कम्लहरी

मलाई
माघीसँग डर लाग्छ आमा !
मलाई यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !

भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्‍यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्‍यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाई !

तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाई
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाई आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल –
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा-
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?

-नोट-पश्चिम नेपालमा थारू जातिका छोरीलाई सातआठ वर्षो उमेरमा साहू-महाजन, जमिनदार एवम् कर्मचारीका घरमा कामका लागि पठाउने प्रथा कम्लहरी हो ।) “बीच बाटोमा ब्यूझेर” कवितासंग्रहबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.