‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत (शैलेन्द्र साकार)

‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत
शैलेन्द्र साकार

बिम्ब भन्नु नै शब्दहरूको संवेदनशील चित्र बनाउनु हो । मानिस जीवनभर बिम्बहरूसिँग बाँच्ने गर्दछ । मानिसले देखेको सपना स्वयं बिम्बको राम्रो प्रस्तुति हो । सपना देखुञ्ज्याल आफ्नै वरिपरि रहेको बिम्ब केही समयलाई हराएजस्तो अनुभूति ब्यूँझेपछि हुने गर्छ । तर, त्यो हराएको हुँदैन त्यो अवचेतन मनमा गएर थपक्क बस्दछ । मानिस बिम्बमा जन्मन्छ र बिम्बमा मर्दछ । बिम्ब लेख्न नचाहँदा नचाहँदै पनि लेखिन्छ किनभने त्यो हाम्रो अवचेतनमा रहिरहेको हुन्छ । बिम्बबिनाको कविता प्राणबिनाको शरीरजस्तो हुन्छ, त्या गतिशील हुँदैन । बिचारमात्र लेख्ने प्रयत्न गरे पनि त्यो बिम्बको आवरणभित्र आएको हुन्छ । कोरा विचारमात्र कदापि कविता हुन सक्दैन । त्यो फगत अनुसन्धान र वक्तव्यबाजी मात्र हुनेगर्छ । बिम्बप्रधान रचनाहरू प्रभावोत्पादक र विस्मरणीय हुन जान्छ । कवि नवराज सुब्बाले ‘र्समर्पण’ मा सुरुमै कथ्य बिम्बको प्रयोग गरेका छन् । दर्शन पनि बिम्बको खोल ओढेर प्रकट भएको छ । ‘गयौ सँगै लिएर आफ्नो लास पनि…’ मा उनको दार्शनिक चेत कथ्य बिम्बको माध्यमबाट प्रकट भएको छ । एकजना प्रख्यात कविले कतै लेखेका छन्, ‘नो पोएट नो आर्टिस्ट अफ एनी आर्ट ह्याज हिज कम्प्लिट मिनिङ अलोन ।’
‘बीच बाटोमा ब्यूँझेर’ मेरो सम्मुख छ, डा. गोविन्दराज भट्टराईको लामो भूमिकासहित । उनले सुब्बाका धेरैजसो कवितार् इप्साप्रधान -नोस्टाल्जिक) पाएका छन् । उदाहरणका रूपमा डा. भट्टराईले ‘मेरो पहाड’, ‘आएँ गुरुजी आएँ’, ‘आमाको तिर्सना’, र ‘सतीढुँगानेर अरुण’ लाई अघि सारेका छन् । कवि सुब्बाका सम्पूर्ण कविता बिम्बमय लागेको छ । किनभने उद्धृत शीर्षकका कविताहरू पनि बिम्ब बिधानभन्दा फरकका छैनन् ।
उनको ‘मेरो पहाड’ कविताको एउटा उदाहरण यहाँ प्रस्तुत गर्दछु-
उक्लेर म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु
मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडी आएँ भन्थें
त्यो त सँगै पो आएछ
मसँगै टाँसिएर
अनुहारमा अर्को पहाड जन्मेछ
अनुहारमा अर्को पहाड देख्नु निश्चय नै बिम्बको ज्वलन्त नमूना हो । यसप्रकार अतीतजीवी इप्साप्रधान कविताको यो उपयुक्त उदाहरण हो र सशक्त उदाहरण । तर, यो कवितामा कविले सम्झनालाई बिम्बका प्रतीकमा ढालेका छन् । उनको प्रत्येक कवितामा बिम्बको छवि छ । कवि नवराज सुब्बामा आफ्नो देश र परिवेशप्रति असाध्य चिन्ता छ । त्यो चिन्ताले उनका प्रत्येक कविता सम्प्रेषणीय देशप्रेमको गतिलो नमूना बन्न गएको तथ्यलाई यहाँ बिर्सन सकिँदैन । त्यही देशप्रेमको साक्ष्यको रूपमा मानवता, संस्कृति, विसंगति -समसामयिक बोक्सी, सुकुम्बासी) कुष्ठरोग, एड्स आदि पनि यसमा काव्यिक अवतरण गर्छन् । आजको कविताले सँस्कृतिको आदिम पाटोलाई पनि आफूमा आत्मसात् गरेको छ ।
ऊ… त्यो जुरूक्कै उठ्ने छाल
तम्बरको छालजस्तै छ
आस र लास उन्दै आउने भेल
ठ्याक्कै उस्तै छ
नाङखोल्याङ पहिरो नाच्दै आएछ
पँधेरो जाने गाग्री पनि
नदीले सँगै बगाएर ल्याएछ
घरै छेउमा सँधै बल्झिरहने
एउटा पहिरो थियो
उ पनि मिसिएर झरेछ
मलाई खोज्दै ।
झट्ट हेर्दा माथि उद्धृत कवितांशमा अतीतप्रेम -अर्को शब्दमा आफू जन्मेर हुर्केर आएको पहाड-गाउँको ‘नोस्टालजिक चेतना’) र्छलङ्ग देखिन्छ, तर राम्ररी मनन गर्दै जाँदा हामीले त्यसभित्र बिम्ब प्रतीकहरूलाई बेवास्ता गर्न सन्दैनौं । यथार्थलाई जस्ताको तस्तै लेख्ने प्रयत्न बिम्बको माध्यमबाट कवितामा आविष्कारित भएको छ । यो कविको आफ्नो आविष्कारजस्तो भएर नितान्त शब्दचित्रका रूपमा प्रकट भएको छ र त्यसले ‘स्वत्व’ को परिकल्पना पनि व्यक्त गरेको छ । यसप्रकार कवि सुब्बा झरेर आएको पहिरोमा पनि आफ्नो परिचय बुन्छन् । त्यो पहिरो पनि आफैंलाई खोज्दै झरेको बिम्ब यहाँ शक्तिशाली रूपमा प्रकट भएको छ ।
कवि सुब्बाले पाँच ‘म’ लाई लेखनको आधार मानेका छन् ।
म, हामी
माटो
मानवता
मृत्यु र महत्ता ।
पुस्तकको शीर्षक बोकेर उभिने कविता ‘बीच बाटोमा ब्यँूझेर’ स्वयं र्सपबिम्बलाई कविताको मेरुदण्ड मानेर पोखिएको छ ।र्
सर्प लम्पसार
बीच बाटैमा
घाम तापेर बसेको छ
बाटो छाडेर भागूँ
कि कसरी र्सपलाई लखेटूँ !
सोच्दा सोच्दै
कता अड्कियो खुट्टा
कहाँ भास्सियो जीवन !
लम्पसार छु म आज बीच बाटोमा
बाटो मैमाथि चढेर हिँडिसकेछ ।
प्रस्तुत कवितामा जताततै पाइने शब्दचित्र र अस्तित्वको प्रश्न एकअर्कालाई सघाउँदै उभिएका छन् । कविले बिभिन्न समयमा भोगेका बिसंगतिहरूलाई शब्द दिन यस संग्रहका थुप्रै कविता र्समर्थ लाग्छन् । ती सबै कविताको प्रासंगिकता आजको मुलुकलाई छ । ती कुराहरूको चर्चाभन्दा पनि कवितामा कविले बुनेका बिम्बचेतलाई उल्लेख गर्ने यो लेखको अभीष्ट भएकाले अन्य विविध प्रसंग कुनातिर थन्क्याउँदै छु ।
अमेरिकाका कवि शिरोमणि लरेन्स फर्लिङचेट्टीले आफ्नो नयाँ पुस्तक ‘पोयट्री इज एन इन्र्सर्जेट आर्ट’ मा कविताका बारे धेरै रोचक कुराहरू भन्ने क्रममा एक ठाउँ भनेका छन् –
कवितालाई नयाँ खबर बनाऊ ।
समय निरपेक्ष लेख ।
सत्यको पुनः आविष्कार गर ।
प्रत्येक चीज र बस्तुप्रति प्रश्न गर ।
सुकरातलाई समेत जसले प्रत्येक वस्तुमाथि प्रश्न गरे ।
यसको लगत्तै लरेन्सले आवाजहीन लाटो सडकलाई आवाज दिने कुरा उठाएका छन्, ‘गिभ अ भ्वाइस टू द टङ्गलेस स्टिट ।’ सडकलाई आवाज दिँदा पूरै देशलाई आवाज दिने सन्दर्भ यहाँ भुल्न सकिन्न । ‘बीच बाटोमा ब्यूँझेर’ मा पनि कवि नवराज सुब्बा ‘सडकमा जन्मने बुद्धलाई स्वागत’ मा भन्छन् यसरी –
पैतालाले कुल्चिए पिल्सिए पनि
सुरक्षित हुन्छ सडकको गर्भ
जन्माउनु छ बुद्ध फेरि
र हुर्काउनु छ
हिँड्दा हिँड्दै
सडकको छातीमा
अर्का युवा अमेरिकी कवि एरिका जोङले पनि आफ्नो कोखमा बुद्धले प्रवेश गरेको बिम्बलाई ‘बुद्ध इन माई ओम्ब’ मा खुलेरै लेखेकी छन् ।
कवि नवराज सुब्बाका सम्पूर्ण कविता नै बिम्बमय छ । तर ती सबैको उदाहरण या व्याख्या यो लेखको आशय होइन । पंक्तिकार केवल यस संक्षिप्त लेखमार्फ उनीभित्र सचेत रूपमा या अचेतन मनभित्र रहेको बिम्ब चेतनामाथि केही भन्न चाहन्थ्यो र त्यो कुरा यहाँ ब्यक्त पनि भइसकेकै छ । सपनाहरू बिम्बमय हुन्छन् र मान्छेले सपना देख्न नछाडुञ्जेल कविता लेख्न छाड्नेछैन र कविता बिम्बको एउटा सुन्दर प्रस्तुति हो ।
साभार– अन्नपूर्ण २३ माघ २०६६ सालमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.