चेतनाको गहिरोतह अर्थात् परआमात्मासम्म प्रवेश गर्ने क्षमता राख्दछ । उसले कुनै परिघटना तथा जीवन र जगतको ब्याख्या मज्जाले गर्नसक्छ – भलै त्यो व्याख्या आफ्नै ढंगको किन नहोस् । कवि पनि करिव त्यस्तै हो जीवन र जगतको क्लिष्ट समाजको किरिङ–मिरिङ अस्पष्ट जीवनयात्रालाई कविले मजाले नियाल्न सक्छ र आफ्नै पाराले ब्याख्या गरिदिन्छ । एउटा अमूर्त चित्रको अर्थ एउटा कलाकार र कविले गर्न सक्दछ । प्रस्तुत कवितामा कवि वानिरा गिरीले आत्मासित सम्पर्क राख्न सक्ने धामीजस्तै शक्तिशाली भूमिका निर्वाह गर्नुभएको छ । एउटा अलौकिक सन्देश खोजेर ल्याउनु भएको छ ।

आधुनिक कविहरु वर्तमानमै हराएका छन् । उनीहरुले यथेष्ट मात्रामा सृष्टिकाल तथा प्राचीन साहित्यको गहन चिन्तन गर्न सकेका छैनन् । बिना कवित्व धामी वा फेदाङ्मा बन्न सकिदैन । जुन कुरा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कविले आधुनिक ढंगले त्यही शक्तिको नक्कल गरेका हुन्छन् । फेदाङ्माले जसरी एक विरामीलाई दुःखबिमार शान्त पार्दछ, त्यसरी नै एक कविले पाठकको जिज्ञासा र अशान्त मनलाई मन शान्त पारिदिन्छ । यिनीहरुको चेतनाको यात्रा उही तर साधनाको स्वरुप मात्र फरक छ । फेदाङ्मा वा धामीसित कविको तुलना गरियो अर्थात् अन्धविश्वास र आधुनिकताको अमिल्दो विवेचना भयो कि भन्नेलाई म के भन्न चाहन्छु भने– यी दुवैले भावना र आत्मासित खेल्दछन् यसैले यिनीहरुको जन्म प्राचीन कालमा भएको र प्रजाति भएर आ–आफ्नो कर्मक्षेत्रमा तल्लीन भएको इतिहासले बताउँछ । ऐतिहासिक रेखाचित्र, भाषागत दक्षता, काव्यिक चेतना, भावनात्मक तीव्रता, आत्मिक प्रवाह र परम्परागत ज्ञानमा फेदाङमा वा धामी कविभन्दा धेरै अगाडि छन् । यहाँ कविलाई कविजस्तै कार्यव्यापार गर्ने पात्रसित राखेर मूल्यांकन गरिएको मात्र हो । किनभने आधुनिकता तथा प्रयोगको नाममा कलात्मक पाराले कविले पुराना विषयवस्तु पनि नयाँ स्वादमा पस्केका हुन्छन् । जे होस् सुन्दरता कहिल्यै पुरानो हुँदैन बरु सत्यजस्तै सधै प्यारो हुन्छ । शिवको सत्य रुप हिजो जुन हिजो थियो आज त्यही उज्यालो प्रकाश पुनः झुल्केको छ । ठिकै हो, मानिसलाई हर बिहान उदाउने सूर्य सदा प्यारो लाग्दछ ।

वानिरा गिरीलाई मैले कवि मात्र हैन फेदाङ्माका रुपमा समेत मनमनै सम्मान गरेको छु । किनभने उहाँ किरात लिम्बू सभ्यता र संस्कृतिसित गाँसिएर कवितामा बग्नु भएको छ । उहाँले कवितामा प्रस्तुत गर्नु भएका प्रतीक र बिम्बहरुले जीवन र जगतको जटिलतम् अवस्थाको सहज छिनोफानो गर्नु भएको छ । लेप्मुहाङले किरात मुन्धुमका अत्यन्त स्तुत्य पात्र हुन् जसले मुन्धुममा वर्णित जलप्रलयमा खेल्नु भएको भूमिका र कृषिक्रान्तिमा गर्नु भएको नेतृत्वलाई किरात लिम्बू समुदायले सदा सम्झन्छन् । उनको महत्व वैदिक साहित्यको मनुसित तुलना गरिएको छ । यी पात्रलाई मानव अस्तित्वको श्रेय जान्छ । कवितामा आफ्ना पितृप्रति आभार व्यक्त गरिएको छ, श्रद्धासमन अर्पित भएको छ, जुन स्वागतयोग्य कुरा पनि हो । ती महान पात्रले देखाएका बाटो र सिकाएका पाठले नै मानिस आज मानिस भएर बाँच्न सम्भव भएको हो । यसरी कवितामा मानव सभ्यताका बृहद् आख्यान, चरित्र र सिकाइ आदि कवितामा सलल बगेको अनुभूति गर्न सकिन्छ ।

हेक्का राखौं, जब हामी जीवनक्रममा टुक्रिन्छौं तब हामीले हाम्रो समष्टिगत जीवनको लक्ष्य र अर्थ भुल्दछौं । मानिसबीचको फूट, वैमनस्यताले पोष्टररुपी जीवनको अर्थ नखुलेझैं व्यक्ति वा समाजको एकताले नै सबैको सुन्दर भविष्य सुनिश्चित हुन्छ । जीवनको कुनै कालखण्डमा वा कसैका गुण, दोष भन्दा पनि उसको समग्र योगदान र महत्वलाई बिर्सनु हुँदैन । समाजमा विविधता छ, यसमा एकता भए सुन्दरता बढ्छ ।
अन्तमा, यही सुन्दरताभित्र शिव देखिन्छन्, लेप्मुहाङ भेटिन्छन् । कवितामार्फत् कविले जुन अमृतवाणी दिनु भएको छ, त्यो देववाणीतुल्य छ । कवि गिरीको प्रस्तुत कविता यसरी नेपाली काव्य जगतमा एक अमर रचना बनेको छ । अस्तु ।

Comments are closed.