जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू

– नवराज सुब्बा

डेनमार्कको राजधानी कोपेनहेगनले आज सबैको ध्यान खिचेको छ । पृथ्वीको तापक्रम बढ्नबाट रोक्न र जलवायुमा आउने परिवर्तनलाई न्यूनिकरण गर्नको लागि खासगरी औद्योगिक राष्ट्रहरूलाई घच्घच्याउन विश्व जनमत बन्दैछ । वातावरण र मानव अस्तित्वको अभियानमा क्योटोमा अठोट गरिएका समझदारीलाई सुनिश्चित गर्न कोपेनहेगन शिखर सम्मेलन एउटा महत्वपूर्ण पाइला हुनेछ । यस बैठकमा वातावरणमैत्री मानवतामुखी निर्णयको घोषणा गर्दै विश्वव्यापी समझदारी अभिवृद्धि हुने आशा राखिएको छ ।

सन् १९७५ मैं पृथ्वीको भारवहन क्षमता भन्दा बढी जनसंख्या भइसकेको र पृथ्वीले मानवीय आवश्यकता परिपूर्ति गर्ने क्षमता भन्दा २५ प्रतिशत बढी चाप हाल सहन गर्नुपरेको अवस्था छ भनि अध्ययनहरूले बताएका छन् । फलस्वरुप युगौदेखि पृथ्वीमा आउने स्वभाविक परिवर्तनमा हाल तीव्रतापूर्वक अस्वभाविक परिवर्तन देखा पर्न थालेका छन् । आज हामीले सामना गर्नु परेको यस्ता अवाञ्छित असरहरू मध्ये भूमण्डलीय तापक्रममा भएको बृद्धि तथा मौसम परिवर्तन प्रमुख हुन् । जनसांख्यिक गतिविधि अर्थात् मानवीय क्रियाकलापबाट अत्यधिक मात्रामा उत्सर्जित कार्वनडाइअक्साइड नै मौसम परिवर्तनको प्रमुख कारकतत्व भएको तथ्य सिद्ध भइसकेको अवस्थामा अब मौसम परिवर्तनले जनस्वास्थ्यमा पार्ने असरहरूका बारेमा बेलैमा गम्भीरतापूर्वक नसोचे यसबाट गरिब मुलुकका जनता नै बढी मूल्य चुकाउनु पर्ने स्थिति आएको छ ।

अप्रत्यक्ष रुपमा जनस्वास्थ्यलाई पर्ने संभावित असर तर्फ हेर्दा सर्वप्रथम माटोको उर्वरतामा क्षय, सुख्खा, आँधिबेरी इत्यादिद्वारा अधिक मात्रामा अनिकाल आउने र यसबाट उत्पन्न भोकमरीबाट मृत्यु तथा कुपोषणको मात्रामा बृद्धि हुनेछ । कुपोषित समूह बढ्ने र यो समूह सरुवारोगहरूबाट मर्ने दर र संख्या उच्च हुनेछ । खानेपानीको पहुँच घट्नेछ जसबाट झाडापखाला जस्ता रोग र महामारीमा बृद्धि हुनेछ । स्रोतको नियन्त्रण गर्ने प्रतिस्पर्धामा आउने तीव्रताले द्वन्द्व र मानसिक रोगमा वृद्धि हुनेछ । बाढिपहिरोमा बृद्धि भई यसबाट हुने प्रभावित तथा विस्थापित जनसंख्यामा तत्कालीन र दीर्घकालीन स्वास्थ्यसमस्याहरूको जन्म हुनेछ । यसबाट धेरै जनसंख्याको मृत्यु हुने र बाँचेकाहरू पनि स्वास्थ्य तथा रोगको दृष्टिले जोखिमपूर्ण समूह बन्नेछन् र रोगको रुग्णता र मृत्युदरमा यसले ठूलो प्रभाव पार्नेछ ।

जलवायुमा आउने परिवर्तनबाट पर्ने प्रत्यक्ष असरहरूमा कीटजन्य रोगहरू प्रमुख समस्याका रुपमा देखापर्ने छन् । पृथ्वीको तापक्रममा आउने वृद्धिले औलो, कालाज्वर, डेंगु, जापानीज इन्सेफलाइटिस जस्ता रोगहरू फैलाउने कीटजन्य जीवहरूको आश्रयस्थलको क्षेत्र बढ्ने छ । यी कीटजन्य रोगहरू सर्ने अवधि पनि बढ्ने छ र जनसंख्यालाई रोगर्सर्ने जोखिम पनि बढ्नेछ । लामखुट्टेको वासस्थान फैलिएर पहाडी भूभाग पनि कीटजन्य रोग सार्ने कीराहरूको जनसंख्या बृद्धिको लागि अनुकूल बन्नेछ । यसरी आज विश्वमा ज्यान लिने प्रमुख रोगहरू मध्येको एक औलोरोग नियन्त्रण कार्य थप जटिल र चुनौतीपूर्ण बन्नेछ । घामको तातोबाट प्रत्यक्ष्य रुपमा लाग्ने “लू” बाट धेरैको ज्यान जानेछ । यसले खासगरि बालबालिका, वृद्धबुद्धा तथा घरबारबिहीनहरूको जनसंख्यालाई बढी प्रभावित पार्नेछ । छालाको रोगमा थप बृद्धि हुनेछ । खानेपानी, खानाबाट सर्ने रोगहरू जस्तै- हैजा, आउँ, टाइफाइड तथा झाडापखाला सर्ने संभावना बढ्नेछ र यसले धेरै जनधनको क्षति गराउनेछ । वायुमण्डलमा कार्वनडाइअक्र्साईडको अधिक मात्राले श्वासप्रश्वासरोगहरू बढ्नेछन् र रुघाखोकी निमोनियाको रुग्णता अर्थात् रोगदर तथा मृत्युदर संगै बढ्नेछ ।

अन्ततः सम्पूर्ण विकास जनसंख्यामैं लक्षित र केन्द्रीत हुन्छन् । आमजनतालाई सामुहिक रुपमा र व्यक्तिगत स्तरमा असर र प्रभाव पार्ने यस विश्वव्यापी जल्दोबल्दो विषयलाई सबैले चासो लिने बेला आएकोछ र आजैदेखि आ-आफ्नो भूमिकाको पहिचान गर्नुपर्ने बेला पनि भएको छ । पश्चिमी मुलुकमा सार्वजनिक वसबाट यात्रा गरेर आउने ग्राहकलाई यौनकर्मीले छूट दिएको एउटा समाचारबाट हामीले धेरै कुरा सिक्न सक्छौं । हामी पनि किन र्सार्वजनिक यातायात व्यवस्था सुदृढ र प्रयोगलाई प्रोत्साहित नगर्ने । आन्दोलनको क्रममा आजकल सडकमै टायर बालेर धुँवा निकालिन्छ- यसको विकल्प किन नखोज्ने । अब जङ्गलमा लाग्ने डँढेलो नियन्त्रणमा सबैजना चनाखो बन्नै पर्ने भएको छ । फोहोरमैला सुकाएर मात्र डढाउने गरेमा कम कार्वन उत्सर्जन हुने हुँदा घरैदेखि यो अभियानलाई हामी सहयोग गर्न सक्छौं । घरभित्र, घरवरिपरि वा सार्वजनिक स्थल धुँवामय नबनाऔं । उद्योग कलकारखानाबाट हुने अत्यधिक कार्वनउत्सर्जनका लागि आज विश्वव्यापी रुपमा चिन्तन र पहल भइरहेको बेलामा हामी पनि आ-आफ्नो क्षेत्रबाट जुटौं र यो विश्वव्यापी अभियानलाई सफल बनाऔं ।

References:
1. Colwell R. et al. (1998). Global Climate Change and Infectious Diseases, Emerging Infectious Diseases. Vol.4, No.3.July-Sept 1998.
2. ESA (2009). Climate Change And Disease Ecology, Ecological Society of America, via Newswise.Retrieved Dec 09, 2009 from www.sciencedaily.com
3. Kelly J. (2009). Role Of Climate Change In Disease Spread Examined By Researchers, Medical News Today from original press release
4. McMichael et al. (2003), Climate Change and Human Health: Risk and Responses, World Health Organization, Geneva.
(सन्दर्भ मौसम परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.