म मातृभाषामा पनि लेख्छु

लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी

कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम् ब्याकरण संरक्षण प्रतिष्ठान विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किराँत याक्थुङ चुम्लुङ विराटनगर, नेपाल रेडक्रस, स्वाजन साहित्यिक समाज काठमाडौ, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा समेत संलग्न हुनुहुन्छ ।गोरखादक्षिणबाहु, विज्ञान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुला रेडियो क्वीज प्रतियोगिता तथा पूर्वान्चल क्षेत्रिय स्तरको निवन्ध प्रतियोगिता साथै अन्तर्राष्ट्रिग वेवक्याम कविता गोष्ठिमा प्रथम पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ ।उनै बहुप्रतिभाशाली ब्यक्तिसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

टंक सम्वाहाम्फे १.घरयासी काम, जागीर र लेखनलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
नवराज सुब्बा: म प्राथमिकताका आधारमा समय व्यवस्थापन गर्दै काम, जागिर र लेखनको तालमेल मिलाउँछु । मेरो हालको प्राथमिकता राष्ट्रसेवा अर्थात् जागिर हो त्यसबाट बचेको समय लेखन अर्थात् सिर्जनामा उपयोग गर्छु ।

टंक सम्वाहाम्फे २.लेखन क्षेत्रतिर लाग्नुमा कसैको प्रेरणा छ कि ? लेखन क्षेत्र नै रोज्नुको प्रमुख कारण के हो ?
नवराज सुब्बा: प्रथमतः लेखनमा प्रेरणा दिने मेरो मन नै हो । मनले मलाई चूप लागेर बस्न दिँदैन । सामाजिक दायित्व अर्को महत्वपूर्ण प्रेरणाको श्रोत हो । मलाई जन्म दिने हुर्काउने जगत र मानवजातिलाई मैले पनि केही गरेर मात्र मर्नुपर्छ भन्ने दायित्वबोध अनि धरतीको धुकधुकी अर्थात् देशको पुकार मेरो लेखनका प्रेरणा हुन् ।

टंक सम्वाहाम्फे ३.तपाई गीत,संगीत,गायन र साहित्य यी सबै क्षेत्रमा लम्किरहनु भएको छ त्यसमा कुन क्षेत्रले बढी सन्तोष मिले झैं लाग्छ ? सन्तुष्टि हुनुको कारण के हो ?
नवराज सुब्बा: साहित्य र संगीत कलाकै पाटाहरू हुन् । भावनाले कहिले साहित्य अनि कहिले संगीत खोज्छ । यसैले कहिले कोर्छु कविता, कहिले गजल कहिले निबन्ध । यतिमा म आफू निथ्रन्न क्यार ! आफूलाई व्यक्त गर्न कहिले गीत पनि लेख्छु अझै चित्त बुझदैन र कहिलेकाहीँ आफै गीत गाउँछु र नाच्छु । मलाई सबै बिधाले उत्तिकै सन्तुष्टि दिन्छन् । तैपनि संगीतमा डुब्दा मलाई कता कता इश्वरको बोली गुञ्जिए जस्तो लाग्छ र सरगमले लठ्ठ बनाउँछ ।

टंक सम्वाहाम्फे ४.लिम्बुवान शव्द खासगरि लिम्बुजातिसंग जोडिएको छ तर अबका दिनहरुमा लिम्बुवान शब्दलाई कसरी परिभाषा गर्न जरुरी छ होला जस्तो लाग्छ ?
नवराज सुब्बा: लिम्बूवान जातीविशेष भन्दा माथि छ । यो एउटा सिङ्गो सँस्कृति, भूगोल र इतिहास हो ।

टंक सम्वाहाम्फे ५.तपाई लिम्बुवान क्षेत्रको लिम्बु तर मातृभाषामा साहित्य नलेखेर नेपाली भाषाबाट नै साहित्य लेख्दै हुनुहुन्छ के मातृभाषामा साहित्य लेख्नु पर्छ जस्तो लाग्दैन ? र मातृभाषामा साहित्य लेख्न कतिको जरुरी सम्झनु हुन्छ ?
नवराज सुब्बा: जीविकोपार्जन, व्यक्तित्व विकास र मुलुकको विकासमा लाग्दा कमसेकम एउटा साझा सम्पर्कभाषा चाहिन्छ नै । हामीले खस भाषालाई नेपाली भाषा तथा राष्ट्रभाषा भन्यौ । मलाई लाग्छ लिम्बू भाषा पनि नेपाली भाषा नै हो यसको संरक्षण र प्रबर्धन गर्ने पहिलो दायित्व लिम्बूजातिको हो दोश्रो सरकारको र तेस्रो सबैको दायित्व हो । लिम्बूभाषा मात्र हैन लोपोन्मुख कुनै पनि भाषा र संस्कृतिलाई हामी सबैले संरक्षण गर्नुपर्छ । के लेख्ने, किन लेख्ने, कसलाई लेख्ने, कसरी लेख्ने भन्ने कुराको हेक्का लेखकले राख्नुपर्दछ । भाषा भनेको माध्यम हो, साधन हो । भाषालाई साध्य मानेर अतिवादी सोंच राख्नु व्यवहारिक हुँदैन । आज कतिपय लिम्बूलाई लिम्बूभाषा सिकाउन नेपाली वा अंग्रेजी भाषाको सहयोग लिनुपर्ने यथार्थ हाम्रो सामु छँदैछ । हामीले नेपाली, अग्रेजी, हिन्दी भाषा सिक्यौं, बोल्यौ, लेख्यौ र त आज मातृभाषाको महत्व बुझ्यौं । यसैले ढिलै भए पनि म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु ।

टंक सम्वाहाम्फे ६.अग्राधिकार र आत्मनिर्णयको अधिकार तथा जातिय स्वायत्तताको अवधारणा अवको नयाँ संविधानमा उल्लेखित भएर आउनु पर्छ भन्ने ती जातिहरुको माग छ यसलाई अहिलेको संविधानसभाले कतिको मनन् गर्लान् जस्तो लाग्छ ?
नवराज सुब्बा: मुलुकको अखण्डता र राष्ट्रिय एकतामा खलल नपर्ने गरि जातिहरूको मागलाई सम्बोधन गरिनुपर्छ यो समयको माग हो । म आशावादी छु ।

टंक सम्वाहाम्फे ७.साहित्यकार नवराज सुब्बालाई नवराज सुब्बाले नै हेर्दा कस्तो देख्नु हुन्छ ?
नवराज सुब्बा: आफैलाई देखेर म पनि कहिलेकाहीँ छक्क पर्छु । म किन सधैं यत्ति हतारोमा । अलि आराम गर्न किन मन मान्दैन । अनन्त सिर्जना किन फुर्फुराइरहन्छन् । कहिले आफैसित दिक्क लाग्छ अनि कहिले आफैलाई दया लाग्छ ।

टंक सम्वाहाम्फे ८.संविधान जारी गर्नु पर्ने दिन अव कति पनि छैन अर्कातिर राजनैतिक खिचातानी पनि त्यसरी नै बढी रहेको छ त्यसैले नयाँ संविधान जारी हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
समुन्द्र मन्थन भनेको सायद यही होला । अमृत निस्केला आशा गरौं ।

टंक सम्वाहाम्फे ९.एउटा साधारण मान्छे र एउटा साहित्यकार बीचको सम्वन्ध कस्तो हुनुपर्छ होला ?
नवराज सुब्बा: “खुकुरी भन्दा कर्द लाग्ने” भने जस्तै साधारण मान्छे भनेको पिता हो साहित्यकार पुत्र हो । साहित्यकार आफूले जीवन र जगत सबै बुझेको ढोंग गर्छ र सबैलाई सिकाउन खोज्दछ, साधरण मान्छे उसका कुरा सुन्छ, गुन्छ र मुसुमुसु हाँस्छ । कतिपय कुरा चित्त नबुझे पनि विवाद गर्दैन ।

टंक सम्वाहाम्फे १०.साहित्यकारहरुले आदर्शमात्र लेख्ने गर्छन् भन्छन् तर तपाई आदर्शवान मात्रै हुनुहुन्छ कि व्यवहारीक पनि हुनुहुन्छ ?
नवराज सुब्बा: जीवनमा आदर्शको कुरा गर्दा सबैले यसलाई आआफ्नो ढँगले हेर्छन् र बताउँछन् । सत्य र जगतलाई व्याख्या गर्ने दार्शनिक र सिद्धान्तकारहरू भन्दा हामीलाई साहित्यकारहरुले देखेको वा लेखेको आदर्श नै सुन्दर लाग्छ । एउटा आदर्श विनाको जगत त्यसमा पनि मानवजगत त असम्भव नै हुन्छ । साहित्य भोगेर लेखेको राम्रो हो । कमसेकम देखेर लेखेको ठिकै हो । कल्पनाको पनि सापेक्षित सीमा हुन्छ । कल्पना गर्दै लेखिने साहित्यमा सिर्जना र सकारात्मक गुण अन्तर्निहित भएमा त्यो पनि ग्राह्य हुन्छ तर नकारात्मक सोंचले कल्पना गरिएमा त्यसलाई अग्राह्य र अव्यवहारिक मान्नुपर्ने हुन्छ । जस्तै डाँडा वारिपारि बस्ने दुइ पे्रमीहरुले विछोडमा ” मैं पंक्षी भए उडीमा आउँथें” भनेर गीत नगाएको भए सायद मानिसले यति चाँडो हवाईजहाज बनाइसक्ने थिएनन् होला । विश्वास गर्नुस् नक्कले आदर्श जस्तो छैन मेरो कवित्व जो म जस्तै यथार्थ र व्यवहारिक पनि छ ।

टंक सम्वाहाम्फे ११.वर्तमान राजनैतिक परिस्थितिलाई कसरी दृष्टिपात गरिरहनु भएको छ ? र साहित्यमा राजनितिक विषयबस्तु आउनु पर्छ कि पर्दैन होला ?
नवराज सुब्बा: दृष्टिपात गर्ने फ्रेम कत्रो लिने हो यसमा निर्भर हुन्छ यसको विश्लेषण र निष्कर्ष। एकदशकको फ्रेममा राखेर हेरेमा राजनीतिक परिस्थिति उत्साहजनक छ अनि एक वर्षो फ्रेममा राखेर हेर्ने हो भने यो अलि कम उत्साहजनक छ । साहित्यमा राजनीतिक विषयवस्तु आउँदैमा डराउनु पर्दैन तर यसमा कलात्मकता, शिष्ठता, सालिनताको पहिरन चाहिन्छ । विचारको भारी सिर्जनालाई बोकाएमा यो बढी बौद्धिक साहित्य कम हुनसक्छ । सिद्धान्तबाट प्रभावित रचना नारा हुन सक्छन् यदी यसका कलात्मकता, सुन्दरता र शिष्ठताको ख्याल राखिएन भने । संक्षेपमा, भावनाको लोली हृदयको बोली नै साहित्य हो ।

टंक सम्वाहाम्फे १२.अवका नयाँ पुस्ताका साहित्यकारहरुले कस्तो प्रकारको साहित्य लेखनलाई अंगाल्न आवश्यक छ होला ? तपाईको सल्लाह सुझाव केहि छ की ?
नवराज सुब्बा: साहित्यकारका थुप्रै जिम्मेवारी छन् । समाजलाई बाटो देखाउने, समय र समाजको चित्रण गर्ने आदि । जसरी राजनीतिको केन्द्रविन्दु जनता हुन्छ साहित्यको केन्द्रविन्दु मानव हुनुपर्छ । यही नाता नै साहित्यले जन्माएको नाता हो ।

टंक सम्वाहाम्फे १३.साहित्य पढ्न लेख्न प्राय सबैले रुचाउँछन् जस्तै नेता,मन्त्री,कर्मचारी र सर्वसाधरण वास्तवमा तिनै मान्छे सरकारमा पुग्छन् तर सरकारी नितिमा साहित्यलाई बढवा दिन कन्जुस्याँइ गर्छन् यसो गर्नुको प्रमुख कारण के होला जस्तो लाग्छ ?
नवराज सुब्बा: साहित्य प्राथमिकताको सूचीमा नपर्नुमा अरुलाई मात्र दोष दिएर पन्छिन मिल्दैन यसमा साहित्यजगत आफै पनि केही हदसम्म दोषी छ । साहित्यिक सामग्री जीवनोपयोगी हुन् यिनले पाठकको श्रोत र समयको बर्बादी नगरुन् । जीवन र जगतलाई तलतिर हैन माथि उचालुन् तब राज्यले पनि बाध्य भएर यस्ता साहित्यिक सामग्रीहरुको प्रबर्धन गर्न बाध्य हुनुपर्छ ।

टंक सम्वाहाम्फे १४.जीवनलाई तपाई कसरी परिभाषा गर्नु हुन्छ ? तपाईको जीवनमा घटेका केहि अविस्मरणिय क्षणहरु छन् कि ? छन् भने बताई दिनुहोस् न ।
नवराज सुब्बा: आशा र जीवन सिक्काका दुइ पाटाहरु हुन् । पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगितामा २०६४ मा मैले आशै नगरेको फल प्राप्त गरें । अनायाश प्रथम स्थान पाउँदा एकसाथ खुशी र अचम्म महसूस गरें ।

टंक सम्वाहाम्फे १५.लिम्बुवान ब्लगस्पोट डटकमबाट संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
नवराज सुब्बा: इतिहासको यो कालखण्डमा सबैभन्दा बढी माया र ममता कतै यदी कसैले खोजेको छ भने त्यो नेपाल र नेपालीले तपाईसँग खोजेको छ । मनन् गरौं । धन्यवाद !

Source: http://limbuwan1.blogspot.com/2010/04/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.