हामीलाई कस्तो खुशीको आवश्यकता छ?

हामीलाई कस्तो खुशीको आवश्यकता छ?

डा. नवराज सुब्बा

मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ?

यो खुशी विषयमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरे । उनका अनुसार खुशी भनेको असल मानिस हुनु हो । साथै कसैको दासत्वमा नपरिकन स्वाभिमानमपूर्वक बाँच्नुलाई नै अरस्तुले खुशी माने । यसैले खुशी एउटा लक्ष्य बन्यो र हासिल गर्न कठिन भयो । अर्का ग्रीसेली दार्शनिक एपिक्युरसका अनुसार खुशी सानातिना कुराबाटै प्राप्त हुने गर्दछ ।

पश्चिम जगतमा खुशीबारे अवधारणागत परिवर्तनमा क्रिश्चियन धर्मको उदयपश्चात प्रभाव परेको पाइन्छ । उक्त धर्मले खुशी यो लोकमा नपाइने तथा परलोकमा मात्र पाइने चीज मानेको छ । वलिदान गरेपछि मात्र खुशी आगामी जन्ममा पाइने वस्तु भएकाले यस लोकमा त्यो आशा नगर्न मानिसलाई संकेत गरेको छ ।

शिक्षाको प्रकाश र बजारको विकास तथा पूँजीवादको उदयपछि पश्चिमी जगतमा खुशीको परिभाषामा परिवर्तन आयो । पूँजीवादले व्यक्तिगत स्वार्थ पूरा गर्दै पूँजी र वस्तु संकलन गर्नु अनि आत्मपूर्तिबाट नै खुशी पाइने अर्थात् वस्तुको संग्रहबाट पाइने वस्तुको रुपमा खुशीलाई लिन थाल्यो ।

सन् ५० र ६० को दशकमा खुशी राजनीतिक तथा सामाजिक–साँस्कृति मूल्य र मान्यतामा आधारित हुन गयो । समाजमा मानिसले दासताबाट मुक्ति पाउनु, मुलुकले स्वतन्त्रता पाउनु र विभिन्न अधिकार पाउनुलाई खुशी मान्न थाले । त्यसबेला व्यापारिक घराना र त्यसलाई प्रबर्धन गर्ने आमसंचारले खुशी भनेको उपभोगवाद र उत्पादन प्रणाली वा सामग्रीबाट प्राप्त हुने अवस्था भनेर धुँवाधार विज्ञापन गरे । यसरी नयाँ नयाँ वस्तुको उपभोगले नै खुशी मिल्छ भनेर सबैको दिमागमा घोलिदिए ।

खुशी सम्बन्धमा यौन मनोविज्ञानले पनि प्रभाव पारेको छ । बीसौं शताब्दीमा सिग्मण्ड फ्रायडको यौनवादी सिद्धान्तले पनि मानिसको इच्छा, सन्तुष्टि र व्यवहारको व्याख्या गरेको छ । अर्का यौन मनोवैज्ञानिक विलियम रिकले स्वच्छन्द प्रेम र यौनिकतासित खुशीलाई जोडेर खुशीको व्याखा गरिदिएका छन् । यसरी खुशीलाई यौनवादी दृष्टिकोणले पनि व्याख्या, विश्लेषण गर्ने तथा हेर्ने र बुझ्ने गरिन्छ ।

सन् ८० को दशकमा राजनीतिक परिवर्तनले विश्वमा पुनः व्यापारिकरणमा गति ल्यायो । उपभोक्तावादको वकालत र विकास गर्न अमेरिका लगायत पश्चिमी जगतमा संचार माध्ययले ठूलो भूमिका खेल्यो । यसले व्यक्तिवादी सोंच र उपभोक्तावादी चेतनालाई मलजल ग¥यो । फलस्वरुप विश्वको संस्कृति परिवर्तन र सोंचमा खुशी भनेको व्यक्तिले कुनै वस्तुको उपभोग गर्दा हासिल हुने जनधारणाको विजारोपण र विकास जनमानसमा गरि दियो ।

कार्ल सेडरस्ट्रोमको ह्युमन पोटेन्सिय मुभमेण्ट (१९६०) का अनुसार खुशीलाई एउटा कल्पना (फेन्ट्यासी) मान्दछन् । उनी भन्छन् पूँजीवाद सिद्धान्तले मानिसलाई खुशीको लागि सम्पत्ति र वस्तुको संकलन गर्ने प्रवृत्तिले गर्दा मानिसबीच असमान बनाइदियो । पूँजीवाद भित्र व्यक्तिको इच्छा, प्रतिस्पर्धा, इज्जत जस्ता कुराहरुले प्रश्रय पाएता पनि मानिसको व्यक्तिगत खुशीलाई खोजीको केन्द्र बनाइदियो । उनले खुशीलाई व्यक्तिगत स्तरमा केन्द्रीत गर्नुलाई पूँजीवादको गलत परम्परा र परिणाम मानेका छन् । पूँजीवादले सदा आनन्दानुभूति र सन्तुष्टीको मात्र वकालत गर्ने गरेको छ ।

हुन त आजकल मानिसहरु योग र ध्यान गरेर पनि खुशी हासिल गर्न खोजेको देखिन्छ । कार्ल सेडरस्ट्रोमले कतै मानिस स्वयम् आज खुशी पाउने अर्को साधन त बनिरहेका छैनन् भनेर सचेत हुन सल्लाह दिन्छन् । उनको विचारमा मानिस एक्लैले खुशी प्राप्त हुने कुरो होइन । मानिसले खुशी प्राप्त गर्न पहिले उसको वरिपरिको समाज, वातावरणसित उसले राम्ररी घुलमिल हुन सक्नुपर्दछ । समानता, समुदाय, समस्या, सहानुभूति जस्ता यथार्थसित मानिसले साक्षात्कार गरेर मात्र मानिसलाई खुशी मिल्छ, भनेर उनले बताएका छन् । विश्वमञ्चमा प्रक्षेपित खुशीको नयाँ परिभाषा समेट्ने यो अत्यन्त व्यवहारवादी, र समुदायमुखी तथा जनमुखी सिद्धान्तको वकालत हुन थालेको छ । अन्तर्मुखी हैन वाह्यमुखी, व्यक्तिवादी हैन समुदायमुखी चेतनाले ओतप्रोत त्यस्तो सिद्धान्तको आवश्यकता र खाँचो त हामीलाई परेको छ ।

Comments are closed.