धेरैपछि गुलाफका कुरा

धेरैपछि गुलाफका कुरा

– नवराज सुब्बा

एक दृष्टिकोणले हेर्दा बालुवामा सुन खोजे जस्तै गरि खोज्नुपर्छ अखबारमा सकारात्मक कुराहरू । हालसालै नेपाली र भारतीय जनतावीच नेपाल-भारत सिमामा गुलाफका फूलहरू आदानप्रदान गरियो भन्ने समाचारले मलाई रोमाञ्चित तुल्यायो । यसरी खुशी हुनाका दुइ कारणहरू छन् । पहिलो कुरो त गुलाफको फूलहरू आदानप्रदान स्वयम्मा भावनात्मक अभिव्यक्ति हो जसले सकारात्मक सन्देश दिएको छ । अर्को कुरा यो घटनाले मलाई दुइ दशक अघिको कर्मशील दिनहरूको याद दिलायो ।

गुलाफी त्यो ओठ खोली एकै थुँगा हाँसिदेऊ
पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ ।

२०४५ सालतिर जब म तेहथूमको मोराहाङ हेल्थपोष्टमा इञ्चार्जको रूपमा कार्यरत थिए त्यसबेला मैले एउटा गीत लेखें- गुलाफको र पठाएँ हुलाकद्वारा बीबीसी नेपाली सेवामा । आज पनि म सम्झन्छु उक्त गीत खगेन्द्र नेपालीले कार्यक्रमको अन्ततिर बडो मीठो ढंगले वाचन गरिदिनु भएको थियो । वास्तवमा त्यो गीत केवल मेरा कल्पनाले मात्र हैन मेरा कर्मशील हातले पनि परिपोषित रचना थियो । हेल्थपोष्ट भवनलाई बस्तीदेखि अलि टाढा जङ्गलमा अर्थात् डाँडामा बनाइएको थियो- चिहानडाँडामा । उसबेला मेरो जेठो छोरो कौशल टुकुटुकु हिड्ने भैसकेको थियो । त्यहाँ क्वार्टरमा सपरिवार सँगै बस्दा त ठिकै थियो तर कहिलेकाहिँ कामविशेषले सदरमुकाम म्याङलुङ जाँदा अर्थात् कलमा विरामी हेर्न गाउँ जाँदा मेरा परिवार त्यहाँ रात कटाउन डराउँथे । यसैले म परिवारलाई छिमेकी बोलाएर राती सुत्नेसाथीको बन्दोबस्त मिलाएर मात्र छाड्ने गर्दथें ।

त्यही डाँडामा रहेको हेल्थपोष्टको कम्पाउण्डमा एकदिन मैले फूलबारी र करेसाबारी बनाउने निधो गरें र काम थालें । कुटो, कोदालोले खन्दाखेरि प्रायः ढुँगामात्र भेटिने त्यो डाँडामा मैले काम थालेको देखेर जति पनि विरामी, छिमेकी हेल्थपोष्ट आउँथे उनीहरु भन्दथे- “के दुःख गरेको नि यस्तो प्याङ्गकरमा के हुन्छ र ! भो नगर्नोस् दुःखै मात्र हुन्छ” । तैपनि अफिस पछाडीको समय के गर्ने मलाई तास खेल्न नआउने । चियासिया खाँदै गफ छाँट्न पनि आफुलाई मन नलाग्ने भए पछि समय त आफैले केही गरेर काट्नै पर्‍यो नि ! जेहोस्, एकदिन फूलबारी बनाएँ र करेसाबारी पनि लगाएँ । बाँसको कप्टेरोको नाला बनाएर पानी पटाउने प्रवन्ध पनि गरियो ।

करेसाबारीमा पाख्रिबास कृषि केन्द्रबाट गाउँमा वितरण गरिएको फूलकोपी, ब्रोकाउली, सिमी, र रायोका विरुवाहरू ल्याएर रोपियो । हलक्क बढेका विरुवाहरूले हेल्थपोष्ट आउने जोकोही विरामीलाई आर्श्चर्यचकित तुल्यायो । करेसाबारी देख्नेहरू प्रायः भन्दथे- “ओहो ! यस्तो डाँडामा पनि तरकारी कति सप्रेको !” कोही कोही चाहिँ के भन्थे भनें- “हुँदो रैछ नि ! खै हाम्रोमा बारी त्यत्तिकै बाँझो छ, हामी पो अल्छी रहेछौं धत्तेरी” । रायोको साग छिटै टिपेर खान भ्याइयो तर कोबी र ब्रोकाउलीलाई भने निकै मेहनत र समय पर्खनु पर्‍यो । हलक्क हुर्केका कोबीका बोटहरू कुनै फूलभन्दा कम आकर्ष थिएनन् । एकदिन विहानै उठेर हेर्छु त कोबीका बोटहरू त हँसियाले फेदै लाएर काटेर कसैले लगेको जस्तोगरि चट् भएको छ, बारी अलिअलि माँडिएको पनि छ यो देखेर म सारै खिन्न भएँ । भरे यसो बुझदा पो थाहा भयो त्यहाँ जङ्गलमा खरायो बस्दा रहेछन् । पक्कै खरायोले खायो भनेर भने सबैले । खरायो पक्रन धराप पनि थापें तर खरायो धरापमा परेन ।

यस्तै उता फूलबारीमा गुलाफका फूलहरू पनि फुल्न थाले । फूलहरू जोगाउनु पनि उस्तै हम्मे हम्मे पर्‍यो । जब गौखुरी माध्यमिक विद्यालयको टिफिन हुन्थ्यो विद्यार्थी हुल बाँधेर हेल्थपोष्ट आउँथे । खासगरि केटीहरू “आहा ! कति राम्रो फूल” भन्दै फूलका बोटै ढाकेर वरिपरि झुम्मिन्थे । म भने मनमनै मख्ख पर्दथें । तर जुन फक्रेको फूल हुन्थ्यो त्यो गायब हुन्थ्यो, उनीहरू हिंडेपछि । त्यसबेला भने मलाई नमीठो लाग्दथ्यो ।

केही वर्षछि त्यहाँबाट एकदिन मेरो सरुवा भयो । त्यहाँबाट विदा हुने बेलामा गुलाफका बोटमा फूलहरू ढकमक्क फुलिरहेका थिए । हिँड्ने बेलामा सबै फूलहरूले एकसाथ मलाई र मेरा परिवारलाई हाँसेरै विदा गरे जस्तो लाग्यो मलाई । छुट्न अघि एकपटक सबै बोटहरू छोएँ तर कुनै गुलाफ चुँड्न सकिन । केवल मनमनै चुँमे । बाटामा मैले सम्झें- यो गुलाफको जीवन जहाँ रोप्यो त्यहीँ बस्नुपर्ने, जे दियो त्यही खाएर बाँच्नुपर्ने, कठै ! त्यो गुलाफको बोटको नियति कहिलेकाहि आफ्नै जस्तो लाग्छ । यसरी जागिरे जीवन र गमलामा हर्ुर्केको गुलाफको बोटको जीवनलाई तुलना गर्दै मन खेलाउँदै देउराली, भन्ज्याङ्ग र बाटो काटें ।

आज यी कुराहरू म किन पनि सम्झन चाहन्छु भनें दुइदशक अघि गुलाफका फूलहरूले मलाई गीत लेख्न बाध्य बनाएका थिए । जुन गीत मेरो पहिलो कवितासङ्ग्रह “जीवन मेरो शव्दकोशमा” पनि सङ्ग्रहित छ । एकवर्षअघि त्यो सङ्ग्रह पढेपछि मेरा एकजना संगीतप्रेमी मित्र एन्ड्रयू सिथलिङ्ग जसलाई मैले वि.स.२०३४ सालतिर चिकित्सा शास्त्र अध्ययन संस्थान केन्द्रीय क्याम्पस महाराजगञ्जमा पढ्ने क्रममा भेटेको थिएँ । उनलाई पुस्तक उपहार दिँदै मैले लेखेका कुनै गीतले छोयो भने त्यसमा सङ्गीत भर्नोस् म गाइदिन्छु भनेको थिएँ । उनले यही गुलाफको गीत मन पराएछन् । उनी कुनै व्यवसायिक सङ्गीतकार नभए पनि उनमा सङ्गीतप्रतिको जुन लगाव र प्रेम छ त्यो मैले बुझेको थिएँ । वास्तवमा, हामी कुनै व्यवसायिक कलाकार होइनौ केवल गीतसङ्गीतलाई औधी माया गर्दछौं । समय बचाएर यसैमा श्रम र श्रोत खर्च गर्दछौं र केवल एउटा रहर पूरा गर्दछौ अनि यसैमा सन्तुष्टी पाउँछौं । हामीलाई न त दामको आशा छ, न त नामको नै आशक्ति । केवल कसैले छिः चाहिँ नभन्दिओस् बस् त्यत्ति भए पुग्छ हगि ! भन्दै आपसमा गफ गर्ने गर्दछौ ।

उनले एकदिन उनको ल्यापटपबाट कपी गरेर संगीतको डमी सारेर मलाई दिए । उनले भरेको संगीतमा महाराजगञ्ज क्याम्पसको होस्टेलको छतमा बसेर साँझपख जोरगितार बजाउँदै उसबेला हामीले मिलेर गाएको गीतमैं आधारित लय रहेछ । उनको सङ्गीतले मेरो मन छोयो अर्थात् फेरि एकपटक अतीत बल्झायो । संगीत संयोजक धिरज श्रेष्ठलाई वाद्यवादन भर्न दिएँ । गीतको ट्रयाक पनि तयार भएको छ । अहिले म गीत गाउने अभ्यास गर्दैछु अर्थात् पुरानो गुम्सिएको रहर पूरा गर्दैछु । यही गुलाफको गीत स्टूडियोमा रेकर्ड गरेर कुनैदिन श्रोतासामु अवश्य आउनेछु ।

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।

nrsubba@hotmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.