स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा

स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइ पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् । हाल स्थानीय सरकारको व्यवस्था भएको छ । जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालय नरहेको र सो कार्य समेत स्थानीय सरकार चलाउने व्यवस्था भएकाले यसबारे मूलभूत जानकारी र धारणा स्वरूप केही कोर्दैछु ।

सर्वप्रथम स्वास्थ्य र जनस्वास्थ्यको परिभाषा विचार गरौं । विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार कुनै व्यक्तिलाई रोग नलाग्नु मात्र स्वस्थ्य हुनु होइन, स्वस्थ्य हुनु भनेको शारीरिक, मानसिक र सामाजिक एमव् आत्मिक रूपले तन्दुरूस्त रहनु हो । यसरी यो परिभाषाले कुनै व्यक्तिको एउटा यस्तो अवस्थाको निर्धारण गरेको छ, जसमा जीवनका चारै आयामहरू जस्तै शरीर, मन, समाज र आत्माको तन्दुरूस्ती रहन्छ । परिभाषाले स्वास्थ्य भनेको कुनै साधनबाट एकपटक हासिल हुने वस्तु वा अवस्था नभएर यो दिगो अवस्था हासिल गर्न व्यक्तिको अनुकूल जीवनशैलीतर्फ संकेत गर्दछ । कुनै एक व्यक्तिको स्वास्थ्य निर्धारणमा परिवार र समाजको पनि असर र प्रभाव पर्दछ । जबसम्म परिवार र समाज वा देशको वातावरण स्वस्थ हुँदैन तबसम्म व्यक्तिको स्वस्थ्य अवस्था क्षणिक हुन जान्छ । यसैले स्वास्थ्य अवस्था कायम राख्न परिवार, समाज र राज्यको सामूहिक भूमिका अनिवार्य छ । यहि महत्तालाई ध्यान दिएर जनस्वास्थ्यको अवधारणा विकसित भएको हो ।

जनस्वास्थ्य भनेको त्यस्तो विज्ञान र कला हो जसले व्यक्ति र समुदाय, निजी र सरकारी, तथा समुदायलाई सुसूचित गराइ सामुहिक पहलद्वारा रोगको रोकथाम, स्वास्थ्यको प्रबद्र्धन गरि मानिसको आयु बढाउने पहल गरिन्छ, भनेर सि.इ.ए. विन्स्लोले जनस्वास्थ्यलाई परिभाषित गरेका छन् । प्रस्तुत परिभाषाले जनभावना, जनआकांक्षा र जनसहभागिता समेटेको छ । जनस्वास्थ्य सरकारको क्षमताबाहिर हुनसक्छ त्यसैले यसमा निजी वा गैरसरकारी संस्थाको भूमिका पनि चाहिन्छ भनेर परिभाषाले संकेत गरेको छ ।

माथिका दुई परिभाषालाई दिमागमा विम्बको रूपमा स्थापित गर्न म एउटा उदाहरण पहिले राख्दैछु । स्वास्थ्य स्थिति भनेको रोग नलागेको सप्रेको बाली हो भनेर हामी एकछिनलाई बुझौं । यदि बालीमा रोग लागेमा किटनाशक विषादी छर्नु भनेको उपचारात्मक सेवा अर्थात् स्वास्थ्य सेवा हो । बालीलाई पशुपंक्षीबाट जोगाउन गरिने घेराबारा भनेको रोगबाट बचाउने प्रतिकारात्मक सेवा जस्तै हो । यसैगरि बालीबाट राम्रो उत्पादन लिन हालिने मल, गोडमेल भनेको स्वास्थ्य प्रबर्धन अर्थात् प्रबर्धनात्मक स्वास्थ्य सेवा जस्तै हो । माथि विषादी छिट्काउ गरेर किरा मार्नुलाई स्वास्थ्यको उपचारात्म सेवासित तुलना गर्न सकिन्छ । यसैगरि पशुबाट बचाउन घेराबारा गरे जस्तै रोगबाट बचाउने कार्यलाई स्वास्थ्यमा प्रतिकारात्मक सेवा भनिन्छ । र बालीलाई मलजल वा गोडमेल गरेजस्तै स्वास्थ्यमा प्रबर्धन गरिने कार्य वा सेवालाई प्रबर्धनात्मक सेवा भनिन्छ । विरामी पर्दा गरिने उपचार सेवा स्वास्थ्य सेवामा पर्दछ । रोग नलागिकन रोगबाट बच्ने उपाय गर्नु वा स्वास्थ्य मजबूत बनाउने पहल गर्नु क्रमसः प्रतिकारात्मक र प्रबर्धनात्मक स्वास्थ्य सेवा हुन् । यसैले स्वास्थ्य भनेको बढी उपचारात्मक सेवामा केन्द्रीत हुने सेवा हो भने जनस्वास्थ्य भनेको उपचारात्मक लगायत प्रतिकारात्मक र प्रबर्धनात्मक सेवामा ध्यान दिने सेवा हो ।

यसमा थप के के भिन्नता छन् नियालौं । स्वास्थ्यले विरामी व्यक्तिलाई उपचार गर्दछ । तर जनस्वास्थ्यले मानिस विरामी नहुँदै भविश्यमा हुने खतरालाई पूर्वानुमान गरेर रोकथामका उपाय गर्दछ । स्वास्थ्यले विरामी मानिसको रोग पत्ता लगाउन विरामीको नाडी छाम्छ, मुटुको चाल सुन्छ, आवश्यक परे दिसापिसाव पनि जाँच्दछ । जनस्वास्थ्यले समुदायमा के कस्तो स्वास्थ्य समस्या छ भनेर सूचना वा तथ्यांक अध्ययन गर्दछ, प्रतिवेदन हेर्दछ र अध्ययन र अनुसंन्धान गर्दछ । स्वास्थ्यको कार्यक्षेत्र भनेको अस्पताल भित्र हुन्छ । जति पनि परिक्षण र उपचार सबै अस्पतालभित्र गरिन्छन् । तर जनस्वास्थ्यको कार्यक्षेत्र भनेको अस्पताल लगायत समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र चलनसमेत पर्दछ । स्वास्थ्य हासिल गर्नलाई व्यक्ति स्वयम् वा परिवारले पहल गर्दछ । तर जनस्वास्थ्य हासिल गर्न व्यक्ति, समाज र राज्यको सामूहिक पहल अपरिहार्य पर्दछ । यति मात्रले नपुगेर निजीक्षेत्र वा गैरसरकारी क्षेत्रको भूमिका पनि आवश्यक पर्दछ ।
धेरै मानिसहरू परिवार नियोजन र स्वास्थ्यको अन्तरसम्बन्ध नबुझेर यदाकदा अल्मलिन्छन् । उदाहरणको लागि भारतमा हालै गएको बाढीमा राहत सामग्रीमा परिवार नियोजनको साधन पनि पठाएको भनेर आमसञ्चारले कटु आलोचना गरे । तर जनस्वास्थ्यको दृष्टिले विस्थापितलाई चाहिने अत्यावश्यक सेवा मध्येको एक सेवा परिवार नियोजन सेवा पनि हो । एक अध्ययनमा मोरङको एक गाउँमा एकजना किशोरीले अनिच्छित गर्वाधान भएपछि केटाले विवाह गर्न अश्विकार गर्दा आत्महत्या गरिन् । त्यसलाई यौन शिक्षा वा परिवार नियोजनको साधनको ज्ञान र उपलब्धता भएको भए जोगाउन सकिन्थ्यो । आज पनि धेरै आमाहरूले अनिच्छित गर्वाधानबाट सन्तान पाउँछिन् । आमाको त्यो गर्भ यदि तेस्रो वा सोपछिको गर्भ हो भने ती आमाको मातृमृत्यु हुने सम्भावना वा दर उच्च हुन्छ । नेपालमा मातृमृत्यु हुने कारणहरू मध्ये प्रमुख कारण यही हो । यसलाई पनि हामीले परिवार नियोजनको ज्ञान र उपलब्धताले हटाउन सकिन्थ्यो । व्यवहारमा परिवार नियोजनको ज्ञान पनि छ तर परिवार नियोजनको साधन भनेको बेला नपाएर अनिच्छित गर्भाधान भएको धेरै अध्ययनहरूले बताएका छन् । यही सिकाइको आधारमा भारतको बाढीबाट विस्थापितमा पनि अनिच्छित गर्वाधान रोक्नलाई गरिएको त्यो एउटा आवश्यक र सकारात्मक प्रयास थियो न कि कुनै भद्दा मजाक । जनस्वास्थ्यको यहि मर्मलाई नबुझेर आमसंचारले उद्धारमा संलग्नको नकारात्मक टिप्पणी ग¥यो ।

हाल सरकारले जनतालाई स्वास्थ्य बीमा कार्यक्रमलाई जनस्वास्थ्य सेवाको रूपमा प्रचार–प्रसार गरेको पाइन्छ । स्वास्थ्य बीमा भनेको विरामी भएको बेलामा उपचार गर्दा लाग्ने खर्चको एउटा व्यवस्थापन कार्य मात्र हो । यो नै स्वयम् स्वास्थ्य वा जनस्वास्थ्य सेवा होइन । स्वास्थ्य सेवाको यो एउटा सहयोगी कार्यक्रम मात्र हो । जसरी स्वास्थ्य प्रणालीमा औषधी आपूर्ती कार्यक्रम, सूचना व्यवस्थापन कार्यक्रम विद्यमान छन्, यो पनि त्यस्तै एउटा सहयोगी कार्यक्रम मात्र हो । यसले त अझ मानिसलाई स्वास्थ्य भनेको किनेर पाइने वस्तु हो भन्ने सोंचतिर लगेको छ । यो अवधारणा जनस्वास्थ्यको मूलभूत मूल्य र मान्यतासित पूर्ण रूपले मेल खाँदैन । किनभने यसले उपचारात्मक सेवालाई मात्र सम्बोधन गरेको छ । प्रतिकारात्मक सेवा र प्रबर्धनात्मक सेवालाई यसले चिन्दैन । हुन त हालसम्म यी सेवाहरू सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको छ । भोलि यदि स्वास्थ्य सेवा भनेको उपचार सेवा मात्र हो जुन बीमाबाट हासिल गर्न सकिन्छ भन्ने भ्रम नीतिनिर्मातामा पर्न गयो भने यसले प्रतिकारात्मक र प्रबर्धनात्मक सेवामा ध्यान नपुग्न सक्छ । फलस्वरूप कालान्तरमा उपचारात्मक सेवा समेत अस्तव्यस्त हुनपुग्छ । हामीले हासिल गरेको बालमृत्युदर, मातृमृत्युदरमा आएको कमी र सरदर आयुदरमा भएको बृद्धि पुनः उल्टिनेछ ।
एउटा आहान छ रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । अर्को एउटा भनाइ पनि छ कुनै एक सर्टमा समयमा एउटा टाँक सिलायौ भने भविश्यमा नौवटा टाँक सिलाउनु पर्दैन । यही सिद्धान्तमा जनस्वास्थ्य अवधारणा र कार्यक्रम आधारित हुन्छ । बालबालिकालाई भविष्यमा घातक रोगहरूबाट बचाउन खोप लगाइन्छ । किशोरकिशोरीमा दुव्र्यशनमा फसेर जीवन वर्बाद नहोस्, अनिच्छित गर्वाधान नहोस् भनेर परामर्श सेवा दिइन्छ, विद्यालय स्वास्थ्य कार्यक्रम चलाइन्छ । महिलालाई बीसवर्ष पछि मात्र गर्भवती हुनुपर्दछ, बच्चाबीच कमसेकम तीनवर्षको अन्तराल हुनु पर्दछ भनेर परिवार नियोजनको ज्ञान दिएर मातृमृत्यु घटाइन्छ । यो शिक्षा एक साल दिएर पुग्दैन । जसरी विद्यालयको शिक्षा निरन्तर प्रक्रिया हो त्यस्तै स्वास्थ्यशिक्षा पनि विद्यालयहरूमा नियमित रूपमा चलिरहनु पर्दछ ।

औलो, क्षयरोग तथा अन्य सरूवारोगहरूबाट बच्ने उपायहरूबारे जनचेतना फैलाउने काम पनि जनस्वास्थ्यको कार्यक्षेत्रमा पर्दछ । यसको लागि सरकारी, गैरसरकारी निकायहरू, विद्यालय, आमा समूह, बालसमूह समूहहरूको भूमिका र समन्वय जरूरी पर्दछ । किनभने व्यक्तिको स्वास्थ्य केही समयलाई हासिल गर्न औषधीले सम्भव होला तर परिवार वा समुदायको स्वास्थ्य दिगो रूपमा तन्दुरूस्त राख्न समुदाय स्वयम् जागरूक हुनु पर्दछ । यत्तिले पनि पुग्दैन समुदायको स्वास्थ्य तन्दुरूस्त राख्न स्वास्थ्य क्षेत्रले मात्र प्रयास गरेर पुग्दैन यसमा खानेपानी तथा सरसफाइमा संलग्न निकायको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । कृषि क्षेत्रले पनि खाद्यवस्तुको उत्पादन नगरे स्वास्थ्यस्थिति सामान्य राख्न असम्भव नै हुन्छ । उद्योग कलकारखानामा कामगर्ने स्थल स्वच्छ नरहे मजदुरको स्वास्थ्यस्थिति सामान्य रहन सक्दैन ।

माथि उल्लेख गरिएका सेवाहरू मध्ये विरामीलाई दिइने उपचार सेवा, प्रसूति सेवा तथा महामारी नियन्त्रण जस्ता सेवाहरू मानिस विरामी परेको बेलामा दिइने उपचारात्माक सेवा हुन् । खोप सेवा, आइरन चक्की, भिटामिन ए वितरण, परिवार नियोजन जस्ता सेवाहरू रोग लाग्नबाट बचाउने स्वस्थ मानिससलाई दिइने प्रतिकारात्मक सेवा हुन् । प्रतिकात्माक सेवाले रोगबाट मानिसलाई बचाउँछ । यसैगरि परामर्श सेवा, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, वातावरणीय सरसफाइ जस्ता सेवाहरू मानव स्वास्थ्यलाई अझ राम्रो बनाउने प्रबर्धनात्मक सेवा अन्तर्गत पर्दछन् । मानव स्वास्थ्यलाई तन्दुरूस्त राख्न रोग लाग्दा उपचार गरेर अर्थात् उपचारात्मक सेवा मात्र दिएर पुग्दैन, मानिस र समुदाय सदा तन्दुरूस्त रहनलाई समुदायमा प्रतिकारात्मक र प्रबर्धनात्मक सेवा र अभियानहरूको पनि उत्तिकै जरूरी पर्दछ ।

जनस्वास्थ्य बहुआयामिक छ । यसैले यसलाई विज्ञान मात्र नभनेर कला पनि भनिएको हो । जनस्वास्थ्यको व्यवहारिक अनुवाद एउटा कुशल व्यवस्थापनले मात्र सम्भव हुन्छ । एउटा अस्पतालको व्यवस्थापन जस्तो होइन जनस्वास्थ्यको व्यवस्थापनमा सामाजिक नेतृत्व गर्ने क्षमता आवश्यक पर्दछ । जनस्वास्थ्यकर्मी एउटा प्राविधिक मात्र हैन, शिक्षक पनि हो, अनुसन्धाता हो, समन्वयकर्ता हो र एउटा सामाजिक नेता पनि हो । प्राविधिक ज्ञान मात्र पर्याप्त छैन, शीप र शैलीको पनि जनस्वास्थ्यमा महत्व छ । बैज्ञानिक प्रविधि र ज्ञानलाई समुदायमा पु¥याउन एक्लै सम्भव छैन, यसको लागि विभिन्न साझेदारहरूसित सहभागिता जुटाएर समन्वय कायम राख्न कलात्मक सोंच र सिर्जनशीलताको खाँचो पर्दछ । यी सबै कुरा सम्पन्न गर्न एउटा कारिन्दाको रूपमा कुनै जनप्रतिनिधि वा प्रशासकीय अधिकृतले लाए अर्हाएको काम पूरा गरेर वा उनीहरूकै वरिपरि घुमेर चाकरी गरेर कदापि पूरा हुन सक्दैन । त्यसको लागि स्वास्थ्य संस्था प्रमुखलाई जनस्वास्थ्य क्षेत्रको लक्ष्य, योजना र कार्यक्रमसहित जिम्मेवार बनाउनु पर्दछ । जिम्मेवारी र कर्तव्य मात्र दिएर पुग्दैन स्वतन्त्र र अधिकारसम्पन्न पनि बनाउनु पर्दछ । आवश्यक शिक्षा र तालिमको पनि व्यवस्था गर्नु पर्दछ । शैक्षिक रूपले दक्ष जनस्वास्थ्यकर्मीबाट मात्र यी सबै सम्भव हुन्छन् ।

संसारमा साधन स्रोत अधिक भएको कहीं पनि सुनिदैन । आफूसित जे जति छ वा जे सम्भव छ त्यसलाई नै अधिकतम् सदुपयोग गर्नु कुशल व्यवस्थापन हो । उपलब्ध परिधिमा रहेर आफ्नो क्षेत्रको वस्तुस्थितिको विश्लेषण, समस्या पहिचान, योजना तर्जूमा, कार्यान्वयन र मूल्याङ्कन गर्दै अघि बढ्न सकिन्छ । राष्ट्रियस्तरका विद्यमान स्वास्थ्य नीति र कार्यक्रमलाई स्थानीय तहले मार्गनिर्देशक सिद्धान्तको रूपमा लिनुपर्दछ । उपलब्ध साधन स्रोतलाई अधिकतम सदुपयोग गर्दै सेवालाई लक्षित समूहलाई कसरी पु¥याउने यसमा ध्यान दिन जरूरी हुन्छ । लक्षित समूहको परिभाषा सुदृढ गर्न सकिन्छ । राष्ट्रिय स्तरबाटै बालबालिका, महिला, किशोरकिशोरी, विभिन्न सरूवा रोगी, नसर्ने रोगी, दीर्घरोगी, बृद्ध जस्ता जीवनचक्र समेट्नु पर्ने नीतिगत निर्देशन छ । त्यत्तिमात्र नभएर अत्यन्त विपन्न, सीमान्तकृत, आदिवासी जनजाति, दलितलाई पनि समेट्न विशेष आग्रह गरिएको अवस्था छ । यसैले आफ्नो कार्यक्षेत्रको नक्शाङ्कन गर्दा तिनलाई नछुटाइ योजना बनाएर स्थानीय सरकारले आफ्ना जनतालाई सामाजिक न्याय प्रदान गर्न सक्दछ ।

अन्तमा, हाम्रो समुदायमा करिव पाँच–दश प्रतिशत सीमान्तकृत अर्थात् अत्यन्त बिपन्न अवस्थाका मानिस छन्, जसलाई हामी सबैको सहयोग जरूरी छ । तिनको पहिचान गरेर तिनलाई विशेष न्याय दिन यदाकदा स्थानिय सरकारहरूले सोचेर कदम चालेको देखिन्छ । तिनीहरूलाई पहिचान दिने स्थानीय सरकारको चलाएको उक्त अभियानमा सबैले सकारात्मक सहयोग गर्नुपर्दछ । सीमान्तकृत समूहको भाग खोस्न हुनेखाने र सक्षमवर्ग अघि सरेर तिनको सही पहिचान गर्ने कार्य अबरूद्ध भएमा सामाजिक न्याय अल्मलिन्छ । यसबाट राज्यले परिकल्पना गरेको समतामूलक स्वास्थ्यसेवा लगायतको सामाजिक न्याय बिटुलिन्छ । फलस्वरूप, देशको शान्ति खल्बलिन्छ, हाम्रो लोकतन्त्र र सामाजिक व्यवस्था सदा धरापमा परिरहन्छ ।

Comments are closed.