गुरूहरू सम्झँदै (संस्मरण)

गुरूहरू सम्झँदै (संस्मरण)

डा. नवराज सुब्बा
————–
हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त दुःखद समाचार सुनेर म स्तब्ध भएँ । उहाँ हाङपाङमा हिंडेको, डुलेको, पढाएको झझल्को याद आयो । जे होस्, उहाँ सदा सम्झनयोग्य गुरूपात्र हुनुहुन्छ । उहाँलाई हामी विद्यार्थीले जीवनमा अनुशासन र मर्यादाको द्यौराली अनि शिष्ठता र सालिनताका प्रतिमूर्तिको रूपमा सदा श्रद्धा गर्नेछौं ।
यहि क्रममा मैले अरू सबै मेरा गुरूजन जो हाङपाङमा विद्यालयमा पढ्दाताका मलाई पढाउने, सिकाउने हुनुहुन्थ्यो सबैलाई फिल्मको रील घुमे जसरी सम्झन थालें । अब म त्यही सरस्वती माद्यमिक विद्यालयमा आफूले पढ्दाताकाका अहिले सम्झेका गुरूहरूको पुनः सम्झना गर्दै सामान्य चर्चा गर्न चाहन्छु । नाम छुट भएका गुरूहरूको क्रम म पछि जोड्ने नै छु ।
मलाई कखगघ पढाउने जन्तरेसर अर्थात् वीरवहादुर आङबुहाङलाई म कहिल्यै विर्सन सक्दिन । उहाँ विद्यार्थीलाई फुर्क्याएर, सम्झाएर, जिस्क्याएर पढाउने गर्नुहुन्थ्यो । कहिलकाहिं विद्यार्थीले अटेरी गर्दा ठूलोस्वरमा बोलेता पनि त्यो मायामिश्रित खवरदारी मात्र हुन्थ्यो । पढाएको पाठ आएन भने अरू सरहरूले जस्तो आँखा चिम्लेर लट्ठीले कहिल्यै पिट्नु भएन । उहाँको लौरो भने पनि जे भने पनि हातको त्यै टक्करी नै थियो । टाउकोमा टक्क टक्करी हानेपछि एकछिन ‘आथाथा’ गर्यो, एकैछिनमा निको भैहाल्दथ्यो, धेरैबेर दुख्दैनथ्यो । तर पनि हामी केटाकेटी जन्तरेसरको टक्करी भने पछि निकै डराउँथ्यौं । कहिलेकाहिं भेटेर ती जन्तरेसरको टक्करी अझै खान पाए हुन्थ्यो जस्तो लाग्छ, त्यो मायामिश्रित मीठो टक्करी ।
अलि ठूलो हुँदै गइयो । नरमान मोक्तानसरको फेला परियो । नरमानसरको विषय गणित थियो । उहाँ सारै मेहेनती हुनुहुन्थ्यो । उहाँले पनि लौरोले कहिल्यै पिट्नु भएन । उहाँ त्यत्ति गाली पनि नगर्ने सोझो स्वभावको शिक्षक हुनुहुन्थ्यो । सोधेको जानेन भने ‘खै खै यो मोराको’ भन्दै गाला निमोठ्ने गर्नुहुन्थ्यो । त्यो त्यत्ति दुख्दैनथ्यो, त्यसैले नरमानसरलाई हामी जातीसर भन्दथ्यौं । घरको आर्थिक अवस्था कमजोर भएर उहाँले अरूको घरमा काम गरेर हाईस्कुल पास गरेको र हाल शिक्षक हुनुभएको रे भनेर सबैले श्रद्धाभाव व्यक्त गर्दथे । उहाँ अत्यन्त सरल र विनम्र स्वभावको हुनुहुन्थ्यो । केटाकेटी, बुढाबुढी सबैसित मिलनसार व्यवहार गर्नुहुन्थ्यो । उहाँको शारीरिक बनौट पनि हट्टाकट्टा र खाइलाग्दो थियो । म ६/७ कक्षामा हुँदाताका गणितमा निकै मेहनत गर्नुपर्ने भएकाले केही विद्यार्थी मिलेर नरमानसरको घरमा गएर राती ट्युसन पढ्न थाल्यौं । यसरी ट्युसन पढाएबापत नरमानसरले हामीसंग एकपैसा लिनुहुन्नथ्यो । केवल राती बाल्ने मट्टीतेल जोहो गर्न बोकेर आफै लिएर जानुपर्दथ्यो । ओड्ने ओछ्याउने लिएर जानुपर्ने बाँकी गुन्द्रीपिरा, सुत्नेठाउँको सबै व्यवस्था नरमानसरले गरिदिनु भएको थियो । खाटको व्यवस्था थिएन, मतानघरमा हामी घुँडा धसेर निहुरिएरू बत्तिलाई वरिपरि घेरेर पढ्दथ्यौं । अरू त बिर्सिएँ नारायण यक्सो, उदयराज प्रसाई, नरेन्द्र प्रसाई, जयप्रसाद संग्रौलालाई अझै सम्झन्छु । नरमानसरले राती खाना खाएपछि भेला भएकालाई क–कसको के के पाठ छ सरसर्ती सिकाइ दिनुहुन्थ्यो । अरू त त्यस्तै हो त्यसबेला हाम्रो सुरूवालको घुँडाको चाहिं दोहोलो काडिन्थ्यो । एकै दिनमा सुरूवालको घुँडा भुईमा गुन्द्रीमा रगडिएर प्वाल परिहाल्दथ्यो । दर्जीकोमा धाउनुको सास्ती हुन्थ्यो । राती पिसाव फेर्न उठ्दा साथीहरू आकाशको जुन, तारा हेर्दै कसरी स्वर्ग जाने, के गर्दा स्वर्ग र के गर्दा नर्क पुगिन्छ भनेर आपसमा छलफल गर्दथ्यौं अनि बेलाबेला भूत र करबिरे मसानको कुरा झिकेर आफै डराउँथ्यौं । सुत्नेबेलामा खूब हँस्यौली गर्दथ्यौं । नारायण यक्सोको कुनै कुनै कुरा लिम्बूटोनमा आउँथ्यो । जस्तै उनी मट्टितेललाई ‘मट्टेल’ भन्दथे, त्यसैलाई टिपेर हामी फलानाले फलाना शब्दलाई यसो भन्छ भन्दै मरिमरि हाँस्दथ्यौं । एकजना साथी थिए हरि प्रसाई उनी पदार्थलाई ‘पदाथ’ मात्र भन्दथे । हामी त्यो कुरा पनि निकालेर सुत्ने बेलामा मरिमरि हाँस्दथ्यौं ।
बेनु चुडालसरलाई नचिन्ने मानिस हाम्रो आठराई, तेह्रथूम, ताप्लेजुङतिर कमै थिए । उहाँ शिक्षकहरूमा सर्वाधिक लोकप्रिय हुनुहुन्थ्यो । किनभने उहाँ पढाउने मात्र हैन, खेलकूद शिक्षक हुनुहुन्थ्यो, हाङपाङ स्कुलको भलिबल टिमको झप्पा हान्ने स्म्याचर, नाचगानमा हारमोनियमको गुरू, गायक, कलाकार हुनुहुन्थ्यो । त्यत्ति मात्र हैन उहाँ नाटकमा राम्रो अभिनय पनि गर्नुहुन्थ्यो । उहाँको अभिनय एकपटक देखेपछि मान्छे उहाँकै फ्यान भइहाल्दथ्यो । उहाँको नाम लिनासाथ मानिस उहाँको अभिनय सम्झेर उज्यालो मुहार लाउँथे र हाँस्दथे । उहाँ लिम्बू भाषाको पनि राम्रो ज्ञाता हुनुहुन्थ्यो । दर्शक लिम्बू जातिका उपस्थित भए लिम्बू भाषामै हँसाउनु हुन्थ्यो । उहाँ लिम्बू भाषामै गीत गाउने पालाम गाउने र धान नाच्न जान्नु हुन्थ्यो । पछिपछि हाटमेलामा दोहोरी गीतमा पनि जानुभयो र जित्नुहुन्थ्यो । त्यति मात्र कहाँ हो र उहाँ झारफुक गर्न पनि पोख्त हुनुहुन्थ्यो । त्यसैले बेनुसर यस्तो पात्र हुनुहुन्थ्यो जो शिक्षक मात्र नभएर समाजको अत्यन्त उपयोगी व्यक्ति र सेलिब्रेटी नै हुनुहुन्थ्यो । तपाईहरूलाई अचम्म लाग्ला मेरो र चञ्चलाको शुभविवाहको फेदाङ्मा पनि बेनुसर नै हुनुहुन्थ्यो । उहाँले लिम्बू परम्परा अनुसार एकजना लिम्बूको साथमा मेरो घरमा हाम्रो विवाहकर्म सम्पन्न गरिदिनु भयो । त्यसैले उहाँ मेरो शिक्षक मात्र नभएर जीवनको महत्वपूर्ण कर्मसित गाँसिएको एक विशिष्ठ व्यक्ति हुनुहुन्छ, उहाँलाई म बिर्सने कल्पनै गर्न सक्दिन ।
मलाई बाल्यकालमा अंग्रेजी सिकाउने मध्ये एकजना थिए पिसकोर कार्यक्रम अन्तर्गत खटिएर आएका अमेरिकी नागरिक पिटर । हामी अंग्रेजी शब्द ‘स्कुल’लाई लेख्दा ‘स्कुल’ नै लेख्छौं तर पढ्दा वा बोलिचालिमा ‘इस्कुल’ भन्दछौं । उहाँले ओंठ गोलो पारेर ‘स्स्स्कुल’ भन्न लगाउनु हुन्थ्यो । यसैगरि अंग्रेजी शब्द ‘स्टुडेण्ट’लाई हामी ‘इस्टुडेण्ट’ उच्चारण गर्दछौं र बोलिचालिमा पनि ‘इस्टुडेण्ट’ नै भन्दछौं । उहाँले यो शब्दोच्चारण गर्न हामीलाई उही ओठ गोलो पार्न लाएर ‘स्स्स्टुडेण्ट’ भन्न लगाउनु हुन्थ्यो । यसबेला हामी मरिमरि हाँस्दथ्यौं, यो के गराएको होला भनेर । तर अझै पनि हाम्रो अंग्रेजी शब्दोच्चारण सही हालतमा छैन । यसरी अंग्रेजी शब्दोच्चारण समस्या परेको बेलामा म घरिघरि उही पिटर गुरूलाई सम्झन्छु ।
हाङपाङको सरस्वती माद्यमिक विद्यालयबाट एसएलसी पास गर्ने वित्तिकै शिक्षकमा नियुक्त हुने प्रल्हाद प्रसाई कक्षाको प्रतिभाशाली विद्यार्थी हुनुहुन्थ्यो । दशकक्षा पास गरेर दशकक्षालाई नै पढाउने शिक्षक भनेर मानिस कुरा गर्दथे । जेहोस् विस्तारै राम्रो शिक्षकको रूपमा उहाँ स्थापित हुनुभयो । उहाँले विद्यालयमा शिक्षण गर्दागर्दै प्राइभेट विद्यार्थीको रूपमा विराटनगर केन्द्र गरी त्रिभुवन विश्वविद्यालयबाट आई.ए.र बि.ए. पास गर्नुभयो । कीर्तिपुरबाट सरकारी कोटामा बि.एड. पनि पास गर्नुभयो । पछि लोकसेवा आयोगमा प्रशासन र परराष्ट्र सेवा दुवैमा नाम निकालेर परराष्ट्र सेवामा प्रवेशगरि राजदूत पदसम्म सम्हालेर सेवानिवृत्त हुनुभयो । उहाँ मेरो प्रिय गुरू सायद म पनि उहाँको प्रिय शिष्यमध्येको एक थिएँ । मैले उहाँसित धेरै सरसंगत गरें । उहाँको घरमा राती गएर ट्युसन पनि पढें । किताबी ज्ञानको अतिरिक्त तर्कशास्त्र, विज्ञान, प्रविधि, र व्यक्तित्वविकासका धेरै कुरा मैले उहाँबाट सिकें । उहाँले सिकाएर नै मैले प्रत्येकदिनको डायरी लेख्न थालेको विद्यालयस्तर देखि नै हो, जो बीचबीचमा टुटेपनि अहिलेसम्म पनि कुनै न कुनै रूपमा कायम नै छ । उहाँले अर्को कुरा रूपरेखा, मधुपर्क र गरिमा पढ्न सिकाउनु भयो । धेरैवर्षसम्म नियमित रूपमा मधुपर्क र गरिमा किनेर संग्रह पनि गरें । उहाँले अन्तराष्ट्रिय मञ्च, साइन्स टुडेजस्ता पत्रपत्रिका नियमित रूपमा पढ्ने बानी बसाइदिनु भयो । गाउँघरमा हिंड्दा, डुल्दा म उहाँसंग कक्षागत विषयका अतिरिक्त जीवन र जगतका विविध जिज्ञाशालाई लिएर व्यापक र गहिरो तर्कवितर्क गर्दथें । तर्क गर्दागर्दै लाग्दथ्यो, कहिलकाहिं उहाँ दिक्क पनि हुनुभयो । मैले भौतिकवादी वैज्ञानिक चिन्तनशैलीको प्रशिक्षण उहाँबाटै पाएँ । धार्मीक ग्रन्थ तथा आध्यात्मिक दर्शनलाई कसरी बुझ्ने भन्ने प्रारम्भिक ज्ञान पनि मैले उहाँबाटै पाएँ । व्यक्तित्व विकासमा म उहाँको योगदानको उच्च कदर गर्दछु ।
अर्का गुरू हुनुहुन्थ्यो श्रीकृष्ण प्रसाई । उहाँ फेशनप्रति अलि ख्यालगर्ने स्वभावको हुनुहुन्थ्यो । अलि खरो स्वभावका देखिने श्रीकृष्णसरसित विद्यार्थी अलि डराउँथे । उहाँसित अरू त त्यस्तै हो पाठ बुझाउन नसक्दा सारै नराम्ररी भाटाले पिट्नु हुन्छ रे भनेर विद्यार्थी कुरा काट्थे । एकचोटी विद्यालयमा मैले साहित्य गोष्ठीमा लालीगुराँस शिर्षकमा कविता लेखेर वाचन गरेको थिएँ । गोष्ठी सकिएपछि पछि ‘तिमीले माओको कविता लेख्नु पर्दैन’ भनेर भन्नु भयो । म अक्कबक्क परें । यसको अर्थ उहाँ त्यसबेला कम्युनिष्ट लहरबाट प्रभावित हुनुहुँदो रहेछ । हुन पनि उहाँ बोल्न कसैसित नडराउने स्वभावको हुनुहुन्थ्यो । त्यो फलाना यस्तो, चिलाना यस्तो भनेर सिधै आलोचना गरिदिनु हुन्थ्यो । हामीलाई उहाँ स्पष्टवक्ता जस्तो लाग्दथ्यो । कम्युनिष्टलाई त्यतिबेला जागिर खान कठीन थियो । तर उहाँले जालपा पाण्डे दिदीलाई विवाह गरेपछि केही गरेर देखाउने हिसाबले हाङपाङ छाडेर काठमाडौं जानुभयो । नभन्दै सरकारी सेवामा प्रवेश गरेर पश्चिम नेपालमा धेरै कालखण्ड सेवा गर्नुभयो । यसरी श्रीकृष्णसरले संघर्षशीलता र चलाखीपूर्वक समयलाई आफ्नो पार्नुभयो । हाङपाङ हुँदा अत्यन्त विद्रोही स्वभावका जस्ता लाग्ने श्रीकृष्णसर अहिले यस्तो विनम्र देख्दा मलाई अचम्म लाग्छ । उहाँमा त्यसबेला नेतामा हुने गुणहरू प्रसस्त थिए । उहाँ हाल समाजसेवामै रम्नु भएको छ ।
काजीमान यक्सो केएमसर यस्तो शिक्षक हुनुहुन्थ्यो जो भाषण गर्नुपर्यो भने घण्टौं धाराप्रवाह बोल्न सक्नुहुन्थ्यो । पछि एकपटक उहाँ हाङपाङ गाउँमा उपप्रधानपञ्चमा पनि निर्वाचित हुनुभयो । उहाँमा काव्यिक क्षमता थियो । अंग्रेजी पनि धाराप्रवाह बोल्नुहुन्थ्यो । प्रल्हाद प्रसाई अर्थात् पीपीसर र उहाँ घरबाट विद्यालय आउँदा जाँदा बाटोमा अंग्रेजीमा फरर गफ गरेर सबैलाई चकित पार्दैै विद्यार्थीलाई अंग्रेजी बोल्न प्रोत्साहित गर्नुहुन्थ्यो । केएमसर जापानको पक्षधर अनि पीपीसर अमेरिकाको पक्षधर भएर वादविवाद गर्नुहुन्थ्यो । तिम्रो अमेरिकामा के छ हाम्रो जापानमा यस्तो छ भनेर केएमसर बोल्नु हुन्थ्यो । पीपीसर केएमसरलाई तिम्रो जापानमा के छ हाम्रो अमेरिकामा यस्तो छ भनेर रमाइलो छलफल गर्नुहुन्थ्यो । अमेरिका र जापानको बारेमा जानकारी बटुल्न उहाँहरू पत्रपत्रिका हेर्ने, रेडियो सुन्ने गर्नुहुन्थ्यो । हामी विद्यार्थीहरू उहाँहरूको त्यो रमाइलो अनि वौद्धिक गफ ट्वाल्ल परेर हेर्दथ्यौं र सोच्दथ्यौं म पनि कहिले यसरी बोल्ने होला ।
सरस्वती माद्यमिक विद्यालयमा एकताका राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत स्नातकोत्तर तहमा अध्ययन सम्पन्न गरेपछि वा नेपाल सरकारको छात्रवृत्तीमा विदेशमा स्नातकोत्तर तह पास गरेर आएपछि दुर्गम स्थानमा एक वर्ष अवधि स्वदेशको सेवा गर्नुपर्दथ्यो । सोही क्रममा काठमाडौंबाट इन्जिनियरिङ कोर्ष सम्पन्न गरेर आएका दुईजना होनहार व्यक्तिहरू शिक्षकको रूपमा हाम्रो विद्यालयमा पायौं । आठकक्षामा हुँदा श्यामकृष्ण पौडेल आउनुभयो । उहाँले गणित र विज्ञान पढाउनु भयो । नयाँ शिक्षा भर्खर लागेको बेला थियो, हरेक महिना एकाई परीक्षा हुन्थ्यो । श्यामकृष्णसरले गणितमा मलाई एकाई परीक्षामा फुलमार्कसम्म दिनु भयो । मैले त्योभन्दा अघि परीक्षामा त्यस्तो पूर्णाङ्क पाएकै थिइन । पछि वार्षिक परीक्षामा पनि विशिष्ठ श्रेणी अर्थात् डिष्टिङसन अंक ल्याएर ९ कक्षामा चढें । नौकक्षामा पुगेपछि गौतमबुद्ध मानन्धरसर आउनु भयो । उहाँ विज्ञान, गणितमा खप्पिस हो तर बुझाउने कला श्यामसरको भन्दा फरक थियो । उहाँले हामीलाई गणित, विज्ञान आफ्नै शैलीमा बुझ्नेगरि राम्ररी पढाउनु भयो । पछि पनि गाउँबाट काठमाडौं पढ्न जाने हामीलाई उहाँले धेरै सहयोग गर्नुभयो ।
अर्का आदरणीय गुरू हुनुहुन्थ्यो– रूद्रकुमार प्रसाई । उहाँले रामपुर चितवनबाट कृषिमा स्नातक पढ्नु भएको थियो । हामीलाई व्यवसायिक शिक्षा कृषि र जीवविज्ञान पढाउनु भयो । उहाँ सरल स्वभावका भद्र शिक्षक हुनुहुन्थ्यो । विद्यार्थीलाई गाली नगर्ने, पाठ नआउँदा पनि सामान्य रूपमा ‘फटाहा’ सम्म भन्ने तर विद्यार्थीलाई सजायँ दिने काम उहाँले कहिल्यै गर्नुभएन । कक्षामा पनि सरल ढंगले पढाउनु हुन्थ्यो । उहाँ व्यवहारिक र परिपक्व हुनुहुन्थ्यो । उहाँले पनि सरस्वती माद्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक पद सम्हालेर विद्यालय, समाज, शिक्षाजगत र राष्ट्रसेवामा अमूल्य योगदान पुर्याउनु भयो ।
हामी असल, सुधो मानिसलाई गाईप्राणी भन्दछौं । एकपटक त्यस्तै स्वभावका गुरू हुनुहुन्थ्यो हाङपाङमा । हाङपाङको मेहेले घर भएका गुरू गोविन्द आचार्यलाई प्रायः हामी गोविन्दगुरू भन्दथ्यौं । उहाँले मलाई चारकक्षादेखि सातकक्षासम्म नेपाली र संस्कृत विषयहरू पढाउनु भयो । कक्षामा पाठ पढाई सकेपछि मीठामीठा कथा, नीतिकथा आदि सुनाउनु हुन्थ्यो । हामी विद्यार्थी कक्षामा कथा सुन्न भनेपछि फुरूङ्ग पर्दथ्यौं । उहाँले विद्यार्थीलाई कहिल्यै पनि ठूलो स्वरले हपार्नु भएन । पिट्ने त कुरै छाडौं । सम्झिल्याउँदा, सारै असल गुरू । विस्तारै बोल्ने, भद्र स्वभावका अत्यन्त सरल र इमान्दार गुरू हुनुहुन्थ्यो गोविन्दगुरू । उहाँले पढाएका संस्कृतका केही श्लोक म अझै सम्झन्छु । अझै पनि कतै संस्कृतका श्लोक देखें भने म उनै गोविन्दगुरूलाई सम्झन्छु । अर्का प्रतिभाशाली गुरू हुनुहुन्थ्यो, उद्वव तिमल्सिना, कसैकसैले उहाँलाई जुँगेगुरू पनि भन्दथे । आठराई खाम्लालुङतिरका गुरू विद्वान हुनुहुन्थ्यो । काव्यरचना गर्न अर्थात् छन्दमा कविता रचना गर्न उहाँले हामीलाई सिकाउनु भयो । उहाँले हामीलाई कक्षा आठदेखि दश कक्षासम्म नेपाली विषय पढाउनु भयो । म अहिले पनि छन्दका कविता सुन्दा उहाँलाई झल्झली सम्झन्छु ।
म अब नाम नलिईकनै हामीलाई पढाउने केही गुरूहरूको पढाउने शैलीको टिप्पणी गर्दैछु । एकजना प्रतिभाशाली सर हुनुहुन्थ्यो सारै जोशिलो तथा छटपटे स्वभावको । त्यसबेला शिक्षकले कुर्सीमै बसेर टेवलमा पुस्तक, फायल आदि राखेर पढाउँथे । उनको स्वभाव थियो कि पढाउँदै गएपछि कुर्सीमा हल्लिने । बीचबीचतिर जोश आएको बेला कुर्सी नै भाँचिएला कि जस्तो गरी उहाँ मच्चिनुहुन्थ्यो । कोहीकोही साथी मुख छोपेर हाँसो दबाएर हाँस्दथे तर सरले प्रायः चाल पाउँदैनथे । एकपटक कक्षामा बेञ्चमा नअँटेर दुई बेञ्चको बीचमा भाँचिएको कुर्सीलाई भित्तामा अडाएर राखिएको थियो । संयोगले त्यो बेञ्चमा बस्ने म परेंछु । उहाँ सर आउनु भयो, पढाउन थाल्नुभयो र त्यसरी नै हल्लिन थाल्नुभयो । यता म पनि पढाईको सुरमा सरजस्तै कुर्सीमा हल्लिन थालेंछु । मलाई वास्ता भएन । तर उनैसरले पो मतिर हेरेर हाँसेको जस्तो लाग्यो र यसो विचार गरेको त म पनि सरकै तालमा सरलाई जिस्काए जस्तो गरी कुर्सीमा हल्लिएँछु । मैले गल्ती गरेको थाहा पाएर झसङ्ग भएपछि त्यसबेला सरसंगै हामी विद्यार्थीको हाँसोको फोहरा छुट्यो ।
अर्का एकजना आदरणीय सर हुनुहुन्थ्यो । उहाँ कक्षामा पसेपछि हामी सबै जुरूक्क उठ्थ्यौं र ‘बस’ भनेपछि बस्दथ्यौं । उहाँ हामीमध्ये एकजना विद्यार्थीको किताब लिएर एकछिन ओल्टाईपल्टाई गरेपछि, ‘ल यति पेज नम्बर पल्टाऊ त’ भन्नुहुन्थ्यो । हामी पनि उहाँले भनेको पेज खोजेर किताब पल्टाएर उहाँको मुहार हेर्दथ्यौं । उहाँ पुस्तक फरर पढ्नु हुन्थ्यो । हामी पनि उहाँले जहाँ जहाँ पढ्नु भो त्यही पछ्याउदैं किताब हेर्दथ्यौं । पाठ छोटो भए पाठको अन्तमा तथा पाठ लामो भए पाठको बीचमा पुगेर उहाँ रोकिनुहुन्थ्यो । र हामीतिर फर्केर सोध्नुहुन्थ्यो– ‘बुझ्यौ?’ नबुझे पनि हामी एक स्वरमा भन्थ्यौं ‘बुझ्यौं सर’ । अनि आफूले लिएको किताब सोही विद्यार्थीलाई फर्काएर सबैलाई भन्नुहुन्थ्यो– ‘ल, अब तिमीहरू आफै पढ’ । तब हामी पनि अघि सरले पढेजस्तै कक्षा उचाल्नेगरि स्वर मिलाएर पढ्ने गर्दथ्यौं । हामीले पढ्दा निकालेको आवाजमा हराउँदै ती सर एक्कैछिनमा कुर्सीमा झकाउन थाल्नुहुन्थ्यो र कहिलेकाहीं निदाउनु हुन्थ्यो । सर निदाएको केहीबेर पछि विद्यार्थीहरूको खासखुस सुरू हुन्थ्यो । कोही विद्यार्थी हाँसेको, चलेको सुनेर झस्किदै ब्युझिएर दर्बिलो स्वरमा हपार्नु हुन्थ्यो– ‘खै पढेको, पढ भनेको’ ।
अब म त्यसबेला हामीलाई विद्यालयमा पढाउने गुरूहरूको पढाउने शैलीको पनि थोरै चर्चा गरौं कि जस्तो लाग्यो । हेडसर गणेश राईसरले पढाएको कक्षाबाहिर सुनिदैन थियो, उहाँ विस्तारै बोल्नु वा पढाउनु हुन्थ्यो । तर प्रल्हाद प्रसाईसर र श्रीकृष्ण प्रसाईसरले पढाएको चाहिं कक्षाबाहिरै मजाले सुनिन्थ्यो । अर्थात् कडा स्वरमा स्पष्ट ढंगले पढाउने गर्नुहुन्थ्यो । उहाँहरूले त्यसरी चर्को स्वरमा पढाएको सुनेर हामी विद्यार्थी उहाँहरूलाई पढाउन जान्ने कड़ासर भनेर बुझ्दथ्यौं । हुन पनि उहाँहरूमा आफूले बुझेको, जानेको कुरा अरूलाई बुझाउनलाई चाहिने राम्रो सम्प्रेषणीय क्षमता थियो ।
यसरी बाल्यकालमा मलाई पढ्न सिकाउने अन्य शिक्षकहरूमा गुरूमा पद्मा प्रसाई, कृष्णकुमारी प्रसाई, विद्या राई तथा गुरूहरू विद्याराज प्रसाई, रविन्द्र चुडाल, देवकृष्ण प्रसाई, रामकृष्ण प्रसाई, खड्ग पाण्डे, तथा बाटो देखाउने विष्णुदत्त आङबुहाङ, गंगाराज प्रसाई, चन्द्र ओली, केवलबहादुर राना मगर, हर्क यक्सो, रामप्रसाद प्रसाई तथा अहिले नाम छुटेका लगायत गुरूजनलाई म सदा सम्झन्छु र मनमा नमन गर्दछु । मैले माथि उल्लेखित गुरूहरू मध्ये कतिपय स्वर्गीय हुनुभयो, म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । हाल सेवानिवृत्त जीवन बिताइरहेका गुरूजनमा सुख, शान्ति र दीर्घजीवनको कामना गर्दछु । गुरूको आशिर्वाद बिना जीवनको सार्थकता असम्भव छ । अन्त्यमा, उहाँहरूले गौरव गर्न योग्य शिष्य बन्न सकौं, यहि आशिर्वाद पनि माग्दछु ।
सेवारो ।

Comments are closed.