मुक्कुलुङ अर्थात् पाथिभरा देवी

मुक्कुलुङ अर्थात् पाथिभरा देवी

डा. नवराज सुब्बा
—–
पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा धान भर्दा जस्तो देखिन्छ त्यस्तै देखिने डाँडो भएको सादृश्यमा पाथिभरा नामाकरण भएको यस स्थलमा शक्तिको वास छ भन्ने विश्वासको आधारमा पाथिभरा माताको प्रादुर्भाव भएको जनश्रुति छ । यसरी किरातकालीन मुन्धुममा आउने स्थल मुक्कुलुङ आज हिन्दूहरू समेतकी आस्थाकी देवी शक्तिरूपा पाथीभरा माताको पवित्र तीर्थस्थल हो । हालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा जाने भीडमा आदिवासी लिम्बू जाति भन्दा बढी नेपाल र भारतबाट हिन्दू तीर्थालुको लर्को देखिन्छ । यसैले म पाथिभरादेवी जसलाई आदिवासी लिम्बूले मुक्कुलुङ साम्माङको शक्तिको रूपमा मात्र नभएर शक्तिरूपा पाथिभरादेवीलाई पुज्न जाने तिर्थालु सबैलाई एकैठाउँमा ल्याइदिएको देख्दछु । आदिवासी किरात लिम्बू तथा सनातन हिन्दूको समन्वय भएको यो धार्मीक स्थल र साँस्कृतिक दोभान एक आस्थाकेन्द्रको रूपमा प्रसिद्धि बढ्दो छ । भौगोलिक रूपमा ३७९४ मीटरको उँचाईमा अवस्थित शुन्दर प्राकृतिक भूमिका अवस्थित तीर्थस्थलले ताप्लेजुङ जिल्लाको पर्यटनको सम्भावना पनि बढेको छ ।

आस्थाकी देवी पाथिभराको नाममा विराटनगरमा पनि शक्तिपीठको स्थापना र सामाजिक सेवाको प्रारम्भ भइसकेको छ । आफूलाई पाथिभरादेवीको शक्तिप्राप्त भएको ठान्ने एक व्यक्तिले समाजमा एकप्रकारको धार्मीक तथा आध्यात्मिक तरङ्ग ल्याएको तथा यसले जनआस्था आर्जन गरेको देखिन्छ । विराटनगर कुशलटोलस्थित शक्तिपीठले केही उल्लेखनीय समाज सेवा गर्ने गरेको चर्चा सुनिन्छ । मूलतः पाथिभरा देवीलाई मनको ईच्छा पूरा गर्ने शक्तिकी देवीको रूपमा विश्वास गरिन्छ । यसउसले यस शक्तिपीठमा पनि मानिस आफ्नो अपूर्ण मनोकांक्षा पूर्णता हेतु आउने गरेको चर्चा छ । यसमा मेरो भन्नु केही छैन ।
म एक जनस्वास्थ्यकर्मी भएकाले म जनस्वास्थ्य र समष्ठिमा समाजसेवासित यस पीठको गतिविधिलाई जोडेर केही चर्चा गर्दैछु । हाम्रो समाज विभिन्न शारीरिक, मानसिक तथा सामाजिक रोगले पीडित छ । मानिसहरू अनादिकालदेखि नै परम्परागत उपचार पद्धतिसित गाँसिदै आएका छन् । समाजमा आत्मा परमात्मा जान्ने मानिसले विभिन्न रूपमा धेरैको उपकार गर्ने गरेका छन् । आधुनिक स्वास्थ्य सेवाले सबैलाई सेवा पु¥याउन सकेको छैन, कतिपय रोग आधुनिक चिकित्साले निको भएको पनि छैन, यसअवस्थामा मानिसहरू वैकल्पिक सेवा खोज्न लालायित हुनु अस्वभाविक पनि होइन । यसै सन्दर्भमा विराटनगर कुशलटारस्थित शक्तिपीठले मानिसको शारिरीक र मानसिक स्वास्थ्यको जटिलतम् अवस्थामा परामर्श सेवा दिने कार्य भएको सुनें । म यसलाई स्वभाविक रूपमा लिन्छु । वैज्ञानिक रूपले सिद्ध गर्न नसकिने तर जनआस्था र विश्वासको आधारमा मनमा शान्ति तथा आत्मिक सुख हेतु विभिन्न शक्तिपीठमा गरिने तिर्थयात्रालाई हाम्रो समाजले सांस्कृतिक रूपमा लिएको छ । थप कुरा, गरिब असहायलाई भोजन, बास र शिक्षादीक्षा दिने जस्ता मानवीय सेवा गर्ने प्रयास पनि यस शक्तिपीठमा भएको थाहा पाएर खुशी लाग्यो ।

धार्मीक तथा आध्यात्मिक रूपमा प्रसिद्धि बढ्दै गएको यस शक्तिपीठले महत्वाकांक्षी सामाजिक सेवाको लक्ष्य लिएको बुझिन्छ । सीमांतकृत समुदाय र वर्गलाई प्राथमिकतामा राखेर मानवधर्मलाई बचाउँन शक्तीको सदुपयोग गर्न खोज्नेलाई समाजले पनि उचित स्थान दिनु पर्दछ । शक्तिपीठमा शारीरिक सुख, मानसिक शान्तिका लागि विभिन्न उपायहरूको प्रशिक्षण भजन, योग शिविर हुने गरेको थाहा पाएँ । यसले समाजमा आत्मबल र आत्मविश्वास हासिल गर्न, मानसिक स्वास्थ्य प्रदान गर्न तथा आत्मिक शान्ति प्राप्त गर्न टेवा दिन्छ । आधुनिक स्वास्थ्य विज्ञानले पनि योग, ध्यान, भजन आदिले मानिसलाई आत्मिक शान्ति प्राप्त हुने भनेको र यसले मानिसको मानसिक स्वास्थ्यको प्रबर्धनमा सघाउ पुग्ने कुरा स्वीकार गरेको छ ।

धार्मीक तथा आध्यात्मिक दृष्टिले शक्तिपीठले आफ्ना क्रियाकलाप र सेवा बढाएको खण्डमा यसले समाजलाई बढी योगदान दिने देखिन्छ । मानसिक स्थिति स्वस्थ राख्न ध्यान, योग साधनाको माध्यमबाट मन स्थिर, शान्त र सामान्य बनाउन मद्दत पुग्ने तथ्य बैज्ञानिकहरूले पनि स्वीकार गरेका छन् । यसमा शक्तिपीठ उपयोगी हुने देखिन्छ । भारतीय मठहरूमा चिकित्सालय, अनाथालय, छात्रावास सेवाका अतिरिक्त शिक्षालय पनि संचालन गर्ने परम्परा देखिन्छ । खाँचो र आवश्यकताको बीचमा यहाँको माटो सुहाउँदो ढाँचामा यो शक्तिपीठ अगाडि बढोस् भन्ने कामना गर्दछु । मानव सेवाको सत्मार्गमा शक्तिपीठ जसरी हिड्न खोजेको छ, यसमा समाज र राज्यको पनि साथ मिलोस् । मुन्धुममा मानवजातिको उत्थानमा शक्तिको महिमा गाइएझैं, हिन्दू परम्परामा असत्यमाथि सत्यको विजय गर्ने र मनोकांक्षा पूरा गर्ने शक्तिरूपाको रूपमा विश्वास गरिएकी पाथिभरा माताको नाममा स्थापित शक्तिपीठले उही मानवसेवालाई आफ्नो मार्गसिद्धान्त बनाएको हुँदा, यसमा सफलता मिलोस् र मानवजातिलाई सुश, शान्ति मिलोस् भनेर प्रार्थना गर्दछु ।

(आकस्मिकता, सामयिक प्रकाशन, हिडपा साहित्य परिवार, २०७५)

Comments are closed.