मेरो जीवन यात्रा

  • नवराज सुब्बा

मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ । मेरो जन्म आजभन्दा ४७ वर्षन्दा अघि दुर्गम पूर्वी हिमाली ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको हो । मेरी आमाको नाम नरमाया सुब्बा र बूबाको नाम आइतराज सुब्बा हो । हाल मेरो परिवारमा श्रीमति, दुइ छोरा, एक बुहारीका अतिरिक्त सासु र भतिज गरि सात जना छौं ।

मैले मेरो गाउँकै सरस्वती माध्यमिक विद्यालयमा शिक्षा आरम्भ गरें । र एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरें । उसबेला गाउँबाट पहिलो श्रेणीमा एस.एल.सी. बिरलैले मात्र पास गर्दथे । एस.एल.सी. मा मैले राम्रो स्थान ल्याएकाले मलाई काममाडौंमा गएर उच्च शिक्षा हासिल गर्न सबैले हौसला दिए ।

वि.स.२०३४ सालमा काठमाण्डौं गएँ । क्याम्पसको प्रवेश परीक्षामा सामेल भएँ र महाराजगञ्ज क्याम्पसमा भर्ना भएँ । त्यहाँ मैले छात्रवृत्ति पनि पाएँ । करिव ३ वर्ष जति पढे पछि म आफ्नै गाउँमा स्वास्थ्य चौकीमा प्रमुख भएर आएँ । र करिव ३ वर्ष जति मैले आफ्नै गाउँको सेवा गरें । यसरी म कलिलै उमेरदेखि स्वास्थ्य सेवामा लागें । २०३७ सालमा स्वास्थ्य मंत्रालयको पाँचौं तहको सहायक पदबाट सुरु गरेर हाल म दशौं तहको अधिकृत पदमा पुग्न मैले धेरै ठूलो संघर्ष गर्नुपर्‍यो ।

जागिरकै दौरानमा मैले आफ्नो अध्ययनलाई पनि निरन्तर जारी राखें । त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य र नेपालीमा स्नातकोत्तर गरें । राष्ट्रसेवामा समर्पित छु यसले मात्र आफ्ना सिर्जनात्मक प्रतिभा थिचिन नमानेर साहित्यिक सिर्जना भएर उम्रन खोज्छन् । यसैले साहित्य सिर्जनाको क्षेत्रमा पनि उत्तिकै समर्पित हुन खोज्दछु ।

हुन त म बाल्यकालदेखि नै कक्षाकोठा भित्रको एक जेहेन्दार छात्र मात्र नभएर विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ । बाल्यकालमा कविता, निवन्ध लेखेर प्रतियोगिताहरूमा सहभागी हुन्थें र विजयी पनि भएँ । म गीत गाउँथें, कतिपय गीतमा संगीत पनि भरें । तर यो मेरो गायन क्षेत्र चाहिँ अहिले टुट्यो । अहिले म गीत रचना मात्र गर्छु ।

खेलकूदतर्फमलाई फूटबल र ब्याडमिण्टन खूब मन पर्छ । केटाकेटीमा यति फूटबल खेलें कि मेरा खुट्टाका चोट नलागेका कुनै औंला थिएनन् । ब्याडमिण्टन खेलमा मैले विद्यालयमा मलाइ सिकाउने गुरुलाई पनि हराएँ, र उनले तेह्रथूम जिल्लाको आठर्राई सक्रान्तीमा लाग्ने मदन मेलामा प्रतियोगितामा भाग लिन पठाए । त्यहाँ मैले मेरा अभिभावक उमेरका खेलाडीहरूलाई हराएँ । मलाई सानो फूच्चे देखेर होला सबै दर्शकले मेरै पक्षमा हुटिङ गरि खेलमा प्रोत्साहित गरे । क्याम्पस स्तरमा पनि म आफ्नो क्याम्पसको ब्याडमिण्टन च्याम्पियन नै थिएँ । यो पनि अहिले टुट्यो ।

क्याम्पस जीवन ३०३४-३७ सालतिर म महाराजगंज क्याम्पसबाट निस्कने भित्तेपत्रिका ‘सुनगाभा’को सम्पादक थिएँ । यसमा विशेष साहित्यिक सामग्रीहरू प्रकाशित गरिन्थ्यो । लामो समयसम्म प्रतिवन्धित रहेको विद्यार्थी यूनियन २०३६ सालमा पुनस्थापित भए पछि म क्याम्पसको विद्यार्थी यूनियनमा पनि निर्वाचित भएँ । यसरी क्याम्पसमा पनि साहित्यिक र साँस्कृतिक कार्यक्रमको संयोजन गर्ने गर्दथें । यसबेलातिर अर्थात् २०३५ सालतिर मेरा मित्र सूर्य थुलुङको स्वर र संगीतमा एउटा आधुनिक गीत रेडियो नेपालमा रेकर्डिङ गरें । मैले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा पनि भाग पनि लिएँ । मेरो रचनाको गीत त्यसबेला रेडियो नेपालबाट प्रकाशित हुने ‘झंकार’ पत्रिकामा पनि प्रकाशित भएको थियो ।

२०३७ सालदेखि म देशको दर्ुगम जिल्लाहरूमा स्वास्थ्य सेवामा लागें । शहर पुग्न अर्थात् धरान पुग्न कस्सिएर हिंड्दा तीन दिन लाग्दथ्यो । मैले धेरै साहित्यिक रचना २०३०, २०४० र २०५० का दशकमा लेखें । यसलाई छपाउन धेरै प्रयत्न गरें तर यसको छेउटुप्पै भेटिन । गोपालप्रसाद रिमालले ‘कुनै एक दिन’ अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त भने थिएँ । कविता लेख्दै, राख्दै गरें । र २०३५ सालदेखि २०६१ सालसम्मका रचनाको ‘जीवन मेरो शव्दकोशमा’ कवितासङ्ग्रह २०६१ सालमा प्रकाशित गरें । नेपाली साहित्य जगतमा मैले कवितासङ्ग्रह ‘जीवन मेरो शव्दकोशमा’ र निबन्धसङ्ग्रह ‘मनको मझेरी’ प्रकाशित भएपछि भने मलाई पाठकहरू, स्रष्टाहरू र सञ्चार जगतले चिने र मेरा रचनाले निकै चर्चा पनि पाए ।

स्वास्थ्य चौकीमा औषधी व्यवस्थापन कार्यक्रम सफलतापर्ूवक सञ्चालन गरेर लगातार तीन वर्षप्रथम घोषित भएपछि २०४७ सालमा मैले ‘गोरखादक्षिणबाहु’ पाएँ । जीवनमा राजाबाट कुनैदिन तक्मा पाउँला भन्ने आशा त के कल्पनासम्म पनि मैले गरेको थिइन । तर रेडियो सुनेर अचम्म, खुशी र पछि गर्व लाग्यो । यो तक्मा मैले कसैको नाजायज सिफारिस वा कृपाले पाएको होइन भन्ने मलाई पूर्ण विश्वास छ । हाल आएर म त्यति सम्मानलायक नभए पनि मेरो साहित्यिक योगदानलाई हेरेर धेरै साहित्यिक प्रतिष्ठानहरूले मलाई सम्मान गरेका छन् । यो मेरो योगदान भन्दा बढी नै भयो होला जस्तो पनि लाग्छ । श्री मोहन रेग्मी स्मृति वाणी पुरस्कार, नवरङ्ग साहित्य प्रतिष्ठान सम्मान, नाट्येश्वर प्रतिष्ठान सम्मान मैले प्राप्त गरें । हालै बबरसिंह थापा स्मृति सम्मान पुरस्कार पनि मलाई दिने घोषणा गरिएको सुनेको छु । यसले मलाई मेरो साहित्यिक यात्रामा उर्जा थपेको छ अर्थात् जिम्मेवारीबोध गराएको छ ।

हालै सम्पन्न ‘प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ मा म प्रथम स्थान हासिल गर्न सफल भएँ । प्रतियोगितामा २७ देशका १०३ जना प्रतियोगीहरू थिए । विश्वस्तरमा भएको यस प्रतियोगितामा नेपालमा बस्ने नेपालीले उक्त प्रतियोगिता जितेकोमा अझ खुशी भएँ । यो घटना परम्परागत साहित्य जगतमा सूचना र प्रविधिको उपयोग भएको एउटा नयाँ सुरुवात थियो । यो केवल नयाँ परम्पराको उद्घाटन मात्र नभएर नयाँ आयामको विस्तार भएको ऐतिहासिक घटना हो भन्ने मैले ठानेको छु ।

अध्ययन अनुसन्धान मेरो रुचीको क्षेत्र हो । मैले सामाजिक क्षेत्रका विविध विषयमा अनुसंधान गरें र अझै पनि गर्दैछु । यो क्षेत्रमा कार्य गर्दा मलाई बौद्धिकता बढेको अनुभव हुन्छ । यसले सामाजिक क्षेत्रमा बेग्लै योगदान पुग्छ र सन्तुष्टि पनि मिल्छ । तर साहित्य सिर्जना गर्दा भने अझ आम जीवन र जगतको ज्यादै निकटता, हार्दिकपन मिल्दोरहेछ । यसैले पनि म यस जगतसित निरन्तर आकषिर्त छु ।

हाल म नयाँ कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ प्रकाशनको तैयारीमा छु । ‘नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली, दलित होस् वा तागाधारी हामी नेपाली’ बोलको राष्ट्रियगीत लोकप्रिय बनेपछि यसबाट उत्साहित भएर, हाल म अरू राष्ट्रियगीत र आधुनिकगीत रचना र रेकर्ड गर्दैछु । आशा छ, आगामी दिनमा म मेरा विद्वान पाठकहरूलाई नयाँ कवितासङ्ग्रह मात्र होइन म मेरा प्रिय श्रोताहरूलाई नयाँ गीतले पनि स्वागत गर्नेछु । धन्यवाद †

लेखन मिति- २०६४ चैत्र, साझामञ्च साप्ताहिक १८ बैशाख २०६५, अन्नपूर्ण दैनिक, बैशाख २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.