मानव सपना मंगलग्रहमा उत्रेको दिन
डायरी २ डा. नवराज सुब्बा

Photograph: Reuters

मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् । अब यान मार्फत पुगेको रोबोटले त्यहाँको जमीन र जमीनभित्र ५ मीटरसम्मको अध्ययन गर्नेछ । मंगलग्रहमा जीवन रहे–नरहेको र भविष्यमा त्यहाँ मानववस्ती बसाउन सकिने–नसकिने सम्बन्धमा पनि अध्ययनले आधारभूमि निर्माण गर्नेछ । यो अध्ययनले पृथ्वीको उत्पत्तिको बारेमा नवीन तथ्य उजागर गर्ने संभावना छ । यो अभियानले मानवजातिको अस्तित्व र भविष्यको बारेमा नयाँ आयाम थप्नेछ । यस अवसरमा अमेरिकी सरकार, नासा र यसमा संलग्न वैज्ञानिकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
अमेरिकाको क्यालिफोर्नियामा हालै भीषण आगलागी भयो । जहाँ धेरै जनधनको क्षति भयो । यस प्राकृतिक विपदलाई जलवायु परिवर्तनसित गाँसेर पनि हेरिएको छ । यही जलवायु परिवर्तनको विषयमा हालै अमेरिकी सरकार र ३०० भन्दा बढी बैज्ञानिकहरुले तयार पारेका १६ सय पृष्ठको प्रतिवेदनलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका छन् । जलवायुसम्बन्धी बर्तमान अमेरिकी सरकारी नीतिको फलस्वरुप निकट भविष्यमा अमेरिका लगायत विश्वले ठूलो भौतिक र आर्थिक क्षति व्यहोर्नु पर्ने लगायतका सुझाव उक्त प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको हवाला दिएर सुझावलाई ठाडै अस्वीकार गरिदिएका छन् । यो विश्वका वातावरणप्रेमी जनताको लागि दुःखद समाचार हो । व्यापारिक पृष्ठभूमिका राष्ट्रपति ट्रम्पको वातावरणसम्बन्धी नीति र दृष्टिकोण केवल आर्थिक दृष्टिमा केन्द्रीत भएको र ‘पहिलो अमेरिका’ भन्ने नारा उराल्ने ट्रम्प नवराष्ट्रवादबाट पनि उद्वेलित छन् । यसरी उनको व्यापारिक पृष्ठभूमिले उनको वर्तमान पदको गरिमालाई धुमिल पारेको प्रतीत हुन्छ । एउटा सफल व्यापारीले आफूलाई नै स्वार्थकेन्द्रीत गर्ने भएकाले उसबाट जीवन र जगतप्रति रहनुपर्ने जुन दायित्वबोधको अपेक्षा हालका बेकार भएको प्रतीत भएता पनि निरन्तर आग्रह बाहेक अर्को बिकल्प पनि छैन ।

मेक्सिको भएर अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक्न अमेरिकी राष्ट्रपतिले कठोर नीति र कदम चालेका छन् । उनको दृष्टिकोण विदेशी नागरिकप्रति पूर्वाग्रही र अमानवीय छ । अर्कोतर्फ अमेरिकी टिभी च्यानल सि.एन.एन.ले द्वन्द्वबाट प्रभावित अफगानिस्तानको एउटा रिपोर्ट प्रसार गरेको छ । जसमा टिभी च्यानलले हाल अफगानिस्तानमा सुख्खाबाट प्रभावित जनताको दरिद्रताको हृदयविदारक दृष्य विश्वलाई देखाएको छ । उक्त रिपोर्ट अनुसार गरिबीका कारणले जीवन धान्नको लागि त्यहाँका किसानहरु आफ्ना बालबालिकालाई पैसामा, गाई–वस्तुमा वा सामग्रीमा बेच्नु पर्ने अवस्था आएको देखाएको छ । यसरी रंगीन पर्दामा सुन्दर फूलजस्ता बालबालिकाहरु रुँदै रुँदै आफ्ना आमाबासित छुट्टिदै गरेको दृष्य देख्दा मेरो मन पनि रोयो । मैले साहित्यमा यदाकदा यस्ता दृष्य पढेको थिएँ तर आँखाले काँचको पर्दामा हाम्रै नजिकैको भूगोलको यथार्थ देखेर मनमा अनेक कुरा खेल्न थाल्यो । भावनात्मक रुपमा म पनि केही दिन विचलित भएँ । केही दिन त्यो च्यानल नै हेरिन । आखिर यथार्थ आत्मसात गर्नै पर्दछ । जेहोस्, मनमा लागेको कहिल्यै नमेटिने उक्त भावनात्मक डामलाई यहाँ केही शब्दमा पोखेरै भए पनि म आफ्नो मन शान्त पार्दो छु ।
यदाकदा सुखद समाचार पनि सुनिन्छन् । चीनमा हालै वैज्ञानिकहरुले डि.एन.ए. को सफल परीक्षण गरेको समाचार प्रकाशमा आएको छ । डा. सनयात सेन विश्व विद्यालका वैज्ञानिकहरुले मानव भ्रूणभित्र डि.एन.ए. को पुनःसंरचना गर्न सफलता पाएका छन् । यसबाट थलसेमिया भन्ने एक घातक रक्तरोगको उपचारमा उक्त प्रविधि उपयोगी हुने टोली–नेता जुनजुवाहो ह्वाङले बताएका छन् । युरोपका वैज्ञानिकहरुले ‘प्रोग्राम गरिएका बालक’ जन्माउने भनेर नैतिक प्रतिवन्धात्मक सवाल उठाएका छन् । तर सफल परिक्षण पश्चात ती भ्रूणहरु जीवित नरहेकाले चिन्तित नहुन वैज्ञानिक जगतलाई आश्वस्त पार्न खोजेका छन् ।
हालको मंगल अभियानमा नासामा रहेर भारतका वैज्ञानिकले पनि भाग लिएको खबर सार्वजनिक भएको छ । यो महान अभियानमा एक नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाले पनि मंगल ग्रहमा पानीको खोजी कार्यमा अध्ययनमा गरेर अमेरिकामा राम्रो काम गर्दैछन् । नेपाली खेलाडी सन्दीप लामिछानेले क्रिकेट खेलमा भारतमा राम्रो क्षमता प्रदर्शन गर्दैछन् । यी केही दृष्टान्तले नेपाल र नेपालीको गौरव बढाएका छन् । यसले नेपालीमा पनि प्रतिभाको कमी छैन, केवल अवसर, अठोट र अग्रसरताको खाँचो छ भन्ने देखाएको छ ।
मंगल ग्रहमा यान अवतरण गरेर ब्रम्हाण्डलाई नजिक ल्याएको दिनमा यता नेपालमा आज ओली सरकारले सामाजिक सुरक्षामा गतिलो पाइला चालेर श्रमजीवी र सरकारबीचको नातामा सामीप्यता आएको देखिन्छ । अब राज्यभित्र कुनै पनि निजी प्रतिष्ठानमा कामगर्ने कर्मचारी तथा मजदूरको भविष्य सुनिश्चित पार्न चाहिने आर्थिक सुरक्षा पेन्सनको व्यवस्था गर्न सहभागितामा आधारित पेन्सन प्रणालीलाई सरकारले आरम्भ गरेको छ । भविष्यमा यो पेन्सन प्रणाली सम्पूर्ण मजदूर र किसानसम्म पु¥यायने लक्ष्य राखिएको छ, जुन स्वागतयोग्य कुरा हो । बर्तमानमा खुलेका बीमा, बैंक कम्पनीलाई सामाजिक दायित्वमा अग्रसर पार्ने वातावरण सरकारले बनाएर नीजि क्षेत्रको मन जिते यसमा सफलता असंभव छैन । अमेरिकामा जस्तो आर्थिक रुपमा समृद्ध देशमा पनि ९ प्रतिशत बृद्ध गरिबी रेखामुनि रहेको रहेको र तिनीहरुको बृद्धावस्था कठीन भएको रिपोर्ट संचारमा आएको थियो । हाल विश्वमा सरदर आयु वा उमेर बढ्दो क्रममा छ । नेपालमा पनि हाल सरदर आयु ७० वर्ष माथि पुगेको अवस्था छ । यसैले सरकारले बृद्धावस्थाको न्यूनतम् आधारभूत आवश्यकता व्यवस्थापनमा सोच्नै पर्दछ । नेपाल सरकारले चालेको यो कदमलाई बृद्धभत्ता आरम्भ गर्ने सरकारलाई जनताले सम्झेझैं नेपाली जनताले सदा सम्झने पक्का छ । सामाजिक सुरक्षासम्बन्धी कार्यदिशा र पहल अग्रगामी छ, सफलताको शुभकामना ।
यो अभियानको शुभारम्भमा देखिएको प्रचारशैली कार्यक्रमको आग्रह भन्दा पृथक शैलीमा आयो । आज विरुवा भरखर रोपिएको छ, अर्थात् आजको विश्वघटनासित तुलना गर्दा मंगलग्रहमा यान पठाइएको जस्तो मात्र हो । त्यो त्यहाँ पुग्न सक्छ, नपुग्न पनि सक्छ, पुगे पनि  यसलाई समय लाग्छ । सामाजिक सुरक्षाको विरुवा हुर्कनु, फुल्नु, फल्नु दशकौं लाग्छ । कामको जस वा भोट सपार्ने होडमा लाग्नु भन्दा पनि समयको आवश्यकता, माग र आफैले दिएको आश्वासनले पाएको मतलाई सम्मान गर्न खोजेको दायित्वको रुपमा लिएर कार्यक्रम आएको हो । बरु यसबेला यो कार्यक्रमको परिचय, महत्व, यसमा संलग्न साझेदारको यसमा हुनुपर्ने भूमिकालाई जनस्तरमा प्रस्तुत गरेर कार्यक्रमको सफलता सुनिश्चित गर्नु पर्ने थियो । यसबाट हुने फाइदा वा परिणाम, यसमा सरोकारवालाले गर्नु पर्ने भूमिकालाई उजागर गर्नु पर्नेमा कुनै हिन्दी फिल्म शहरमा बजारीकरण गर्दा गरिने प्रचार शैलीले समाचार पढ्ने पाठक वा बाटो हिड्ने दर्शकलाई स्रोतको भद्दा दुरुपयोग देखेर विस्मयमा पारिदिएको छ । अत्यावश्यक जनमुखी कार्यक्रम जो जन्मनै ढिलो भएको थियो कतै प्रचारमुखी रोगको शिकार नबनोस् फेरि पनि शुभकामना ।
मिति २०७५।८।११ क्षे.न.३

Diary Post1
Traditional and Modern Maternal and Child Health Care Practices and its Effects on Rajbanshi Community in Nepal