‘मेरो जागिरे जीवन’ भित्रका पात्रहरू छाम्दा (नवराज सुब्बा)

नवराज सुब्बा

फूर्सद हुँदो हो त उपन्यास पढ्न नै मजा आउँछ । अझ कसैको जीवनको संस्मरण पढ्नुको मजा झन् अर्कै छ । किनभने यसमा एउटा पात्रको जीवनयात्रामा पछि लागे पछि बिसाउनीमा यात्रा बिसाइन्छ या निश्चित ठाउँमा कथा टुङ्ग्याइन्छ । तर कथासङ्ग्रहहरू एकैचोटी पढ्दा यस भित्रका अनगिन्ति पात्रहरूसित आत्मसात गर्दागर्दै पाठक कहिलेकाहीँ अल्मलिँदो रहेछ । यसैले एकै पटकमा धेरै कथाहरू पढेपछि पाठक र पात्रहरूबीचको साक्षात्कार तथा संस्मरण बीचमा कुहिरो लाग्न सक्छ । अनि त्यसबेला एउटा कथाको फेद र अर्को कथाको टुप्पो मिलाएर पाठक मनभित्र अर्कै कथावस्तु निर्माण हुने गरेको अनुभव म आफैसित पनि छन् । तर साहित्यकार श्यामकृष्ण श्रेष्ठको प्रस्तुत् मेरो जागिरे जीवन संस्मरण पढ्दा मैले त्यसरी अल्मलिनु परेन । पात्रहरूसित साक्षात्कार भयो, उनीहरूलाई मैले छर्लङ्गै देखें र केहीलाई छामि हेरें पनि ।

एकदिन एकाविहानै ‘मर्निङवाक’ गर्दै थिएँ । बीच बाटोमा एक जना अधिकृत साथीसंग भेट भयो । निकै वर्ष पछि भेट भएको थियो । सन्चोविसन्चो राम्ररी सोध्न नभ्याउँदै उनले आफूले विगत केही वर्षा गरेका बहादुरी सुनाउन थाले । ‘मैले एक दर्जन भन्दा बढी सरकारी अधिकृतको जागिर चट् पारिदिएँ । अदालतमा मैले उनीहरू विरुद्ध पेश गरेका मुद्दाले अद्वितीय महत्व पाए !’ भनेर पुरुषार्थ सुनाए । उनी यति तीव्र गतिमा बोल्दै थिए कि मैले ‘ओहो !’ बाहेक अरू बोल्नै पाइन । गफ यसै विषयवस्तुमा विस्तारित हुन थाले पछि मैले उनीसंग विदा मागेर हिँड्न उचित ठानें र छुट्टीएँ । बाटोमा हिँड्दै जाँदा मैंले यिनको मनोविज्ञान असाधारण रहेछ भन्ने निष्कर्षनिकालें । तर यति भनेर पनि मनमा कुरा खेल्न छाडेन । उनका कारणले अवकाश पाएका ती एक दर्जन अधिकृतहरूका अनुहारहरू र उनीहरूका परिवारका मुहारहरू कल्पन थालें । अनगिन्ति दुःखी अनुहार खोजें र तीमध्ये कुनै अनुहार तिनैका पो हुन् कि ! भन्ठानें मनमनमा । बाटामा कतै दुःखी अनुहार देख्दा कतै त्यो अनुहार पनि त्यस्तै दुःखी पो हो कि ! झुल्किए झझल्काहरू । यसरी ती अनुहारहरूले मलाई पिरोल्दै थियो । ठ्याक्कै त्यस्तै दुइचारओटा अनुहार मैले साहित्यकार श्यामकृष्ण श्रेष्ठको मेरो जागिरे जीवन भित्र भेट्टाएँ कहिल्यै पनि बिर्सन नसकिने धर्म-सङ्कट संस्मरणमा ।

संस्मरणभित्र झन्डै एक शताव्दी अघिका परिवेश प्रतिविम्वित गर्ने शव्दचित्र समेत कोरिएका छन् । मानिसको जीवन त्यतिबेला कति आतङ्कित थियो अर्थात् जताततै मानव अधिकारको कति निकृष्ट नमूनाहरू छरपस्ट थिए त्यहाँ । मान्छेलाई नेल ठोकेर पनि नपुगेर सुँगुरको पाठा बोक्ने पेरुङ्गोमा हालेर लगियो त्यै इलामबजार माथिको गढीथुम्कामा- काटि मार्नका लागि । ‘मलाई एकैतालमा छिनाइदिनू’ भनी ती काटिन लागेका ती अभागीले आफूसंग भएको चीजबीज र दुइ -चार पैसा समेत दिन्थे रे भन्ने पढ्दा मन सारै नराम्रो गरि कुँडियो मेरो । मान्छेको कति हृदयविदारक बोली सुनियो † हामी त्यसबेला कति निरीह रहेछौं † जस्तो लाग्यो । मलाई मेरा पुर्खाको सारै माया लागेर आयो । कैयौं निरीह मान्छेका निर्दोष घाँटी छिनाउने त्यही खुकुरी अर्थात् कत्तीलाई किनेर लेखकको घरमा पनि कथित् घरको ‘रक्खे’ अर्थात् रक्षार्थ गर्ने नाममा राखिएको छ । कस्तो अन्धविश्वासमा गुज्रिएको रहेछ त्यो समय । त्यो कुरा पढ्दा आङ् जिरिङ्ग हुन्छ र मन अमिलो भइदिन्छ । लेखकले यसरी उभ्याएका थुप्रै पात्रहरूले मानवताको पुकारा गरेका थिए संस्मरण भित्र । वास्तवमा संस्मरण स्वयम् साक्षी बनेको छ, इतिहास भएको छ र यसले नेपाली जीवन र जगतलाई मार्गनिर्देश पनि गरेको छ । पुस्तक भित्रको पहिलो संस्मरण जागिरप्रतिको आकर्षा र यसको पृष्ठभूमि ले मलाइ निकै भावुक बनायो ।

लेखक हुकुमी राणा शासनकालमा ताप्लेजुङ अमिनीका लप्टनसंग एउटा सानो त्रुटीबोध हुनपुग्दा आतङ्कित भएर ६ दिनसम्म आफन्तकहाँ लुकेर बसेका थिए । प्रस्तुत् बालमनोविज्ञानले त्यसबेलाको आम नागरिकको मनोविज्ञानलाई पनि प्रतिविम्वित गरेको छ । उनको संस्मरण जागिरप्रतिको आकर्षण र यसको पृष्ठभूमिमा त्यसबेला एकातिर जागिरेको इज्जत भन्दा पनि जनतामा त्रास नै बढी थियो भने अर्कातिर स्वयम् कर्मचारीतन्त्रभित्र चाहिँ जागिरेको स्वाभिमान थिएन । त्यसबेला प्रशासकहरू कति आडम्बरी थिए भन्ने कुराको प्रमाण लेखकका विभिन्न संस्मरणहरू, परिवारको भोगाइ र लेखकका पिताजीको भनाइले पनि छर्लङ्ग पारेका छन् ।

लप्टनलाई हारमोनियम् सिकाउने प्रशिक्षकको रूपमा लेखकले जागिरको सुरुवात गरेको देखिन्छ । यस अर्थमा उनी एउटा भाग्यमानी, कलाप्रेमी पात्रको रूपमा उभिएका छन्- उनको लप्टन सोमध्वज, हारमोनियम र जागिर संस्मरणमा । समग्रमा हेर्दा साहित्यकार श्यामकृष्ण श्रेष्ठ जसको बाल्यकाल र पारिवारिक पृष्ठभूमि जागिर, चाकरी, पजनी, सरुवा, बढुवा जस्ता कार्यव्यापारमा मुछिएको तथा तत्कालीन् शासक वर्गीय सेरोफेरोमा हुर्केको देखिन्छ । यस अर्थमा लेखकको जीवनशैली सामान्य नेपालीको जीवनस्तर भन्दा माथिल्लो स्तरको छ । जागिरले उनलाई खाएको छैन । कतै लडाएको छैन, र गिराएको पनि छैन उनलाई ।

लेखकले जागिरलाई किन एउटा पिँजडाका रूपमा पाए होलान् भनेर मैले किताबमा खोजें । मैले के थाहा पाएँ भने खासगरि लेखकले जागिर सुरु गरेताका जागिरे जीवन स्वाभिमान र स्वतन्त्रताको हिसाबले निम्नस्तरको रहेको बुझिन्छ । आज देशमा लोकतन्त्र आइसकेपछि जागिरेहरूमा जीवनमा कमसेकम आत्मसम्मानको विकास भएको छ । आर्थिक हिसावले आकर्ष नभए पनि जागिरलाई राष्ट्रसेवाको राम्रो अवसरका रूपमा हेर्न थालिएको छ । मैले पुस्तकमा पाएको एउटा उल्लेख्य सकारात्मक संदेश भनेको नै उनले आविस्कार गरेको जागिरे जीवन पछिको अवकाशप्राप्त उज्यालो जीवनबोध हो । जुनकुरा उनको सेवानिवृत्त भएको दिन कविताले र्छलङ्गै पार्छ ।

संक्षेपमा भन्नुपर्दा, लेखक आफ्नो लेखनमा सकारात्मक छन् । जीवनमा उनले सधैं उज्यालो खोजे, आनन्द पहिल्याए र पाए पनि । उनले लामो अवधिसम्म जागिरलाई खाए तर अन्ततः जागिरले उनलाई खाएन । अर्थात् जागिरले उनलाई जीवनमा गिराएन । यस अर्थमा लेखकको जीवन र लेखन सफल छ । कितावभित्र नजानिदो पाराले मैले लेखकसित नाता पनि खोजें । र भेटें गतिला नाता । उनी राष्ट्रसेवक साहित्यकार रहेछन् र संगीतप्रेमी कलाकार पनि । अन्तमा, विश्राम लिनु अघि नभनि नहुने एउटा कुरा लेखिरहेछु, अहिले म एकजना अग्रज सर्जक जसको लेखन पढेर समय खेर नगएकोमा सन्तुष्टीको लामो सास पनि फेरिरहेछु ।

भद्रपुर झापा १ असार २०६५, ‘जुही’ मा श्यामकृष्ण श्रेष्ठ विशेषाङ्कका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.