पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

डा. नवराज सुब्बा

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ति चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चश्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रीत छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।

साहित्य के हो भन्ने बारेमा पूर्वीय सिद्धान्त र अवधारणा निक्कै पुरानो छ । विभिन्न आचार्यहरूको मतहरूलाई सरसर्ती हेरौं । आचार्य भामह भन्दछन्– “शब्दार्थो सहितौ काव्यम्” अर्थात् शव्द र अर्थको सहभाव नै काव्य वा सहित्य हो । आचार्य रूद्रट भन्दछन्– “ननु शब्दार्थौ काव्यम्” अर्थात् शब्द र अर्थ नै काव्य हो । आचार्य मम्मट भन्दछन्– “तददोषी शब्दार्थौ सगुणावनलंकृती पुनः क्वापि ।” अर्थात् दोषरहित, गुणसहित, अलङ्कारयुक्त शब्दार्थ नै काव्य हो । रसवादी आचार्य मम्मटको उक्त परिभाषा साहित्यमा निकै महत्वपूर्ण मानिन्छ । उनले काव्यको चरित्र तथा अलङ्कारलाई महत्व दिंदै साहित्य उपयोगी समेत हुनुपर्ने कुरा बताएका छन् । तर साहित्य दोषरहित पनि हुनुपर्छ भन्ने उनको मापदण्ड भने अव्यवहारिक देखिन्छ भनि आलोचना गरिएको छ ।

आचार्य बाग्मटका अनुसार “गुणालंकाररीतिरसोपेतः साधुशब्दार्थसन्दर्भ काव्यम् ।” अर्थात् गुण, अलङ्कार, रीति र रसले युक्त सुन्दर शब्दार्थ, समूह नै साहित्य हो । उनको मतमा साहित्य समग्रमा अङ्ग पुगेको, सुन्दर र सार्थक हुनुपर्छ । यसैगरी जयदेवका अनुसार दोषरहित, तथा गुण, अलंकार, लक्षण, रीति र वृत्तिले युक्त वाक्य नै काव्य वा साहित्य हो । उनले साहित्य दोषरहित होस्, गुनिलो र अलङ्कारयुक्त होस् तथा प्रस्तुतिमा लक्षणायुक्त र रीत बमोजिम निर्माण गर्नलाई सुझाएका छन् । आचार्य विश्वनाथका अनुसार “वाक्यम् रसात्मकम् काव्यम्” अर्थात् रसयुक्त वाक्य नै काव्य वा साहित्य हो । उनले साहित्यमा रस अनिवार्य तत्वको रूपमा जोड दिएका छन् । यसरी संस्कृत साहित्यलाई सरसर्ती हेर्दा त्यहाँ रीत, अलङ्कार, गुण र रसका चर्चा प्रमुख रूपमा गरिएका छन् । यसैले संस्कृत साहित्यशास्त्रलाई अलङ्कारशास्त्र पनि भन्ने चलन छ ।

हिन्दी साहित्यका समालोचक महावीरप्रसाद द्विवेदीले साहित्यलाई ज्ञानराशीको सञ्चितकोष मानेका छन् । उनले साहित्यलाई मनोरञ्जनको साधन मात्र हैन यो ज्ञानपूर्ण पनि रहोस् भन्ने मान्यता राखेको पाइन्छ । हिन्दी उपन्यासकार प्रेम चन्दले भने साहित्य भनेको जीवनको आलोचना भनेका छन् । उनले साहित्यले जीवनको राम्रा नराम्रा पक्षहरू केलाएर देखाओस् ता कि यसले समाजलाई सुधार्न केही पाठ पनि सिकाओस् भन्ने मान्यता उनको परिभाषामा अन्तर्निहित रहेको देखिन्छ । समालोचक गुलाबरायको मतमा साहित्य भनेको संसारप्रतिको मानसिक प्रतिक्रिया अर्थात् विचार, भाव तथा संकल्पको शाब्दिक अभिव्यक्ति हो । उनले साहित्यलाई स्वतन्त्र ढङ्गले लेख्नको लागि जोकोहीलाई प्रोत्साहन गर्ने अन्तर्भाव परिभाषामा समेटेका छन् ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सजीव अनुभवहरूको कलात्मक प्रकाशनलाई नै साहित्य भनेका छन् । देवकोटाले पहिले भावपक्ष र त्यसपछि शैलीपक्षलाई जोड दिएर साहित्य लेखिनु पर्नेमा जोड दिएका छन् । उपन्यासकार रूद्रराज पाण्डेले व्यक्तित्वको अभिव्यक्ति अर्थात् वैयक्तिक आत्मरागको प्रकाशनलाई साहित्य भनेका छन् । उनले व्यक्तिको आत्मकेन्द्रीतपक्ष र दृष्टिकोणबाट उद्घाटित हुने वस्तु साहित्य भएको आसय परिभाषामा व्यक्त गरेका छन् । सोमनाथ सिग्देलले सर्वसाधरणलाई मुग्ध पार्ने अभिव्यक्तिलाई पनि साहित्य भनेका छन् । उनले साहित्य क्लिष्ट नहोस् र सर्वसाधरणको पहुँच बाहिर नजाओस् भनेर सायद उनले साहित्य मनोरञ्जनयुक्त पनि होस् भन्ने धारणा परिभाषामा समेटेका छन् ।
यसरी पूर्वीय बाङ्मयभित्र विचरण गर्दा विभिन्न अवधारणाहरू आपसमा मिसिएका, ठोक्किएका, जुधेका अवस्थामा छन् । तापनि यिनीहरूको मोड भने करिव एउटै दिशातिर उन्मुख छ । साहित्यलाई परिभाषित गर्ने तथा साहित्य किन र कसरी सिर्जना गर्ने भन्ने सवालमा पूर्वीय वाङ्मय स्पष्ट रूपमा भन्छ– साहित्य भनेको जीवन जगतप्रतिको मानवीय अनुभव, अनुभूति, धारणा, दृष्टिकोणको कलात्मक एवम् सौदर्यपूर्ण भाषाशिल्पका माध्यमबाट गरिने सिर्जनात्मक अभिव्यक्ति हो, जसमा बौद्धिकता, हार्दिकता एवम् कल्पनाको प्रचुरता रहन्छ । पूर्वीय साहित्य समालोचना गर्दा विभिन्न आधारलाई मापदण्डको रूपमा लिइन्छ, जस्तै– साहित्यको परिभाषा अनुसार सिर्जनात्मक मूल्याङ्कन, साहित्यिक हेतु, साहित्यिक प्रयोजन, साहित्यमा प्रयुक्त शब्दशक्ति अर्थात् अभिधा, लक्षणा र ब्यञ्जना आदिको प्रयोग आदि ।

अब हामी पाश्चात्य वाङ्मयतर्फ लागौं । पाश्चात्य साहित्य जगतमा साहित्यलाई परिभाषित गर्ने दृष्टिकोण अझ व्यापक छ । परिष्कारवादी टि.एस. ईलियटको मतानुसार परिष्कृत साहित्य प्रौढ मष्तिष्क, प्रौढ सभ्यता र प्रौढ भाषायुक्त साहित्यलाई नै परिष्कृत अर्थात् क्लासिकल साहित्य मानिन्छ । त्यस्तो साहित्य सार्वभौमिक र सार्वकालिक हुन्छ । यसले साहित्यलाई प्रौढता र परिष्कारसंग गाँसेको छ । यसले साहित्यको मापदण्ड स्पष्ट रूपमा कोरेको छ । अर्को पाश्चात्य साहित्य सिद्धान्त स्वच्छन्दतावाद भने स्वतन्त्र र उदार छ । जसअनुसार परम्परामुक्त, स्वच्छन्द अभिव्यक्ति प्रणालीमा आधारित, तर्क र बुद्धिको साटो भावना र भावुकता, वस्तुपरकता भन्दा आत्मपरकता, विवेक नियन्त्रितको साटो हार्दिकता, सचेत आयोजनको साटो सहजता वा स्वतःस्फूर्तता, यथार्थको साटो सहजता, स्वतस्फूर्तता, वास्तविकताको साटो कल्पना अनि चेतनमनको साटो अवचेतन मनमा आधारित साहित्यलाई स्वच्छन्दवादी साहित्य भनिएको छ । यसरी परिष्कारवादले साहित्यलाई अलि उपल्लो तहको वस्तुको रूपमा स्थापना गर्न खोजेको छ भने स्वच्छन्दतावादले जो कोही कल्पनाशील, कलाकार वा सिर्जनशील व्यक्तिसामू साहित्य पु¥याइदिएको छ ।

तर यिनै परिष्कृतवादी तथा स्वच्छन्दतावादी साहित्य लेखनविरूद्ध पश्चिमी साहित्यमा सन् १८३० तिर यथार्थवादी लेखनको प्रारम्भ भयो । यथार्थवादी लेखनले जीवन र जगतलाई यथातथ्य एवम् निष्पक्ष भावले हेर्ने र त्यस्तै किसिमले तिनको चित्रण–अङ्कन गर्ने मान्यता राख्दछ । यस वादले भावुकता र काल्पनिकताको साटो भौतिकतामा विश्वास गर्दै यथार्थ सामाजिक वस्तुगत अङ्कन साहित्यमा फोटोग्राफी जस्तै प्रस्तुत गर्ने गर्दछ । यस वादमा घटना, परिवेशको यथार्थ चित्रण आएता पनि चित्रले नभेटेका पक्ष जस्तै भावना, विचार र सन्देश आदि गौंण रहन्छन् । यस्तै अर्को वाद छ– प्रकृतवाद, प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपबिना निर्वैयक्तिक चित्रण गर्ने गर्दछ । यसले साहित्यमा मानवतावादी, नैतिक, धार्मिक दृष्टिकोण विपरित विशुद्ध प्राकृत वा प्रकृतिवादी पाशविकताको चित्रण गर्ने बाटो पनि खुलाइदिएको छ ।

यसैगरि, अर्को पाश्चात्य वाद छ अतियथार्थवाद । अतियथार्थवादी साहित्यकारहरू अवचेतन मनका गूढ रहस्यहरूको अभिव्यक्तिहरूलाई स्वचालित लेखनप्रणालीको माध्यमद्वारा साहित्य सिर्जना गर्ने गर्दछन् । अतियथार्थवादीहरू स्वप्न, विभ्रम, अर्धजाग्रम अवस्था आदिको खोजमा हुन्छन् । यिनीहरू समून्द्रको गर्भरूपी अवचेतनमा डुबेको भागका कतिपय आयामलाई प्रकट गर्न स्वप्न र स्वप्नसादृश मानसिक अवस्थाका विशिष्ठ विम्वविधानको प्रयोग गर्ने गर्दछन् । यो वादले नेपाली काव्यक्षेत्रलाई पनि आकर्षित गरेको छ ।
अर्को छ विसङ्गतवाद । हामी जन्मन नचाहीकन जन्मन्छौं र मर्न नचाही मर्दछौं, हामी जन्म र मृत्युका बीचमा बाँचेका छौं, त्यसैले हाम्रो अस्तित्व नै विसङ्गतपूर्ण छ भन्ने विसङ्गतवादीहरूको अवधारणा छ । जसलाई हामी असङ्गतिवाद, निस्सारवाद, अनास्थावाद, शून्यवाद आदि शब्दले पनि पुकार्न सक्छौं । किनभने यिनीहरू जीवन जगतप्रति अनास्था, शून्यता, निराशा र उदेश्यविहीन दृष्टिकोण राख्दछन् । विसंगतिवादीहरू साहित्य भनेको जीवनको अभिव्यक्ति, अनुकरण वा प्रतिकृति होइन भन्दछन् । विसङ्गतिवादीहरू व्यक्ति वा साहित्यकारको चिन्तन दर्शन वा धारणा, दृष्टिकोणको प्रस्तुतिको माध्यम साहित्य हो भन्ने गर्दछन् । यो दृष्टिकोणको प्रभाव नेपाली साहित्यमा पनि परेको छ ।

पाश्चात्य साहित्य जगतमा जन्मेको अर्को महत्वपूर्ण वाद हो, अस्तित्ववाद । यसले मनुष्य जीवनको अस्तित्वमाथि चिन्तन गर्दछ । यो वाद मानिसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिको सहि अर्थ खोज्ने दार्शनिक र साहित्यिक मान्यता हो । जीवन र जगतको निस्सारता–निरर्थकता अनि असङ्गति–विसङगतिका वीचमा पनि व्यक्तिसत्ता, व्यक्तिअस्तित्व र व्यक्तिस्वतन्त्रताको सचेत स्थापना गर्नु अस्तित्ववाद हो । यो वादले मानिसलाई स्वतन्त्र रुपमा हेर्ने प्रयत्न गर्दछ । अस्तित्ववादी लेखन भाव र वस्तुमा स्थापित मानवीय तथा मानववादी दर्शन हो । यो वाद दोस्रो विश्वयुद्धपछि बढी प्रचारित भयो । यसले धेरै नेपाली लेखक र कविहरूलाई आकर्षित गरेको देखिन्छ ।

साहित्य लेखनमा मनोविज्ञानको ठूलो हात हुन्छ भन्ने मत अभिमतको विकास पनि पाश्चात्य वाङ्मयमा भएको छ । मनोवैज्ञानिक फ्रायडको मत अनुसार साहित्य भनेको अचेतन मनका कुराहरूको उदात्तिककृत वा रचनात्मक तथा सिर्जनात्मक अभिव्यक्ति दिनु हो । अचेतन मनमा रहेका दमित तथा कुण्ठित अवस्थामा रहेका कामेच्छाहरू अहम् तथा पराअहम् वा सामाजिक, नैतिक चेतनाबोधका कारण सोझै बाह्य रूपमा प्रकट हुन नसकि विभिन्न छद्मरूप धारण गरेर अर्थात् विभिन्न प्रतीक र विम्बका सहायताले प्रकट हुने सिर्जना नै साहित्य हो भन्ने फ्रायडवादी चिन्तन छ । यसैगरी अर्का मनोवादी एड्लरको साहित्यसम्बन्धी सिद्धान्त अनुसार चेतन मनमा अवस्थित अहम् स्थापनार्थ प्रकट हुने श्रेष्ठतम् भावलाई साहित्य सिर्जनाको मूल श्रोत मानेका छन् । एड्लरका अनुसार मानिसमा कुनै न कुनै कमी कमजोरी हुन्छ । त्यसले उभित्र रहेका अहम् स्थापनामा ठेस पुग्न गई हीनताभावलाई जन्म दिन्छ । यहि हिनताभावको क्षतिपूर्तिस्वरूप मानिसले विभिन्न व्यवहारहरू गर्ने क्रममा साहित्यको सिर्जना हुन्छ भन्ने एड्लरको मत हो ।

अर्का मनोवैज्ञानिक कार्ल गुस्ताव युङ्गको मत भने माथिका दुई मनोविद्को मतभन्दा भिन्न छ । उनका अनुसार सामुहिक अचेतन मनमा अनन्त समयदेखि सन्चित अनुभव व्यक्तिको अन्तर्मुखी र बहिर्मुखी वृत्तिका बीचमा सामाञ्जस्य हुँदा विभिन्न विम्ब, प्रतीक, मिथक आदिका माध्यमबाट साहित्यको सिर्जना हुन्छ । उनका अनुसार मानिसको मनका तीन तहहरू चेतन मन, व्यक्तिगत अचेतन मन र सामुहिक अचेतन मन हुन्छन् । युङ्गका अनुसार यही सामुहिक अचेतन मनको उद्घाटन नै साहित्य सिर्जना हो । उनले फ्रायडको जस्तो दमित कामेच्छा अनि एड्लरको जस्तो हीनताबोधको क्षतिपूर्तिको रूपमा साहित्य सिर्जना भएको नभई सामुहिक अचेतन मनको आग्रहलाई नै साहित्य सिर्जनाको मूल प्रेरक तत्व मानेका छन् ।

प्रथम तथा द्वितिय विश्व युद्धपश्चात पश्चिमा सामाजिक र मनोवैज्ञानिक जगतमा ठूलो विचलन आयो । आधुनिकताको पश्चिमी सामाजिक मूल्य र मान्यतामा परिवर्तन आयो । वर्गीय स्थितिमा परिवर्तन आयो, औपनिवेशिकता विरुद्ध संघर्षहरु चर्किए । आधुनिक युगका चिन्तन, दर्शन र राजनीतिको विरोध गर्दै ल्योतार्ड, ब्रोदिलार्ड, मिसेल फुको, ज्याक डेरिडा, फ्रेडरिक जेम्सनका उत्तरआधुनिक चिन्तनहरू बाहिर आए । यसरी उत्तरआधुनिकतावादले साहित्य, कला, दर्शन र संस्कृति मात्र हैन समालोचना, समाजशास्त्र, उद्योग, उत्पादन, निर्माण तथा व्यवहारमा आफ्नो उपस्थिति जनायो । युरोप–अमेरिकाका वुद्धिजीवीले यसलाई विविध क्षेत्रमा अघि बढाउन प्रयास गरे । युरोप–अमेरिकामा बढ्दो प्रविधिको विकास, सूचना साम्राज्यको स्थापना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्कृतिको विकासले यो वादलाई अघि बढायो । साईबर तथा ईन्टरनेटको माध्यमबाट सबैका स्वर आज मुखरित हुने, सुनिने, कला र शिल्प फैलाउने परम्पराको विकास भयो ।

उत्तरआधुनिकवादको आत्मा भनेको विनिर्माण हो । विनिर्माण भनेको वस्तुलाई विभिन्न प्रकारले हेर्नु वा सिर्जना गर्नु हो । यो वाद विषयवस्तु, संरचना, पात्र, घटनाका सवालमा समावेशी प्रकृतिको छ । यसले केन्द्रीयवादी विचार वा सत्ता हटाएर नवीनकेन्द्र निर्माण गर्न खोज्दछ । यसैले यो वहुलवादी धारणा मौलाउने उदारवाद पनि हो । हाल विश्वमा आएको पहिचानको लहरसंगै नेपालमा उर्लेको समावेशी चिन्तनको विकासमा उत्तरआधुनिकवादले ठूलो बल पुर्याएको छ । महिला, दलित, पिछडिएका वर्ग, क्षेत्र, पाखा परेका आदिवासी साहित्य, कला, मिथक, कथावस्तुले नेपाली साहित्य र कला जगतमा प्रवेश पाएका छन् । मातृभाषामा पठनपाठन सुरू भएको छ । कानून वा राजनीतिमा महिलाको सम्मानजनक स्थान पाएका छन् । पिछडिएका भूगोल, दलित र आदिवासीका सवालहरूले साझा सवालका रूपमा स्थान पाउन जुटेका छन् । यसरी नेपाल सहित विश्वमा स्रष्टा, बुद्धिजीवी र राजनीतिकर्मी सबैलाई उत्तरआधुनिकवादको प्रभाव पारेको छ ।

नेपाली साहित्यिक जगतमा हुर्केको आयामेली आन्दोलनका तीन स्रष्टा मध्येका एक ईन्द्रबहादुर राई कालान्तरमा उत्तरआधुनिकवादतिर लहसिएर नेपाली साहित्यमा लीला लेखनको वकालत गर्न थाले भनेर नेपाली विद्वानले लेखेका छन् । राई भन्दछन्– सांसारिक र परसांसारिकको योगले अवतारहरूको लीला छ, लीलाक्षेत्रमा छौं, नभुलौं तर, खेलौं बाँच्ने खेल । जसरी उत्तरआधुनिक टुक्राटुक्रामा प्रसन्न हुन्छ, उसरी नै लीलालेखनका पात्रहरू अवतारमा सम्पन्न हुन्छन् । यसरी सिद्धान्तकारहरू तेस्रो आयाम सिद्धान्त र लेखनमा जति बलियो देखियो त्यो स्तरमा लीलालेखन पुग्न नसकेको मूल्याङ्कन गर्दछन् ।

समाजलाई वर्गीयदृष्टिले हेर्ने मार्क्सवादको प्रभाव पनि साहित्यमा गहिरो छ । मार्क्सवादी साहित्य भन्नाले कार्लमार्क्सले परिकल्पना गरेको दार्शनिक, राजनीतिक एवं आर्थिक स्थापना अनुकूलको आमूल परिवर्तनकारी समाज निर्माणको विचारलाई साहित्यका विधागत धर्म र साहित्यिक मर्म मार्फत प्रस्तुत गर्ने अभियान हो । मार्क्सवादी साहित्य अन्यायमा परेकाहरू, पछाडि पारिएकाहरूको पक्षमा लेखिने, तिनलाई जागृत पार्ने प्रगतिशील लेखन हो । यसले प्रकृति, मानव समाज र चिन्तनबारे अध्यात्मवादी चिन्तनभन्दा पृथक द्वन्द्वात्मक भौतिकवादी तथा वर्गीय विश्लेषण र व्याख्या गर्दछ । यसले समाजलाई अग्रगमनतिर लैजाने क्रममा कुरीति, कुसंस्कार, अन्धविश्वास, मानवीय भेदभाव, धार्मिक तथा सांस्कृतिक जडसूत्र विरुद्ध आवाज मुखरित गर्दछ ।

समाजमा नारीलाई दोस्रो दर्जामा राखिएकोप्रति नारीवादी स्वर वा नारीवाद वा स्त्रीवादले सामाजिक, राजनीतिक क्षेत्रमा मात्र हैन साहित्यमा धेरै अघि प्रवेश पाएको छ । धेरै नारीवादी स्रष्टाहरूले नारीको अस्मिता र आदर्शको वकालत गरेर नारीस्वरलाई साहित्यमार्फत् समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । आज मानव अधिकार, प्रजनन अधिकार, बाल अधिकार, सुरक्षित मातृत्वका सवालहरूले नारीवादी स्वरलाई सशक्त पारेको छ । साहित्यले समाजलाई वा समाजले साहित्यलाई प्रभाव पारेको स्थिति छ ।

सबै सिद्धान्त वा वाद वा अवधारणाहरू उल्लेख गर्न यो छोटो लेखमा सम्भव हुँदैन । यहाँ उल्लेख नभएका अन्य मत पनि साहित्यमा उत्तिकै महत्वपूर्ण छन् । माथि उल्लेखित सिद्धान्त वा वादहरू समयसापेक्ष छन् तर आलोचनामुक्त छैनन् । जीवन र जगत अनुकूल छन् तर सबैलाई चित्त बुझाउन भने सक्षम छैनन् । तापनि यी सिद्धान्तको विकास नभएको भए चाहे स्रष्टा हुन् वा पाठक साहित्यिक आकासमा कुहिरोको काग हुने थिए । यी वादहरूले कम्पासको काम गरेका छन् । स्रष्टा वा पाठकलाई आफ्नो गन्तव्य वा रूची बमोजिम विचरण गर्न यी वादहरूले आत्मवल, दिशावोध वा मार्गनिर्देश र मूल्याङ्कन गर्नका लागि आधारशिला निर्माण गरिदिएका छन् । साहित्य क्षेत्रलाई कोरा कल्पनाको खेती वा अनुत्पादक क्षेत्र हो भनेर पन्छाइने गरिन्छ । साहित्यकारहरूलाई पनि जे मनमा आयो त्यही लेख्ने कलमवीर भन्ने निरर्थक आरोप लगाइन्छ । यो साहित्य भित्र छिर्ने उचित मार्ग पहिल्याउन नसकेर वा साहित्यको मर्म र महत्व नबुझेर गरिएको टिप्पणी वा व्यवहार हुनसक्छ । तर साहित्यले उठाएका विषयवस्तु के हुन्, यी विषय किन उठे, यसको समग्र उदय र विकासक्रम स्पष्ट पार्न नै उल्लेखित वादहरू अघि सारिएका हुन् । साहित्यमा विषयवस्तुको उठान, निदानका अतिरिक्त निरूपणका लागि समाजको आँखा खोल्ने काम पनि यिनै वादहरूले गर्ने गरेका छन् ।

सन्दर्भ सामग्रीहरूः
1. ईश्वरकुमार श्रेष्ठ, पूर्वीय एवम् पाश्चात्य, साहित्य–समालोचना प्रमुख मान्यता, वाद र प्रणाली, काठमाडौं : साझा प्रकाशन, २०५१ ।
2. कुमारबहादुर जोशी, पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन, २०५४ ।
3. नेपाली साहित्यकोश, शास्त्रीयतावाद, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५ ।
4. कृष्ण गौतम, उत्तरआधुनिक जिज्ञाशा, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेशन, नेपाल, २०६४ ।
5. गोविन्दराज भट्टराई, उत्तरआधुनिक विमर्श, काठमाडौं, नेपाल : मोडर्न बुक्स, २०६४ ।
6. यदुनन्दन उपाध्याय, माक्र्सवादी दर्शनका प्रमुख स्थापना र साहित्य, समकालीन साहित्य, वेभसाईट, अध्ययन मिति १५ असार २०७५ ।

Comments are closed.