साहित्यिक अन्तरवार्ता

नवराज सुब्बासंग मीनकुमार श्रेष्ठ ‘नवोदित’ ले मिति २०६३।१२।१०मा लिनु भएको एक साहित्यिक अन्तरवार्ता:

नवोदित – तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ?
नवराज सुब्बा – “गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली…” विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म “जय” भन्दथें सबै “नेपाल” भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें । रेडियो नेपालको बाल कार्यक्रम “को भन्दा को कम” प्रतियोगितामा र पूर्वाञ्चल क्षेत्रिय निबन्ध प्रतियोगितामा समेत पुरस्कृत भएको थिएँ । शिक्षकहरूले मलाई नमूना विद्यार्थीको रुपमा लिने गर्दथे । अति दूर्गम पहाडी जिल्लाको साधारण सरकारी विद्यालयबाट २०३३ सालमा एस.एल.सी.परीक्षामा प्रथम श्रेणीमा उत्तीण्र्ण भएपछि शिक्षकले स्याबासी दिए र भने “तैले पछि केही गर्छस् राम्रो विषय पढ्” । यसपछि म चिकित्साविज्ञान पढ्न काठमाडौ गएँ ।

नवोदित – अहिले के लेख्दै हुनुहुन्छ?
नवराज सुब्बा – जनस्वास्थ्य विषयमा अध्ययन, अनुसंधान र लेखन कार्यमा लागेको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय मेडिकल जर्नलहरुमा बैज्ञानिक लेख लेख्न धेरै श्रोत र श्रम लाग्दछ । पत्रपत्रिकामा पनि स्वास्थ्यसम्बन्धी लेख लेखिरहेछु । साहित्यतर्फ कविता, गीत र निवन्ध लेख्दा बढी आनन्द आउँछ । उत्तरआधुनिक अर्थात् बिनिर्माण काब्यचेतनाले पनि प्रभावित छु । बञ्चित श्वर अनि अर्थ खोज्दैछु ।

लेख्दैछु सम्झेर उही कम्प्यूटरमा
फायल सेभ क्लीक गर्न नभ्याई
लोडसेडिङ्गले डिलिट गरेका
सफलताका कथाहरू ।

नवोदित – यहाँको लेखन कार्य कसरी सुरु भयो?
नवराज सुब्बा – केही लेख्न अध्ययन र अनुभव चाहिन्छ । जनस्वास्थ्य साथसाथै साहित्यको अध्ययन तथा अनुभवले मलाई आत्मविश्वास, दृष्टिकोण र सिर्जनशीलता दिएको छ । जीवन र जगतलाई बिभिन्न कोणबाट हेर्ने, देख्ने, भोग्ने र लेख्ने प्रयास स्वरुप लेखिरहेछु ।

नवोदित – धेरै ढिलो गरि कवितासंग्रह प्रकाशित भयो नी किन?
नवराज सुब्बा – एक अबोध बच्चालाई खोप लगाउँदा एउटा कविता लेखे जत्तिकै आनन्द आउँछ । पेशाबाट पनि आनन्द लिन सक्नुपर्छ । सन्तुष्टि पाएको पनि छु । थप अभिब्यक्ति र सन्तुष्टिको निम्ति मेरो अन्तरआत्मा साहित्यिक वातावरण खोज्दैरहेछ । जो बल्ल पाएँ । कुनै राम्रो काम सुरु वा सम्पन्न गर्नलाई कहिल्यै ढिलो भएको ठान्नु हुदैन ।

नवोदित – तपाई एक राम्रो गीतकार हुनुहुन्छ, गीत र कवितामा के अन्तर छ?
नवराज सुब्बा – मलाई लाग्छ गीतमा हृदय भेटिन्छ । संगीतमा इश्वर छामिन्छ । कवितामा आत्मा बोल्दछ । अनि निवन्धमा मष्तिष्क र कथामा मन खोलिन्छ ।
नवोदित – तपाई आफू कवि कि गीतकार?
नवराज सुब्बा – म एक पाठक वा विद्यार्थी हुँ । एक अनुसन्धाता तथा सधैं सिकिरहन खोज्ने एक र्सजक हुँ ।

नवोदित – तपाई सरकारी सेवाको महत्वपूर्ण पदमा कार्यरत हुनुहुन्छ । जागिरले लेखनलाई कत्तिको असर पारेको छ?
नवराज सुब्बा – जनताको हकहित कसरी सम्मान गर्नसकिन्छ भन्ने आफ्नो तर्फाट सोच्दछु । स्वास्थ्य सम्बन्धी सरकारी नीति र कार्यक्रम जनमुखी नै छन् । यसका मर्मलाई ब्यवहारमा उतार्न आफ्नो ज्ञान र सीपको प्रयोग गर्दछु । सामाजिक न्यायको लागि सकेसम्म लडिरहेछु । तापनि आफ्ना सीमा र समस्या हुन्छन् । भने जस्तो चाहे जस्तो सबै काम गर्न सकिदैन । यसबेला असन्तुष्टि कतै पोखु झैं लाग्छ । सकभर तथ्यपरक बैज्ञानिक प्रतिवेदन वा लेख लेख्छु । सबै सत्यका तथ्याङ्क भेटिदैनन् । यसबेलामा म साहित्यको साहारा लिन्छु र सिर्जना गर्दछु । त्यसैले मेरो पेशा र साहित्य आपसमा सहयोगी छन् ।

नवोदित – यहाँका रचनामा स्थानीय शब्दहरू हुन्छन् किन?
नवराज सुब्बा – कोही टेम्स नदीको किनारमा बसेर कविता कोर्छन् म तम्बरखोलाको किनारमा बसेर लेख्छु । कोही प्रिन्स डायनाको प्रेम र शुन्दरताको वर्णन गरेर अघाउदैनन् म यता बोक्सी, छाउपडी प्रथाबाट प्रताडित महिला, कल्महरी पीडित बालिकाको कथा ब्यथा लेखेरै भ्याउँदिन । कोही शेक्सपियरको पात्रसित कुरा गर्छन म हिमाल पहाड तर्राईका शर्मा सेर्पा थारु र्राईसित कुरा गर्छु । यसैले होला ।

नवोदित – कविता र गीत लेख्न कुन सजिलो हुन्छ?
नवराज सुब्बा – गीत लेख्न सजिलो लाग्छ । तर कविता लेखेपछि बढी आनन्द आउँछ ।

नवोदित – नेपालको बर्तमान कविता साहित्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
नवराज सुब्बा – आज साहित्य उत्तरआधुनिक कालमा प्रवेश गरिसकेको छ । अब साहित्यमा विज्ञान, सूचनाप्रविधि, समाजशास्त्र, मानवशास्त्र, तथ्याङ्कशास्त्र, अर्थशास्त्र, सगीत, कला र दर्शन जस्ता बहुआयामिक विषयको प्रवेश अपरिहार्य भैसकेको छ । साहित्यकारहरुमा पनि ती क्षेत्र र विषयवस्तुको अध्ययन र ज्ञानको आवश्यकता छ । केवल साहित्य मात्र पढेर उपयोगी साहित्य सिर्जना हुन सक्दैन भन्ने मलाइ लाग्दछ । किनभने साहित्य साधन र साधना दुवै हो ।

नवोदित – मोफसलमा बसेर पनि तपाइ निकै चर्चामा हुनुहुन्छ । यसको रहस्य के होला?
नवराज सुब्बा – समालोचक र पाठकले “जीवन मेरो शब्दकोशमा” कवितासंग्रह र हालको मेरो लेखनलाई नौलो, मौलिक र विशिष्ठ प्रयास ठानेका छन् ।

नवोदित – अहिले समावेशीको चर्चा चलिरहेको छ । नेपालमा लिम्बू साहित्यको स्थिति कस्तो छ?
नवराज सुब्बा – लिम्बूजातिको आफ्नै भाषा लिपि, साहित्य, कला र संस्कृती छ । लिम्बूसाहित्य समृद्ध छ । नेपाली साहित्यले नेपालमा विद्यमान बहुसंस्कृती, बहुल लोकसाहित्य चिनाउन सेतुको भूमिका खेल्नु पर्दछ ।

नवोदित – यहाँलाई साहित्य सिर्जना गर्दा के कस्ता पात्र वा विषयवस्तुले प्रभाव पार्दछ?
नवराज सुब्बा – मेरा पात्र वा विषयवस्तुमा “तीन म” छन् । १. म २. माटो र ३. मानवता । पहिलो ‘म’ भन्नाले स्वयम् म तथा हामी । दोश्रो ‘म’ भन्नाले माटो, देश र आमा हुन् । तेश्रो ‘म’ भन्नाले मानवता अर्थात प्राणीजगतको आत्माको आवाज नै मेरा पात्र र विषयवस्तु हुन् । म सीमान्तकृत श्वरलाई साहित्यको ध्वनिमा घन्काउन चाहन्छु ।

नवोदित – मोफसलका साहित्यलाई कसरी हेर्नु हुन्छ?
नवराज सुब्बा – हिजोसम्म म केन्द्र हुँ अर्थात् म नै सत्ता हुँ भन्नेलाई आज परिधिले भकाभक ढाल्दैछन् । केन्द्र र मोफसलको सीमारेखा मेटिदैछ । संसारमा छरिएका कविहरू इन्टरनेट मार्फ आफ्नो कविता अर्थात विचार उद्घोष गरिरहेछन् । विज्ञानप्रविधिको विकास, विश्वब्यापिकरण वा उदारिकरण र विश्वमा उदाएको उत्तरआधुनिक युगले सबैलाई समान अवसर दिएकोछ जो लिन सक्नुपर्छ । साहित्यमा म मोफसल भनेर कसैले हीनताभाव राख्नु अनि म केन्द्र हुँ भनेर कसैले दम्भ पाल्नु हुदैन ।

नवोदित – यहाँको भावी योजना के छ?
नवराज सुब्बा – निरन्तर अध्ययन, साधना, लेखन गर्ने र केही वर्षो अन्तरालमा प्रकाशन गर्दै जाने योजना छ ।

नवोदित – कुनै गीत गाउन अघि र गाए पछि के अन्तर हुन्छ?
नवराज सुब्बा – गीतको शब्दले पाठकै पिछे अनेक अर्थ वा संगीतकारै पिछे संगीतको अनन्त संभावना बोक्दछ । जब गीतलाई गाइन्छ तब समन्वय मिलेमा तीनवोटा एकको योगफल ५ आउनसक्छ । यदी समन्वय मिलेन भने तीनवोटा एकको योगफल सून्यसम्म पनि आउन सक्छ । गणित र कलामा यही भिन्नता छ ।

नवोदित – सोघ्न छुटेको भए अरु भन्नु केही छ?
नवराज सुब्बा – मानव विकासको मापन साहित्यबाट पनि गर्ने गरिन्छ । साहित्यबाट जीवन र जगतले सकारात्मक आग्रह र अपेक्षा राखेका हुन्छन् । सिर्जना गर्दा के किन कसरी कैले कस्का लागि सिर्जना गर्ने भन्ने बारेमा र्सजक स्वयम् सजग भयो भने समाजले साहित्यबाट केही पाउँछ । साहित्य वा साहित्यकार सबैको साझा सम्पत्ति हो भन्ने कुरा बुझनु र बुझाउनु पनि साहित्य र साहित्यकार कै दायित्व हो । यसबारे म सचेष्ट छु । अन्तमा, अन्तर्वार्ता लिई दिनु भएकोमा तपाइलाई र अन्तर्वार्ता अद्योपान्त पढिदिनु भएकोमा पाठकलाई धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.