<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ । हालै विराटनगरमा एक समारोहमा प्राज्ञ खेम नेपाली, समता साहित्य परिवारका देबी पन्थी र अध्यक्ष सुब्बाले संयुक्त रुपमा प्रतिष्ठानको समुद्घाटन गरे ।
समारोहमा विराट साहित्य संगमका बलराम पोखरेल, हिडपा साहित्य परिवारका श्याम अधिकारी, भानु कला केन्द्रकी माया पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनलेखक संघ नेपालका मधु पोखरेल, गुभाजु प्रतिष्ठानका मानबहादुर बज्राचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बहुभाषा कविगोष्ठीको पनि आयोजना गरियो । मातृभाषा मैथिली, थारु, राई, लिम्बू, हिन्दी, संस्कृत र नेपाली भाषामा कवितावाचन गरिएको थियो । कविहरु मधु पोखरेल, सरिता तुलाधर, पूजा गुप्ता, राजेश झा, कुमार प्रमोद, गायत्रीप्रसाद चापागाई, वशिष्ठ नेपाल, पुलिस विश्वास, चन्द्र कार्की, अर्जुनप्रसाद गुप्ताले आ–आफ्ना रचना सुनाए ।
प्रतिष्ठानले बहुभाषा कवि गोष्ठीको आयोजना गर्ने, नेपालमा बोलिने मातृभाषा साहित्य, संस्कृतिसम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित गर्नेछ । मातृभाषी स्रष्टा तथा विद्वानहरुलाई प्रतिष्ठानले सम्मान गर्ने पनि जनाएको छ । मातृभाषाको पाठ्यक्रम निर्माण तथा विकास गर्ने कार्यमा सहयोग गर्ने प्रतिष्ठानको लक्ष्य रहेकोछ ।

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)
आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र