…म यहीँ छु ! कथा ( नवराज सुब्बा )

मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु । यही कोक्रामा आजभन्दा चारवर्षअघि मलाई मेरी आमाले यसरी नै हल्लाउनु भएको थियो । आमा आज यो दुनियाँमा हुनुहुन्न । राम्ररी रुन पनि नसक्ने शिशु अर्थात् मेरी सहोदर बहिनी ‘करुणा’लाई जन्म दिएर उहाँ भगवानकहाँ जानु भयो अरे । जहाँ जाँदा पनि मलाई सँगै लग्ने आमाले मलाई किन त्यहाँ लानु भएन ? यो शिशुलाई दूध चुसाउने बेलामा पनि छाडेर त्यहाँ किन जानु भयो ? यी सब् कुरा यो बालमस्तिष्कले बुझ्न सकेन ।

केही महिना अघि मेरी आमा मावल जाने बेलाका दुश्यहरू म सम्झन्छु । एक दिन विहानै मेरी आमा खाम्लालुङ पारी सेरजङ मावलबाट लिन आएका मानिस संगै एउटा पोको बोकेर जानुभयो । मलाई हातमा केही पैसा र बिस्कुट थमाएर जानुभो । “म छिटै आउँछु राम्ररी बस् है सबल !” भन्दै उहाँ माइती लाग्नु भयो । मैले कति खुशी मान्दै विस्कुट खाएँ र ती पैसा राख्न बजुलाई दिएँ । आमा मावल जाँदा मैले घरको बार्दलीबाट आमाले पिपोरीडाँडा काटुन्जेल सम्म हेरेको थिए । त्यहाँदेखि ओझेल परेकी आमा अब छिटै नै त्यही बाटो भएर आउनु हुनेछ भन्दै मैले हरेक दिनजसो त्यही बाटो कुरी रहें ।

स्कूल जाने बेलामा हरेक दिन मैले आमालाई खोजें । मलाई सर्टको टाँक राम्ररी लगाउन आएन । टाँक तलमाथि भएछ, सर्ट पनि नमिलाई लगाएँछु । पैण्टको बेल्ट पनि भेटिन । स्कूलमा मेरो पैण्ट बारम्बार तल झरिरहन्थ्यो र हातले तानिरहें । मलाई स्कूलमा साथीभाईले सारै जिस्काए अनि सरले, मिसले पटक पटक हकार्नु भयो । दिउँसो स्कूलमा मलाई भोक र न्रि्रा पनि लाग्थ्यो । आमाले दिने गरेका खाजा आमा गएदेखि मैले खान पाएको पनि छैन । पछि आमा आएपछि यी सबै कुरा बेलिविस्तार सुनाउँला भनेर सोचि राखेको थिए मनमा । मलाई गालि गर्ने बिन्द्रेलाई आमा आएपछि भनेर मलाई पिटेको बद्ला लिउँला, कुटाउँला भन्ने पनि लागेको थियो ।

“तँ अब आमा बिनाको टुहुरो भइस् !” मेरो मीठा आशा र भरोसालाई त्यो विन्द्रेले हिजो एक्कासी स्कूलको खेलमैदानमा सबैको अघि भत्काइ दियो । टुहुरो भनेको के होला ? कस्तो होला ? त्यसैबेलादेखि मलाई कता कता भित्रैदेखि डर मात्र लागेर आउँछ । आजकल बजुले पनि ‘कठैवरी’ भनेर बेलाबेला सुम्सुम्याउने गर्नु हुन्छ । म केही बुझिरहेको छैन । तैपनि आमा आउने बाटो रात नपरुन्जेल सम्म हेरिरहेछु ।

अस्ति बजुले छिमेकीसंग कुरा गरेको सुनें “के गर्नु बुहारी सुत्केरी अवस्थामा रक्तश्राव भएर माइतीघरमा बितिछन् । काठमाडौंमा खबर पुगेपछि छोरा ससुराली पुगेर तल खोरुङ्गा खोलामा बुहारीको सदगत् गरी नानी चाहिँ यी लिएर आयो ।” त्यसबेलादेखि नै मलाई कता कता चिसो लागेको थियो । मेरो बुबा काठमाडौमा हुनु हुन्छ, दशैंतिहारमा मात्र आउनु हुन्छ लुगाफाटा लिएर । तर अस्ति उहाँ अचानक सानो नानी च्यापेर आउनु भो । मैले “आमा खोई ?” भनेर सोधें । उहाँ केही बोल्नु भएन । मलाई हेर्दै आशु पुछेको मात्र देखें । केही दिन घरमा बसेर बुबा पुनः काठमाडौं फर्कनु भयो । जानेबेलामा “राम्ररी पढ्नु” मात्र भन्नुभयो । तर किन किन मलाई पढ्न मनै लाग्दैन केवल आमाको संझना मात्र आइरहन्छ ।

हिजोआज घरमा आउने प्राय सबैले मलाई ‘कठैबरी’ भन्थे तर एकजना मुख अलि छिटो चलाउने तल्लो घरकी काकीले “सबल ! अब तँ नै यो नानीको आमा भइस् राम्ररी नानीलाई हेनु नि !” भनेर गइन् । त्यसबेला मलाइ सारै ननिको लाग्यो । भित्र ओछ्यानमा गएर घोप्टो परेर धेरैबेर रोएँ । साँझपख बजुलाई सोधें “बजु ! अब मेरी आमा मावलबाट साँच्चै आउनु हुन्न ?” बजुले हल्का रूपमा मलार््इ जवाफ दिनु भयो – “आउदैन, तेरी आमालाई तैले सारै दुख दिइस् अरे, त्यसैले भगवानको घरमा गयो तेरो आमा” । मैले तत्कालै पुनः गम्भीरतापूर्वक सोधें – “बजु ! भगवानको घर कता छ ?” उत्तरमा “माथि आकाशमा तारामा भगवानको घर छ, पछि जाउँला” भनेर मलाई फकाउनु भयो बजुले । त्यसपछि म रातमा पनि उठेर आकासका तारा हेर्छु कतै आमालाइ देख्छु कि भन्दै । र मनमनै विन्ति गर्छु – “आमा ! आउनोस् अब म तपाइलाई कहिल्यै दुःख दिनेछैन, रुने छैन आमा ।…” भन्दाभन्दै थाकेर निदाउँछु । हिजो सपनामा त आमासँग बसेर म कतिबेर रोएँ, आमाले मलाइ काखमा राखेर फकाउनु भयो कपाल मुसार्नु भयो । म सपनामै सधै बाँच्न पाए पनि हुन्थ्यो नि, त्यसबेला म नब्यूँझेको भए पनिहुन्थ्यो । खै त, विपनामा त आमा हुनुहुन्न ? यहाँ म एक्लै छु । संसारमा अब म एक्लो छु । अब मलाई कसले देख्छ कसले हेर्छ ?…

आमाको यो रिक्तताले रिङटा लागेर म पाइला पाइलामा ढल्न खोज्छु । कतै हिड्न पनि मन लाग्दैन, केवल टोलाएर हेरिरहेछु यो कोक्रेलाइ र हल्लाइरहेछु बेलाबेला । सिकुवामा खै कति बेला थाहै नपाइ पोखिएछ यति बिघ्न अँधेरो । अँधेरोले सायद म छेवैको कोक्राको नानी पनि राम्ररी नदेख्ने भएँ, मेरा आँखा तिर्मिराए आँशुले या अँधेरोले अर्थात् दुवैले हो कि !

कोक्राभित्रबाट छट्पटाउदै करुणा च्याँ च्याँ गरेर रुन्छे । म झस्कन्छु । म पो रोएँ कि करुणा रोइ वा एकसाथ रोयौ दुवै, एकपटक म आफै अल्मलिन्छु र चिमोट्छु आफैलाई । रिमरिम उज्यालोमा आँगनको छेऊबाट हजुरआमा हतारिएर कराउँदै आएको देख्छु -“कोही छैन कि क्या हो यहाँ नानी हल्लाउने हँ ?”

भुइँमा टुक्रुक्क बसेको छु । यो अधेरोमा मलाई बजुले पनि साँच्चै देख्नु भएन कि ! बजुले अधेँरोमा मलाई नदेखेर कतै अन्जानमा कुल्चनु पो हुन्छ कि भनेर डराउँछु । र कोक्राको डोरीलाई हातले फेरि एकपटक जोडले तान्दै हत्तपत्त भन्छु “बजु ! म यहीँ छु !”।

२०६५।७।३ भद्रपुर झापा ।

One thought on “…म यहीँ छु ! कथा ( नवराज सुब्बा )”

  1. Dear Mr. Nawaraj Subba,

    Thanks for sharing this sweet & heart touching story.. You've really explained the love for mother. I liked the line – त्यसपछि म रातमा पनि उठेर आकासका तारा हेर्छु कतै आमालाइ देख्छु कि भन्दै .

    Expecting to read more this sort of stories.

    Regards,

    Deban

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.