उज्यालोको खेती

आजकल गाइँगुइँ सुनिन्छ
धकेल्न खोजिदैछ फेरि अन्धकारमा
खबरदार !
वत्तीमुनिको अँध्यारोमा बस्न
विलकुलै मञ्जूर छैन हामीलाई
नगर बन्द नदीको सङ्गीत
काकाकुल तीर्खा बोक्न
अब मञ्जुर छैन कसैलाई

भन, किन उँचाइ हाम्रो बढेन ?
जबकि सगरमाथाकै शीरमा
शान्तिको पहिलो किरण झर्छ
वुद्धभूमिमा जन्मेर पनि हामी
किन युद्धभूमिमा छट्पटाइरहेछौं ?
कसलाई देखाऔं ?
अप्ठेरो ठाउँमा आएको यो पिलोलाई
आफ्नै घरमा हामी घुन भइयो र पिस्नसम्म पिसियौं
साँढे बीचको बाछा पनि भइयो र मिच्नसम्म मिचियौं
आज घरघरमा शहिदका सुनौंला तस्वीरहरू
टाँगेर घर उज्यालो त बनाइयो
तर घरभित्र बस्ने सन्तानका
मुहार किन अझै अँधेरै छन् ?

उज्यालोको खोजीमा
हामीले खोज्दै नखोजेका अथवा सोच्दै नसोचेका
अनगिन्ति दागहरू पनि लगाइएछ अनुहारमा
‘अँध्यारो रोपेर फल्दैन उज्यालो’ कसरी बुझाउँ
के आफैभित्र पहिले शान्तिको दियो सल्काउन सकिदैन त !
सकिन्छ, किन सकिदैन, अवश्य सकिन्छ
अनेकताबीच एकताको सुन्दर कमल फुलाउन सकिन्छ
खोजौं दिव्यपुञ्ज आफैभित्र
आज, अहिले नै
उज्यालोको खेती सुरु गरौं
अँध्यारो विरुद्ध उज्यालोको खेती गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.